त्रिभुवन आर्मी आर्मी क्लबले छैटौं आरबीबी/एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको उपाधि शनिबार जितेको छ। आर्मी पुरुष/महिला दुवैमा च्याम्पियन बन्यो।
नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा आर्मी सर्वाधिक १८ अंकसाथ पहिलो भयो। दोश्रो भएको टिपटपले १४ अंक जोड्यो। तेश्रो स्थानको नेपाल प्रहरी क्लबको ११ अंक रह्यो।
महिलामा प्रहरी दोश्रो र एपीएफ तेश्रो भए। पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ६ लाख, ३ लाख र १ लाख ५० हजार नगद पुरस्कार पाए।
पुरुषमा आर्मीका धनबहादुर भट्ट उत्कृष्ट खेलाडी घोषित भए। स्पाइकरमा प्रहरीका रविन चन्द, सेटरमा आर्मीका हरिहजाुर थापा, लिबेरोमा प्रहरीका भीमबहादुर गाहा, ब्लकरमा आर्मीका दुर्गा खड्का, सर्भरमा आर्मीका राजेन्द्र विष्ट र प्रशिक्षकमा आर्मीका जगतबहादुर सिंह उत्कृष्ट चुनिए। एपीएफका धीरज बस्नेत उदीयमान खेलाडी चयन भए।
महिलामा आर्मीकी संगम महतो उत्कृष्ट खेलाडी बनिन्। स्पाइकरमा एपीएफकी निरुता ठगुन्ना, सर्भरमा आर्मीकी शान्ति चौधरी, लिबेरोमा न्यु डायमन्डकी सलिना श्रेष्ठ, सेटरमा एभरेष्टकी अरुणा शाही, ब्लकरमा आर्मीकी सुनिता खड्का तथा प्रशिक्षकमा आर्मीका लोकेश बुढा उत्कृष्ट ठहरिए।
न्यु डायमन्डकी प्रगति नाथ उदीयमान खेलाडी चुनिइन्। पुरुष÷महिला दुवैका उत्कृष्ट खेलाडीले समान ३५ हजार नगद पुरस्कार हासिल गरे। उदीयमान खेलाडीले समान १० हजार हात परे। बाँकी सबै उत्कृष्ट खेलाडीले जनही १५ हजार नगद पुरस्कार जिते।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम दिन पुरुषमा ३ र महिलामा १ खेल भयो। पुरुषमा गण्डकीले गल्कोट स्पोर्ट्स क्लबलाई २५–२३, २३–२५, २५–२० र २५–१५, प्रहरीले एपीएफलाई २५–२१, २५–२३, १९–२५, २०–२५ र १८–१६ तथा आर्मीले टिपटपलाई २५–१३, २५–१८, २६–२८ र २८–२६ ले पराजित गरे।
महिलामा आर्मीले प्रहरीलाई २५–१८, २५–२३ र २५–२० ले हरायो। प्रतियोगिताको पुरुषमा ७ तथा महिलामा ५ टिम सहभागी थिए।