कुराकानीका क्रममा निर्देशक पुणेन्द्रु झाले आफ्नो डेब्यू सिनेमा 'संरक्षण'ले दर्शकको अपेक्षा पूरा गर्न नसकेको स्वीकार गरे। सिनेमामा उनी निर्देशनसँगै निर्माणको मोर्चामा थिए। त्यसैले केही अप्ठ्यारो पारेको उनको बुझाइ छ।
त्यस्तै निर्माताले सिनेमा गर्दा गर्ने वचनलाई पूरा नगरिदिनाले सिनेमा बनाउँदा नेपाली निर्देशक 'कम्प्रोमाइज'गर्न बाध्य हुने उनको अनुभव छ। यसले सिनेमा कमजोर बनाउन मद्दत गरेको उनको बुझाइ छ।
यसै शुक्रबारका लागि उनी निर्देशित दोश्रो सिनेमा 'चौका दाउ' तयार छ। उनको दाबी छ, 'सिनेमाले पैसा कमाउँछ, दर्शकलाई मनपर्छ।' उनको यो आत्मविश्वासको परिक्षा नेपाली वक्सअफिसले भोलि लिनेछ। रिलिजको पूर्व सन्ध्यामा 'चौका दाउ'लाई लिएर आत्मवश्वासी देखिएका झा सेतोपाटीका लागि अशेष अधिकारीसँगको कुराकानीमा यस्तो सुनिए:
फरक सिनेमा बनाउँछन् भन्नेहरू उस्तै खाले कमेडी सिनेमाको पछि लागेको देखिएको छ, तपाईं पनि यहि पछ्याउँदै हो?
होइन, कमेडी सिनेमा बनाउने मेरो योजनामा भएकै कुरा हो। कमेडी मात्र हैन विविध जनराको सिनेमा बनाउने सोच छ। पहिला पोलिटिक्ल ड्रामाबाट सुरू गरें, दोश्रोमा मैले रोमान्टिक सिनेमा बनाउने योजना बनाएको थिएं भने तेस्रोमा कमेडी। तर कमेडी सिनेमाको कुरा शम्भुजीत सर(बाँस्कोटा)बाट प्रस्ताव आएपछि अगाडी आयो। 'चौका दाउ' नाम मनपर्यो। कुरा मिलेकाले शम्भुजीतसरको योजनामा म सहभागी भएं।
सिनेमाको अपिलिङ कुरा के हो?
वर्षा राउत। उहाँसँगै सन्तोष पन्त तथा तयब शाहजस्ता दिग्गज कलाकार, हाल दर्शकले मनपराइरहनु भएका वील्सन विक्रम राई र रविन्द्र झाको अभिनय हो। उहाँहरूको वर्षा राउतसँगको कामले दर्शकलाई तान्छ। यसले दर्शकलाई हँसाउछ, मनोरञ्जन दिन्छ।
वरिष्ठ कलाकारहरूसँग काम गर्न सहज भयो, भएन?
त्यस्तो कठिन भएन। पहिलो सिनेमामा पनि अधिकाशं सिनियर कलाकारसँग काम गरेको हो। उहाँहरूसँग काम गर्न पाउँदा आफूलाई भाग्यमानी सम्झिएको छु। 'हिजो आजका कुरा' हेरेर हुर्केको मान्छेले सन्तोष पन्तसँग काम गर्न पाउँदा खुशी नहुने कुरै हुँदैन। तयब शाहको नाम निर्माताको रूपमा भरतपुर चितवन पढ्दा सुनेको नाम हो। एक्टर हो भन्ने थाहा थिएन, काम गर्न पाउँदा खुशी लाग्यो।
वरिष्ठ कलाकारसँग काम गर्नुको फाइदा वेफाइदा के हुने रहेछ?
