नेपाली साहित्यमा कुनै समय कविता विधाको वर्चस्व थियो। पछिल्लो दशकयता यो क्रम हेरफेर भएको छ। खण्डकाव्य, महाकाव्यजस्ता कविताका सर्वाेच्च विधा कम लेखिन थालेका छन्।
यस्तो स्थितिमा कवि, गीतकार एवं सञ्चारकर्मी नवराज लम्साल भने दुई दशकदेखि कवितामै साधनारत छन्। लम्सालका ‘कर्ण’ र ‘धरा’ गरी दुईवटा महाकाव्य, दुई कविता संग्रह र दुई गीत संग्रह प्रकाशित छन्। उनीसँग रहेर समकालीन नेपाली कविता र पछिल्लो साहित्यिक घटनाक्रमबारे सेतोपाटीका
निर्भीकजंग रायमाझीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ।
पछिल्लो दशकयता कवितामा देखिएका प्रमुख चुनौती एवं समस्या के हुन्?सर्वप्रथम म केही राम्रा कुरा भन्न चाहन्छु। यस बीचमा धेरै कवि आए, प्रकाशन पनि धेरै भए। कविताका विषयमा धेरै कार्यक्रम, गोष्ठी, छलफल र अन्तरक्रिया भए। एकै केन्द्र भत्कियो र उपत्यका बाहिर पनि व्यापक सक्रियता बढ्यो। प्रत्येक ठाउँले आफूलाई अब्बल सावित गर्न खोज्यो र खोजिरहेका छन्।
विभिन्न स्वरूप र क्षमता धेरै मिडिया आए। सबैजसो कविले सहज रूपमा कुनै न कुनै ठाउँ पाए। कविता चलायमान भयो र तुलनात्मक रूपमा विषयमा वैविध्य पनि आयो। यिनै सन्दर्भ भनेपछि मात्रै तपाईंको प्रश्नले उठाएको समस्याको फेदमा पुग्न सकिन्छ।
युवाहरू आउन त आए तर को कहाँबाट कसरी आए? तिनको लेखन कथ्य के कस्तो छ र कस्तो चिन्तन सहित आएका छन्? ती कुनै कविकै फोटोकपी भएर आएका छन् कि आफ्नै स्वरूपमा छन्, यो प्रमुख कुरा हो।
यो त हाम्रो परिस्थिति भएन र? कविताका खास चुनौती चाहिँ के हुन्?अहिले सम्भावना भएका राम्रा कवि पनि भ्रममा छन्। यही भ्रममा जे पायो त्यही लेखाउने र लेखिने सम्भावना रहन्छ। अर्कैले सेट गरिदिएका मुद्दा र कविता कथ्य बीचको फरक नछुट्टिने कवि कुनै अदृश्य शक्तिको प्रवक्ता हुने खतरा ज्यादा छ। आफूले आफूलाई नचिन्नु, आफ्ना कविताको सीमा र सामर्थ्य वा कथ्य नचिन्नु बीच कवि अल्मलियो भने र के लेखेँ, यो कस्तो छ भनेर अरूलाई सोध्दै हिँड्नु पर्यो भने सम्झनुस् कि ऊ भर्खर सिक्दैछ। वा, समाप्त हुने बाटोतिर गइरहेछ। सुन्दा अहंकारी स्वर जस्तो लाग्छ तर आत्मविश्वास नहुने कविले कविता लेख्दैन।
लामो कविता, महाकाव्य जस्ता जटिल साधना गरेर लेखिनुपर्ने कुरा अहिले अत्यन्त कम लेखिएको छ, यसले नेपाली कवितामा कस्तो प्रभाव पार्ला?कवितालाई लामो वा छोटा भन्नुभन्दा पहिले कविता कविताकै जगमा छ/छैन हेर्नु र बुझ्नुपर्छ। कुनै कविता किन र के कारणले नेपाली कविता हुन्छ? नेपाली भाषामा लेख्दैमा नेपाली कविता हुने हो र? होइन नि! अध्ययन र ज्ञान नभई केवल अनुभूतिको तहमा मात्र कविता खोज्दा दुर्घटना हुनसक्छ।
