'समर लभ' लेख्दा सुबिन भट्टराईले पाठकमाझ यति ठूलो आयतन बनाउँला सोचेकै थिएनन्। डेब्यू किताबले उनलाई सेलिब्रेटी लेखक बनायो। जसका कारण लेखनलाई नै उनले मूल पेशा बनाए। प्रेम उपन्यासमा आफ्ना प्रेमाभूति भेटेपछि विशेषगरी युवापाठकले यसलाई आफ्नो प्रिय किताब बनाए। उनको सोही किताब यतिबेला सिनेमा बनिसकेको छ।
उनलाई सिनेमाले किताबजस्तै माया पाओस् भन्ने चाहना छ। भन्छन्, 'म सिनेमाबाट सन्तुष्ट छु, हेरिरहँदा रूदिन भनेर रोक्ने प्रयास गर्दागर्दै सकिन।'
उनी किताब जस्तो सिनेमा नहोलाकी भनेर लेखनदेखि सिनेमासँग जोडिए। संवादलेखनमा उनले किताबलाई स्क्रिप्टमा उतारेका सामिप्य राज तिमल्सेनासँग सहकार्य गरे। दुबैले सहमतिअसहमतीलाई मिलाउँदै सिनेमाको स्क्रिप्ट बनाएँ।
यसलाई दृश्यमा उतार्ने काम मुस्कान ढकालले गरे। दोश्रो सिनेमामा कुन चुनौती उठाइरहेका थिएँ, उनी पूर्ण जानकार थिए। त्यसैले सिनेमालाई सकेसम्म किताबको नजिक राख्ने प्रयास गरेको उनी बताउँछन्। शुक्रबारबाट सिनेमा प्रदर्शनमा आइसकेको छ। सिनेमाले मिश्रित प्रतिक्रिया बटुलिरहेको छ। रिलिजको पूर्व सन्ध्यामा सिनेमाको बारेमा कुरा गर्न एकसाथ आएका तीनै जना सिनेमालाई लिएर आशाबादी र उत्साहित थिए। सोही कुराकानीको अंश यस्तो थियो:
सिनेमा बनाउन किन दिनु भयो? धेरै त दिने र ? भनेर डराउँछन्।
सुबिन: डर लागेन, अहिले पनि डर लागेको छैन। मलाई मैले लेखेका किताब वा कथामाथि सिनेमा बनुन भन्ने नै थियो। कृतिको वजन घट्ला भनेर डराउने कुरा गर्नु भएको होला। मलाई त्यस्तो लाग्दैन। इतिहासमा राम्रा कृति खराब सिनेमा भएका छन् भने खराब कृतिमाथि राम्रा सिनेमा पनि बनेका छन्। कृतिको आफ्नो महत्व हुन्छ, सिनेमाको आफ्नो, त्यसमा डराउनुपर्ने कुरा छैन।
यसैमाथि सिनेमा बनाउने बारेमा किन सोच्नु भयो?
मुस्कान: यसको कथा मुख्य हो। सिनेमा बनाउँदा कथालाई ख्याल गर्नुपर्छ, त्यसको कथाले नै मन छोयो।
स्क्रिनप्ले लेख्न सामिप्य नै किन?
मुस्कान: उसको पेसा नै स्क्रिप्ट लेख्ने छ भने अन्त किन जानु, त्यसमाथि हामी नजिक छौं। पहिले पनि काम गरिसकेको हो।
'समर लभ'लाई स्क्रिनप्लेमा ढाल्नु कतिको चुनौतीपूर्ण थियो?
