मंसिर २१ गते अभिनेत्री नम्रता श्रेष्ठ, विपिन कार्की तथा निश्चल बस्नेत स्टारर 'प्रसाद' रिलिज हुँदैछ। 'डि-ग्ल्याम' भूमिका र विषयका कारण सिनेमाले चासो जगाइरहेको छ। सिनेमाका निर्देशक दिनेश राउत हुन्। त्यस्तै सिनेमालाई १२ वर्ष रंगपत्रकारिता गरिरहेका सुशिल पौडेलले लेखेका हुन्। सिनेमा समिक्षाका लागि पनि चिनिएको नाम भएकाले उनले लेखेको सिनेमा भनेर पनि चलचित्रवृत्त सिनेमा कस्तो होला भन्ने चर्चा छ।
सेतोपाटीका लागि अशेष अधिकारीले सिनेमा निर्देशक राउत तथा लेखक पौडेलसँग 'प्रसाद'को साथमा नेपाली सिनेमा समिक्षा, निर्देशक-समिक्षक द्वन्द्व आदिको सेरोफेरोमा कुराकानी गरेका थिए। कुराकानीमा उनीहरू यस्तो सुनिएः
समिक्षक भनेर लिएको कि कथा मन परेर ?
दिनेश राउतः उहाँ पत्रकार, समिक्षक, म निर्देशक। व्यवसायिक सम्बन्ध आफ्नो ठाउँमा छँदै थियो त्यो बाहेक मेरो व्यक्तिगत सम्बन्ध पनि थियो। अनि त्यसैमा एउटा साथीका रूप 'आइडिया' सुनाउँदा मन परेर लिएको हो।
सुशिल पौडेलः सुरूमा यो कथा मैले एउटा हदसम्म निर्देशक मनोज पंडितलाई सुनाएको थिएँ। त्यतिखेर मैले यस्तो विषयमा सिनेमा बन्छ कि बन्दैन भनेर जान्नका लागि सुनाएको थिएँ। त्योबेला त्यतिकै टुङ्गियो, उहाँबाट खासै रेस्पोन्स आएन। मलाई पनि यो खासै सिनेमा बन्न लायकको छैन भन्ने लाग्यो।
पछि फेरि एकपटक कुरोमा कुरो चल्दा दिनेशजीलाई मैले सुनाएँ। उहाँले रूचि राख्नुभयो। उहाँलाई सुनाउनुको पनि कारण छ। उहाँका यसअघिका सिनेमा कति चले चलेनन, किन चले, चलेनन आफ्नो ठाउँमा छ। तर एउटा निर्देशकका रूपमा आर्टिस्टको साइकोलोजी, मुडमा गर्नुपर्ने काममा राम्ररी खेल्नुहुन्छ। यसमा पनि श्रीमान् श्रीमतीको साइकोलोजी महत्वपूर्ण पाटो भएकाले दिनेश राउतले नै न्याय गर्नसक्छन् भनेर सुनाएको थिएँ।
उहाँका सिनेमा कस्ता लाग्छन्?
सुशिल पौडेलः उहाँका सिनेमालाई मैले गोदेर पनि लेखेको छु। एक तहसम्म उहाँ गर्न खोज्ने निर्देशक हो तर पटकथाका हिसाबले राउतजीका सिनेमा खुकुलो हुने र तीनमा भ्याकुम पाइनेछन्। साइकोलोजी पनि कति खेल्ने? दोहोरिएको जस्तै लागिरहने। त्यो पटकथा खुकुलो हुँदा उहाँको निर्देशकीय क्षमता बाहिर नआएको हुनसक्छ जस्तो लाग्थ्यो।
राउतजीको आफ्नै नजरमा कस्तो निर्देशक हुन् ?
