सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता चैत २४ गतेदेखि हुने भएको छ।
तीनदिने प्रतियोगिता पाल्पाको तानसेनस्थित रानीमहलमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघकी उपाध्यक्ष समेत रहेकी प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले जानकारी गराइन्।
करिब ३० लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा सातै प्रदेश र विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी १० टिम सहभागी हुने छन् । एक टिममा २ खेलाडी मात्र रहने छन्।
विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन्। सहभागी टिमलाई यातायात, बसोवास, जर्सी, खेल सामाग्री र ‘म्याच फि’ को व्यवस्था आयोजकले गर्ने बताइएको छ।
पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव कुलबहादुर थापा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, कलाकार धीरेन शाक्यले प्रतियोगिता सफलताका लागि शुभकामना दिएका थिए।