सानो उमेरमै लामो फड्को मार्ने थोरै कलाकारमा पर्छिन्, आलिया भट्ट।
फरक धारमा बनेको 'हाइवे' फिल्मबाट सबैको मन जितेकी उनलाई 'उड्ता पञ्जाब' को सफलताले झनै चर्चामा पुर्यायो। उनी यस्ता फरक धारसँगै मूलधारका फिल्म पनि गरिरहेकी छन्। 'हफिङ्टन पोस्ट' का लागि अंकुर पाठकले लिएको यो अन्तर्वार्तामा आलियाले दुवै खाले फिल्म गर्नुका कारण र बलिउड तथा भारतीय समाजको सोचाइबारे बोलेकी छन्। यो अन्तर्वार्ता सुरज सुवेदीले नेपालीमा अनुवाद गरेका हुन्।
दोस्रो फिल्म 'हाइवे' बाटै तपाईंले आफूलाई हेर्नैपर्ने अभिनेत्रीका रुपमा चिनाउनुभयो। त्यसमा 'उड्ता पञ्जाब' पनि थपियो। कठोर समालोचकहरूले पनि तपाईंको काम प्रशंसा गरेका छन्। मैले पनि तपाईंको प्रस्तुतिमा कुनै कमजोरी भेट्टाउनै सकिन!
कलाकारहरू यसैका लागि बाँच्छन्। दर्शकबाट पाउने माया सोचेभन्दा धेरै हुन्छ। त्यसले नै कलाकारलाई अघि बढ्न प्रेरित गर्छ। मैले धेरैबाट प्रतिक्रिया पाएकी छु। यसमा अमिताभ बच्चन र आमिर खानजस्ता दिग्गज नाम पनि छन्। सबैले मेरो काम मनपराएको भनेर म्यासेज पठाउनुभएको थियो। त्यो एकदमै अद्भुत खुसी थियो। उत्कृष्ट प्रतिक्रिया भने स्थानीय व्यक्तिहरूबाट आउँछन्। एकपल्ट म अमृतसर गइरहेकी थिएँ। त्यहाँ कृषकदेखि अरू धेरै स्थानीय आएर उड्ता पञ्जाबको कुरा गर्नुभयो।
एकपल्ट एउटा कार्यक्रममा कृषकहरूसँग अन्तर्क्रिया गर्नुपर्ने थियो। एक जना आएर मलाई भेट्दै भन्नुभयो- ‘आलिया भट्ट?’ उहाँले उड्ता पञ्जाबबारे सुनेको र त्यसले महत्त्वपूर्ण विषय उठाएको छ भन्ने थाहा पाएको बताउनुभयो। भन्नुभयो- ‘त्यो फिल्मले त ठूलै हल्लाखल्ला पो ल्यायो यता।’
यस्ता कुराले मेरा लागि किन महत्त्व राख्छन् भने मैले उड्ता पञ्जाबमा जस्तो मेहनत सायदै अरू कुनै फिल्ममा गरेकी थिएँ। महिनौं बिहानदेखि साँझसम्म काम गरेकी थिएँ। कडा मेहनतले सफलता पाउँदा सबैलाई खुसी लाग्छ।
तपाईंले पहिला भन्नुभएको थियो, 'हाइवे' फिल्मले तपाईंलाई व्यक्तिगत रूपमा परिवर्तन गर्यो। आफैंले भोगेको घटना दोहोरिएजस्तो। त्यसपछि सम्भवत 'उड्ता पञ्जाब' नै हो, जसमा तपाईंले ‘डार्क क्यारेक्टर’ को भूमिका गर्नुभयो। त्यो यस्तो पात्र हो, जसले कल्पनै गर्न नसक्ने अवस्थामा पुर्याउँछ। तपाईंले बुझेको संसारमा त्यसको कस्तो प्रभाव हुन्छ?
