नेपाल पुलिस क्लब प्रथम बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
कीर्तिपुरस्थित इन्द्रायणी बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको फाइनलमा अर्काे विभागीय नेपाल एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो।
पुलिसले २५–१६, २७–२५ र २५–१९ को सेटमा जित निकाल्यो। पुलिस अपराजित रहेर च्याम्पियन बनेको हो। शनिबारै परोपकार आदर्श माध्यमिबक विद्यालयलाई २५–१२, २५–१४ र २५–२३ को सोझो सेटमा जित निकाल्दै आयोजक होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले तेस्रो स्थान हासिल गरेको छ।
उपाधिसँगै पुलिसले ५ लाख रुपैया र शिल्ड हात पारेको छ। दोस्रो भएको एपिएफले २ लाख ५० हजार रुपैयाँ हात पारे। तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले १ लाख २५ हजार तथा चौथो भएको परोपकार आदर्श माध्यमिक विद्यालयले ७५ हजार रुपैयाँ हात पारेको छ।
नेपाल पुलिस क्लबकी कोपिला राना प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी चुनिँदै २५ हजार रुपैयाँ र ट्रफी हात पारिन्। न्यु डायमन्डकी सलिना बुढा मगर उदियमान खेलाडी हुँदै २० हजार रुपैयाँसँगै ट्रफी हात पारिन्।
एपिएफकी रेश्मा भण्डारी उत्कृष्ट स्पाइकर, एपिएफकै उषा कुमारी विष्ट उत्कृष्ट ब्लकर, पुलिसकी कमला पुन उत्कृष्ट सेटर, डायमन्डकी एन्जिला प्रधान उत्कृष्ट लिवेरो र पुलिसका रुपेश कुमार विष्ट उत्कृष्ट प्रशिक्षक चुनिए। उनीहरुले समान १० हजार रुपैयाँ र शिल्ड हात पारे।
प्रतियोगिताको मुख्य उद्देश्य न्यू डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार बापतको २० प्रतिशत दिनुपर्नेछ। विजयी टोली तथा खेलाडीलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल, उपाध्यक्ष हिक्मत थपलिया, क्लबकी अध्यक्ष सुनकेशरी माली, नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दलगायतले पुरस्कृत गरे।