दिनेश राउतः ४ वटा सिनेमा बनाएँ। पहिलो सिनेमा गर्दा मैले धेरै कुरा जानेजस्तो लाग्थ्यो तर गरिसकेपछि मैले केही जानेको छैन् फिल भयो। त्यसपछि मैले सिक्नुपर्ने जान्नुपर्ने के छ? चनाखो हुन्थे अनि त्यही चिज मैले अर्को सिनेमामा गर्न खोज्दा सकिरहेको हुँदैन थिएँ। त्यही कारणले सिनेमा बनाउने भनेको व्यक्तिगतरूपमा कहिले पनि सिकेर नसकिने क्षेत्र रहेछ। गरिरहँदा निखारिँदै जाने रहेछ। त्यसैले म सिक्ने कोशिस गरिरहेको निर्देशक हुँ।
राउत अहिलले कस्ता निर्देशक हुन्? सामान्य, मध्यम, उच्च?
सुशिल पौडेलः अहिले मध्यम हुन् तर उच्चतिर लम्किरहेका क्षमतावान् निर्देशक हुन्।
आफ्नै सिनेमालाई कसरी रेट गर्नुहुन्छ?
दिनेश राउतः मैले पोस्टबाट फाइनल भएर निस्किसकेपछि अर्कोचोटी म त्यही सिनेमा हेर्न सक्दिन।
भनेपछि दर्शकका रूपमा आफ्नो सिनेमाबाट ठगिएको महशुस गर्नुहुन्छ?
दिनेश राउतः मैले हेर्दा मैले सक्नेजति गर्न सकिनँ भन्ने अनुभव गर्छु, दर्शकले पनि त्यही अनुभव गर्नुहुन्छ। दर्शकका रूपमा म आफ्नै सिनेमाबाट सन्तुष्ट छैन।
नेपाली समिक्षक निर्मम छन् हो?
दिनेश राउतः सबैलाई भन्न सक्दिन। केही समिक्षकहरूले सिनेमाभित्रै रहेर गल्ती कमजोरी औंल्याउनुहुन्छ, त्यो ठीक छ तर कतिले भने सिनेमाभन्दा बाहिर गएर समिक्षा गर्नुहुन्छ त्योचाहिँ ठीक होइन। सिनेमाभित्र रहेर गर्नुपर्छ। मेरो काम हेरेर यो राम्रो छ यो गलत भयो भनेर कसैले औल्याइदिनु त राम्रो कुरा हो।
सुशिल पौडेलः निर्मम हुनुजरूरी छ। समिक्षा गर्दा कालोलाई कालो र सेतोलाई सेतो भनेर गर्नु त राम्रो कुरा हो। यदि त्यो भन्न सकिएन, लोलोपोतो भयो भने हामी कहिले परिस्कृत हुने? हाम्रो सिनेमा उद्योगमा आएको परिवर्तनमा सिनेमा समिक्षाको महत्वपूर्ण योगदान छ। प्रभाव ठूलो छ। यदि सिनेमाको मूल्याकंन नहुने भएको भए, हाम्रो कामलाई कसैले हेर्दैछन् भन्ने नहुने भएको भए हाम्रा सिनेमा बलिउडको ह्याङबाट धेरैसमय उत्रने मुडमा हुँदैन थिए। समिक्षाले हाम्रोपनका सिनेमा बनाउनका लागि प्रेरित नै गरेको छ। त्यसैले ठाउँमा कडा हुनुपर्छ।
समिक्षकले कथा लेखेको त छँदैछ, दर्शक यो टिमको केके कुराका लागि प्रसाद हेर्ने?