सामिप्य: सेलिब्रेटेड किताब भएकाले चुनौती त हुने नै भयो। यसको प्रत्येक संवाद, सिन मानिसहरूलाई याद छ, उनीहरूले सबै किन आएन भनेर झगडा गर्नेवाला पनि छन्। तर मलाई सुरूदेखि के थाहा थियो भने जुन दिनदेखि यसमा सिनेमा बनाउने कुरा भयो, त्यसपछि मलाई किताबको यो यो कुरा सिनेमामा देखाउन सम्भव छैन्, यो यो छ भनेर एउटा खाका थियो। काम गर्दै जाँदा त्यो गर्न गार्हो पनि भयो। सिनेमा हेरेपछि थाहा हुन्छ, एउटा कुरा मैले पूरै हटाइदिएको छु। त्यो गर्दा पनि लामो भयो, त्यसलाई मिलाउन पनि गार्हो भएरै छाड्यो।
किताब लेखिसक्नुभएको थियो, सफल पनि भयो तपाईंचाँहि सिनेमा बिगार्देलान भनेर जोडिनुभएको हो?
सुबिन: तपाईंले भनेको साँचो हो, बिगारिदेलान भन्ने थियो । लेख्दा मात्र हैन सुटिङ गर्दा पनि जे पायो त्यही गर्लान कि भनेर सुटिङ्मा पनि गएं। विश्वास नै नभएको होइन तर एक किसिमको अविश्वास पनि थियो। त्यो अविश्वास कहाँ थियो भने नेपाली सिनेमा जसरी बनाइने ट्रेण्ड छ त्यसरी नै घिसिपिटी बनाइदेलान भन्ने पीर थियो। त्यो हुनाले जोडिएको हुँ। स्क्रिनप्ले सामिप्यजीले राम्ररी उतार्नु भएको छ। स्क्रिनप्लेमा हुने थपघटमा म चनाखो नै थिएँ।
स्क्रिप्ट लेख्दै गर्दा विवाद कति भयो?
सुबिन: ठूलो भएन, यो गरू त्यो नगरूँ भनेर सानातिना मत भिन्नता भए। कतिपय अवस्थामा हत्तेरिका बुझ्दैबुझ्दैनन् भनेर उहाँको चित्त पनि दुख्यो होला, उहाँहरूलाई कस्तो लिडेढिपि गर्छ, मिल्दैन सिनेमा सबै चिज भन्ने पनि भयो।अन्तिममा स्क्रिप्टको स्तरमा हामी एकअर्कासँग सहमत भयौं। छलफलबाट नै संसयहरूलाई टुङ्ग्यायौं। किताब र स्क्रिप्टमा फरक हुँदो रहेछ भनेर अहिले पनि बुझिरहेको छु। जस्तो पाँच सय पृष्ठ लामो 'बुकथिप' सिनेमाका रूपमा राम्रो बनेको छ तर किताबका सबैचिज सिनेमा छैन। सिनेमा बनाउँदा एउटा सिमितता हुनेरहेछ। बरू मेकिङका केहि चिजमा मेरो चित्त बुझेको छैन होला तर स्क्रिप्टमा मेरो चित्त बुझेको छ।
सामिप्य: त्यसमा म अलिकति थप्छु। यसमा विवाद मात्र होइन सजिलो पनि थियो। उहाँ र म यो किताब जन्मिदांदेखिको साथी हो। त्यसैले उहाँ कुन स्तरसम्म संवेनदशिल हुनुहुन्छ थाहा थियो। उहाँ हामीले लेखेको एउटा शव्दले पनि गलत संदेश जान्छ की लेखिएका कुरा दृश्यमा आउँदा हुनुपर्ने कुरामा विस्तृत रूपमा चासो राख्नुभयो। उहाँले ती कुराको डिटेलिङमा ध्यान राख्नु भएकाले त्यसमा हाम्रो केहि समय छलफलचाँहि भयो। स्क्रिनप्लेमा गरिएका केहि परिवर्तन हामीले यो कारणले गरेका हौं सुविनजी भनेर बुझाउँने काम भएपछि उहाँ मान्नुभयो। कतिपय चिजमा उहाँले सच्चाउने काम पनि गर्नुभयो।
किताबलाई सिनेमा बनाउन निर्देशकका रूपमा कतिको चुनौती भयो?
मुस्कान: कृतिमाथि सिनेमा बनाउँदा कुनचाँहि काट्ने कुन चाँहि राख्ने भन्ने दुविधा त भयो नै। हामीले मनपराएको कुरा सिनेमाका रूपमा पाठकलाई मननपर्ने होला । पाठकलाई मनपर्ने कुरा हामीले हटायौ होला। त्यसको सन्तुलन मिलाउने चुनौती रह्यो। त्यसलाई दृश्यमा लैजादा रमाइलो पक्ष के भने खिच्दा खिच्दै यसका फ्यानहरूले 'ल भएन भएन' भनेर आउने । उहाँहरूलाई यसको लाइन लाइन थाहा छ। त्यो हिसाबले चुनौती त ठूलै भयो। कुनै पनि किताब बिगार्छु भनेर सुरू गरेको त कसैले हुँदैन। किताबको सबै कुरा सिनेमामा देखाउन सकिदो रहेनछ।
सामिप्य: ठीकैको किताब भएको भए उस्तो ध्यान यसले तान्थेन होला, योचाँहि धेरैले नजरमा राखिराखेको किताब थियो। जतिबेला पनि हामीलाई तरबारको धार झुण्डिरहेको जस्तो लागेको थियो। यसमा मेकरका रूपमा हामीले कथाले मागेको कुरा देखाउन कुर्दै सिनेमाको सुटिङ् गर्यौ।
सुबिन: 'शोले' जस्तो भयो।
सिनेमा बनिसकेको छ, तपाईंहरूले लेखेको स्क्रिनप्ले सिनेमामा कति बलियो देखिएको छ?
सुबिन: सिनेमा संमग्रमा राम्रो बनेको छ । म १० मा ७ दिन्छु। कमीकमजोरी हुँदाहुँदै सिनेमा बलियो छ। किताबलाई छोडेर दर्शकले हेर्नु भयो भने उहाँहरू खुशी भएर फर्किनुहुन्छ। यसको गीत उत्तिकै राम्रो , गीतले गर्दा म तुरूक्क रोएको छु।
सामिप्य: सुबिनजीको कास्टिङमा केहि आफ्नै फरक मान्यता थिए। त्यो प्रेसोसमा म पनि भएकाले १० मा ८ दिन्छु। हामी सिनेमालाई निर्देशकको माध्यम भन्छौ, त्यो कुरा यो सिनेमा हेर्दा प्रष्ट हुन्छ। साहित्यिक कृतिप्रति मुस्कान ढकालको सिनेमामा त्यो चीज पाउनुहुन्छ। मुस्कानजी र म 'नाई नभन्नु ल ३'बाट जोडिएको । त्यसको स्क्रिप्ट त्यति चित्त बुझेको थिएन। सुटिङ्मा पनि गएँ, त्यो चित्त नबुझेका कुरालाई उहाँले जसरी खिच्नुभयो, त्यसबाट म उहाँ गर्न सक्ने मान्छे भन्ने कुरामा 'कन्भिन्स' भएँ। 'समर लभ' बनाउने भएपछि उहाँले न्याय गर्नुहुन्छ भनेर सुविनजीलाई मैले भने।
मुस्कान: उहाँहरूले मलाई ७-८ दिनुभयो। म आफूलाई अझै कम दिन्छु। म ६ दिन्छु। सिनेमामा जुन चिज जहाँ जहाँ हुनुपर्ने हो मिल्नेसम्म सबै समावेश छ।
सिनेमा हेर्दा तपाई कति सन्तुष्ट हुनुभयो?
सुबिन: पहिलो हाफसँग केटाकेटीको भेट हुने उनीहरूमा पलाउने प्रेम मिठो गरी आएको छ। संवादहरू पनि राम्रो भएको छ। दोश्रो हाफ एकदमे इमोस्नल छ।मान्छेको मनै गरूङ्गो भएर आउँछ। हेररहँदा मेरो आँशु पनि झर्यो। रूदिन भनेर बसिरहेको थिएं तर म रोएँ। लेख्दा एउटा अनुभव हुन्छ नै तर हेरिरहँदा त्यो अझ बलियो हुनेरहेछ। त्यसलाई पर्दामा नदेखिएला कि भन्ने थियो सिनेमा हेरेपछि त्यो डरबाट म मुक्त छु। म मिडियामा यति खुलेर बोल्नुको कारण पनि यहि हो नत्र म आउने पनि थिइन।
तपाईहरूले छानेका अतित र सायाले सिनेमालाई कतिको न्याय दिए?
मुस्कान: उनीहरूले सक्दो मेहेनत गरेका छन्, मैले पनि सक्दो निकाल्ने काम गरेको छु। पुरानालाई लिएर गरेको भए २० मा १६ गर्दा ठीकठाक लाग्छ भने नयाँले त्यही गर्दा अझ फ्रेस हुने रहेछ। उनीहरूले १० मा ७ दिएका छन्।
सामिप्य: यसमा बहस गर्नुपर्ने अर्को कुरा के हो भने साहित्यिक कृतिमाथि बनेका सिनेमाहरू यति असफल भएकी जीन्दगीमा फेरि यस्ता कुरामा आँट गर्ने कि नगर्ने भएको छ। त्यो भनेर साहित्यमाथि सिनेमा नबनाउने पनि गर्न भएन। ओस्कारमा समेत 'एडप्टेड' र 'ओर्जिनल' स्क्रिनप्ले भनेर पुरस्कृत गरिन्छ। हामीले हाम्रो दृश्य भाषा बलियो बनाउने हो भने कसै न कसैले कोशिश गर्नैपर्छ। यो 'समर लभ'लाई हेर्दा केहि कमजोरी भेटिन्छ तर यसमा इमानदार प्रयास भएको छ भन्नेचाँहि होस्।
सुबिन: यसरी सिनेमा बन्दै जाँदा हाम्रो सिनेमाको स्तर पनि बढ्छ। अरू नेपाली सिनेमा हेर्दा म स्क्रिप्टमा नै कमजोरी ज्यादा भेट्छु। मैले हेरेका कुनै पनि नेपाली प्रेमकथा सिनेमाले छोएकै छैन। 'समर लभ'ले चाँहि मलाई छोयो। हामीसँग यति राम्रा साहित्यिक कृति छन् सबैमा सिनेमा बनाउ बनाउ हुन्छ।
सिनेमाको आलोचना होला भन्ने कुरामा कतिको डर छ?
सामिप्य: म त डरले थुरथुर नै छु। हामीले अहिले सिनेमाको मुख्य पुरुष पात्रलाई लिएर आलोचना खेपिरहेका छौं। तर सिनेमा हेरिसकेकोपछि दर्शकहरू सबैभन्दा ठूलो फ्यान उसकै हुनुहुनेछ।
सुबिन: मलाई केहि पनि डर लागेको छैन। तीन चिजले किताब पाठकलाई मनपर्छ। इन्जोय, इन्टरटेन र इमोसनल कुराले पाठकलाई तान्छ। सिनेमामा पनि त्यो पाउनुहुन्छ। कलाकारले कथालाई काँधमा राम्रो गरी बोकेका छन्।
मुस्कान: मलाई पनि डर छैन। यसमा हरेक पाठकले आफ्नो आकृति राखेका हुन्छन्। डराउने हो भने त सिनेमा नै नबनाए भो। हरेक पाठकको मन जितोस भन्ने छ। तर सिनेमा र उपन्यास फरक हुन्छ भन्ने बुझ्नुपर्छ।
सिनेमाको सिक्वल आउँछ की आउँदैन?
मुस्कान: अहिलेसम्म आउँछ।
सामिप्य: उहाँले (सुबिनलाई देखाउँदै) अहिलेसम्म अनुमति दिनुभएको छैन्। हेरौं के हुन्छ?