मैले पहिला यो कहिल्यै भनेकी थिइनँ। उड्ता पञ्जाबको कुरा गर्दा पनि म त्यो भयानक अँध्यारो ठाउँमा पुगिहाल्छु। जतिबेला फिल्म सुटिङ भइरहेको थियो, मैले मेरो स्मार्ट फोन छुँदै छोइन। जबकि अरू बेला फोन छोड्ने कुरा म सोच्न पनि सक्दिनँ। त्यस बेला मैले एउटा सामान्य फोन बोकेकी थिएँ, जसमा इन्टरनेट चल्दैन। त्यसैबाट कहिलेकाहीँ परिवार र नजिकका साथीसँग कुराकानी गर्थेँ।
म आफूबाट टाढा भएर पात्रको नजिक हुन चाहन्थेँ। आफूलाई ध्यान दिने वा रमाइलो गर्ने इच्छाबाट टाढा बस्ने सचेत पहल थियो त्यो। म भारी पीडा बोकेकी र संसार थेग्न असफल प्रयास गरिरहेकी एउटी केटीको भूमिका गर्दै थिएँ। म आफ्नो होटलको कोठादेखि लिफ्टसम्म डराउँदै हिँड्ने गर्थेँ। त्यसले मलाई त्यही संसारमा फर्काउँथ्यो। म यस्ता काम गर्दै थिएँ, जसलाई म दैनिक वास्तविकताका रूपमा सोच्न पनि सक्दिनँ।
सुटिङ सकिएपछिको अवस्था कसरी झेल्नुभयो? अभिनय गरेको भए पनि अनुहारमा देखिने भाव र अनुभूति त व्यक्तिगत भण्डारबाटै आउने हुन्। सुटिङको लाइट बन्द भएपछि वा कट भनिएपछि ती भाव सजिलै फर्किँदैनन् होला, हैन?
धन्न भन्नुपर्छ, मसँग त्यसरी पुरानै अवस्थामा फर्किन सक्ने क्षमता छ। म यसलाई पूर्ण रूपमा छुट्टिने त भन्न सक्दिन, किनकि म आफैं पनि अलिक भावुक छु। तर, आफूलाई पात्रको भावनामा बहकिनबाट बचाउन र पहिलाजस्तै रहन के साँचो हो र के काल्पनिक हो भन्नेबीच पर्खाल लगाउन प्रयत्न गर्छु। अभिनय मेरो काम हो। म आफ्नो कामलाई माया गर्छु, तर त्यो कामलाई आफ्नो जिन्दगी नै लैजान दिन पनि त मिलेन।
तपाईं भयानक गहिराइमा डुब्नुभयो भने त्यसबाट उद्धार गर्ने व्यवस्था सिनेमासँग हुन्छ कि हुँदैन? उड्ता पञ्जाबको उदाहरण लिने हो भने त्यो एक 'डार्क सब्जेक्ट' मा बनेको फिल्म हो, जहाँ एक बलात्कृत महिलालाई लागुपदार्थ दुर्व्यसनमा धकेलिएको छ। कपुर एन्ड सन्स पनि पुनर्स्थापना केन्द्रकै वरपर छ। यसबारे विचार गर्दा …
एकदमै सही हो।
उड्ता पञ्जाबको सुटिङ सकिएको केही दिनपछि नै मैले ‘कर गई छुल’ गीत सुटिङ गरेँ। त्यसमा मेरो इनर्जी देखिएको छ। यस्तो किन गरेँ होला त? त्यो गीतले उड्ता पञ्जाब गर्दाको कठिन अनुभवबाट सामान्य जिन्दगीमा ल्याउन धेरै सहयोग गरेको थियो।
मान्छे कहाँ थिइस् के गर्दै थिइस् भन्छन्। म भन्छु मैले भर्खरै यो डार्क ड्रामा गरिसिध्याएँ र म खुसी हुन चाहन्छु। एउटी केटी एउटा पार्टीमा खुसी भएर नाच्दा कसरी नाच्छे, म त्यो अवस्थामा पुग्न चाहन्छु। कपुर एण्ड सन्सले मलाई त्यो ठाउँ थियो। त्यसैले दुवै खाले फिल्म गर्नु राम्रो हुन्छ जस्तो मलाई लाग्छ। म दर्शकलाई पूरै उदास र गम्भीर मात्र बनाउन चाहन्न। म उनीहरूलाई हँसाउन पनि चाहन्छु र रुवाउन पनि।
[caption id="attachment_133487" align="alignnone" width="900"] 'उड्ता पञ्जाब' को एक दृश्यमा आलिया।[/caption]
तपाईंलाई त्यस्ता खाले गहन विषयका फिल्म खेल्न सहज भयो, किनकि तपाईंले आफूलाई ग्ल्यामरस हिरोइन भनेर स्टुडेन्ट अफ दि इयर, टु स्टेट्स, हम्टी शर्माकी दुल्हनियामा प्रमाणित गरिसक्नुभएको थियो। यसको मतलब तपाईंलाई त्यस्ता फिल्म छान्दा हार्डकोर सिरियस फिल्म मात्र खेल्ने केटी भनेर सीमित हुने डर थिएन?
