खगेन्द्र लामिछाने आफूलाई इमान्दार 'एक्टर' भन्न रूचाउँछन्। त्यसो त उनी एक्टरका साथमा लेखक पनि हुन्।
६ वर्षे फिल्म करियरमा उनी आफूले खेलेका ५ फिल्मका लेखक स्वयम् हुन्। लेखक र अभिनेताको दुबै भूमिकाका कारण दबाबमा रहने गरेको उनी बताउँछन्।
यी दुबै भूमिकाको चेपुवामा आफू परेकाले सोचेजति गर्न नपाएको उनको बुझाइ छ। त्यसैले कुनै दिन उनी एक्टरको कम्फर्ट जोनमा मात्र बसेर काम गर्ने इच्छा राख्छन्। उनै खगेन्द्रको छैठौं फिल्म 'जय भोले' आज (मंगलबार)बाट देशभर रिलिज भएको छ।
अशोक शर्माको निर्देशन रहेको फिल्मका लेखक उनै हुन्। कथा लेख्दालेख्दै एउटा बिन्दुमा उनले त्यसमा आफूभन्दा पनि अरू फिट हुने देखेका थिएँ। तर, शर्माले उनको आत्मविश्वास बढाइदिए। कामबाट शर्मा खुशी भएको उनले बताए। यसै सन्दर्भमा सेतोपाटीका लागि खगेन्द्रसँग अशेष अधिकारीले खोतलेका उनका फिल्म र करियर।
तपाईंले जिन्दगीमा गरेको पहिलो आत्ममूल्याकंन के थियो?
हरेक मान्छेमा एउटा सिमितता भन्ने हुन्छ। मलाई कुने एउटा दिनमा आएर ओहो! म त एकदमै गलत रहेछु भन्ने भएन। तर, कहिलेकाँही केहि दिन अगाडि घटेका घटनाहरू जस्तै मित्रताका कुरामा, पारिवारिक कुरामा पछि आएर मैले चाँही गलत गरेको छू भनेर स्वीकार गर्ने गर्छु र त्यो स्वभाविक पनि छ।
६ वटा फिल्म गर्दा के के गल्ती भए के के सही भए?
पहिलो फिल्म बधशाला गर्दा मलाई सिनेमाको कुनै अनुभव नै थिएन। त्यसमा मैले मेसो पनि पाइनँ। पछि सिनेमा हेरिसकेपछि त्यो फिल्मले जुन खालको कथा पेस गर्छ त्यसमा चाँहि मानवीय संवेदनाहरूलाई अझै एक्सप्लोर गर्न सकिन्थ्यो भन्ने पाएँ। तर, समय घर्किसकेको थियो।
त्यसपछि गरेको 'टलकजगं भर्सेज टुल्के'मा स्क्रिप्ट लेखक पनि थिएँ। लेखिए, एक चरण त्यसलाई समिक्षा पनि गरियो। त्यसमा अनुप बराल सरको सहयोग थियो। पछि प्रविण अधिकारी, शिवानी सिंह थारू र म भएर ३ दिन नगरकोटमा बसेर त्यसलाई सक्दो चिरफार गरियो।
सुटिङमा गयौं, निश्चल बस्नेतले पनि आफ्नो इन्पुट दिए। तर सिनेमा बनेर हलमा चलिसकेपछि मैले स्क्रिप्टमै धेरै समस्या भेटेँ। जस्तो त्यसमा हरेक पात्रको टुङ्गो लागेको छैन्, त्यो चरित्र कसरी हरायो भन्ने छैन्। झ्याप हेर्दा त्यो नोटिस भइहाल्दैन तर हामीले हेर्दा धेरै चिज अहिले गर्न पाएको भए अझ राम्रो गर्न पाउँथे भन्ने लाग्छ।
'पशुपतिप्रसाद' को स्क्रिप्टमा त्यति धेरै ठूलो समस्या छैन। हरेक पात्र प्रमाणिक छन्, फिल्मको म केन्द्रीय पात्रसँग त्यसको सम्बन्ध अत्यन्त राम्रोसँग जोडिएको छ र स्थापित भएको छ। तर, हामीसँग बजेट अभावले त्यसको प्रोडक्सन भ्यालू अझै बचाउन सक्थ्यौं जसका कारण फिल्म अझ राम्रो बन्थ्यो। फिल्माई दर्शकहरूले माया गर्दिनुभयो, त्यतिकै पनि।
