उनी मलाई किन मनपर्छ भने उनले नाटकको ग्ल्यामर देखि बिनासर्त नाटकलाई मनपराए। नाटक भएकाले मैले उसलाई चिनेँ, नाटक भएकैले उनले मलाई चिने। उनलाई पहिला मैलेनै चिनेँ। दर्शक भएर।
यो म बिराटनगर हुँदैको कुरा हो। रामभजन कामत बिराटनगरकै हुन्। गुरुकुलमा पहिलोपल्ट ‘खरीको घेरो’ नाटक हेरेपछि म नाटकको संसारमा अनौठो गरी तानिएँ। एक विशुद्ध दर्शक भएर नाटक हेरेको बेला थियो त्यो। विशुद्ध दर्शक भएर नाटक हेर्न पाउनु जस्तो खुसी अहिले पाउँदिन। अहिले सोच्दिन भन्दा पनि नाटकलाई अर्कै दृष्टिकोणबाट हेर्ने बानी लागेको छ।
वा हुनसक्छ नाटक हेर्ने बानी बिदलिएको छ।
म नाटकबारे केही लेख्ने हुनुभन्दा पहिला नै चिनेका कलाकार हुन् रामभजन कामत। र लेख्न थालेको यत्रो समयबीच पनि उनीसँग भेटघाट भएन। उनले अभिनय, लेखन र निर्देशन गरेका केही नाटक हेरेको आधारमा मैले उनलाई मन पराएँ। त्यो पहिलेकै कुरा हो।
यसपल्ट संयोग पर्यो। उनी काठमाडौंमा छन् भन्ने जानकारी सरोज जीले दिएपछि उनलाई फोन गरेँ। ‘कुरा गर्नुपर्छ काठमाडौँ आएपछि भन्नु है दाइ’ भनेको थिएँ अलि अगाडि। त्यसबेला उनीसँग भेट भने भएन।
म तिनै रामभजन कामतसँग केही कुराकानी गर्न भनेर मण्डला थिएटर पुग्दा उनी थिएटरको ढोकाबाट बाहिर निस्किँदै थिएँ। जाममा परेर अलि ढिलो पुगेको मलाई उनले पहिलो वाक्यमै भनेँ ‘सुरज पनि काठमाडौंको मान्छे भएछ।’
उनले काठमाडौंलाई कुन विम्बमा हालेर भने भन्ने मैले बुझ्न सकिनँ।
हात मिलाएँ र अँगालो मारेँ। उनको शरीरबाट बिराटनगरको बास्ना आयो। मैले उनलाई पहिलोपल्ट गुरुकुलमा भेट्दा उनी बिराटनगर गुरुकुलको ढोकाबाट नाटक सकेर त्यसै गरी निस्किएका थिए।
‘नाटक कस्तो लाग्यो त?’ मैले कुरा बढाउन सोधेँ। हामी मण्डलाबाट चियापसलतर्फ लाग्यौँ।
‘नाटकमा विम्ब रहेछ। मलाई विम्ब मनपर्छ।’ उनले यति भनेँ।
सुरुमा उनले मलाई काठमाडौंजस्तो भन्नु र अहिले विम्बको बारेमा कुराकानी गर्नुमा केही समानता होला त? मैले मनमनै आफूलाई सोधेँ तर जवाफ भेटिनँ।
चिया पसलमा पुग्यौँ। भर्खरै पानी परेकाले पसलका केही कुर्सी भिजेका थिए। नभिजेका कुर्सी छानेर बस्यौँ र कुराकानी सुरु गर्यौं।
मलाई उनको जीवनका केही विम्ब केलाउनु थियो।
+++
एसएलसी सकेर उनी बिराटनगरको सिटी कलेजमा पढ्न गए। सिटी कलेज त्यस बेला भर्खरै खुलेको थियो। उनीहरू पहिलो ब्याच।
२०५७ सालको कुरा।
कलेजमा एउटा प्रहसन गर्ने भनिएपछि उनले भाग लिए। मन्त्रीको भूमिकामा अभिनय गर्नु थियो। एकजनाले अन्तर्वार्ता लिए।