म यसलाई यो रूपमा हेर्दिनँ। म ग्ल्यामरस भूमिका भएको फिल्म गर्छु, किनकि मलाई मन लाग्छ। कसैले मैले त्यस्तो फिल्म गरोस् भनेर अपेक्षा राख्दैन। मन लागेर गर्नु र कसैको अपेक्षाका कारण गर्नुमा ठूलो अन्तर छ। म हाइवे, उड्ता पञ्जाबजस्ता फरक धारका फिल्म गर्छु, तर कसैका लागि आफूलाई प्रमाणित गर्न हैन। मलाई त्यस्ता फिल्मले व्यक्तिगत र कलात्मक तहमा धेरै छुन्छन्। मुख्य जोड भनेको मन लागेको काम गर्ने हो, न कि कसैले अपेक्षा गरेको काम गर्ने। पहिलादेखि नै सुरक्षित भनिएका फिल्म नै गर्नुपर्छ भन्ने छैन।
'स्टुडेन्ट अफ दि इयर' त डेब्यु गर्नलाई लागि सुरक्षित र पुरानै धारको थियो नि हैन?
त्यो कुरामा म खुसी छु। पहिलो फिल्म आफूले छान्ने हैन, फिल्मले आफूलाई छान्छ। म गर्वले भन्छु, त्यो फिल्मले धेरै हिट गीत पनि दियो, जसले अहिले पनि मलाई ब्याज खुवाइरहेका छन्। (लामो हाँसो)
२३ वर्षकै उमेरमा तपाईंले धेरैथोक प्राप्त गरिसक्नुभएको छ। एक हिसाबले भन्दा स्टार भइसक्नुभयो। यसरी स्टार भएको भन्ने बुझाइले कुनै रूपमा समस्या ल्याउँछ कि ल्याउँदैन?
म त्यस्ता कुरामा ध्यानै दिन्नँ। तर, तपाईं गलत हुनुहुन्न। कलाकारका रूपमा बारम्बार आफूप्रति सचेत भइन्छ। आफूलाई कसरी लिइरहेका छन् वा आफूले के देखाइन्छ भन्नेमा ध्यान दिइन्छ। त्यसैले पनि मेरा धेरै रूप हुन्छ। मेरो दुखी रुप¸ सुखी रुप¸ विनम्र रूप, खराब रूप वा उत्साही रुप। सबै अवसरमा मेरो यही अनुहार प्रयोग हुने हो। यस्तो खाले यात्रामा म हिँडिरहनुपर्छ। यसैका कारण खराब रूपमा प्रस्तुत हुने कुरा सोच्न पनि सक्दिनँ। राम्रो मान्छे भनेर मलाई बुझ्नेहरूको विश्वासले पनि थिचेर राख्छ (लामो हाँसो)। निर्देशक वा निर्माताले गलत ठान्छन् भनेर म कहिल्यै हतोत्साही हुँदिन।
यसलाई अलिक गहिराइमा लिएर जाउँ। स्वारा भास्कर¸ ऋचा चढ्डा वा कंगना रनावत- यी सबै अभिनेत्रीको तुलनामा तपाईंको यात्रा सहजै भयो होला। अहिले तपाईंका आफ्नै संघर्ष होलान्। सबैले बुझ्ने भनेको तपाईं एक त्यस्तो परिवारसँग सम्बन्धित हुनुहुन्छ, जहाँ फिल्मी वातावरण थियो। सायद तपाईंले काम पाउन कुनै निर्माताको ढोका ढक्ढक्याउनु परेन। ती सबै हेर्दा आफूलाई प्रमाणित गर्ने काममा अलिक धेरै ध्यान दिनुपर्छ जस्तो लाग्छ?
हुनसक्छ त्यो ममा लागू भयो। त्यसको दोष म बारम्बार महशुस गर्छु। तर, प्रवेश सहज भएकैले मैले आफूलाई प्रमाणित गर्न धेरै मेहनत गर्नुपर्छ भन्ने लाग्दैन। म कडा मेहनत गर्छु, तर आफूलाई प्रमाणित गर्नभन्दा आफूलाई विकास गर्नमा ध्यान दिन्छु।
तपाईंलाई लाग्दैन, बलिउड फिल्म उद्योग नातावाद र कृपावादबाट चल्छ। त्यसले उत्कृष्ट क्षमता हुनेलाई पाखा लगाएर आफ्ना मान्छेलाई फिल्म खेलाउँछ?
