नेपाल भलिबल संघद्वारा आयोजना गरिने एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग च्याम्पियनसिपको पुरस्कार राशीमा दोब्बर वृद्धि गरिएको छ।
जसमा प्रथमले ६ लाख, द्वितीयले ३ लाख, तृतीयले १ लाख ५० हजार र चौथोले ७५ हजार रूपैयाँ प्राप्त गर्नेछन्।
महिला तथा पुरुष उत्कृष्ट खेलाडीले ३५-३५ हजार र ब्यक्तिगत विधातर्फका खेलाडीले जनही १५-१५ हजार प्राप्त गर्नेछन्।
प्रतियोगिताको अनुमानित खर्च ५५ लाख रहेको संघले जनाएको छ।
प्रतियोगिता वैशाख १८ देखि २४ गतेसम्म संचालन हुनेछ। प्रतियोगिता ७ पुरुष र ५ महिला टिमले सहभागिता जनाउने छन्।
जसमा पुरुषतर्फ तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबसहित हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, गलकोट स्पोर्ट्स क्लब र ढोरपाटन स्पोर्ट्स क्लब रहेका छन्।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, न्यू डायमण्ड क्लब र बुटवलको एभरेष्ट भलिबल एकेडेमी रहेका छन्।
प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइने र अन्तिम दुईमा रहेका टिमबीच उपाधिका लागि प्रतिस्पर्धा गराईने संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी गराए।
प्रतियोगिताका लागि राष्ट्रिय बाणिज्य बैकले प्रयोजनको निरन्तरता प्रदान गरेको छ।
प्रायोजनसम्बन्धी सम्झौतापत्रमा नेपाल भलिबल संघका तर्फबाट अध्यक्ष मनोरञ्जन रमण शर्मा र बाणिज्य बैंकका तर्फबाट कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे।
विगतका च्याम्पियनसिपमा जस्तै छैंटौ पटक पनि मुख्य प्रायोजकको रुपमा बाणिज्य बैकले प्रायोजनलाई निरन्तराता प्रदान गरेको हो।
नेपाल भलिबल संघसँग लिगका लागि १० लाख बाट सुरु भएको प्रायोजन सम्वन्धि सम्झौता १२ लाख हुँदै १८ लाख सम्म आइपुगेको छ।