मान्छे जम्मा थिए। उनी स्टेजमा चढे। अन्तर्वार्ता सुरु भयो। आफ्नो अगाडि धेरै मान्छे देखेर उनी 'नर्भस' भए। सोधेको प्रश्नको उत्तर नआउने हैन तर अगाडि बसेका मान्छेले एकनास हेरेको कुराले उनलाई भित्रैबाट डर देखाइरहेको थियो। एउटा घुँडामा चढाएको अर्को घुँडो उनी बोल्दा कामिरहेको थियो। जुत्ता हल्लिरहेको थियो। धेरैलाई त्यसरी हल्लिएको खुट्टालाई उनको अभिनय ठानेछन्। प्रशंसा गरे। उनलाई लाग्यो वास्तविक देखिएपछि त्यो अभिनय बन्ने रहेछ।
उनलाई अहिले पनि त्यस्तै लाग्छ। जुन पात्र हो त्यसमा वास्तविक देखिनु। पात्र हुनु। पात्रलाई इमान्दार भएर निभाउनु।
कुनै ठाउँमा कोही मान्छे हुनु त्यसैले महत्त्वपूर्ण हो।
त्यसपछि उनले ‘एड्स पीडित’ नामक अर्को नाटक बनाए। सरहरुले बनाऊ भनेपछि गरिएको काम थियो त्यो। लगभग १५ मिनेटको बनाउने सोचेका थिए। काम गर्दै गर्दा ४७ मिनेटभन्दा लामो भयो। त्यही नाटकले उनमा नजानिँदो तरिकाले नाटकको बिउ रोप्यो। पात्र थप्न सकिने, कथा तन्काउन सकिने, लागेको कुरा भन्न सकिने। उनलाई नाटक मन पर्यो। उनी अहिले त्यही बिउबाट हुर्किरहेका छन्।
मैले उनलाई सोधेँ ‘अनि के भयो?’
त्यसपछि नरेन्द्र न्यौपाने भन्ने एक जना सरले 'ताल कला समूह' बनाइदिनुभयो। समूहमा म उपाध्यक्ष भएँ। केही नाटक त्यहाँबाट पनि गर्यौं।
पछि बिराटनगरका वरिष्ठ रङ्गकर्मी लक्ष्मण पुण्य लामिछानेसँग काम गर्ने अवसर जुर्यो। २०६२ सालमा बिराटनगरमा 'विराट महोत्सव' भएको थियो। १८ दिन चलेको महोत्सवमा हामीले १८ दिन नै नयाँ-नयाँ नाटक गर्यौँ। त्यो टोली सम्झिँदा अहिले पनि रोमाञ्चित हुन्छु। त्यसपछि त म नाटकबाट फर्किनै सकिनँ।
कुनै समुदायको एउटा मान्छेले कुनै क्षेत्रमा सानो प्रगति गर्यो भने त्यसले समुदायलाई पनि फरक पार्छ कि पार्दैन?म नाटकबाट फर्किन सकिनँ। म नफर्किएको देखेपछि मलाई पछ्याउनेपनि पक्कै बढेका छन्। जसरी म क्याम्पस पढ्न थाल्दा अरूले पनि छोराछोरीलाई पढाउने कोसिस गरे। थोरै असर त पर्छ होला। आफ्नो वरपरको मान्छे र समूहले सिकाइ फरक पार्छ जस्तो लाग्छ। मैले पनि बीचमा नाटकसँग जोडिएका धेरै मान्छे नभेटेको भए आज यहाँ हुन्नथेँ होला।
