यो चिसो मौसममा 'चिसो वर्ष' कै कथा सुन्नु छ। कथा भन्न मीन भामले बौद्ध डाकेका छन्।
हामी सेचेन गुम्बामा छौं। गुम्बा परिसरभित्रको क्याफेमा पुग्नेबित्तिकै मीन 'फ्रेस जुस' मगाउँछन्।
जुस पिएपछि केहीबेर अघिसम्म ध्यानमा लीन उनका आँखा ताजा देखिन्छन्। कपाल छोट्याएर पूरै नयाँ देखिएका मीनको मुहारमा पनि नयाँ ताजगी छ।
गुम्बाभित्रको हरियो चउर र बगैंचा बीचैबीच हिँडेपछि गुम्बाबाहिरको गल्ली पुगिन्छ। केही पाइला हिँडेपछि मीनको अस्थायी घर आउँछ। घरको तल्लो तलामा फिल्म, साहित्य, दर्शन र अध्यात्मका किताबले भरिएको अध्ययन कोठा छ। कोठामा सम्मान, पुरस्कार र मायाका टोकन अनि भित्तामा टाँगिएका चित्रले मीनको रूचिबारे बोलिरहेको छ।
त्यही लहरमा मीनको नयाँ फिल्मको 'क्ल्यापबोर्ड' देखिन्छ। कोठामा आमनेसामने भएर मीन 'चिसो वर्ष' (अ इयर अफ कोल्ड) को 'वान लाइन स्टोरी' सुनाउँछन्–
'चिसो वर्ष हिमाली गाउँको कथा हो। बहुपति प्रथाको पृष्ठभूमिमा यसमा पेमा र लामाको यात्रा समेटिएको छ। यी दुई पात्र हराएका आफन्तको खोजीमा निस्कन्छन्। पेमा पतिको खोजीमा हुन्छिन्, लामा आफ्ना दाइको खोजीमा। यात्रा क्रममा पेमा र लामाको जीवनमा भौतिक तथा आध्यात्मिक अभ्यास र विश्वास एकअर्कासँग क्रसओभर भएर जान्छ।'
मीनले एक मिनेटमा बोलेर सक्काएको यो कथाको पटकथा लेख्न चार वर्षभन्दा बढी समय लगाइसकेका छन्। यो त्यही पटकथा हो, जसले नर्वेजियन साउथ फिल्म फन्ड (सरफन्ड) बाट ६० हजार अमेरिकी डलरको अनुदान सहायता जितेको थियो। यो खबर पनि अब पुरानो भइसक्यो।
हामीलाई त त्यही चार वर्षको कथा सुन्नु छ। लेख्दै, मेट्दै, केर्दै र फेरि लेख्दै अठारौं खेस्रासम्म आइपुग्दा मीनले संगालेका अनुभवको कथा।
उनी सुनाउँछन्, 'पटकथा लेखनको काम मानसिक तयारीबाट सुरू हुन्छ।'
अघिल्लो फिल्म 'कालो पोथी' ले मीनलाई अन्तर्राष्ट्रिय चर्चा र पुरस्कार दिलायो। तर मीनका लागि 'कालो पोथी' को सफलताको धङधङीबाट बाहिर निस्कनु अनिवार्य थियो।
उनी भन्छन्, 'कालो पोथीको ब्याज खाएर बस्न चाहन्थिनँ। न त फिल्मको कमजोरीमै अल्झिएर बस्नु थियो।'
यही नै उनको मानसिक तयारीको पहिलो चरण बन्यो।
'कालो पोथी' उनकै जन्मथलो मुगुको कथा थियो। भाषा, पात्र, परिवेश सबै उनका भोगाइ र कल्पना नजिक थिए।
'चिसो वर्ष' को भने समय, स्थान र सन्दर्भ फरक छ। यो सिनेमा डोल्पा, मनाङ वा मुस्ताङमध्येका ठाउँमा छायांकन गर्ने योजना छ। मीनका अनुसार हिमाली परिवेश भएकाले त्यहाँको समाज, संस्कृति, प्रकृति र जीवन बुझ्नु उनको पटकथा लेखनको अर्को चरण बन्यो।