धेरै समालोचक फलानाका कवितामा देशप्रेम छ, राष्ट्रभक्ति छ, प्रकृति चित्रण छ, सुखदुःख छ, मायाप्रेम छ भन्छन्। यस्तो छ उस्तो छ भनेर गीता गाउँछन्। खाँटी समालोचकले त्यही भनेर बस्ने होइन। समालोचनामा आत्मबोधभन्दा बढी अहंकार र तुष्टिमात्र छ। खासमा समालोचकको खडेरी समय हो यो।
कविता संरचना, कथ्य र कथ्यको आयतनमा भर पर्ने कुरा हो। समय पनि केही होइन। देवकोटाले तीन महिनामै शाकुन्तल लेखेथे। त्यो त व्यक्तिभित्र हुने फरकफरक प्रतिभा, व्युत्पत्ति र अभ्यासको कुरा हो। तर मेरो चिन्ता हल्लाले कञ्चन युवालाई खान्छ कि भन्ने मात्रै हो।
‘धरा’ महाकाव्य लामो छ, विभिन्न छन्दको कलात्मक प्रयोग त्यहाँ पाइन्छ। यो काव्य लेख्ने क्रमका केही रोचक एवं उलेख्य प्रसंग बताइदिनुस् न?‘धरा’ मेरो दश वर्षको सपना हो र सम्पूर्णतामा देश खोज्ने कोशिश हो। काव्यले उठाएको धेरैजसो ठाउँ, जाति र संस्कृतिको सन्दर्भस्थलमै पुग्ने अवसर मलाई प्राप्त भयो। तत्तत ठाउँमै धेरै कुरा देखेर, हेरेर, पढेर र सिकेर आउन पाएको छु। अनुभूत गर्न पाएको छु। त्यही मौकामा इतिहासका प्रसंगहरूको पनि अध्ययन गरेँ।
समयको स्वर के हो? आमजनता के भन्छन्? तिनका आशा र निराशाका सीमा के हुन् र किन हुन्? राज्यसत्ताको सफल/असफल पक्षको प्रभावले नागरिक चेतनामा पार्ने असर के हो? शासकको अहंकारले बिगारेको देश र सामर्थ्य र सौन्दर्यको साँचो मेरो देश बीच के फरक छ? कवि मनमा यी सारा कुरा खेले र तिनलाई काव्यिक संश्लेषण गरेको हुँ। देश बिग्रेको हो भने बिगारे त व्यक्ति विशेषले बिगारे। शासक विशेषले बिगारे। तिनको स्वार्थ र असक्षमताले बिगारे। तर देश स्वयंमा सुन्दर, सौम्य र आराध्य छ। विकास आज नभए भोलि होला तर युवा नागरिकको मनबाट देशप्रतिको निष्ठा मरेको दिन देशको ठूलो क्षय हुनेछ। देशभक्ति ‘धरा’को पहिलो शर्त हो।
मैल ‘धरा’मा भनेको छु–
‘पहिलो माटो, दोस्रो आमा, संस्कृतिको काख तेस्रो।
चौथो म हुँ पाँचौं मेरो जिन्दगीको परिवेश हो।’
‘धरा’ महाकाव्यमा राष्ट्रवादी चिन्तन अति बढी पाइएको गुनासो पनि सुनिन्छन्। के त्यहाँ चलाखिपूर्ण ढंगले पहिचानको मुद्दा ओझेल पार्न खोजिएको हो र?राष्ट्रवादी चिन्तन भन्नुस्, देशको महिमा गायन भन्नुस् वा देशको चिन्ता भन्नुस्। शब्दमा मलाई केही आपत्ति छैन तर चिन्ता गरेकै हो। पूर्वीय दर्शनको शिरोभाग हो नेपाल। बहुलताको प्रतीक हो नेपाल। सयौं संस्कृति, भाषा र धर्मको मूल थलो हो।
अब रह्यो चलाखीपूर्ण ढंगले पहिचानको मुद्दा ओझेल पारेको कुरा! तराईको सामाचकेवा र झिझियाको कुरा गर्नु, मिथिलाञ्चलको महत्व गायन गर्नु, सोलुको सेब्रुको कुरा गर्नु, पूर्वको चण्डी, पालमको कुरा गर्नु, राई, लिम्बू, कोचे, मेचे, धिमाल र राजवंशीको कुरा गर्नु, सुर्खेतको सिंगारु, कास्की आसपासका गुरुङ, रोल्पाका मगर, पूर्वदेखि पश्चिमसम्मको थारुहरू र अनेकौं समुदायलाई पढेर, सम्झेर तिनका नाममा एउटा कविले काव्य लेख्नु पहिचान विरोधी हुन्छ?