त्यसपछि 'धनपति' मा हामीलाई धेरै दबाब महसुश भयो। अन्तिम समयमा आएर सिनेम्याटोग्राफरको हात पनि भाँचियो, अन्तिम समय भएकाले अरू सिनेम्याटोग्राफरसँग काम गर्न पनि सम्भव भएन।
अनि दीपेन्द्र के खनालसँग क्यामराको प्राविधिक ज्ञान पनि भएकाले उहाँ आफैंले खिच्छु भन्नुभयो। तर, निर्देशनसँगै किचाइको पनि प्रेसरले गर्दा कतिपय अवस्थामा क्लोज जानुपर्नेमा नगएको जस्ता कुराहरू पनि हुनपुगे जसका कारण कतिपय स्थापित हुनुपर्ने कुराहरू हुन पाएको छैन। त्यसले एक दुई ठाउँ फिल्मलाई कमि गराउने काम गरेको छ।
जस्तो 'धनपति' चरित्रले त्यहाँ रसवरी खाएको छ। मैले कहिलेकाँहि केही दर्शकलाई सोधेको छु - किन खायो होला भनेर।
धेरैले अहँ थाहा छैन भन्नुहुन्छ। उसले भाडामा २० को नोट दिँदा सयको नोट ठानेर धेरै पैसा फिर्ता पाएको छ। जुन पैसाको रसबरी खाएर ऊ तृप्त हुन्छ। यस्तो चिजहरूमा हामी चुकेका थियौं।
हामीले प्रेसरका कारण त्यो गर्न भुल्यौं। यस्तै चिज भए, जसका कारण हामीमा प्रि-प्रोडक्सन तयारी नपुगेको हामीलाई लाग्छ।
त्यसपछि आयो 'डमरूको डण्डीबियो'। त्यो विषय आफैमा जोखिमपूर्ण विषय थियो। खेलकुदमा अत्यन्त रोचक फिल्म बनाउन सकिन्थ्यो। त्यसमा एउटा बाबुचोराको कथा छ, प्रेमी प्रेमिकाको कथा छ तर त्यो बनाउँदा नेपालमा डण्डीबियो कसरी खेलिन्थ्यो धेरैलाई थाहा थिएन। यसका नियम ठाँउ पिच्छे फरक।
डण्डीबियो संघले बनाएको नियमलाई हामीले मान्यौं। यदि क्रिकेटको फिल्म बनाएको भए धेरै मान्छेलाई त्यसको बारेमा धेरै बुझाइराख्नुपर्ने थिएन। तर, यसमा कसरी खेलिन्छ त्यो पनि बुझाउनुपर्ने थियो। त्यसकारण त्यो खेल बुझाउन थाल्दा सिनेमाको पेसमा असर गर्यो, त्यसले समस्या ल्याइदियो।
त्यसैले हरेक फिल्ममा गरेको गल्ती नयाँ फिल्ममा नगर्ने हो, सही मूल्याकंन त यही हो।
गरेका काममा कुनै काम झुरै गरेँ, ठीकै गरेँ, भयंकर गरेँ भन्ने भएको छ? म कुनै पनि कामबाट अत्यन्त उत्साहित र अत्यन्त निराश कहिलै भइनँ। म आफूलाई सामान्य मानिस ठान्ने भएकाले पनि हुनसक्छ। मैले आफ्नो क्षमता बुद्धिबर्कतले भ्याएको काम गर्ने हो, त्यसमा निराश किन हुने? अब त्यसमा मेरो कामलाई मान्छेल मनपराइदिए भनेर बढी उत्साहित हुने र मनपराएनन भनेर निराश हुने मलाई हुँदैन। म त्यसाई जरूरी छैन।
आफ्ना ६ फिल्मलाई १,२,३... भनेर क्रमबद्ध गर्नुपर्यो भने दर्शकका रूपमा कसरी गर्नुहुन्छ?
'टलकजंग भर्सेज टुल्के' लाई पहिलो नम्बरमा राख्छु। दोश्रोमा 'पशुपति प्रसाद', तेश्रोमा 'बधशाला' लाई राख्छु चौथोमा 'धनपति' र 'डमरूको डण्डीबियो'लाई राख्छु।
६ फिल्म गरिसक्दा अभिनेताको रूपमा आफूलाई कहाँ देख्नुहुन्छ?