बिराटनगर गुरुकुलसँग कसरी जोडिनुभयो? म केही सिरियल खेल्न भनेर काठमाडौं आएको थिएँ। तर यहाँ गाडी दुर्घटना भयो। तीन दिनपछि मात्र होसमा आएँ। अस्पताल बसेर बिराटनगर नै फर्किएँ। आराम गरेर घरमा बसिरहेको बेला लक्ष्मण पुण्य लामिछाने सरले बिराटनगरमा गुरुकुल खुल्न लागेको सुनाउँदै आवेदन दिन भन्नुभयो। मैले केही साथीसँग मिलेर आवेदन दिएँ। हामी काठमाडौं आयौं र तालिम लियौँ। नाटकमा सबै काम आफैं गर्नुपर्ने रहेछ भन्ने त्यहीबेला थाहा भयो।
पछि बिराटनगरमा हामीले ‘बहादुरपुरको दन्त्यकथा’ नाटक गर्यौं। हाम्रो ब्याचको पहिलो नाटक भने ‘कर्नाली दख्खिन बग्दो छ’ हो। त्यो नाटक काठमाडौंमा नै देखाइएको थियो। हाम्रो देशमा काठमाडौंजस्तो ठाउँ पनि छ भन्ने कुरा काठमाडौंकै मान्छेलाई बुझाउने प्रयत्न थियो त्यो। पछि बिराटनगरमा हामीले ‘कर्फ्यु’, ‘अन्धाको हात्ती’, ‘महाकन्जुस’ जस्ता नाटक गर्यौं।
तपाईं मैथिली भाषाको नाटकमा पनि काम गर्नुहुन्छ हैन? भिन्दै भिन्दै भाषामा काम गर्नुको मजा के छ? म दुवै भाषामा काम गर्छु। एउटै भाषाले मान्छेलाई निपुण बनाउला तर अलग भाषामा काम गर्ने मान्छे परिपूर्ण हुन्छ। भाषामा जति काम गर्यो, भाषा त्यति नै बलियो हुँदै जान्छ। मैथिली मैले सानैबाट सिकेको भाषा हो। म मात्र बलियो भएर हुँदैन, मेरो भाषा पनि बलियो हुनुपर्छ। भाषा समृद्ध हुनु, त्यो भाषासँग जोडिएको सँस्कृति समृद्ध हुनु हो।
कसरी?मलाई मैथिली जत्तिको राम्रो सँस्कार अरू लाग्दैन। म राजनैतिक रूपमा हैन, एक बालक भएर यो कुरा भनिरहेको छु। मेरो मैथिल सँस्कारको मिठास कलासँग मिसाएँ भने त्यो बाँड्न लायक विषय बनिदिन्छ। त्यसको स्वाद सबैतिर छरिन्छ। नाटकले सँस्कृति र भाषाको स्वाद सबैतिर छर्न मद्दत गर्छ। यसले एक अर्काको सँस्कृति बुझ्न सहयोग पुर्याउँछ। साटासाट हुनु जहिल्यै पनि राम्रो कुरा हो। तोरी छरिएपछि मात्र बारी पहेँलपुर हुन्छन्।
नाटक गर्दा भूगोलको कथा कसरी आउँछ जस्तो लाग्छ? यदि आउँछ भने त्यसलाई बुझिनु कसरी महत्त्वपूर्ण हो?आफूले गर्ने अभिनय वा लेखनमा आफ्नो भूगोल, लवज र संस्कृति आउनु एकदमै महत्त्वपूर्ण कुरा हो। कुनै कलाकार, लेखक वा अभिनेताको परिचय पनि यही हो। उसले आफ्नो भूगोल (भौगोलिक मात्र हैन, सांस्कृतिक पनि) बोक्न सक्यो भने ऊ सफल भयो। म बिराटनगरको मान्छे हुँ भने मैले गर्ने काममा बिराटनगर कुनै न कुनै रूपमा आँउछ नै।
एउटा मान्छेको अनुहार र उसले गर्ने काममा कसरी फरक पर्छ? नचिनी गरेको काम र चिनिएपछि गरेको कामले कसरी फरक पार्छ? (उनले अभिनय गरेको फिल्म नाका चाँडै प्रदर्शन हुँदैछ। मैले यो प्रश्न सोध्नुको कारण यो फिल्म आउनुभन्दा पहिलाको रामभजन र फिल्म आएपछिको रामभजनमा के कस्तो फरक पर्छ भनेर बुझ्न हो।)चाहे रामभजनले गरोस् वा अरू कसैले। त्यो काम कसरी गरिएको छ भन्ने महत्त्वपूर्ण हो। मभन्दा सिनियरले गर्यो भने अझै राम्रो गर्ला।
