एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टिम बिहीबार स्वदेश आइपुग्यो।
महिला टिम बंगलादेशको राजधानी ढाकाबाट त्रिभुवन विमानस्थलमा ओलर्दा भव्य स्वागत गरिएको थियो।
स्वागतका लागि भलिबलका पदाधिकारीसहित खेलकुद मन्त्री महेश्वर गहतराज पुगेका थिए।
अघिल्लो दिन महिला टिमका खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो।
महिला टिमलाई बाजागाजासहित स्वागत गरिरहदा सँगै फर्किएको पुरूष टिमलाई भने कसैलाई वास्ता गरेन।
प्रतियोगिता खेल्न बंगलादेश जादा भलिबल संघले विमानस्थालमा महिला तथा पुरुष टिम दुवैलाई सँगै विदाई गरेको थियो। साथै दुवै टिमको सामूहिक फोटो सेसन समेत गरिएको थियो।
तर फर्कदा भने सबै पदाधिकारी महिला टिम झुम्मिए। यतिसम्मकी कोही पदाधिकारीले पुरुष टिमका खेलाडीलाई स्वागत गर्न समेत जरूरी ठानेनन्। जसका कारण पुरुष खेलाडी खिन्न हुँदै विमानस्थलबाट बाहिरिन बाध्य भए।
भलिबल संघले बेवास्ता गरेपछि खेलाडीहरूले आफूहरू अपहेलित भएको बताएका छन्। तर सार्वजनिक रूपमा बोल्न भने डराइरहेका छन्।
यस विषयमा अहिले सामाजिक सञ्जालमा भलिबल संघको विरोध भइरहेको छ।
प्रतियोगिताको पुरूषतर्फ नेपालसहित बंगलादेश, श्रीलंका, माल्दिभ्स र उज्वेकिस्तान गरी पाँच टिमले प्रतिस्पर्धा गरेका थिए।
नेपालले लिग चरणमा माल्दिभ्स र उज्वेकिस्तानलाई हराएको थियो। जसका कारण नेपालले उज्वेकिस्तानसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो।
तेस्रो स्थानको खेलमा भने नेपाल पराजित भएको थियो।
पुरूष भलिबल टिमका प्रशिक्षक हान अबिङले नेपालको प्रदर्शनमा सन्तुष्टि जनाएका थिए। साथै उनले नेपालको प्रदर्शनलाई सकारात्मकरुपमा लिनु पर्ने बताएका थिए।