अलिअलि आफूमा केही नयाँ चिज बढिरहेको अनुभव हुँदै आएको छ तर आफ्ना हरेक फिल्म आएपछि र पछिपछि पनि ती फिल्म हेरेर मैले यहाँ राम्रो गर्नसक्थे, कसरी बिग्रेछ भनेर भन्ने धेरै ठाँउ भेट्छु।
एक अभिनेताका लागि त्यो राम्रो पनि हो। म आफू आफ्नो कामबाट म पूर्णरूपमा सन्तुष्ट छैन। मैले काम गरेका सिनेमामा 'बधशाला' बाहेक सबै आफैंले लेखेको हुँ। त्यसयता विसुद्ध एक्टर भएर काम गर्न पाएको छैन अनि हाम्रो नेपाली फिल्ममा त्यसको 'प्रेसर' अन्तिम समयसम्म भइराख्छ।
त्यसमा म सामेल हुनैपर्छ जसका कारण मानसिक रूपमा एकदमै स्वतन्त्र भएर त्यो चरित्रमा भित्रैसम्म छिरेर काम गर्ने अवसर पाउँदिनँ। कुनै दिन त्यस्तो अवसर आउँला भनेर कुरेर बसेकको छु।
यदि फिल्म मैले नै लेखे पनि एक वर्ष अगाडि नै त्यो सकेर त्यसपछिको समय त्यो पात्रमा छिरेर काम गर्न पाइयोस भन्ने मेरो इच्छा छ। र त्यो दिन टेस्ट हुन्छ म कुन खालको एक्टर हुँ।
किनभने अहिले त्यो दुई वटा प्रेसरले गर्दा म कन्फ्यूज हुन्छु म एक्टर हुँ कि होइन भनेर। तर, म खतरनाक एक्टर होइन। कतिपय मेरो काम मनपराउनुहुन्छ। स्क्रिप्टको कारण समय नहुने भएकाले मेरो एउटै सुत्र छ। मैले अभिनय गर्दा लेखकका हिसाबले चरित्रलाई चिनेको हुनाले त्यही अनुसार त्यसमा इमानदार भएर काम गर्छु।
मैले आजसम्म गरेका भूमिकालाई राइटरकै धारणा अनुसार अभिनय गरेको हो, त्यो एक्टरको होइन। त्यसैले कुनै दिन राइटरको घेराबाट निस्केर एक्टर भएर त्यो क्यारेक्टरलाई हेरेर काम गर्न मन छ। म त्यसैको खोजीमा छु।
एक्टरका रूपमा तपाईँको अथाह सम्भावना के हो र सिमितता के हो?
एक्टरलाई धेरै कुरा थाहा हुनुपर्छ। उसले नाच्न जान्नुपर्छ, फाइट जान्नुपर्छ। विभिन्न भूमिकामा फिट हुन त्यही अनुसार जिउ पनि फिट हुनपर्छ। म सकेसम्म त्यसमा कोशिश गर्छु तर मेरा पनि केही निश्चितता छन्। म नाच्न जान्दिँन, त्यसैले आफूले लेख्ने भएकाले होला सकेसम्म गीतलाई 'अभोइड' गर्ने प्रयास गर्छु।
म कहिले काँही अभिनय गर्दा 'नर्भस' हुन्छु। त्यो फेरि डरले होइन तर म भित्र के आउँछ कुन्नी 'नर्भस' हुनपुग्छु। रोजिनाले, रविन्द्र सिंह बानिँया हनि बाइ राजेन्द्रले त्यो चिज सुटिङका समयमा देखिहाल्छन्।
उनीहरू ठ्याक्कै थाहा हुन्च, मलाई पनि कहिलेकाँहि थाहा हुन्छ। म त्यसलाई हटाउने उपाय खोज्दैछु।
मेरो राम्रो कुरामा म अनुशासनमा छु। म मेरो लिमिटेसनमा आफूलाई इमान्दार भएर काम गराउँछु। त्यस्तै म कहिलै समयसँग सम्झौता गर्दिनँ। म क्षमता अनुसारको दिने गर्छु।
तपाईंसँग कुनै 'ड्रिम रोल' छ?
त्यस्तो छैन। मैले गर्ने भनेको सामाजिक पात्रहरू हो। यदि त्यो भन्दा फरक आयो भने म गर्न सक्ने नसक्ने सोच्छु, जस्तो अशोक शर्मा दाइले 'जय भोले'को कुरा ल्याउँदा मलाई त्यस्तै भएको थियो।
फिल्म लेखिरहँदा एउटा बिन्दुमा पुगेपछि मैले उहाँलाई 'दाई मैले यो भूमिका गर्न सकौंला र?' भनेर पनि भनेको थिएँ। मेले मेरो सट्टामा अरू कोही लेराउनुहोस पनि भने तर उहाँले मान्नुभएन।
उहाँले एउटा एक्टरका लागि यो चुनौती हो र अभिनेताले चुनौती स्वीकार गर्नुपर्छ। खगेन्द्र तिमीले सक्छौ भन्नु भयो। उहाँको यस्तो भनाइ आइसकेपछि मैले मसँग जति लिमिटेसन छ त्यसमै रहेर इमानदार भएर काम गर्ने कोशिश गर्छु भनेर गरेको हो।
अशोक दाइ निर्देशकका रूपमा उहाँ खुशी हुनुहुन्छ। मलाई एक्टरका रूपमा उहाँलाई खुशी तुल्याउनसकेकोमा म आफू खुशी छु।
आफैं निर्देशनमा उत्रिने योजना पनि बनिरहेको छ?
मेरो चाँहि 'ड्रिम रोल' भन्दा पनि एउटा सिनेमा निर्देशन गर्ने सपना छ। तर त्यो गर्न पनि सक्छु नगर्न पनि तर सपना चाँहि हो।