‘सिनियर हैन दाइ, अनुहारको कुरा गर्दै छु’ मैले उनलाई बीचैमा रोकेर यति सोधेँ। उनी केहीबेर रोकिए र भने ‘फरक पर्छ।’‘चिनिने अनुहार र नचिनिने अनुहारले पनि फरक पार्छ हैन?’ मैले फेरि प्रश्न थपेँ। ‘फरक पार्छ। मैले यति वर्ष काम गरिसकेपछि मान्छेका अपेक्षा बढ्न थाल्छन्। अपेक्षा थपिनु राम्रो हो, नराम्रो पनि हो। चिनेको मान्छेले के गरेको रहेछ त हेरौँ न भन्ने हुन्छ। नचिनेको मान्छेले राम्रो काम गर्यो भने झट्का भने दह्रो दिन सक्छ। त्यस्तो झट्का चिनेको मान्छेले कुनै काम गर्दा हुँदैन।’
‘अनुहार जति चिनिँदै गयो, उसले गरेको काम त्यति फैलिँदै जाने हो?’‘खासमा चिनिनुपर्ने वा कुरा हुनुपर्ने कामले हो। तर हाम्रोमा कामभन्दा नाम र अनुहार आउँछ। यस्तो सबैतिर हुन्छ होला।’
‘त्यो अनुहार कुनै ठाउँ विशेषको हुनुले फरक पार्छ कि पार्दैन?’ मलाई यो प्रश्न सोध्न मन लागेको थियो तर सोधिनँ।+++
हामी अब उनले गरेका फिल्मबारे कुराकानी गर्न थाल्यौँ।
उनले चार पाँचवटा फिल्म गरिसकेका छन्। कुनै प्रदर्शनीमा आएका भने छैनन्। यसपल्ट 'नाका' फिल्म भने आउँछ भन्नेमा ढुक्क छन्। उनले पुर्वाञ्चलको पहिलो मैथिली फिल्म ‘प्रेमसफल’ गरे। रिलिज भयो, धेरैलाई थाहा पनि भएन।
फिल्मबारे कुरा गर्ने प्रयास त गर्यौं। यसमा न उनलाई जवाफ दिन मजा लाग्यो न मलाई प्रश्न सोध्न। हामी फेरि नाटकमै फर्कियौँ। नाटकसँगै जोडिएका केही कुरा सुनाउनुहोस् न। जहाँबाट थाल्नुभए पनि हुन्छ। हाम्रो 'निडुला' नाट्य समूह थियो। चारजना थियौं। सबै केटैकेटा। त्यहाँबाट नाटक बनाएर बिराटनगर वरपर देखाउन जान्थ्यौँ। केटीको भूमिका पनि केटाले नै गर्थ्यौं।
किन?(मैले सोध्नुको कारण किन भने नाटकको सुरुवाती समयमा महिलालाई भूमिका गर्न दिइँदैन थियो। त्यसबेला महिलाको भूमिका पनि पुरुषले नै गर्थे। त्यो उबेलाको सामाजिक अवरोध थियो। त्यहाँ पनि यस्तै केही थियो कि?)हामीसँग पैसा हुँदैन थियो। अहिले पनि हुँदैन। फेरि टाढाटाढा जानुपर्ने। साइकलमा निस्किन्थ्यौं। बाटोभर नाटकका सम्वाद अभ्यास गर्दै जान्थ्यौँ। काम गर्ने 'जुनुन' थियो त्यो। महिलालाई लिएर जाँदा खर्च धेरै हुने भएकाले केटीको भूमिका पनि हामी नै गर्थ्यौं।