फाइदा भनेको धेरै चिज सिक्न पाइन्छ। सिनियर समकालिन कलाकारको म धेरै कडा हुँदिन भन्ने गुनासो रहन्छ। म धेरै कुरा अरूको सुन्छु भन्ने छ। खासमा मैले धेरै कुरा सिक्न र जान्न पाउने भएकाले त्यसरी सुनेर टाइम लिने गरेको हो। मैले धेरै सिक्न पाएँ, त्यसैले अगामी सिनेमामा सन्तोष सरलाई कुनै न कुनै रूपमा स्थान दिन्छु।
कहिलेकाँहि धेरै सिकाउन थाल्नुहुन्छ। बेफाइदा त्यही हो। त्यतिबेला अलि गार्हो हुन्छ।
पहिलो सिनेमा हेरि दोश्रो सिनेमा गर्न सहज भयो?
पहिलो सिनेमामा म निर्माता पनि थिएँ, त्यसैले दुई वटा काम गर्नुपरेपछि अलि गार्हो हुनु स्वभाविक थियो। सेटमा तनाब नभएपनि खिच्नेबेलामा स्क्रिप्ट अनुसारको कुरा हुन नसकेपछि निर्देशकको रूपमा केहि गार्हो त भयो नै।
यसमा निर्देशकमात्र हुँदा एक हिसाबले आफूलाई हलुको महशुस गरें। त्यो मेरालागि सजिलो कुरा थियो। निर्देशनमै केन्द्रित हुन पाएँ।
नेपाली निर्देशकसँग दृश्यात्मक भाषाको कमी रहेको आरोप छ। तपाईं आफू यसमा के छु, लाग्छ?
हो, त्यो कुरा सहि हो। योसँगै हामी सुध्रिदैं पनि गइरहेका छौं। सुधार हुन समय लाग्छ। यस्तो हुनुमा धेरै कुराहरू जिम्मेवार छन्। सोचमा १०० % हुन्छ, कागजमा उतारिदाँ केहि कम हुन्छ र छायाँकंनमा फेरि घट्छ। हाम्रो उपलब्ध श्रोतले यसलाई असर गरिरहेको हो। निर्देशकले पूरा त्यसको प्रयोग गर्न नपाएपछि यस्तो त हुने नै भयो। तर साथमा के हो भने यो काम गर्दै जाँदा कम हुँदै जान्छ। यो सुध्रिनेमा म सकारात्मक छु।
नेपाली निर्देशकलाई स्क्रिप्ट गतिलो बनाउने भन्दा पनि 'एक्सन-कट' भन्ने ज्यादा हतारोले उनीहरूको कमजोरी पर्दामा छताछुल्ल हुने गरेको आरोप छ? तपाईंको पहिलो सिनेमा त्यो देखिएको थियो, थाहा नभएर होकी वा अरू केहि?
जानकारी बेगर भयो भनेर म मान्दिन। त्यसको पहिलो जिम्मेवार निर्देशक नै हो। त्यसमा मैले जे बनाउन खोजेको थिएँ, त्यो भएन। त्यसका लागि मैले माथि भनेजस्तै धेरै कुराहरूले प्रभाव पारे। प्रोडक्सनले धेरै असर त्यसलाई गरेको हो। आइडियल्ली ठीक हुने हो भने सिनेमा राम्रो नै बन्छ।
त्यसो भए नेपाली निर्देशकहरू किन यति धेरै सम्झौता गरेर निर्देशक बन्न हतारिन्छ त?
अरूको थाहा भएन। म कहिले कम्प्रोमाइज गर्न चाहने मान्छे होइन। धेरै कुराले असर गर्छ। म हतार गरेर आएको थिइन। पाँच-सात वर्ष काम सिकेर पढेर सुरू गरेको थिएँ।
तर तपाईको सिनेमाको परिणामले त त्यही देखायो, किन?
