अभिनेत्री रेखा थापाले आफू महिला लेखकका कथामा काम गर्न तयार भएको बताएकी छन्। शनिबार मार्टिन चौतारी भएको 'आह्वान संवादमा' थापालेआफ्ना आगामी सिनेमा झुठो सपना बेच्नेभन्दा पनि यथार्थ बेच्ने खालका हुने बताइन्। महिला लेखिका तथा अधिकारकर्मी अर्चना थापाले सहजीकरण गरेको संवादमा अभिनेत्री रेखाले नेपाली सिनेमामा महिलाका सवालमा आफूले गरेको काम, गर्ने काम र आफ्नो अभियान र त्यसलाई लिएर उठेका सवालबारे बोलेकी थिइन्। उक्त संवादको सम्पादित अंश:
अर्चना:तपाईंलाई २०१८ मा कुनचाँहि नेपाली चलचित्र सफल भयो जस्तो लाग्छ?
रेखा: मेरो नजरमा सिनेमाले समाजलाई कति प्रभाव पार्यो महत्वपूर्ण हुन्छ। त्यसले समाजलाई कति परिवर्तन गर्यो? जनतामा के उपलब्धि ल्यायो? त्यो हेर्दा सम्झन लायक सिनेमा छैन। चलेको हिसाबमा 'छक्का पञ्जा ३' हो।
अर्चना: तपाईंले काम गर्न थालेको १८ वर्ष भयो। सन् २०१८ सम्म आउँदा दर्शकले देख्न नपाउने पर्दापछाडि के कस्ता परिवर्तन देख्नुभएको छ?
रेखा: आवरणमा भएको छ तर पात्रमा भएको छैन। पात्रमा जुन प्रकारको परिवर्तन हुनुपर्थ्यो त्योचाँहि देख्दिनँ। जो पात्रले विद्रोह गरे, आफूलाई चिनेर मैदानमा उतारे, ती व्यक्तिले परिवर्तनको अनुभव गरेका होलान तर समग्रमा हेर्दा आवरणमा भएको छ। प्रवृतिगत रूपमा खासै परिवर्तन देख्दिन। म र मेरा सिनियरले कोरेको बाटो अझ फराकिलो हुनुपर्थ्यो तर त्यो अझै साघुँरो हुँदै गएको देख्छु।
अर्चना: प्रवृत्तिचाहिँ जस्ताको जस्तै रह्यो भन्नुभयो। त्यो हिरोमा, हिरोको प्रतिनिधित्वमा नाम फरक र काम उस्तै छ र हिरोइनको सवालमा पनि उस्तै छ भन्ने हो। हिरोको हिरोपन हुने तर नायिकाकोचाँहि निकम्मापन हुने। ती सबै हेरेर तपाईंको सिनेमा हेर्दा तिनको र तपाईंको सिनेमाको बनावटमा केही फरक छ?
रेखा: मैले बनाउने सिनेमाको पात्रको चरित्र फरक छ। मैले उठाउने विषयवस्तुको उठान यही समाजभित्रकै हो। मेरो उदेश्यचाहिँ जुन वातावरण र परिवेशमा म हुर्किएँ, जुन उद्योगमा म टिनएजरदेखि आजसम्म छु, यहाँ मैले जे परिपाटी देखें, त्यो हिसाबले यहाँ जुनकुनै क्षेत्रमा महिलाहरू सधैँभरी श्रृगांरिक पात्रको रूपमा मात्रै हुन्छे। ग्ल्यामराइज मात्रै गरिन्छ।
म जहिले पनि छोरीमान्छेले पनि गर्न सक्छे (खासमा छोरीमान्छे शब्द मलाई मन पर्दैन, हामी मान्छे हौं)। पुरूष पात्रले गरिरहेको कुरा समानान्तर भएर गर्नसक्छौं भन्ने 'दबंग' चरित्र वा परिवर्तन गर्ने नेतृत्व लिने चरित्र मैले बनाएका सिनेमामा उतारेंको छु।
सिनेमामा मैले समाजका जो आफैंमा सक्षम छन् र हुन्छन्, ती प्रतिनिधि महिला पात्रहरूलाई प्रस्फुटन गर्ने कोशिश १८ वर्षदेखि गरिराख्या छु। 'मालिका' सम्म आइपुग्दा जब एउटी महिला ट्याम्पु चालकले मलाई भेटेर 'हिजो रक्सी खाएर मेरो बुढाले मुख छाड्यो, मैले हान्दिएँ। रेखा थापाले हान्न सक्ने मैले नसक्ने?' भनेको सुन्छु, त्यस्ता कुराले मलाई एकदमै प्रेरित गर्छ। फरक गरेछु लाग्छ।
अर्चना: तपाईं निर्माणसँगै निर्देशनमा पनि सक्रिय हुनुहुन्छ। तपाईंले निर्देशन गरेका सिनेमामा नारीवादी टोन छ या रेखावादी अन्डरटोन छ?
रेखा: रेखावाद र नारीवाद एकअर्काका परिपूरक हुन्। म यही समाजका महिलाहरूको प्रतिनिधि पात्र हुँ। मैले समाजमा जे देख्छु, जे अनुभव सुन्छु, जुन दृश्य र कथाहरू भेट्छु, म तिनलाई प्रतिनिधि पात्र बनाएर आफूलाई पर्दामा उतार्छु। रेखावाद होइन।
अर्चना: तपाईले अघि भन्नुभयो की तपाईंको सिनेमा अन्य मूलधारका भन्दा फरक हुन्छ। नायिका सक्रिय हुन्छ, नायिका नै अलि आफैं गर्न सक्ने सक्षम हुन्छ। यस्तो गरिरहँदा फिल्ममा त्यो फरक सन्देश पनि हाल्नुछ, लगानी पनि गर्नुपर्छ, त्यो सँगसँगै नाम पनि चलाउनुछ, बजारमा पनि अलि ब्ल्कबस्टर होस् भन्ने जस्ता कामना हुन्छ। त्यो सबै चिजलाई कसरी सन्तुलित गर्नुहुन्छ?
रेखा: 'रामप्यारी'सम्मचाहिँ त्यस्तो लाग्थ्यो तर 'रूद्रप्रिया'पछि मलाई सबै कुरा पैसा वा नामको आँखाबाट हेर्न नहुने रहेछ भन्ने लाग्यो। मैले यत्तिका वर्ष काम गरेर जुन नाम र दाम कमाएँ त्यसका लागि मैले के दिने? ५० रूपैयाँ, सय रूपैयाँको टिकट काटेर मलाई हेर्न आएर माया गरेर समाजमा, देशमा चिनिने पात्र बनाइदिनुभएको छ, त्यसको सट्टामा मैले के दिने?
म ठाउँ-ठाउँ गएँ, दिदीबहिनीहरू भेटें, अब उनीहरूलाई झुठो सपना बेच्नु छैन्। किनकी मलाई धेरै पैसा दिनुभइसकेको छ। त्यसैले गर्दा ती कुरा हेर्न छाडिसकें।
अर्चना: तपाईंविरूद्ध एउटा-दुईटा विरोधहरू फेसबुकमा पनि उठे। मधेशबाट निरन्तर लेख लेख्नेहरूले रेखा थापा किन? के मधेशतिर महिलाहरू थिएनन, जसले आफ्नै भाषामा आफ्नो स्थानीय भाषा बुझेर, त्यो समस्यालाई त्यहीका स्थानीय रोल मोडल महिलाहरूले उठाउन सक्थे। किन काठमाडौंबाट ल्याउनुपर्यो भन्ने पनि प्रश्न उठाए?
रेखा: त्यो ठाउँ हामीले कर्णालीपछि लक्ष्य निर्धारण गरेको ठाँउ थियो। २ नम्बर प्रदेश, विशेषगरी रौतहट, जहाँ बालविवाह सबैभन्दा बढी हुन्छ त्यहा जाने हाम्रो योजना थियो। अनि त्यहाँ जाँदा ल हामी सहयोग गर्छौं भन्नुभयो तर मधेशको, पहाडको वा हिमालको भन्ने सुनेर मलाई आश्चर्य लाग्यो। म त देशकै छोरी हो। मलाई जहाँ पनि अभियान चलाउन, त्यो कुरीतिविरूद्ध लड्नलाई त्यहाँको समाजले रोक्दैन। रोक्छन त वर्षौदेखि उनीहरूको मुद्धालाई बेचेर खान बानी परेकाहरूले। उनीहरूलाई त्यो मुद्धा निर्मूल नहोस्, यथास्थितिमै रहिरहोसजस्तो लाग्छ ।
अर्चना: अघि तपाईं, महिलालाई महिलाले सहयोग गर्दैनन् भन्नुभयो। तपाईंले महिला साहित्यकारका कथालाई लिएर सिनेमा बनाउने कुनै त्यस्तो सोच छ। यहाँ धेरै साहित्यकारहरू उपस्थित हुनुहुन्छ, त्यसको कुनै सम्भावना छ? पटकथा लेखाउनुहुन्छ?
रेखा: म फरक शैलीमा काम गर्न चाहन्छु, मेरो अहोभाग्य हुनेछ। यो त हक नै हो त्यसका लागि रेखाले मलाई बोलाउली होइन, मसँग यो कन्सेप्ट छ, सँगै काम गरौं भन्नुपर्यो। रेखा फिल्मस् वा म मात्र पर्याप्त हुँदैन हातेमालो हुनुपर्यो, सामूहिक हुनुपर्यो।