(आर्थिक कारण रहेछ।)रमाइलो गर्दै गरेको वा 'जुनुन'ले गरेको भन्नुभयो। हाम्रो देशमा नाटक क्षेत्र अहिले पनि जुनुन र रमाईलोले नै टिकेको छ। त्यो जुनुन वा रमाइलोभन्दा बाहिरको संसार कस्तो छ? वास्तविकता कत्तिको तितो छ?यो एक नशा हो। रक्सी वा चुरोटको नशा बरु छुट्ला, नाटकको हत्पति छुट्दैन। कुनै सुधारगृह पनि छैन। लागेपछि लाग्यो। आज म जुन ठाउँमा छु, त्यो त्यही जुनुनले हो। पैसा पहिला पनि थिएन। अहिले पनि छैन। यो थाहा छ, भोलि पनि हुनेछैन। तर त्यो तितो वास्तविकता पनि मिठो लाग्न थालेपछि केही लाग्दैन। यसमा फिल्ममा जस्तो अनुहार चिनिने पनि हुँदैन।
अनि केले टिकाउँछ त तपाईंलाई नाटकमा?यसको जवाफ दिन सायद म सक्दिनँ। जवाफ दिन सकेको दिन सायद नाटकमा हुन्नँ कि।
नाटकमा यति जुनुन भएको मान्छे फिल्म किन खेल्दै छ त? त्यसको बारेमा दाइले केही भन्लान् जस्तो लागेको थियो तर अघिल्लो पल्ट भनेनन्। फेरि एकपल्ट प्रयास गरेँ। नाका फिल्म रिलिज हुँदैछ। कस्तो लागिरहेको छ?आफैंले आफ्नो चलचित्र सिनेमा हलमा हेर्न पाँउदैछु। एकदमै खुसी छु। पर्दामा देखिने लोभ यसपल्ट। फिल्म खेलेको कथा पनि रमाइलो भएकाले पर्खाइ मिठो छ।
उनले कथा सुनाए। विपीन कार्कीसँग फिल्म गरिरहेका छन्। नाका खेल्नुअघि बिपिन कार्कीले खेलेकै अर्को फिल्म उनले खेलेका रहेनछन्। यो फिल्म पनि अन्तिम समयमा उनै बिपिन कार्कीले फोन गरेर 'हुन त खेल्दैनस् होला तर मिल्छ भने एकपल्ट हेर' भनेपछि स्कृप्ट हेरेका रहेछन्। गर्ने निधो भएपछि काम गरे। राम्रो काम गरेको छु जस्तो लागेको रहेछ।
[caption id="attachment_135875" align="alignnone" width="826"]
नाका चलचित्रमा कामत।[/caption]
हामी फेरि बिराटनगर पुग्यौं।बिराटनगरमा नाटकको अवस्था कस्तो छ?गुरुकुलको पाटोबाट हेर्दा हामीले काम गर्न नसकेको कुरा स्वीकार्छु। काम नियमित गरेको भए मान्छे आउने थिए। मान्छे आउँदैनन् भन्ने अनुमानमा काम गर्ने जाँगर गरेनौं। सँगै काठमाडौंको गुरुकुल बन्द भएपछि बिराटनगरको जरा हल्लिएको रुख जस्तो मात्र भयो। हामीले पाउला पलाउने हिम्मत गर्न सकेनौं। त्यसको असर अहिले पनि देख्न सकिन्छ।
अब नाचघर आउँदै हुनुहुन्छ। नाचघरमा आएपछि के के गर्छु भन्ने योजना छ? बिराटनगरलाई के कसरी सघाउने सोच्नुभएको छ? (