पटकथा लेख्नु भनेको कापी कलम समातेर घोत्लिएर बस्नु मात्रै होइन।
शब्दमा ढाल्नुअघि केही कुरा मनमा लेखिन्छ। कतिपय कुरा दिमागमा लेखिन्छ। जहाँ लेखे पनि यसका लागि अध्ययन, अवलोकन, चिन्तन र मननको प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ। अनुभव, कल्पना र यथार्थको सहारा लिनुपर्ने हुन्छ। पछिल्ला चार वर्ष मीनले यस्तै प्रक्रियामा बिताए।
'बसाइ, हिँड्ने–डुल्ने ठाउँ र सोच्ने कुरा नयाँ बनाएँ। घुम्न जाने ठाउँ बदलिएँ,' उनले उदाहरण दिए, 'फुर्सदमा घुम्न प्रायः पोखरा जान्थेँ। अब मुस्ताङ र डोल्पातिर उक्लन थालेको छु।'
यस्तो अभ्यासलाई उनी अनौपचारिक अनुसन्धान मान्छन्। काठमाडौंको दैनिकीलाई पनि उनले 'चिसो वर्ष' को परिवेश, पात्र, संवाद र संवेदना खोज्ने–बुझ्ने हिसाबले हेरफेर गरेका छन्। तपोवन, बौद्ध, स्वयम्भूदेखि नमोबुद्धसम्म डुलेर लेखनलाई सघाउने 'भाइब्स' खोजिरहेका छन्।
उनी भन्छन्, 'चिसो वर्षमा तिब्बती संस्कृति चित्रण गर्नुपर्ने भएकाले गुम्बाको माहोलले पनि लेखनमा सकारात्मक असर परेको छ।'
काठमाडौं बस्दै आएका हिमाली भेगका मान्छेसँग भेट्नु र उनीहरूबारे धेरै जानकारी लिने प्रयास उनको अर्को काम हो।
मानसिक, बौद्धिकसँगै उनको शारीरिक तयारी पनि रोचक छ।
'चिसो वर्ष' हिमाली क्षेत्रमा छायांकन गरिने भएकाले डेढ वर्षदेखि उनले चुरोट पिउन छाडेका छन् रे!
उकाली-ओराली गर्न सजिलो होस् भनेर छ महिनादेखि तौल घटाउन सन्तुलित भोजन गरिरहेका छन्। यसबीच उनले हेर्ने फिल्मदेखि पढ्ने किताब पनि हिमाली परिवेश र जीवनसँग सम्बन्धित छन्। उनी चियादेखि चिन्तनसम्म हिमाली स्वाद खोजिरहेका छन्।
अचेल उनले पिउने चियामा पनि हिमाली स्वाद छ। कुराकानीबीच चिनीबिनाको कालो चिया पिउँदै भन्छन्, 'यो चिया पनि हिमालकै हो।'
मानसिक र भावनात्मक तयारीसँगै राम्रो पटकथाले सुन्दर 'क्राफ्ट' माग गर्छ। क्राफ्ट राम्रो बनाउन यसपटक उनले धेरै देशका लेखन शिविर र अवार्ड समारोहका अन्तर्क्रियामा सहभागी हुने महत्वपूर्ण अवसर पाए।
पछिल्ला चार वर्षमा पटकथा लेखन माझ्नै भनेर उनी अमेरिका, फ्रान्स, जर्मनी, कोरिया, स्वीट्जरल्यान्ड लगायत देशमा भएका महोत्सव र लेखन शिविरमा पुगे। हालै अमेरिकामा डेढ महिना लामो 'लस एन्जल्स रेसिडेन्सी ल्याब' बाट फर्केका हुन्।
