दुई विभागीय टोली नेपाल प्रहरी क्लब र नेपाल एपीएफ क्लबले बाग्मती प्रदेश न्यु डायमन्ड कप खुला महिला भलिबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन्।
बाग्मती प्रदेश खेलकुद विकास परिषद् तथा न्यु डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगितामा प्रहरीले न्यु डायमन्डलाई २५–१६, २५–१५ र २५–१५ को सोझो सेटमा पराजित गर्यो।
कीर्तिपुरस्थित कभर्डहलमा एपीएफले काठमाडौंको परोपकार आदर्श माविलाई सीधा सेटमा २५–११, २५–४ र २५–३ ले हरायो।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्की सदस्य चन्द्र बदना राई र बाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य हिक्मत थपलियाले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे।
शीर्ष चार स्थान हात पर्ने टिमले क्रमशः ५ लाख, २ लाख ५० हजार, १ लाख २५ हजार र ७५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार नगदबाट पुरस्कृत गरिने छ। विधागत ५ उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने छ।
प्रतियोगिताअन्तर्गत बुधबार प्रहरी र परोपकार तथा न्यु डायमन्ड र एपीएफबीच प्रतिस्पर्धा हुनेछ।
असार १८ गतेसम्म चल्ने प्रतियोगितामा ४ टिम सहभागी छन्। सहभागी टिमबीच पहिले राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ। शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि पुनः भिड्ने छन्। तेश्रो र चौथोले तेश्रो स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।