उनले भर्खरै नाचघरमा नाम निकाले भन्ने सुनेको थिएँ। त्यही प्रसङ्ग सम्झाउँदै सुरूवातमै भनेको थिएँ ‘नाचघरमा आउने हुनुभएछ बधाई।’ सुनेर उनले मुसुक्क हाँस्दै भनेका थिए ‘म पनि काठमाडौँ आउँदै छु।’) बिराटनगरमा अहिले पनि नाटक गर्न सक्ने राम्रो टिम छ। हामीले छोडे पनि त्यो टिम कमजोर छैन। यदि यहाँबाट थोरै हात दिने हो भने उनीहरू डिल उक्लिन्छन्। नाचघरमा आएकाले मेरो पहिलो ध्यान त नाचघरमा कसरी हुन्छ नाटक नियमित गर्नेमा हुनेछ। सकेसम्म आफूले गरेको नाटक बिराटनगरसम्म लैजाने सोचेको छु। अहिले त काठमाडौंका नाटक पनि यात्रामा निस्किन थालेका छन्। यो पक्कै सुखद् संयोग हो।
नाटक गर्दा वा गरेर अहिलेसम्म सन्तुष्ट लागेको क्षण?नाटक गरेर सन्तुष्टि छ। त्योबाहेक अरूमा सन्तुष्टि लागेकै छैन। अब नाटकबाहेक अरू केही गर्न सक्छु जस्तो लाग्दैन। नाटकमार्फत अरूको जीवन बाँच्न पाउनु रमाइलो कुरा हो।
सबैभन्दा नराम्रो लागेको क्षण नि?सबैभन्दा नराम्रो लागेको क्षण सम्झिन्छु। हामी नाटक महोत्सवमा सहभागी हुन जनकपुरमा थियौं। नाटक गरिरहेका थियौं। दुईवटा नाटकमा अभिनय थियो। स्टेजमा हाँस्नु पर्ने दृश्य थिए। टिम लिएर आएकै दिन राती फोन आयो, मेरा जेठान विदेशमा बित्नुभएछ। मैले त्योबेला पनि नाटक गर्नुपर्यो। मलाई त्यो सम्झिँदा अहिले पनि पीडा हुन्छ। नाटकले सफलता पायो। मभित्रको ले मलाई पटकपटक रोक्दा पनि नाटक देखाएँ।
स्टेजबाट ओर्लिएपछि रोएँ।
अहिले देश नयाँ संरचनामा गएको तथा कुनै न कुनै रूपमा 'मेरो तेरो' चलिरहेको बेलामा नाटकको भूमिका कस्तो देख्नुहुन्छ? जोड्ने भनेकै कलाले हो। नाटकले हो। कला माध्यमबाट आत्मीयता छर्ने हो। एक अर्काको अस्तित्व स्वीकार्न सिकाउने हो। नाटक माध्यमबाट राजनीति हुनु हुँदैन तर बहस हुनुपर्छ जस्तो लाग्छ।
तर कुनै न कुनै पात्रको माध्यमबाट नाटकमा पनि राजनीति त छिर्छ नि हैन र? त्यसरी पात्र छिर्ने भनेको बहस गर्न हो। दुवै धारका विषय अगाडि ल्याउन हो। त्यसरी पनि जोड्ने भनेको नेपालीलाई नै हो।
अहिले विभिन्न एतिहासिक विषयमाथि टिप्पणीहरू हुने गरेका छन् नि? के भन्नुहुन्छ?म निकट भविष्यमै ‘सालिक’ नाटक गर्दैछु। यो एकहिसाबले मेरो 'ड्रिम प्रोजेक्ट' हो। त्यसमा मैले इतिहासका दुइटा पात्र देखाउँदै छु। कथामा पहाडेले मैथिली साहित्यका महान् रत्न विद्यापतिको सालिक फुटाउँछन्। बदलामा मैथिलीले पृथ्वीनारायण शाहको सालिक फुटाउँछन्। त्यही रात विद्यापति र पृथ्वीनारायण शाह बाहिर निस्किन्छन् र गफ गर्न थाल्छन्।
विद्यापति भन्छन् ‘तिमीले बाइसे चौबिसेलाई एकठाँउ ल्यायौ। मैले भाषालाई एक ठाउँ बटुलेँ। बटुल्दा धेरैथोक सोहोरिन्छ तर जम्मा पनि त हुन्छ। तिम्रो र मेरो गल्ती के हो भन त?’