मेरो विचारमा जो नातावाद कृपावादका कुरा गर्छन्, ती इर्ष्यालु छन्। तपाईंसँग क्षमता छैन भने टिक्न सक्नुहुन्न। हो, त्यहाँ पुग्ने बाटो सहज भयो होला, तर जब फिल्म हलमा पुग्छ, त्यसले कि तपाईंलाई भित्र तान्छ कि फाल्दिन्छ। तपाईंका लागि कसले फिल्म बनाएको हो भन्नेले अर्थ राख्दैन।
म नाम लिन चाहन्नँ, तर फिल्म क्षेत्रकै पनि धेरै छोरा वा छोरी थिए, जो आउन त आए तर सफलता पाउन सकेनन्। त्यसबारे के भन्नुहुन्छ नि? मानिस हेर्न आउने भनेको त एक कलाकार वा निर्देशकको कामलाई नै हो।
नातावाद, कृपावादलाई बारम्बार ल्याउनुको के अर्थ? यो जरुरी छ। समस्याको कुरा गर्नु भनेको समाधान खोज्नु पनि हो। हाम्रो फिल्म उद्योग यसरी नै समावेशी हुने हो हैन र?
हो म तपाईंको कुरामा सहमत छु। तर, एक डाक्टरको छोरा डाक्टर भयो भने त तपाईं केही भन्नु हुन्न हैन? बाउ भएकाले ऊ भएको भनेर कुरा गर्नुहुन्न हैन? स्टारका छोराछोरीले १० अवसर पाउँछन्। तीमध्ये त्यस्ता १० सट हुन सक्छन्, जसका लागि उनीहरू योग्य नै थिएनन्। कोही योग्य मान्छे भने कुनै एक सटका लागि पर्खिरहेको हुन्छ। त्यसमा प्रमाणित गर्न सकेन भने सम्भवत हामीले उसको बारेमा सुन्दा पनि सुन्दैनौं।
त्यसैले, यो नराम्रो हो भने जिन्दगी नै नराम्रो छ। हाम्रो जिन्दगीमा पनि त नहुनुपर्ने धेरै कुरा भइरहेका छन्।
तपाईंलाई के ले अभिनयसम्म डोर्याउँछ? यसले मानिसको ध्यान तान्छ भनेर वा हरेकपल्ट नयाँ पात्रमार्फत् भिन्न भिन्न जीवन अनुभव गर्न पाइन्छ भनेर ?
जीवनभन्दा भिन्दै भिन्दै कथा अनुभव गर्न पाइन्छ भनेर। मेरा लागि कथाहरू जहिल्यै नजिक छन्। कथाले कुनै न कुनै रूपमा भाग्ने बाटो दिन्छ। बच्चा हुँदा पनि म विभिन्न समस्याबारे कथा बनाउँथेँ, जुन मेरो जीवनमा कहिल्यै आउँदै आएनन्। म जहिल्यै काल्पनिक संसारको एक भाग हुन चाहन्थेँ। मेरो बाल्यकाल एक्लोपनमा बितेको वा धेरै द्ख पाएको वाला म हैन। तर, म जहिल्यै नयाँ नयाँ कुरा चाहन्थेँ। बाल्यकालको त्यो इच्छा पूरा गर्ने माध्यम अभिनय हो जस्तो लाग्यो, त्यसैले।
एउटा कार्यक्रममा प्रधानमन्त्रीको नाम भन्न नसकेपछि तपाईंलाई 'जिनियस अफ दि इयर' भनेर घोषणा गरियो। पछि त्यसैको प्रतिक्रिया देखाउन अर्को भिडियो पनि बनेको थियो। मजाक बनाउन भनिए पनि त्यसले तपाईंलाई निक्कै चर्चा दियो। त्यसकै माध्यमबाट मानिसले तपाईंलाई आफूजस्तै पाए नि हैन?
