साहित्यिक यात्रामा चार दशकभन्दा लामो समय क्रियाशील रेशम विरहीको नयाँ कवितासंग्रह ‘तुरूप’ प्रकाशनमा आएको छ।
यसअघि छ वटा कविता संग्रह ल्याइसकेका उनका जम्मा नौ थान किताब प्रकाशित छन्। गत वर्ष आएको उनको उपन्यास ‘प्रेमदासको डायरी’ले निकै चर्चा बटुलेको थियो। उनी पत्रकारितामा पनि उत्तिकै सक्रिय छन्।
नयाँ कवितासंग्रह तुरूप, उनको साहित्यिक यात्रा र समकालीन कविताबारे सेतोपाटीका निर्भीकजंग रायमाझीले गरेको कुराकानीको सम्पादित अंशः
अहिलेको समकालीन नेपाली कविताको आम प्रवृत्तिलाई कसरी लिनुहुन्छ?
अहिले कविता दुई धारबाट गइरहेको छ। एउटा बहुप्रचारित। अर्को, राम्रो र शक्तिशाली कविता। राम्रो लेख्नेहरू भने ओझेलमा छन्। यो बजारका हिसाबले भयो। लेखन हिसाबले भन्ने हो भने अमूर्त लेख्नु नै कविता हो भन्ने एउटा धार छ। त्यस्तै आममानिसले बुझ्ने गरी लेख्नुपर्छ भन्ने धारणा पनि छ। फेरि यही समयमा धेरै राम्रा कविले एकसाथ लेखिरहेका छन्। यो निकै राम्रो पक्ष हो।
तपाईंले जीवनमा राजनीति पनि गर्नुभयो। राजनीति र साहित्य अथवा राजनीति र कविताको खास सम्बन्ध के रहन्छ?
कविताभित्र राजनीति आउनु एकदम स्वभाविक हो। कविता वा साहित्य मानिसको मस्तिष्क रन्थनाउने कला हो। यो एकजना समालोचकले भन्नुभएको कुरा हो। कविता भनेको साहित्यका लागि मात्र होइन नि। जीवनको लागि हो। आम मानिसको लागि हो। हामीले साहित्यका जुनसुकै विधा लेखेपनि सबै परिवर्तनको लागि हो। यस्तो परिवर्तन जसले मानिसलाई भित्रबाटै झकझकाओस्। परिवर्तन भन्नाले राजनीतिक परिवर्तन मात्र होइन, सामाजिक अग्रगमन, सभ्यता पनि त्यसभित्र पर्छन्।
औपचारिक तथा अनौपचारिक जमघटमा तपाईं आफूलाई मनपर्ने साहित्यकारको कुरा गरिरहनुहुन्छ। तपाईंलाई लेखनको प्रारम्भिक कालदेखि प्रभाव पारेका लेखक को हुन्?
सुरूमा मलाई प्रभाव पारेको विलियम वर्डस्वर्थको 'लुसिग्रे' कविताले हो जुन हामीले विद्यालयमा पढ्नुपर्थ्यो। त्योभन्दा अघि मलाई पनि आममानिसलाई झैं रामायण, स्वस्थानी, भागवत गीता जस्ता आध्यात्मिक साहित्यले प्रभाव पारको हो। मेरो बुबाले देवीभागवत पढ्नुहुन्थ्यो, आमाले रामायण। त्यसले पनि म प्रभावित भएँ। पछि विद्यालयमा जनकलाल शर्मा, कृष्णदेव मल्लको प्रभाव पर्यो। बिस्तारै रवीन्द्रनाथ टैगोर शरचन्द्र चटोपाद्याय, भगतविचरण बर्माको प्रभावले मलाई लेख्नुपर्छ भन्ने महसुस भयो।
यहाँले पत्रकारितामा पनि लामो समय बिताउनुभयो। अहिले हामी उच्चतम प्रेस स्वतन्त्रता यूगमा छौं। हामीले यो संविधान प्रदत्त स्वतन्त्रतालाई उपयोग गर्न सकेका छौं कि छैनौं?
सर्वप्रथम त हामीले स्वतन्त्रताको परिभाषा के हो भन्ने नै स्पष्टसँग बोध गर्नुपर्छ। नेपालमा स्वतन्त्रताको परिभाषा ठीकसँग भएको छैन। बेलामौकामा राज्यले स्वतन्त्रतामा अंकुश लगाउन त खोजिहाल्छ। तर त्यो अंकुश तोड्ने काम प्रेसकै हो। महासंघदेखि लिएर प्रेस स्वतन्त्रताको हकहितमा लाग्ने सबै निकाय पारदर्शी हुनुपर्यो। आफूभित्रको वातावरण स्वत्रन्त्र हुन नदिने अनि बाहिर चाहिँ स्वतन्त्रता खोज्ने हिँड्ने कुरा हास्यास्पद हो।
पञ्चायतकालीन पत्रकारिताको पनि तपाईं साक्षी हुनुहुन्छ। त्यसबेलाको पत्रकारिता र समग्र पद्धति कस्तो थियो?
त्यसबेला निजी क्षेत्रबाट निस्कने प्रतिध्वनी, संरक्षक भन्ने पत्रिका चर्चामा थिए। तर त्यो बेला कस्तो गजब थियो भने पञ्चहरूमा नै दुई तीनवटा गुट थियो। ती गुटका बीचमा सत्ताको खेलले गर्दा सधैं टकराव हुन्थ्यो। पञ्चायती व्यवस्थाको खासै विरोध नगरे पनि ती गुटगुटका पत्रकारहरूले सत्तामा बस्नेको खेदो खन्थे। यसरी कित्ता कित्तामा विभाजित थियो त्यो बेलाको पत्रकारिता।
तपाईं मूलत कवि हनुहुन्छ। बीचमा अनेक कामको शिलशिलामा रेशम विरही मूलधारबाट हरायो भन्ने कुराकानी चलेको थियो। अहिले तपाईंको सक्रियता फेरि मूलधारमा फर्कने संघर्ष हो र?
