'पशुपति प्रसाद' फिल्मको शीर्ष भूमिका गरेपछि अभिनेता तथा लेखक खगेन्द्र लामिछानेको परिचय फराकिलो भयो।
उनको लोकप्रियता बढ्यो। त्यसअघि नै उनी 'बधशाला', 'टलकजङ भर्सेज टुल्के' बाट राम्रो अभिनेतामा स्थापित भइसकेका थिए।
रंगमञ्चमा राम्रो कलाकार र नाटक लेखनमा उनको परिचय छँदै थियो।
'लार्जर देन लाइफ' को परिचयबाट नेपाली फिल्ममा यथार्थको उडान सुरू भएसँगै खगेन्द्रजस्तो सामान्य अनुहारका मान्छे फिल्मका मूल कथाका मूलपात्र बन्न थाले। दर्शकले माया गर्न थाले।
सुरूवाती अभिनयमा तारिफ बटुल्दै आएका खगेन्द्रका फिल्मको संख्या बढेसँगै उनीमाथि उस्तै खाले पात्रमा देखिएर 'स्टेरियोटाइप' हुन लागेको आरोप छ। जसलाई उनी आंशिक रूपमा स्वीकार्छन्।
लामिछाने गत वर्ष 'धनपति' बाट दर्शकमाझ आएका थिए। आउने शुक्रबारदेखि उनको नयाँ फिल्म रिलिज हुँदैछ। यसपालि उनले कुनै समय नेपालको राष्ट्रिय खेल 'डण्डिवियो' को कथा भन्नेछन्।
रिलिज हुन लागेको फिल्म 'डमरूको डण्डिबियो' र लामिछानेमाथि लागेका आरोपबारे
सेतोपाटीका
अशेष अधिकारीले गरेको कुराकानीको सम्पादित अंश।
एकपछि अर्को फिल्म गर्दै हुनुहुन्छ। तपाईँ पनि रंगमञ्चको पृष्ठभूमिबाट आएका अरू कलाकार जस्तै 'पाए जत्ति फिल्म गर्ने' सोचमा हो?यो सुटिङ परेको हो। तर, मेरा फिल्म ६-६ महिनाको फरकमा रिलिज हुन्छन्। अरूको थाहा भएन म मेरा दुई फिल्मको रिलिजमा न्यूनतम ६ महिना फरक हुनुपर्छ भन्ने सोचमा छु र त्यही नै हुन्छ।
तपाईंसँगै नाटकमा काम गरेका साथीहरू एकपछि अर्को गर्दै लगातार फिल्म खेलिरहेका छन्, त्यसलाई तपाईंले कसरी लिनुहुन्छ?मान्छेको आ-आफ्नो इच्छाको कुरा हो। आफू काममा खट्न सकिन्छ, गर्न मन लाग्छ भने साथीहरूले गर्नुहुन्छ। मलाई धेरै फिल्म गर्न मन लाग्दैन, गर्दिनँ। त्यो उहाँहरूको व्यक्तिगत कुरा हो।
'धनपति' रिलिज भयो, फिल्मलाई लिएर दर्शक र समीक्षक दुबैमा ठूलो आशा थियो। तर, आशा अनुसार भएन। त्यो फिल्म बनाउन हतार भयो वा सोचेजस्तो बनेन?केही कमीकमजोरी छन्। हामी आर्थिक रूपमा सुरक्षित भयौं, फिल्मले राम्रै कमायो। मिडियामा पनि मिश्रित धारणा आयो। मानिसका आ-आफ्ना धारणा आए।
कसैलाई मनपर्यो, कसैले सोचेजस्तो भएन भन्नुभयो, त्यो आ-आफ्नो व्यक्तिगत स्वतन्त्रता हो। त्यसमा कुनै गुनासो छैन्। त्यसअघिका फिल्म रिलिज हुँदा म हल-हलमा गएर दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन्न थिएँ। यो फिल्ममा गएँ। हलमा जाँदा फिल्मबाट अधिकाशं दर्शक खुसी भएको पाएँ।
'पशुपति प्रसाद' जस्तो लागेन भन्नु त्यो फरक फिल्म थियो। फरक चरित्रका बारेमा फिल्म बनाएपछि त फिल्म फरक नै हुन्छ नि। त्यस्तै लाग्ने बनाउने भने त त्यसकै अर्को श्रृखंला बनाउनुपर्यो। 'धनपति' फरक कथामा बनाइएको अर्को फिल्म भएकाले त्यो सोच आउनु स्वभाविक हो।
कुनै पनि सर्जकको चाहे त्यो कथा, उपन्यास, वा चित्र नै किन नहोस्। उसका एक श्रृजनासँग अर्को श्रृजनासँग तुलना गर्नु हुँदैन। 'पशुपतिप्रसाद'मा पनि कति कमजोरी छन् र 'धनपति'मा पनि छ। अब आगामी दिनमा पनि कमजोरी हुन्छन्, त्यसलाई सुधार्दै जाने हो तर दोहोर्याउने होइन।
तपाईँले आजसम्म फिल्म निर्देशनमा अनुभव प्राप्त निर्देशकसँग काम गरिसक्नुभयो, यसपटक डेब्यू निर्देशकसँग काम गर्दै हुनुहुन्छ। नयाँ निर्देशकमा के देख्नुभयो?फिल्म भनेको 'टिम वर्क' हो। यसमा एउटा व्यक्तिले मात्र चाहेर घनघोर फिल्म बनाउन सक्दैन। त्यसको टिममा भरपर्छ। हाम्रो छेतेनजी मकहाँ 'डण्डीवियो'को सोच लिएर आउनुभयो। मलाई लेखक र अभिनेता दुबै हिसाबले रोचक लाग्यो।
छेतनजीसँग कुरा हुँदै जाँदा हामी टिमवर्क गरेर राम्रो काम गर्न सकिन्छ भन्ने लाग्यो र गरियो। एकअर्काबाट सिक्दै र सिकाउँदै काम गरियो। हरेक व्यक्ति कुनै न कुनै काममा एकपटक त डेब्यू हुनैपर्छ। अब कलाकार नयाँ निर्देशक हो भनेर काम गर्न तयार भएन भने ऊ पूरानो कसरी हुन्छ?
तपाईँलाई यो फिल्मको के कुराले आकर्षित गर्यो?डण्डिबियो आफूले बच्चामा खेलेको हो, अर्को कुरा यो नेपालीको मौलिक खेल पनि हो।
यो विषयमा फिल्म गर्दा कस्तो हुन्छ भनेर कुरा हुँदै आकर्षित भएँ। त्यसमाथि छोडिँदै र बिर्सिँदै गएका विषयमाथि फिल्म बन्ने भएकाले यसमा राम्रो फिल्म बनाउन सकिन्छ भन्ने लाग्यो।
म पछिका पुस्ताले पनि सानोमा यो खेले खेलेका छन्, ठूलोमा कसैले खेलेका छैनन्। यो धेरै मानिसको नोस्टाल्जियामा बसेको छ। यो विषयले धेरै मानिसलाई आकृष्ट गर्छ, नयाँ चिज पनि हुन्छ। कुनै समय हाम्रो राष्ट्रिय खेल पनि थियो। जसलाई सरकारले बेवास्ता गर्दै हटायो। सरकारले यसलाई माथि ल्याउनुको साट्टो भित्तैमा पुग्ने गरी हटाइदियो। यस्ता विषयको हिसाबले मन परेर म काम गर्न तयार भएँ।
'डण्डिबियो' को बारेमा फिल्म लेख्दा तपाईँले पत्ता लगाएको नयाँ चिज के हो, जुन कुरा लेख्नुअघि तपाईंलाई थाहा थिएन?सानोमा हामी आ-आफ्नो ढंगले डण्डिवियो खेल्थ्यौं। यसका नियम ठाँउपिच्छे फरक हुन्थे।
नेपाललगायत विश्वका विभिन्न भागमा आ-आफ्नो हिसाबले खेलिन्छ। युट्यूबमा पनि भिडियो पाइन्छ। फिल्म बनाउने त भइयो तर यसको खास नियम हामीलाई थाहा थिएन।
खोज्दै जाँदा नेपालमा यसको संघ नै रहेछ, त्यहाँ गएर संघका साथीहरूलाई भेटियो। उहाँहरूले यसको निश्चित नियमहरू बनाएको बताउनुभयो।
सानातिना प्रतियोगिता पनि गर्ने गरेको थाहा पाउँदा झन धेरै खुसी लाग्यो। उहाँहरूले यसको खेल कसरी खेल्ने भनेर मैदानको योजनासहितको नियम बनाउनु भएको रहेछ।
त्यो थाहा पाएपछि मलाई यत्रो चिजहरू भइसकेको अवस्थामा सरकारले प्रवर्द्धन नगरी किन हटायो? भन्ने लाग्यो।
भलिबल त हाम्रो मौलिक खेल होइन, यो त हो नि। यसरी नियम भेट्दा खुसी लाग्यो, नयाँ पनि यही लाग्यो। फिल्ममा पनि संघले तयार पारेको नियमलाई मान्दै देखाएका छौं।
भारतमा क्रिकेटको छाँयामा त्यहाँको राष्ट्रिय खेल 'हक्की' पर्यो। पछि शाहरूख खान अभिनित 'चक दे इन्डिया' पछि हक्कीलाई लिएर नयाँ बहस जन्मायो। एक किसिमले खेलको पुनर्जन्म भयो। डण्डिवियो पनि त्यस्तै आशा हो?फिल्म लेख्नुअघि र फिल्म खेल्नका लागि यो खेलबारेमा मैले प्रशिक्षण लिने अवसर पाएँ। मलाई त्यो कुराले रोमाञ्चित बनायो। खेल पुन: राष्ट्रिय बहसमा आउने सम्भावना देख्छु । किनकि फिल्मको ट्रेलर आएपछि दर्शकहरूमा मैले एक किसिमको उत्साह भेटेको छु।
फिल्म हेरेपछि डण्डिबियोबारे दर्शकले अझ धेरै कुराहरू बुझ्नेछन्। हक्कीको 'प्रपर' सबै चिज थियो, त्यो उपेक्षित मात्र थियो। तर, हाम्रो त पूरै भित्तैमा पुर्याइएको छ। हाम्रो खेल 'हक्की' भन्दा माथि आउन अलि बढी जोखिममा छ। फिल्म हेरेपछि खेलप्रेमीहरूले 'ओहो यो त यस्तो रमाइलो खेल रहेछ' भने यसलाई 'रिभाइभ' गर्न आ-आफ्नो ठाँउबाट कोशिश गर्नुहुन्छ होला। त्यसमा मेरो साथ रहन्छ।
'ब्रान्ड एम्बेसेडर' नै बन्नुहुन्छ?पक्कै पनि कसैले यो खेललाई अगाडि बढाउन चाहनुहुन्छ भने म आफूले सकेको र सक्ने सहयोग गर्छु। म पछि हट्दिनँ। यति रोमाञ्चक खेललाई प्रवर्द्धन गर्नुको सट्टा हटाउनु हुँदैन थियो।
फेरि यो कुने महँगो खेल पनि होइन, अत्यन्त सस्तो खेल हो। थोरै पैसामा प्रवर्द्धन हुने खेल हो, यस्तो खेललाई राष्ट्रिय खेलबाट हटाउँदा मेरो मनमा लाग्या चिज हो। खेल्दै आएको र राष्ट्रिय खेल हो भनेर जान्दै आएको चिजसँग एउटा प्रेम आफैं हुनेरहेछ।
त्यो हट्दा म दु:खी भएको थिएँ। यसबारेमा फिल्म खेल्नु मेरा लागि एउटा रोमाञ्चक यात्रा जस्तै भयो।
फिल्म सेन्सर पास भइसक्यो, फिल्मको आउटपुटबाट खुशी हुनुहुन्छ?खुशी छु। फिल्म डिस्टिङसनमा छ। तर हरेक फिल्म लेखकले जसरी सोचेको हुन्छ त्यसरी त फिल्म हुँदै हुँदैन। त्यो निर्देशकको सोच अनुसार हुन्छ। अहिले फिल्म हेर्दा मैले लेखेको फिल्ममा निर्देशकले डिस्टिङसन ल्याउने काम गरेका छन्।
हामीसँग सीमित श्रोत-साधन हुँदा खेलसम्बन्धी फिल्म बनाउँदा नेपालमा जोखिम छ। यसमा प्रोडियूसरहरूले कन्जुस्याइँ नगरी मन फुकाएर खर्च गर्नुभएको छ।
तपाईंमाथि उस्तै खाले फिल्म गरिरहेको आरोप छ। तपाईंका गुरूहरू र साथी कलाकारको यही भनाइ छ, तपाईं आफैंलाई के लाग्छ? यसपटक त्यो तोडिन्छ?पक्कै पनि त्यो तोडिन्छ। हाम्रो नेपालमा क्यारिकेचर गर्यो भने त्यसलाई भर्सटायल भन्ने चलन छ। क्यारिकेचर अभिनयको छुट्टै विधा हो। मेरो हकमा के हो भने म स्वर परिवर्तन गर्न सक्दिनँ, यो मेरो सीमितता हो। संसारका सबै अभिनेताले स्वर परिवर्तन गरेको उदाहरण पनि छैन्।
पात्रको स-सानो हाउभाउ आउने परिवर्तन, उसको हिँडाइ, लवाइखवाइ कस्तो हुन्छ भन्ने कुरामा मेरो ज्यादा ध्यान हुन्छ। मेरो घाँटीबाट अर्को स्वर निस्कदैन, म अर्को स्वर निकालेर काम गर्न सक्दिनँ।
पात्र छनोट पनि उस्तै भएको आरोप छ?यो कुरा म स्वीकार्छु। मैले 'डमरूको डण्डिबियो' भन्दा अगाडि उस्तैउस्तै खाले कथाका फिल्म गरेँ। समाजमा हेपिएका र पेलिएका मान्छेका कथाहरूमा फिल्म गर्दा ती पात्रहरूका थुप्रै भोगाइ मिल्छन् त्यो हुँदा फिल्म उस्तै लागेका हुन्। तर मैले पनि यो कुरा धेरै सुनेपछि मसिनो गरी 'पशुपतिप्रसाद', 'टुल्के', 'धनपति' हेरेँ।
ती हेर्दा मैले बोल्ने, हेर्ने र सोच्ने कुरा फरक नै पाएँ। अनुहार त मेरो उही हो, खगेन्द्र नै देखिन्छ। त्यसमा रिपिट भयो, रिपिट भयो भन्नुचाहिँ कतिको युक्तिसंगत हुन्छ।
फेरि मानिसहरूलाई जे लाग्छ त्यही भन्ने हो। यसमा मेरो अनुरोध छ- ती फिल्महरूमा ध्यान दिएर हेर्ने हो भने मसिनामसिना चिजहरूमा फरक भेट्नुहुन्छ। समाजका हेपिएका मानिसका कथा भएकाले तिनका धेरै विशेष्ताहरू एकअर्कासँग मिलेकाले उस्तै लाग्न गएको हुनसक्छ।
अब 'डमरूको डण्डिबियो' र 'जय भोले' पछि उस्तै फिल्म गरेँ भन्ने आरोपबाट मुक्त हुन्छु। थाहा छैन के हुन्छ, म आफैं पनि उत्सुक छु।
(तस्विरहरू : निशा भण्डारी)