बजेटको कुरा हो। सिनेमा सुरू गर्दा चाहिने वा भनिएको कमिट्मेन्ट आउँछ तर पछि भइदिदैन्। सुरूमा निर्माताहरू धेरै चिज बोल्नुहुन्छ। उहाँका पार्टनर निर्माता धेरै हुन्छन् जसका कारण सुरूमा हुन्छ भने पनि पछि भनेजस्तो पूरा नभएपछि के गर्न सकिन्छ?
त्यसैले सिनेमा निर्माणमा आउनेहरूलाई यो महँगो र खतराको व्यापार हो भन्छु। उहाँहरू त्यो बुझेर आउनुभयो भने निर्देशक र लेखकले आफ्नो कम्फर्ट जोनमा राम्रो काम दिन्छ नै। यो कुरा क्लिएर छ।
भोलिको दिनमा 'चौका दाउ'को अस्तित्व कहाँ हुन्छ। कि यो एउटा नियमित मनोरञ्जन सिनेमा मात्र हुनेछ?
मनोरञ्जनात्मक र दर्शक बाँध्ने सिनेमा हो 'चौका दाउ'। नेपाली कमेडी सिनेमाको ट्रेडमार्कको स्तरमा यो सिनेमा आउँछ।
नेपाली सिनेक्षेत्रमा एउटा शैली चलेपछि त्यही शैली पछ्याउने प्रवृति छ। निर्देशकहरू किन नयाँ काम गरिरहेका छैनन्?
यस किसिमको साइकोलोजी देखिएको सत्य हो। मेरो सवालमा त्यो छैन्। यसपछाडी म रोमान्टिक सिनेमा गर्दैछु। र यो सिनेमा शम्भुजीत सरको 'ब्रेन चाइल्ड' हो। उहाँले मलाई छनौट गर्नुभयो, मैले गर्न सक्छु लाग्यो र गरें। सिनेमा राम्रो बनेको छ। अब हेरौं के हुन्छ?
यो सिनेमा चलेन भने के हुन्छ?
यो सिनेमा चलेन भने पुणेन्द्रु झालाई केहि हुँदैन तर सिनेमा चल्नुपर्छ। निर्माता सेफ हुनपर्यो। व्यक्तिगत खास नहोला तर सामुहिक रूपमा लगानी भएको सिनेमा नचल्दा असर त निश्चय नै गर्छ। सिनेमा दर्शकलाई मनपर्छ। अहिले यति भनौं।
तपाईले सिनेमाको स्क्रिप्टमा खोज्ने के हो?
कथा वा सिचुयसन अपिलिङ हुनुपर्छ, जसले दर्शकलाई आकर्षित गरोस्। यसमा 'इन्स्टिङ्क्ट'ले काम गर्नुपर्छ। यो सिनेमाको कुरा गर्दा 'चौका दाउ' भन्ने नामले नै तान्यो। गीतको ट्यूनहरू मनपर्यो। कथाले पनि तान्यो र गरें।
'चौका दाउ' फरक होकी प्रभावित कथा हो? ट्रेलरले कुनै सिनेमाबाट प्रभावित रहेको संकेत गर्छ?
सुरूमा म कहाँ आएको कथा सुन्दा प्रभावित थियो। मलाई शंका लागेका २-३ वटा सिनेमा हेरें। अनि मैले प्रभावित लाग्न सक्ने कुरालाई फेरेको छु। चार वटा दाउ छन् चरित्रको कोणबाट अब एउटालाई दाउ पर्छ। सिनेमा सुरू भएपछि प्रभावित होकी लाग्न सक्छ। सिनेमा हेर्दैजाँदा एउटा आधारभूत 'आइडिया'बाहेक धेरैचिज फरक पाइन्छ, मिल्दैन। आफ्नै किसिमको बनेको छ।
सिनेमालाई लिएर तपाईं कति विश्वस्त हुनुहुन्छ?
यो सिनेमाले पैसा कमाउँछ, दर्शकलाई मनपर्छ। म मेरो सिनेमालाई डिस्टिङसन दिन्छु।