बंगलादेशमा भएको काभा २३ वर्षमुनि (यू–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल जितविहीन बनेको छ।
जित निकाल्न नसकेपछि नेपाल चार टिम सहभागी प्रतियोगितामा चौथो स्थानमा रहन बाध्य भएको छ।
ढाकामा आज तेस्रो स्थानका लागि भएको खेलमा श्रीलंकाले नेपाललाई ३–२ को सेटमा पराजित गरेपछि नेपाल चौथो स्थानमा रहेको हो।
खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो। नेपालले श्रीलंकामाथि दोस्रो सेट २५–१९ ले जित्यो।
त्यस्तै खेलको तेस्रो सेट श्रीलंकाले २५–१९ ले जित्यो भने खेलको चौथो सेटमा नेपाल विजयी भयो ।
नेपाल २५–२० ले जिते पनि त्यसपछिको सेटमा पराजित भयो। खेलको अन्तिम सेट श्रीलंकाले १५–१० ले आफनो पक्षमा पारेपछि श्रीलंकाको जित पक्का भयो।
यसजितसँगै श्रीलंका भने तेस्रो स्थानमा रहेको छ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको थियो।
आजै हुने फाइनल खेलमा आयोजक बंगलादेश र किर्गिस्तान भिड्नेछन्।