मलाई पनि त्यस्तै लाग्छ। त्यसले मलाई जस्तो हो त्यस्तै देखाइदियो। त्यो भिडियोले मलाई वास्तविक रुपमा चिनाउने अवसर दियो। त्यसले धेरै कुरा परिवर्तन गर्यो जस्तो मलाई लाग्छ। त्यसको प्रतिक्रिया देखेर त हामी हैरानै भयौं। एक करोडभन्दा धेरैले त्यो भिडियो हेरे। त्यसले यस्तो राम्रो प्रभाव छोड्ला र मेरो आफ्नै सोचाइलाई पनि परिवर्तन गर्ला जस्तो मलाई लागेको थिएन।
मानिस अहिले पनि त्यसबारे कुरा गर्छन्। त्यसकै आधारमा धेरै मेमहरु पनि बनेँ र सामाजिक सञ्जालमा आलिया भट्ट जोक भनेर चर्चित पनि भए। अपमान हुनु आफैंमा राम्रो अनुभव हैन, तर जोक पनि केही कारणले जोक बन्ने हो। मानिसलाई हाँस्नु जरुरी छ। म आफू पनि धेरै गम्भीर हुँदिनँ र धेरै गम्भीर हुने मानिससँग बस्न पनि सक्दिनँ।
स्टारडमको सबैभन्दा नराम्रो कुरा के हो?
यसमा धेरै दबाब हुन्छ। हो जहाजमा फर्स्ट क्लास सिटमा बस्न पाइएला तर एयरपोर्टमा ओर्लिनासाथ खुट्टामा लगाएको चप्पलको पनि चर्चा हुन थाल्छ वा भनौं आलोचना हुन्छ। मलाई त्यो सबै मन पर्दैन।
[caption id="attachment_133485" align="alignnone" width="900"] 'कपुर एन्ड सन्स' को एक दृश्यमा आलिया र सिद्धार्थ मल्होत्रा।[/caption]
हुन सक्छ त्यो सबैभन्दा गाह्रो कुरा हैन होला। यो प्रश्नलाई यसरी सोध्छु, आलिया भट्ट हुनुको सबैभन्दा गाह्रो पक्ष चाहिँ के हो?
सधैं सही हुनुपर्छ। गलत हुने अवसरधरि पाइँदैन। स्टार भएपछि रोल मोडल भइन्छ र त्यसले सही सन्देश दिने दबाब दिन्छ। धेरै केटीहरू मलाई आफ्नो आदर्श मान्छन्। मेरा हरेक कुरा पछ्याउँछन्। त्यसले पनि दायाँबायाँ गर्न दिँदैन। आफूलाई लागेको कुरा बोल्न पाइन्छ तर त्यो पनि सही नै हुनुपर्छ । गलत हुनासाथ धेरैतिरको आँधी एकैपल्ट थेग्नुपर्छ। यो एकदमै गाह्रो हुन्छ। जहिल्यै खुसी, हँसमुख र गज्जब देखिइरहनुपर्छ। खराब दिनमा पनि हाँसेको बहाना गर्नुपर्छ। कुनै दिन फुर्सद लिन्छु भन्नधरि पाइँदैन।
तपाईंलाई थाहै छ, हामीकहाँ पश्चिमाहरूको नक्कल गर्ने चलन छ। यो राम्रो पनि हो र नराम्रो पनि। फिल्म, फेसन र संस्कृतिलाई पनि। यसो भन्नु गलत हुँदैन, धेरै कुरा त्यहाँबाट सुरु भएर यहाँ आइपुग्छन्। हलिउडको तुलनामा यहाँ प्रभाव नपरेको एउटा कुरा के भने, स्टारहरू त्यहाँ जति यहाँ व्यक्तिगत सम्बन्धहरूलाई व्यवस्थापन गर्न सक्दैनन्।
सम्बन्ध वा मायाबारे कुरा गर्न पनि यस्तो पुरातन सोच यहाँ किन छ?
किनकि यहाँ त्यसो गर्दा ठूलै मूल्य चुकाउनुपर्छ। हाम्रो समाज धेरै नै जजमेन्टल छ। मलाई कुनै तरिकाबाट हेरियोस् त्यो जरुरी पनि छ। सेलिब्रेटीहरूका बारेमा अनुमान चलिरहन्छन्। जबसम्म त्यस्ता अनुमान आफ्नो नजिकका व्यक्तिहरूबाट आउँदैन, आफूलाई सुरक्षित नै मान्न सकिन्छ।
तपाईंले सिद्धार्थ मल्होत्रालाई मन पराउँछु वा माया गर्छु भन्नुभयो भने सबैभन्दा नराम्रो के हुन्छ जस्तो लाग्छ?
