त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिला र पुरुष दुवैतर्फ जित हात पारेका छन्।
च्याम्पियनसिपको पहिलो दिन आर्मीले पुरुषतर्फ भारतीय खेलाडी सम्मिलित दावाली मिलन क्लबलाई २५–२०, २५–२१, २५–२१ को सोझो सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भएको हो। समूह ‘ए’मा आर्मी र दावालीसँगगै मणिमुकुन्द भलिबल क्लब रहेका छन्।
राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको च्याम्पियनसिपको समूह ‘सी’को खेलमा नेपाल पुलिसले पहिलो पटक सहभागिता जनाएको न्युटन भलिबल एकेडेमीमाथि ३–० को जित निकाल्यो। पुलिसले न्युटनलाई २५–१७ र २५–१६ ले पराजित गर्दै ३ अंक जोडेको छ। यस समूहमा पुलिस र न्युटनसँग ढोरपाटन र गण्डकी रहेका छन्।
यस्तै महिलातर्फ नेपाल पुलिस क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–१०, २५–६ र २५–८ को सोझो सेटमा पराजित गरी विजयी सुरुवात गरिसकेको छ। जितसँगै पुलिसले समुह ‘ए’ मा ३ अंक जोडेको छ। यो समूहमा पुलिसँगै होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र नयाँ बजार रहेका छन्।
यस्तै आर्मीले कृष्ण सेकेन्डरी एकेडेमीमाथि २५–३, २५–५ र २५–१० को जित निकाल्न सफल भयो। यस जितसँगै आर्मीले समूह ‘बी’ मा ३ अंक जोडेको छ। यो समूहमा आर्मीसँगै एपिएफ, गण्डकी प्रदेश, कृष्ण सेकेन्डरी एकेडेमी रहेको छ।
माघ १ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिला तर्फ ८ टोलीको सहभागिता रहेको छ।
पुरुष र महिला दुवैतर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन्। दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।
च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ।