काठमाडौंले आफ्नो प्यास मेटाउन मेलम्ची कुरेको दशकौं भयो जसले यस वर्ष मूर्तरूप लिने छाँटकाट देखाएको छ। यसबाहेक देवीदेवता र मन्दिरहरूको शहर र देशको राजधानी धुलो, धुवाँ, हिलो आदिइत्यादीको साथमा आफ्नै सपनाहरूबाट पनि खेदिइरहेको छ।
यसका भौतिक चेतनले खोजेका कुराहरू एकातीर छँदैछन् साथमा यहाँ बस्ने मानिसहरूका सपनाका प्यासको काकाकुलपनाको अर्को छुट्टै अध्याय छ। वर्षेनी नेपालका कुनाकन्दराबाट कयौं मान्छेहरू आफूले देखेको सपनाको हाहाकारबाट दबेटिएर तीनलाई आकार दिने निराकार ठाउँ मान्दै काठमाडौं आउँछन्।
ती सबैका आ-आफ्ना कथा छन् र ती कथा बोक्ने मानिस आफैमा पात्रहरू हुन्। शुक्रबार देशमा एउटा फिल्म रिलिज भएको छ, 'कथा काठमाण्डु'। निर्देशक हुन संगीता श्रेष्ठ जो आफै विराटनगरबाट आफ्नो सपना पछ्याउँदै १७-१८ वर्ष अगाडी काठमाडौं छिरेकी थिइन्।
काठमाडौंले उनलाई पहिचान दिएको छ। यसै फिल्मबाट उनी निर्देशकको पहिचान थप्दैछिन् । उनले निर्देशकको पहिचान बनाउनलागि काठमाडौंका अनगिन्ती पात्रहरूमध्येका केहि प्रतिनिधि पात्रहरूका कथालाई फिल्मको व्याकरणमा उन्ने काम गरेकी छन्।
संसारमा शहरका पात्रहरूबाट दर्जनौ कथा उनिएका छन्, भनिएका छन् फिल्ममार्फत। संगिता भन्छिन, 'हरेक शहरका आआफ्नै कथा छन् तर तीनका आधारभूत आधारहरू उस्तैछन्। फरक छन् त पात्र र भोगाइ।'
'हामी काठमाडौं हरेक दिन जोकोहीसँग ठोकिन्छौ, तिनका आआफ्नै कथाहरू हुने रहेछन्।अनि प्राय काठमाडौं बाहिरका, जोसँग काठमाडौं छिर्नुको कारण छन्', उनले भनिन्, 'ती पात्रहरू र तिनले पालेका, देखेका सपनाको सेरोफेरोमा काठमाडौंमा बस्ने रहेछन्। म आफै संचारकर्ममा आकर्षित भएर विराटनगरबाट काठमाडौं आइपुगेको हुँ। यसमा कोहीका के कारण छन त कोहीका केहि। तर ती सबै सपना बोकेर आउने रैछन्।'
आफूसँग प्रत्येक दिन ठोकिने १० जना मान्छेमा ७ जना काठमाडौंबाहिरकै हुने उनको अनुभव छ।
त्यसैले उनले यीनै पात्रहरूलाई फिल्म किन नबनाउने? भन्ने भएपछि 'कथा काठमाण्डु' रोजेको बताउँछिन्।
निर्णय त गरिन् तर यसका लागि पात्र छान्न संगीतालाई गार्हो पर्यो।
किनकी फिल्मका पर्दामा भनिने कथा दमदार र दर्शकको रूचाइलाई मेल खाने वा रूचि लाग्ने हुनु जरूरी थियो। त्यसमाथि काठमाडौंमा सपनाका कथाहरू त हजारौं छन्।
सोच्दै जाँदा उनको मनमा तीन कुराहरू आए: लभ, लस्ट र लाइफ।
'कथा जस्तो-जस्तो भएपनि अधिकाशं कथा यिनकै सेरोफेरोमा घुम्ने रहेछन्। मेरो मिडियाकर्मको यात्रामा पनि यिनै कुराका वरीपरी घुमेका पात्रहरू नै भेटें। मलाई यसमा फिल्म बनाउँदा ठीक हुन्छ लाग्यो र स्क्रिप्टको तयारीमा बसें', उनले फिल्मको प्रस्थानबिन्दु सुनाइन्।
संगीता भन्छिन, 'फिल्ममा तीनवटा कथा छन् र यसका पात्रहरू वास्तविक जीवनबाटै उठाइएका हुन्। फिल्ममा उनीहरूले जेजे भोगे त्यही कुरा देखाइएको छ, साथमा फिल्मी 'टच' त छँदैछ।'
यसले प्रस्तुत गर्ने घटना धेरैले भोगेको र देखेको कुरा हो।
संगीताको दाबी छ।
अन्यत्र पनि शहरी मानिस र तिनका भोगाइमा राम्रा फिल्म बनेका छन्, नेपालमा एक्का-दुक्का प्रयास भएका छन् जसको परिणाम बिर्सनलायक छ। यसबारेमा संगीता कतिको चनाखो भइन्?
'थियो र छ पनि', उनले भनिन्, 'तर किन हो किन मलाई नियमित र उस्तै किसिममा फिल्म बनाउन किन किन मनलागेन। डेब्यू फिल्म भएकाले केहि फरक होस भन्ने मेरो चाहाना थियो। यसका अलावा काठमाडौं आएका महिलाहरूका भोगाइ, उनीहरूका जीवनमा घट्ने घटना, दुर्घटनालाई कुनै न कुनै माध्यमबाट भन्नुपर्छ भन्ने लागिरहेको थियो। यो भन्नका लागि मैले जानेको माध्यम दृश्य हो।'
यसमा उनले केटा-केटी दुबैको कोणबाट कथा भन्ने प्रयास गरेको बताइन्।
'दुबै कोणबाट छ, एउटा कोणमात्र समात्दा त कथा अपुरो हुन्छ।'
त्यसो त गीत-ट्रेलर रिलिज भएपछि उनको फिल्मलाई अश्लिलिता फैलाएको आरोप लाग्यो। कुरो प्रधानमन्त्री कार्यालयसम्म पुग्यो। फिल्मकर्मीको सिर्जनात्मक्ताको प्रतिवाद गर्ला भन्ठानेको विकास वोर्ड निर्देशन भन्दै सरकारी फरमानसँग साखुल्ले बन्यो। उनलाई सस्तो प्रचारशैली अपनाएको यावत आरोपहरू लगाइए।
उनी यसलाई अस्वीकार गर्छिन्।
'मेरै केहि साथीहरूको जीवन बाहिरबाट अरूले हेर्दा एउटा आदर्श छ तर भित्रभित्रै मैले फिल्ममा देखाएजस्तो छ, उनीहरू त्यो पीडामा छन् भनेर कतिले पत्याउँदैनन्। सुखदु:खका कुरा गरिदां मैले उनीहरूबाट उनीहरूका पिडा सुनेको छु तर हाम्रो समाजले त्यस्ता कुरालाई तिम्रो पति हो, प्रेमी हो भनेर लुकाउनलाई उत्प्रेरित गर्नेगर्छ। मैले त्यही कुरालाई देखाउन खोजेको हुँ, यसमा अन्यथा केहि छैन। म आफै महिला हुँ, यदि मेरो नियत आरोप लगाइजस्तै भए त अझ बेसी गर्थे वा देखाउँथे होला तर म त जे भइरहेको छ त्यसलाई देखाउन केन्द्रित थिएँ। यस्ता कुरा सतहमा आउनैपर्छ। त्यसलाई इन्टिमेट सिनका रूपमा मात्र हेर्न भएन, त्योपछाडीको पीडा बुझ्दा त्यो त केहि नलाग्नसक्छ।'
संगीताले दर्शकमाझ फिल्म ल्याउन नियमितभन्दा बढि समय लगाइन। सामान्य अवस्थामा अन्यले कम्तीमा दुई फिल्म रिलिज गरिसक्थे।
यसमा संगीता भन्छिन्, 'मलाई रिलिज गरिहाल्ने हतारो थिएन। म फिल्म बनाउँदै थिएँ, अरू होइन। राम्रो फिल्म निकाल्न समय लाग्छ। आज फ्लोरमा जानेदिनमा नै रिलिज डेट घोषणा गरेर काम गर्न सकिन्न। यसलाई समय लाग्छ। मलाई हतारमा केहि गर्नु थिएन।'
उनले फिल्मलाई लिएर आफूमा आत्मविश्वास आएपछि रिलिजका लागि तयार भएको बताइन। उनका अनुसार देखाउन खोजेको कुरामा आफू तयार भएपछि देखाउदा राम्रो हुने भएकाले समय लिएकी हुन्।
फिल्म तयार गर्ने क्रममा उनले काठमाडौं आउने धेरै भ्रम पालेर यो शहर पस्छन् भन्ने कुरालाई गहिरोगरी बुझायो।
उनीहरूलाई लाग्दोरहेछ काठमाडौं पुग्ने बितिक्कै उनीहरूका सपनाले साक्षात दर्शन दिन्छन्। पैसा कमाउन आउनेले रूखरूखमा पैसा हुने सोच्ने रहेछन्। कलाकारलाई देखेर काठमाडौं मात्र पुगु न म पनि स्टार हुन्छु, ममा पनि त्यो चिज छ भन्नेहरू भेटेकी छन्।