ठिक छ मैले भनेँ अरे। के त्यो सधैं त्यही रूपमा रहन्छ भन्ने छ र? भोलि मलाई उसको माया लागेन वा उसका बारेमा अर्कै विचार आयो भने नि? त्यसपछि के? उसैलाई सधैं माया गर्नुपर्छ भनेर ढुंगामा त लेखिएको छैन नि हैन ? म त्यस्तो ठाउँमा पुग्न चाहन्न जहाँ मैले कसैसँग ब्रेकअप गरेँ भन्दैमा मानिस मेरो पछि लागून्। यसो भनून् कि ‘ब्रेकअप गर्नुभएछ, अब कसको पालो?’ यस्तै खाले सोचले नै हो हाम्रोजस्तो समाजमा महिलाहरूलाई स्वतन्त्र र आत्मनिर्भर हुन नदिने हो। यस्तै मूर्ख सोचाइले हामीलाई थिचेको छ।
मैले तपाईंले भन्नुभएको बुझेँ। नैतिकताको मामिलामा हाम्रो समाज कति संकुचित छ र त्यसले के कस्तो मूल्य चुकाउँछ भन्ने पनि मलाई थाहा छ। धेरैलाई प्रभाव पार्न सक्ने एक व्यक्ति भएकाले तपाईंले त्यस्ता सोच बलियो हुन दिनुको साटो झनै चुनौती दिनुपर्ने हैन र?
यो धेरै कुरा गुमाउनुपर्छ भन्ने डर हो। तपाईँले बुझ्नैपर्छ, हामी केटीहरूका लागि यो डर निक्कै भयानक छ। त्यही डरले हामीलाई निर्देशित गरिरहेको छ। इमानदारीताको कमीभन्दा डर नै मुख्य कुरा हो। मेरो बुबाआमा- उहाँहरू इमानदार हुन सक्नुहुन्छ। उहाँहरूले गुमाउनुपर्ने केही छैन। हाम्रो हकमा भने त्यही कुरा फरक छ। तपाईं बोलेर कसको आँखाको तारो बन्दै हुनुहुन्छ थाहा पाउनुहुन्न। बोलेको कुराले कुन फिल्म छुट्छ वा कुन ब्रान्डले हात छोड्छ भन्ने थाहा हुन्न। यो सबै एक सम्बन्धभन्दा धेरै पर पुग्छ। आफ्नो मनको कुरा भन्न समग्र कमर्सियल पाटो मिसाउनु ठिक हुँदैन जस्तो लाग्छ। भन्न मन लागेका धेरै कुरा सेन्सरै गर्नुपर्ने पनि हुन्छन्। आफ्नो धारणा के हो भन्ने थाहा हुन्छ, तर साथीसँग भनेर त्यसलाई समाधान गर्न सकिन्छ भने चिच्याउनु पनि हुँदैन जस्तो लाग्छ।
सानो उमेरमै धेरै उत्कृष्ट फिल्महरू दिनु डरलाग्दो अनुभव पनि होला। अरू कलाकारले करिअर सुरुआत गर्ने उमेरमा पाएको सफलताले आफूलाई चाँडै रित्याउँछ जस्तो डर लाग्छ?
इम्तियाज अलि पनि यही भन्छन्, म चाँडै थाक्नेछु। मलाई लाग्छ, मसँग लामो समय काम गर्ने क्षेत्र छ। सबै विधा कुन रूपमा दौडिन्छन् भन्नेले पनि अर्थ राख्छ, तर मेरो विचारमा म आधा पनि हिँडेको छुइँन। उमेर थोरै भए पनि अनुभवमा म ३२ वर्ष पुगिसकेँ। किन थाहा छैन। सायद मेरो परिवारले मलाई जुन रूपमा हुर्कायो, त्यसको असर होला। मेरो बुबा मसँग सबै कुरामा खुला हुनुहुन्थ्यो। उहाँको रक्सीसँगको लडाइँ, सम्बन्धहरू तथा अरू धेरै कुरा मलाई सानैमा सुनाउनुभएको थियो। त्यसलाई मैले गहिरोसँग बुझ्न पाएर होला। उहाँहरू मसँग जहिल्यै इमानदार र स्पष्ट हुनुभयो। मैले अगाडि भनेजस्तो उहाँहरूले त्यस्तो हुन पाउनुहुन्छ, किनकि उहाँहरूले गुमाउनुपर्ने केही छैन।