विद्यापतिले त्यस्तो भने, रामभजन कामत चाहिँ के भन्छन्?हामीबीच राजनीति हुँदै बैमनस्यता छिरेको छ। त्यसले एकअर्कालाई स्वागत गर्नेभन्दा निषेध गर्ने बनाउँदै छ। बहस गर्नेभन्दा आरोप र दोष लगाउने बढेका छन्। म नाटकमार्फत त्यो गलत हो भन्न चाहन्छु।
मैले यतिन्जेल तपाईंलाई प्रश्न सोधेँ। तपाईंलाई मसँग केही सोधुँ भन्ने लागेको छ? (खासमा यो अन्तर्वार्ता मैले लिएको हो। तर अन्तर्वार्ता लिँदै गर्दा मैले एकोहोरो प्रश्न सोधिरहेको देखेपछि उनलाई पनि केही सोध्न मन लाग्यो होला जस्तो लागेर यस्तो प्रश्न सोधेको हुँ।)उनी उसैगरी एक छिन घोरिए। अनपेक्षित प्रश्न थियो त्यो उनलाई। फिस्स हाँसे र सोधे ‘तपाईंले मलाई नाटकले के कसरी आनन्द दियो भनेर सोध्नुभयो। तपाईं आफू पनि यही क्षेत्रमा हुनुहुन्छ तर नाटक गर्नुहुन्न। नाटकबारे लेख्दा पैसा छैन भन्ने जानेर पनि लेखिरहनुहुन्छ। तपाईै आफू कसरी आनन्द पाउनुहुन्छ।?’
‘म अध्ययन क्रममा धेरै ठाउँ पुगेँ। धेरैजनासँग कुराकानी गरेँ। मित्रता भयो। तर यो कला क्षेत्रमा जति सुन्दर सम्बन्ध अन्त विरलै भेटिए। यो क्षेत्रमा हरेकपल्ट भेटिएका मान्छे छोटो भेटमा पनि घनिष्ट भए। नचिनिकनै परिचित भए। मलाई यहाँको मौसम सधैँ न्यानो लाग्यो। यसले मलाई अपनत्व दिइरह्यो। त्यसैले।’
प्रतिपश्न आएन। अनि मैले उनलाई केही छोटा प्रश्न गरेँ। राम भजन कामत नाटकमा किन अडिएको छ?मैले अर्थशास्त्र पढेँ। मार्केटिङ पनि गरेँ। ती सबै क्षेत्रमा डेबिट-क्रेडिट हुन्छ। नाटकमा डेबिट धेरै हुँदैन। क्रेडिट जिन्दगी धेरै हुन्छ। लाग्दैछ, क्रेडिट जिन्दगी बाँच्नुमा पनि मजा छ। अब बानी पनि भैसक्यो।
के कुराको लोभ छ?राम्रो काम गर्न पाउँ भन्ने।
इर्श्या नि? राम्रो काम गर्नेकै लाग्छ।
डर?जिम्मेवारीको। अब ठूलो भूगोलमा छिर्दैछु। चुनौती र अपेक्षाका पहाड छन्। काँध यही हो।
सपना? काम गर्दागर्दै मरूँ।
अन्तिम प्रश्न। यो अन्तर्वार्ता नभएको भए?केही हुँदैन थियो। यो भएपछि पनि फरक पर्नेवाला केही छैन। केही मान्छेले चिन्लान् तर त्यसको लोभ छैन। नचिन्दा पनि त काम गरिरहेकै छु। आखिर हामीले कुराकानी गरेको पनि त कामकै कारणले हो नि हैन? मैले यहाँ नभनेका कुरा कुनै न कुनै विम्बले बोल्थे होला।
+++
चिया अघि नै सकिइसकेको थियो। हामी उठ्यौँ। चियाको पैसा तिर्न लम्किँए। उनी पछिपछि आए र भने ‘सुरज म तिर्छु।’
‘मैले तिरिसकेँ दाइ।’
‘पख, मलाई पनि काठमाडौंको हुन देऊ,’ उनले यसो भन्दै मलाई धाप मारे। हामी छुट्टियौँ।
उनले भेट्दा पनि र छुट्टिँदा पनि ‘काठमाडौँ’ लाई विम्ब बनाइरहे।