काठमाडौंबाहिर बस्नेहरूले आफ्ना छोराछोरी वा अन्य कोही काठमाडौं बस्छन भने तिनलाई 'ग्लोरीफाइ' गर्नेगर्नुहुँदो रहेछ। तर उहाँहरूलाई आफ्ना सन्तान केबाट गुजरीरहेका छन् भन्ने उस्तो ज्ञान नहुने रहेछ।
१७-१८ वर्ष अगाडी काठमाडौं आउँदा संगीतमा पनि यही भ्रम थियो। बस काठमाडौं पुगौं। तर फरक थियो अवस्था।
साथीहरू 'म त काठमाडौं जाने हो', भनेर सुनाउँथे। त्यो सुनेर उनका साथीहरू जो यो निर्णय लिएर काठमाडौं आउने हैसियत राख्दैनथिए, उनीहरू खुम्चिन्थे।
उनले फिल्म बनाउनुको उदेश्य पनि यस्ता भ्रम चिर्नु हो। उनी आफ्ना सपनाहरू आफै बसेको ठाउँमा पनि पुरा गर्न सक्छन् भन्ने उनको बुझाइ छ।
उनी पनि काठमाडौं मिडियाकर्मी बन्न छिरेकी थिइन, माध्यम थियो एउटा ब्यूटी प्याजेन्ट। त्यसका लागि घरमा मनाउनु सजिलो थिएन, विशेषगरी आफ्ना बाबुलाई । बाबुले सुरूमा मानेन, भनेर बुझाउन सकिनन्। अनि उनले एउटा लामो पत्र कोरेर बाबुलाई आफ्नो कुरा बुझाइ छाडिन् र काठमाडौं आइन।
त्यो ब्यूटी प्याजेन्टमा निर्णायक रहेका भरत शाक्यले उनलाई इमेज एफएममा बोल्न अफर गरे । त्यहीबाट उनको संचार यात्रा सुरू भयो। त्यसपछि इमेज टिभीमा पुगिन्।
इमेजले म्यूजिक भिडियोमा एकछत्र राज गरेको थियो।
बिस्तारै उनले त्यो काम पनि सिकिन। उनले जुना प्रसाईको स्वरमा रहेको 'नदेखेको भए हुन्थ्यो तिमीलाई' गीतको म्यूजिक भिडियो बनाउँदै सुरू गरिन। त्यसपछि उनले म्यूजिक भिडियो निर्देशनमा फर्केर हेर्नुपरेन।
यो सबैको अवसर उनलाई सहजै आएको थियो तर टिक्न त उनले पनि संघर्ष नै गर्नुपर्यो।
पछि कान्तिपुर टिभीमा आबद्ध भइन, त्यहाँ उनी सांगीतिक कार्यक्रम चलाउने गर्थिन्। म्यूजिक भिडियो निर्देशन चलिरहेकै थियो तर उनलाई यतिले पुगेको थिएन।
नयाँ केहि गरौ न त भन्ने भएपछि उनले छोटा कथाहरूमा छोटा फिल्महरूको संगालो 'कथा प्रेमका' बनाइन्। १३ वटा भागहरू प्रसारण भइसक्दा उनले धेरै तारिफहरू पाउन थालिन।
म्यूजिक भिडियो बनाउँदा पनि ४-५ मिनेटको कथामा गीतलाई देखाउने हो।जसका लागि स्क्रिप्ट तयार गर्नुपर्छ। कान्तिपुरमा काम गर्दैगर्दा सर्ट फिल्मको बनाउने होकी भनेर सुरू गरें।'
त्यो बेला नै उनलाई फिल्मका कुराहरू आएका तिए तर उनीलाई डर लाग्यो।
'मलाई बिना ज्ञान, अध्ययन फिल्ममा हात हाल्नु अपराध लाग्थ्यो, त्यसैले पनि म डराएकी थिएँ। अहिले पनि लाग्छ। त्यसैले मैले हतार गरिन।'
उनले फिल्मी यात्राको सुरूवातमा आफुभित्र रहेको डरको सम्झना गरिन्।
उनी भन्छिन्, 'अहिले पनि डर लाग्छ। म रिसर्च नगरी फिल्म बनाउन सक्दिन। अरूजस्तो तीन-तीन महिनामा म फिल्म गर्ने आँट अहिले पनि ममा छैन।'
शुक्रबार फिल्म रिलिज भइसकेको छ। त्यसबाट उनले मिश्रित प्रतिक्रिया बटुलिरहेकी छन्।
उनी रंगीचंगी शहरको अध्यारो कथालाई दर्शकले स्वीकार्नेमा आशावादी छिन्।