हैन, म मूलधारमा आउन खोजेकै होइन। काठमाडौं आएर बसोबास गर्दैमा म मूलधारमा आउन खोजेको अर्थ लगाउन भएन। विगत पाँच वर्षयता राष्ट्रिय दैनिकमा बारम्बार लेखिरहेको छु। त्यसअघि पनि लेख्थेँ तर अहिले लेखनको रफ्तार बढेको हो।
साहित्यिक जीवनमा धेरै उतारचढाव, अन्तरद्वन्द्व आए होलान्। आफ्नो यो यात्राबारे समीक्षा कसरी गर्नुहुन्छ?
कविता लेख्ने भनेकै कुनै पनि परिवेशले छोएपछि हो। मलाई पनि सानैदेखि विभिन्न विषयवस्तुले छोएपछि केही लेख्ने प्रयत्न गर्थेँ। यसकारण मूलधारमा आउन कोशिस नगरेपनि म मूलधारमा नै छु। नेपाली साहित्यमा काठमाडौं बसेर हल्लाबाजी नगरे पनि म साहित्य केन्द्रमै छु। यसबीचमा मैलै चार पाँच सय कविता लेखेँ हुँला। कतिपय कविता त यतिकै फालिदिएको छु। सबै छाप्ने कुरा पनि आउँदैन। यसैले फर्केर हेर्दा म आफ्नो साहित्यिक यात्राबाट खुसी छु। पछिल्लो केही वर्षमा त नियमित रुपमा पुस्तक प्रकाशन भइरहेको छ। यसकारण म मोफसलमा बसेर लेखिरहे पनि केन्द्रले खोजेर पढेको छ मलाई। मेरा पाठकहरूले खोजीखोजी प्रतिक्रिया दिइ नै रहेका छन्।
'तुरूप' तपाईंको प्रतिनिधि कविताको संगालो हो वा बिलकुल नयाँ कविता छन्? संग्रहबारेको अभिमत बताइदिनुहोस् न?
यसमा प्रकाशकले नलेखे पनि यो मेरो जीवनको प्रतिनिधि कविताकै संगालो हो। यसमा समावेश कविता मैलै खण्डखण्ड गरेर राखेको छु। पहिलो खण्ड ‘समयको सकसमा समय’ भन्नेमा राखिएका सबै कविता गणतन्त्रपछि लेखिएका हुन्। त्यसैले यस खण्डमा यही समयको स्वर छ। ‘तुरूप’ बारे भन्नुपर्दा यसमा कूल ५५ वटा कविता छन्। मैलै यिनलाई पाँच खण्डमा विभाजित गरेको छु। मलाई निकै मन परेका केही कविका पङ्क्ति पनि यसमा छन्।
कविता लेखिरहेको मान्छे आख्यानतिर आउनुभयो। त्यसैबीच तपाईंको निबन्धसंग्रह पनि आयो। कवितामात्र लेखेर आफूलाई साहित्यमा सुरक्षित महसुस नगर्नुभएको हो?
म कुनै सुरक्षा वा हाइप्रोफाइलमा पुग्न लेखेकै होइन। विद्यालय पढ्दा नै मैले विद्यालयस्तरीय निबन्धमा जिल्ला प्रथम भएको छु। त्यतिबेला लामो समयसम्म निबन्ध लेखेँ। साहित्यको विविध विधामा लेखेको छु र अझै पनि लेखिरहेको छु। प्रकाशन आधारमा यो मात्र किन लेखेको यो किन नलेखेको भन्ने चलन छ यहाँ।
मेरो अघिल्लो उपन्यास 'प्रेमदासको डायरी' पहिला काव्य थियो। चालिस वर्ष अगाडि आन्दोलनमा गोली चलेर एकजना मान्छे मरेपछि महाकाव्य लेख्ने सोच थियो। तर जब देशमा जनयुद्ध सकियो, यति सशक्त विषयवस्तुमा केही कथानक थपेर आख्यान लेख्दा राम्रो हुन्छ भन्ने सोचेँ। अनि 'प्रेमदासको डायरी' नाम दिएर उपन्यास लेखेको हुँ।
तपाईं युवा पुस्तासँग एकदमै नजिक हुनुहुन्छ। यही कवितासंग्रहमा पनि युवा निबन्धकार दीपक सापकोटाको प्रमुख मन्तव्य छ। नयाँ पुस्तासँग तपाईंले कस्तो सम्भावना पाउनुभएको छ र उनीहरूलाई तपाईंको सम्बोधन के छ?
अहिलेको युवापुस्ताले लेखेको विषयमा म धेरै आशावादी छु। जस्तो देवकोटा, रिमाल, भूपी शेरचन, वाशु शशीहरूको एउटा काल थियो। यस पछि मेरो पुस्ता छ। मेरो पुस्तालाई अब आउने नयाँ पुस्ताले उछिन्ने छ। अहिलेको प्रवधि र पाठ्यसामाग्रीले पनि नयाँ पुस्ता अगाडि छ।
यसमा कमजोरी पनि देखेको छु। नयाँ पुस्ताका केहीकेहीमा अध्ययन कमी छ। आफ्नो अन्तरहृदयबाट गम्भीर अनुभूति नभइकनै लेख्ने परिपाटी छ। गम्भीर चिन्तन– मनन, अभ्यास र साधना गरे यो पुस्ताले साहित्यमा ठूलो विरासत बनाउने छ। म यसमा विश्वस्त छु।