राउटे र चेपाङका कुरा लेख्नु, बोटे, दराई, कुमाल छैरोतन, हायू र सुरेललाई सम्झनु, हिमाल, पहाड र तराई आफैं पात्र भएर काव्यमा बोल्नु पहिचान विरोधी हुनु हो र? पहिचान विराधी भएको भए त धादिङका लम्साल बाहुनको दस पुस्ताको कथा लेखेर बसिहाल्थेँ नि। किन खोज्दै हिड्थेँ यारी, उराइ र टिङ्कर भञ्ज्याङ र ती ठाउँमा पहरा दिएर बस्ने नेपालीको कथा!
एक व्यक्ति कवि, साहित्यकार हुनु तथा देशको प्रमुख सञ्चारमाध्यमा आबद्ध हुनुले उसलाई कस्तो फाइदा वा अप्ठेरो हुन्छ?यसमा राम्रा नराम्रा दुवै कुरा छन्। सञ्चारकर्मकै सिलसिलामा धेरै ठाउँ जान पाइन्छ। देख्न–सिक्न पाइन्छ। यो राम्रो कुरा हो। म देशको धेरै भूभागमा रेडियो नपालमा भएकै कारणले पुगेँ। यसमा मलाई सन्तोष पनि छ र गौरव पनि। तर जति सुकै राम्रो गरे वा गर्न खोजे नि आफैं सञ्चार संस्थामा भएपछि सिर्जनामाथि त्यति न्याय नहुने रहेछ। रेडियो आफैंले आफ्नै बारीको मूला सम्झिदिने। अरूको सारा खबर सम्प्रेषण गर्ने रेडियो नेपालले मैले २०५९ मा राष्ट्रिय कविता महोत्सवमा प्रथम भएर तत्कालीन राष्ट्रप्रमुखबाट पुरस्कार ग्रहण गरेको समाचार प्रसार गरेन। त्यसमा हाम्रो आन्तरिक तिक्तता र व्यक्तिगत अस्विकारोक्तिले काम गरेको थियो। भन्नुस् के फाइदा मानूँ के बेफाइदा मानूँ!
तपाईंका धेरै गीत स्रोतामाझ लोकप्रिय छन्। तर पछिल्लो समयको गीत लेखनमा विकृतिले जरा गाडेको पाइन्छ। के हाम्रा गीतले आफ्नै मौलिक शैलीमा कलात्मक उच्चता दिन सक्दैनन्?त्यसरी पूरै विकृति नै भयो त नभनूँ। नेपाली संगी को मूल नदी केही सानातिना बाछिटाले बिगार्दैनन्। समयले दिने नयाँपन र नयाँ रूपलाई भने केही हदसम्म स्वीकार गर्नु पनि पर्छ। कसैलाई पनि कुनै ठाउँमा प्रवेशमा पूरै निषेध गर्यो भने यसले भत्काएर पनि पस्छ। नदी नदीकै रूपमा बगिरहन्छ। बग्नु सङ्लिनु पनि हो। नदी बग्दा केही छाल बाहिरिन्छन्। छाल पनि पानी नै हो। तर छाल बगरमा हुत्तेपछि त्यति धेरै समय त्यहाँ रहन्न। ऊ आफैँ सुक्छ। नदी सझा गर्न लागौं, छाल गनेर नबसौं। समस्या हामी चिन्ता गर्नेसँगै छ। कलाकार आफैं जिम्मेवार भएको दिन एवं मिडिया आफैंले आफ्नो अनुहार ऐनामा हेरेको दिन आधा समस्या तत्काल सुल्झिन्छ।
कला, साहित्य र संस्कृति हेर्ने राज्य निकायको कार्य निकै फितलो रहेको बताइन्छ। यस्तो स्थितिलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ?कला साहित्य र संस्कति हेर्ने निकायको कार्य तपाईंले भनेजस्तै फितलो हो भने दुईटा कारण छन्। कि त्यहाँ त्यस संस्थालाई काम लाग्ने मान्छे नै गएनन्। कि त्यहाँ केही नीतिगत समस्या छन्। व्यक्ति खराब हुन् भने तिनलाई सच्याएर नयाँ नियुक्तिकै बेला खबरदारी गर्नुपर्यो। नीतिगत समस्या छ भने गएकाहरूले पहल गर्नुपर्यो।
आजको खुला र बहुल समाजमा कसैलाई लठ्ठी लगाएर यही गर भन्नु झट्ट हेर्दा त्यति उपयोगी कुराजस्तो नसुनिएला/नहोला। तर स्वतन्त्रता भनेको स्वच्छन्दता त होइन नि। स्वच्छन्दताबाट जोगाउनु/जोगिनु जरुरी छ। केही नैतिक सीमा र बन्धन अवश्य हुन्छन्। सबैले त्यही बन्धन आत्मबोध गरेको दिन शुद्धीकरण सुरु हुन्छ। आज हामी अधिकारको नारा लगाउने कर्तव्य बिर्सने भीड भइसक्यौं। देशप्रति सबैको कर्तव्य छैन र?
युवा पुस्ताको एक ठूलो हिस्सा साहित्यमा आउन संघर्षरत छ। यस पुस्ताको सबल पक्ष एवं कमजोरी के-के हुन्?लेख्नुमात्र ठूलो कुरा होइन। के लेख्यो र कसरी लेख्यो भन्ने कुरा महत्त्वपूर्ण छ। अर्काले के भन्छ बिर्सनुस्, आफ्नै मनलाई सोध्नुस्। ‘कभर’मा मात्र साहित्यकार हुने र दुईचार दिन नाम र चर्चा खोज्न आउने भए दुःख नगर्नुस्। ‘क्रिम’मै साहित्यकार बन्ने हो भने साहित्यका केही सीमा र मूल्यहरू छन्, तिनलाई सोचिदिनुस्। आज तपाईंलाई सच्याउने, सिकाउने र सही मार्ग दर्शन गर्नेभन्दा लहैलहैमा एकदम राम्रो भनेर फुर्क्याइइदिने र आफ्नो झोला बोकाउने जमात बढी छ। युवाहरूसँग भएको जोश र उत्साह सवल पक्ष हो। त्यो ऊर्जालाई सिर्जनामा कसरी बदल्ने भन्ने कुरा युवाका लागि चुनौती पनि हो।
कविता भन्दा पनि कथा, आख्यान तथा संस्मरणले साहित्यमा अहिले बजार ओगटेको देखिन्छ। यसलाई तपाईं कसरी लिनुहुन्छ?विधागत रूपमा मेरो त्यस्तो ठूलो आग्रह छैन। जसलाई जुन विधा सहज लाग्छ त्यही लेख्ने हो। कस्तो लेखिएको छ र कसरी आएको छ भन्ने कुरामा चाहिँ विचार पुर्याउनुपर्छ। लेखकभित्रको लेखक कति इमानदार छ र उसले समाजसँग कति सुन्दर संवाद गर्न सक्यो भन्ने कुरा महत्वपूर्ण हो। सबै कवि मात्रै हुनुपर्छ भन्ने छैन। सबै कथाकार वा उपन्यासकार मात्रै हुनुपर्छ भन्ने पनि छैन। संस्मरण लेख्ने त झन् जटिल कुरा हो। मरेर गइसकेको मान्छेसँग आफूलाई जोडेर उसले गरेको बयान र त्यसको राष्ट्रिय सन्दर्भहरू पनि आउलान्। के कुराले बजार ओगटेको छ वा ओगटेजस्तो भएको छ, यथा समयमा पर्दा खुल्दै जाने छ।
साहित्य यात्राको आफ्नो विगतदेखि आजसम्मलाई सम्झनुपर्दा कस्तो अनुभव हुन्छ?रमाइलो लाग्छ। म कुनै विरासतको छत्रछायाबाट आएको होइन। पहिलो रचना २०४१ सालको अरुणोदयमा छापिएको हो। ‘वन्दना’ शीर्षकको कविता थियो त्यो। त्यसपछि गीत छापियो। कविता पहिलो, गीत दोस्रो र उद्घोषण तेस्रो पाटो हो मेरो। ‘कर्ण’ र ‘धरा’ दुई महाकाव्यसम्म आइपुग्दा असन्तुष्टि झन् बढेको छ।
अझै गम्भीर तरिकाले केही लेखुँ भन्ने हुटहुटी छ। एउटा कुरा भन्छु– नेपाली मिडिया र ठूला भनिएका प्राज्ञ/समालोचकभन्दा तल्लो तहका जनता र युवा पंक्तिद्वारा रुचाइएको पात्र हुँ म। ती जनता सबल भएको र युवाहरू निर्णायक भएको दिन कर्ण र धरा शैलीमा लेख्ने र बाँच्नेको खोजी हुनेछ।