मीन भन्छन्, 'यो अवधिमा स्क्रिप्ट राइटिङ वर्कसप, राइटर्स रेसिडेन्सी ल्याब र घुमघामकै सन्दर्भमा पन्ध्रभन्दा बढी देश पुगियो,' उनी हाँस्दै थप्छन्, 'रमाइलो र महँगो अनुभव भयो।'
२०१७ मा एसियन प्रोजेक्ट मार्केट बुसान (कोरिया) को सरफन्ड पिचिङ अवार्ड जितेयता 'चिसो वर्ष' को पटकथाले बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा एसियन सिनेमा फन्ड, लोकार्नो ओपन डोर्समा आर्टे पुरस्कार, नर्वेजियन सरफन्ड र सिनेमाज डु मोन्डे प्रोडक्सन फन्ड पाइसकेको छ।
यसैबीच उनले फ्रान्सको कान्स महोत्सवमा सिने फाउन्डेसन रेसिडेन्स, जर्मनीको निपको रेसिडेन्सी टोरिनो फिचर ल्याब, लस एन्जल्स रेसिडेन्सीमा सहभागिता जनाइसकेका छन्।
अन्तर्राष्ट्रिय स्तरका यी फोरमहरू संसारभरकै सिनेमाकर्मीका लागि एकअर्काबाट सिक्ने लोभलाग्दा अवसर हुन्। यस्ता वर्कसप र रेसिडेन्सी ल्याबमा फिल्म लेख्ने-बनाउनेहरूले प्रतिक्रिया लिँदै कथामा थपघट र पुनर्लेखन गर्छन्। यसले उनीहरूको लेखाइ र बुझाइ माझ्न सघाउँछ।
उनी सुनाउँछन्, 'हामी निबन्धजसरी लेखिएका कथालाई समेत पटकथा मान्दा रहेछौं।'
यही क्रममा उनले फरक ठाउँमा बसेर लेख्दा मान्छेको सोचाइमा पर्ने अन्तर पनि महशुस गरे। पहिलोपटक नेपालबाहिर बसेर नेपालबारे नै लेख्दा आफ्नै समाजका कति कुरा नयाँ ढंगले हेर्न पाएको बताउँछन्।
उनी महत्वपूर्ण कुरा साट्छन्, 'विदेशमा लेख्नु भनेको आफ्नो कम्फर्ट जोनभन्दा बाहिर बसेर लेख्नु रहेछ। एउटा बसाइ अमेरिका, अर्को स्वीट्जरल्यान्ड वा कोरियामा हुँदा एउटै कथालाई नयाँ आयाम र दृष्टिकोणबाट हेर्न सघाउने रहेछ।'
मीनले यस्ता भेलाहरूमा फिल्म बनाउने सपना देखेका आफूजस्तै धेरै सर्जकसँग संगत गर्ने अवसर पाए।
तिनलाई भेट्दा उनलाई लाग्नेरहेछ, 'ए! म मात्रै एक्लो रहेनछु। मजस्तै सपना पछ्याउनेहरू संसारभर रहेछन्।'
हिमाली परिवेशको कथामा चुर्लुम्मै डुबेका उनी हिमाली दर्शन बाँड्दै भन्छन्, 'जसरी हिमाल चढ्न हिँडेकाहरू टाढाबाटै पनि आफ्नो गन्तव्य देखेर उत्साहित हुन्छन्, त्यसैगरी यस्ता कक्षाहरू फिल्म बनाउन हिँँडेका यात्रीलाई गन्तव्य पछ्याउन ऊर्जा दिने आधार हुन्।'
जति नै ऊर्जा भए पनि वर्षौं उही पात्र, परिवेश र संवादको जोडघटाउ गर्दा जोकसैलाई झिँझो लाग्छ।
मीन स्वीकार्छन्, 'पटकथा लेखन मीठो पीडा हो, अत्यासलाग्दो, झन्झटिलो प्रक्रिया– शरीरमा आफूलाई मनपर्ने ट्याटु खोपेजस्तै!'