दिनेश राउतः समिक्षकले लेखेको, यो कलाकारले खेलेको, यो निर्देशकले निर्देशन गरेको भन्ने कुरा आफ्नो ठाउँमा छ। हामीले सिनेमाको विषय जे छ त्यसैलाई प्रचारमा ल्याएका छौं, त्यसमा रूचि छ भने नै दर्शक आउनुहुने हो।
यो सामाजिक कथा हो। हाम्रो समाजले सहर्ष स्वीकार नगर्ने विषयमा सिनेमा छ, जुन ट्रेलरमा छ। यसले कस्तो कथा भन्न खोजेको छ भन्ने कुरा दर्शकले सिनेमा हेरेपछि थाहा पाउनुहुनेछ। हामी त्यसेको प्रतिक्षामा छौं।
सुशिल पौडेलः यो हाम्रै ग्रामीण समाजमा घटिरहने घटनालाई देखाउन खोजेको हो। यो सिनेमा हेरेर हो यस्तो हुन्छ मैमाथि घटेको छ भनेर रिलेट गर्नसक्ने भाव आउने भएकाले दर्शक यसमा गाँसिनुहुन्छ भन्ने अपेक्षा छ। त्यही बुझ्नुहुन्छ।
जो कलाकारको चयन भएको छ उनीहरूलाई सम्बन्धित पात्रमा भिजाउन कतिको सहज भयो?
दिनेश राउतः हामी लेखक निर्देशक दुबैले सिनेमाको कथा तयार गर्दै नै यो कलाकारले न्याय दिनसक्छ है भनेर छानेका हौं। विपिन भर्सटायल अभिनेता भएका कारण छानिएका हुन्।
नम्रताको कुरामा उनको सट्टा अर्को कलाकार सोचेको पनि हो तर एकहदसम्म म सन्तुष्ट छु। दर्शक पनि सिनेमा हालसम्म बाहिरिएको चिजबाट सन्तुष्ट नै रहेको पाएको छु।
सुशिल पौडेलः कास्टिङमा चुनौती थियो। विषय डार्क छ, क्लिसे लभस्टोरी होइन। विपिन पनि साइड रोलमा जमिरहेको र नम्रताको पनि एकदमै कम सिनेमा आइरहेको अवस्था र भयंकरै सिनेमा चलेको अवस्था पनि थिएन। त्यसमाथि अर्को पाटोमा अनमोल केसी, प्रदीप खड्का, साम्राज्ञी शाह जस्ता नयाँ स्टारहरू आइरहेको समयमा डार्क कन्टेन्ट लिएर विपिन नम्रता जस्ता कलाकार लिँदा जोखिम त भयंकर थियो तर हामीले सिनेमा चल्नु-नचल्नुतिर भन्दा पनि 'क्यारेक्टरलाई', 'कथालाई' कसले राम्ररी बोक्न सक्छ भनेर हेर्यौं र यी दुबैको विकल्प देखेनौं। हामी बजारकोपछि नलागी कलाकारको पछि लाग्यौं र त्यो हाम्रो निर्णय यतिखेर सही साबित भएको छ।
नम्रताजीले सुटिङको १५ दिन अगाडि कपाल काटिदिनुभयो यसले कतिको अफ्ठ्यारो भयो? के त्यो निर्णय सही थियो?
दिनेश राउतः उहाँलाई सबैकुरा धेरै अगाडि भनिसकेको थिएँ। उहाँको क्यारेक्टर सिनेमामा के हो? त्यो बारेमा उहाँ जानकार हुनुहुन्थ्यो। व्यक्तिगत रूपमा कपाल काट्न हुँदैनथियो भन्नेमा थियो नै। मलाई भनेको पनि थियो। तर पछि हाम्रो सुटिङ पनि समयमा हुन सकेन, त्यो टाइममा उहाँको आफ्नै सिनेमा 'जायरा'को लागि कपाल काट्नुपर्ने थियो। हाम्रो सिनेमा सुटिङमा जाने टुङ्गो थिएन त्यो सिनेमाको थियो त्यसैले काट्नुभयो। यसमा लापरवाही भन्दा पनि उहाँलाई दोहोरो मार पर्यो। काट्दा यता मार पर्ने नकाट्दा उता मारपर्ने भयो । उहाँले मिलाउन खोजेको हो तर मिलेन।
सबै तस्बिरहरुः नारायण महर्जन