नेपाल भलिबल संघको बुधबार हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि वर्तमान महासचिव जितेन्द्रबहादुर चन्दले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
चन्दले आइतबार नयाँ निर्वाचनका लागि औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेका हुन्।
बुधबार हुने निर्वाचनको अध्यक्ष पदका लागि संघकी उपाध्यक्ष निरोज मास्केले पनि गत महिना औपचारिक कार्यक्रममार्फत उम्मेदवारी घोषणा गरेकी थिइन्।
यससँगै संघको अध्यक्षमा चन्द र मास्केबीच मूख्य प्रतिस्पर्धा हुने देखिएको छ।
चन्दले १४ बुँदे प्रतिवद्धता पत्रसहित उम्मेदवारी घोषणा गरेका हुन्। नेपाली भलिबललाई विश्व स्तरमा पुर्याउने र नेपालमा भलिबल खेलाडी बाँच्न सक्ने आधार बनाउने प्रतिबद्बतासहित अध्यक्ष पदमा चन्दले उम्मेदवारी घोषणा गरेका हुन्।
एक दशकदेखि संघको महासचिव पदमा रहेका चन्दले १४ वटा एजेण्डामा राष्ट्रिय खेललाई माथि उठाउने प्रतिवद्धता जनाए।
जसमध्ये स्थानीय तह जिल्ला प्रदेशदेखि केन्द्रसम्म रहेका संघहरुलाई व्यवस्थित गर्दै अगाडि बढाउने उनको योजना रहेको छ। भलिबल खेलको विकासमा लाग्न अभिप्रेरित गर्ने, संघ र संघसँग सम्बन्धित निकायसँग छलफल गरी वार्षिक क्यालेन्डर प्रकाशित गर्ने, कार्यन्वयन गर्ने, विद्यालय भलिबल कमिसनलाई सक्रिय गराइ कम्तीमा वर्षमा महिला र पुरुषको १-१ राष्ट्रिय टिम बनाइ अन्तर्राष्ट्रिय उमेर समूहमा सहभागी गराउने उनले आफ्ना एजेन्डा उनले सार्वजनिक गरे।
यता मास्केले नेपाली भलिबलमा सुशासन, जनसहभागिता र व्यवसायीकता भन्ने नाराका साथ भलिबलको विकास र विस्तारका लागि समन्वय, सहकार्य, साझेदारी, संस्थागत सुदृढिकरण र सदस्या वृद्धि जस्ता एजेण्डालाई अघि सारेकी छिन्।
भलिबल विकासका पाँच पमा आफ्नो प्रतिबद्धता व्यक्त गर्दै प्रशिक्षण, प्रतियोगिता, पूर्वाधार, प्रोत्साहन र प्रशासनीक सुधारका कार्यक्रमलाई गर्ने पनि मास्केको घोषणा छ।
मास्केले ग्रासरुटदेखि विभिन्न तहको भलिबल टिम निर्माण गर्ने, सोही अनुसारको कार्यक्रम गर्ने, काठमाडौं सहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र संघको प्रशासनलाई व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
मास्केलाई पूर्वअध्यक्षहरु दानबहादुर तामाङ, गंगाबहादुर थापा, प्रकाश थपलिया तथा सुदुरपश्चिम प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंह, प्रदेश एकका खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेको साथ छ।
यस्तै चन्दलाई अध्यक्ष मनोरञ्जनरमण शर्मा, पूर्व खेलाडी समेत रहनुभएका सशस्त्र प्रहरी बलका पूर्व आइजिपी दुर्जकुमार राई, पूर्व खेलाडी नेपाल प्रहरीकापूर्व डिआइजी रमेश खरेल, संघका वरिष्ठ उपाध्यक्ष यामबहादुर गुरुङ, उपाध्यक्ष हर्क सिंह धामी, कोषाध्यक्ष सुनकेशरी माली, सदस्य श्रीराम बोगटी, एभीसी रेफ्री पूर्ण चौलागाईंको साथ छ।
यसअघिको साधारणसभाले मनोरञ्जन रमण शर्माको अध्यक्षतामा निर्विरोध कार्यसमितिको चयन भएको थियो।
यस्तै संघको महासचिवमा रोशन श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। यसअघि महासचिव पदमा संघका वर्तमान सचिव मनवीर छन्त्यालले महासचिवमा उम्मेदवारी घोषणा गरेका थिए।
चन्दको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा स्वागत मन्तव्य राख्दै श्रेष्ठले महासचिवमा उम्मेदवारी घोषणा गरे। योसँगै भलिबल संघमा यसपटक प्यानलसहितको प्रतिष्पर्धा हुने सम्भावना बलियो बनेको छ।
उता नयाँ निर्वाचनका लागि अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेकी संघकी सदस्य इन्दिरा निरौलाले उम्मेदवारी नदिने जनाउँदै आफ्नो समर्थन चन्दलाई रहने बताइन्।