हरेकपटक खेस्रा पुनर्लेखन गर्दा कथा सारदेखि ट्रिटमेन्टसम्म फेरबदल गर्नुपर्छ। धेरै पटक राइटर्स ब्लकको चरण आउँछ। के रात, के बिहान, पात्र र घटनाले लखेट्छ। कथा नै पूरा गर्न सक्दिनँ कि भन्ने सोचाइले अत्याउँछ। अठारौं खेस्रासम्म आइपुग्दा मीनले यस्ता कयौं चरण पार गरिसके जसलाई लेख्यो भने अर्को नयाँ कथा बन्छ।
परिणामभन्दा प्रक्रिया महत्वपूर्ण ठान्ने मीन जोड दिन्छन्, 'प्रक्रिया लामो हुनु चिन्ताको विषय हैन। मेरा लागि यो प्रक्रियामा म कति रमाइरहेछु, कति सिकिरहेछु, आफूलाई र जीवनलाई बुझ्न यो प्रक्रियाले सघायो कि सघाएन भन्नेले अर्थ राख्छ।'
उनी यो प्रक्रियालाई आमा बन्ने अवस्थासँग तुलना गर्छन्। जसरी एउटी आमाले सन्तान जन्माउन सहेको पीडालाई दुःख मान्दिनन्, मीन पनि यो काममा झेल्नुपरेका प्रक्रियालाई दुःख भन्ने पक्षमा छैनन्।
त्यही भएर होला, उनी धैर्यसाथ एकपछि अर्को नौ महिना बिताइरहेका छन्।
उनलाई थाहा छ, 'चिसो वर्ष' को प्रसव अवस्था अझै केही समय लम्बिनेछ।
'चिसो वर्ष'को पटकथा लेख्ने प्रक्रियामा मीनले हिमाली सभ्यता, त्यहाँका मान्छेका मूल्य मान्यता र हिमालसँग उनीहरूका अन्तर्सम्बन्धबारे धेरै कुरा थाहा पाएका छन्।
'यस्तो महत्वपूर्ण सिकाइ कुनै विश्वविद्यालयमा पनि नपाइन सक्छ,' उनी भन्छन्।
'भोलि चिसो वर्ष बजारको आँखामा हिट-फ्लप, जे पनि हुनसक्छ। मेरा लागि परिणामभन्दा प्रक्रियाले अर्थ राख्छ। कसैलाई प्रमाणित गर्न फिल्म बनाइरहेको छुइनँ। प्रक्रियामा रमाइरहेको छु।'
यसरी पाँच-सात वर्ष लगाएर बनाउने हो भने तीस वर्ष नाघिसकेका मीनले कति फिल्म बनाउलान् त?
उनी भन्छन्, 'हरेकपटक फिल्म बनाउँदा यही नै मेरो पहिलो र अन्तिमजस्तो लाग्छ। भोलि अर्को नबनाउन पनि त सक्छु। त्यसैले हरेक फिल्ममा शतप्रतिशत दिन्छु।'
यसरी एउटै फिल्ममा शतप्रतिशत दिनु जोखिम मोल्नु हो भन्ने उनलाई थाहा छ। यो जोखिमलाई उनी सिर्जनात्मक पागलपन भन्छन्।
उनको तर्क छ, 'यस्तो पागलपन नभए भिडमा हराइन्छ। बजारले म्यानुपुलेट गर्छ।'
भिडमा मिसिनुभन्दा मीनलाई प्रकृतिमा हराउन मनपर्छ। यात्राले मन–मस्तिष्कको ब्याट्री रिचार्ज गर्छ भन्ने मीन कहिले सुटुक्कै डोल्पा त कहिले पेरिस पुग्छन्। आफूलाई 'रिइनर्जाइज' गर्छन् र फेरि लेखनमा जोतिन्छन्।
यस्तै प्रक्रियाबाट गुज्रदै गुज्रदै मीन लेखनको अन्तिम चरणमा आइपुगेका छन्। हरेक प्रश्नको जवाफ उदाहरणमा दिन रुचाउने मीन अहिलेको अवस्थालाई खाना पकाउने चरणसँग दाँज्छन्। खानाको स्वाद भान्सेले गर्ने तयारीबाटै सुरू हुन्छ। मीन आफ्नो तयारीप्रति सन्तुष्ट छन्।
भन्छन्, 'यो चामल राम्रोसँग केलाएर प्रेसर कुकरमा बसाइसकिएको अवस्था हो। खानाको स्वादमा पकाउने मान्छेको लगाव पनि मिसियो भने त्यो मिठो हुन्छ।'
मीनले त झन् आफ्नो काममा आत्मा नै मिसाएका छन्। 'आगोको मात्रा पनि ठिक्क छ, अब सिठ्ठी लाग्न बाँकी छ,' उनी भन्छन्।
सिठ्ठी लागेपछि पनि उनी खाना खाइहाल्ने हतारोमा छैनन्। सन् २०२० फेब्रुअरीदेखि जुलाइसम्म उनी हिमाली गाउँमा बस्ने सुरमा छन्। त्यो बसाइमा तिब्बती भाषा सिक्ने लक्ष्य छ। त्यसपछि बल्ल उनी छायांकनमा लाग्नेछन्।
२०२१ मा सुरू भए छायांकन सम्भवतः २०२२ मा सकिनेछ।
तपाईं हामी चिसो वर्षको उत्कर्षबाट कहिले उम्कौं भन्ने अवस्थामा छौं। मीन भने पछिल्लो चार वर्षदेखि 'चिसो वर्ष' को पीडा र आनन्द आफैं लम्बाइरहेका छन्।
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी