कश्मिरमा जन्मिएका आश्वत भट्ट भारतका चर्चित कलाकार तथा निर्देशक हुन्। उनले विगत १९ वर्षदेखि सआदत हसन मन्टोको जीवनमा आधारित नाटक ‘इक मुलाकात मन्टो से’ मञ्चन गरिरहेका छन्। यो नाटक यही मार्च ३ मा काठमाडौंमा भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा पनि मञ्चन भएको थियो।
उनले ‘ग्याङ्स्टर’, ‘हैदर’, ‘राजी’ जस्ता चलचित्रमा पनि अभिनय गरेका छन्। सुरज सुवेदी र सौरभ कार्कीले लिएको यो अन्तर्वार्तामा उनले वर्तमान समयमा मन्टोको सान्दर्भिकता सँगै एक कश्मिरी भएर भारत र पाकिस्तानको सम्बन्धबारे बोलेका छन्।
नाटक सकिएपछि दर्शकलाई एकपल्ट मन्टो पढ्न अनुरोध गर्नुभयो। किन?
मानवीय सोच, प्रवृत्ति र प्रकृति जान्न मन्टो पढ्नै पर्छ। उनले मानव जाति कुन हदसम्म पुग्न सक्छन् भन्ने कुरा छर्लङ्ग पारिदिएका छन्। भारत पाकिस्तानलाई नजिकबाट भोगेर लेखेका उनका अनेकौं कथाले हाम्रो विगत खोतल्छन्। हाम्रो इतिहास कालो छ। तर पनि सिकिरहेका छैनौं। मन्टोका कथा सिधा बोल्छन्। उनले कुनै रङ मिसाएका छैनन्। त्यसैले केहीलाई उनका अक्षर रूखो हुन सक्छन्। कसैले यसलाई साहित्यको दाँजोमा नमिल्दो लेखाइ पनि भन्छन्। तर उनले जे देखे त्यही लेखे। अनुहारलाई दुरुस्तै उतारे। कसैको कालो कर्तुत उसैको मुखमा सिधै भनिदिए। उनले कुनै सम्पादक पाएनन्। रोजीरोटीको लागि लेखे। रक्सीको लागि लेखे।
उनी मानवतावादी थिए। सीमान्तकृत मानिसलाई पात्र बनाए। सडक र गल्लीमा भौंतारिएका मान्छेका कथा भने। यौनकर्मीलाई सुने। ती चिजको बारेमा लेखे जसबाट हामी भाग्न चाहन्छौं। त्यसैले ती हामीलाई तितो लाग्छन्। हामी कालो विगत फर्किएर हेर्न डराउँछौं। भाग्न खोज्छौं। उनी हामीलाई त्यही विगतसँग साक्षात्कार गराउँछन्। उनी सही थिए। खासमा हामी भागेर कहीँ पुग्दैनौं। दुःखको कुरा अहिले हामी यो संसारमा सहानुभूति र दया विमुख भइरहेका छौं। एक अर्कासँग घृणा बोकेर बसेका छौं। अतिराष्ट्रवादले धेरै देशलाई जकडेको छ।
त्यसैले भनिरहेको थिएँ एकपल्ट मन्टो पढ्नू। आफूलाई नियाल्नू।
यो नाटक बनाउने सोच कसरी आयो? उनलाई स्टेजमा ल्याउनुपर्छ भन्ने किन लाग्यो?
म कश्मिरबाट आएको मान्छे। सन् १९९७ मा पहिलोपल्ट मन्टोलाई चिनेँ। दिल्लीको श्रीराम सेन्टरमा उनको ‘ठन्डा गोस्त’ कथा पहिलोपल्ट नाटक बनाएर प्रस्तुत गरेँ। मैले उनलाई पढ्न थाल्दा अरूले नपढ्नु भन्थे। कश्मिरबाट आएको मान्छेसँग हुने बोझ मसँग पनि थियो। त्यो बोझ तपाईं बुझ्नुहुन्छ। उनलाई पढिरहँदा ती कुरा कश्मिरमा अहिले पनि भइरहेका छन् जस्तो हुन्थ्यो। नाटक मान्छेले मनपराए। म उनका बारेमा अझ पढ्न थालेँ।
अहिले फिल्म वा थेसिसहरूले उनलाई हेर्ने नजर बदलेका छन्। उबेला फरक थियो। सबैले उनका कथाको आलोचना गरिरहेका हुन्थे। तर उनको जीवनबारे कोही बोलिरहेका थिएनन्। मलाई त्यसले आकर्षित गर्यो। अझै पढ्न थालेँ। उनको कथामा हैन जीवनमा नाटक गर्छु भन्ने सोच आयो। त्यो ठूलो चुनौती थियो। आज तपाईंले नाटकमा जे देख्नुभयो, ती सबै उनका लेख थिए। लेखलाई कसरी स्टेजमा देखाउने भन्ने प्रश्नले धेरै दिन समातिरह्यो। थिएटरको नयाँ विद्यार्थी नै रहेको मलाई फलामको चिउरा चपाउनु जस्तै थियो त्यो। हिम्मत हारिनँ।
सजिलोका लागि पहिले १५ मिनेट बनाएँ र बढाउँदै गएँ। नेसनल स्कुल अफ ड्रामा(एनएसडी) छोड्ने बेलासम्ममा ९० प्रतिशत स्क्रिप्ट तयार भइसकेको थियो। म थप कुरा खोजिरहेको थिएँ। नाटकमा चाहिने गति नपुगेको जस्तो लाग्थ्यो। लय हुनुपर्थ्यो। मन्टोका कथा वा लेख सुन्न दर्शक आउने थिएनन्। उनीहरूलाई मन्टो दिनु थियो। त्यसको खोजी बढ्दै जाँदा नाटक बन्न ३ वर्ष लाग्यो। पछि म छात्रवृत्ति पाएर लन्डन स्कुल अफ म्युजिक एन्ड ड्रामाटिक आर्टस् पढ्न गएँ। त्यसैबेला त्यहाँको नेहरू सेन्टरमा यसको पहिलो मञ्चन भयो। त्यस बेला गिरीश कर्नाडकट त्यो सेन्टरको डाइरेक्टर हुनुहुन्थ्यो।
समय बित्तै जाँदा नाटक फरक हुँदै गएको छ?
यसमा धेरै शब्द र डिजाइन परिवर्तन भएका छन्। समयक्रममा यी परिवर्तन हुँदै जानु स्वाभाविक हो। तर पनि मलाई नाटकमा के नपुगे जस्तो सधैँ भइरहन्थ्यो। तर जब मैले ‘कल सबेरे जो मेरी आँख खुली’ वाक्य भेटै त्यसपछि सजिलो भयो। त्यसले मन्टोले भारत पाकिस्तानलाई कसरी हेरे भन्ने देखाउने ठाउँ दियो। यसमा त्यसैले पनि साना साना मानिसमा विभाजनको प्रभाव देखिएको छ। ठेलावालसँगको कुराकानी, पसलको बोर्डमा भएको नाम परिवर्तन आदि आदि। मन्टोले विभाजनको असर त्यस्ता स-साना चिजमा खोलेका छन्। यसले नाटकलाई ‘पाकिस्तान जिन्दावाद वा भारत जिन्दावाद’ भन्दा पर मान्छेहरू त्यो समयबाट कसरी गुज्रिए भनेर देखाउने अवस्थामा पुर्याइदिएको छ। त्यो समयको पाखण्डीपनालाई नंग्राएको छ।
र, नाटकको एक दृश्यमा एक बाबु आफ्नो छोरालाई पैसा माग्न लागि पिटिरहेको छ। यो केवल रमाइलो थिएन, त्यो समयको बाध्यता थियो। उनले यस्ता स-साना घटना र पात्र टिपेर शब्द जीवन्त बनाएकै छन्। उनको अवलोकन अद्भूत थियो। उनले त्यस्ता कुरा देखेका छन् जुन उबेलाका ठूला साहित्यकारले देख्न सकेनन्।
मान्छे एक अर्कालाई किन घृणा गर्दारहेछन्?
म घृणाको चरणबाट गुज्रिएको छु। त्यसैले यो के हो मलाई थाहा छ। यसलाई जित्न सजिलो छैन। माया गर घृणा नगर भन्न जति सजिलो छ, गर्न त्यति गाह्रो। आफ्नो बुवालाई मार्ने व्यक्तिलाई घृणा नगर्न सजिलो छैन। यसकारण पनि मन्टो मेरो लागि विशेष छन्। उनले मलाई त्यहाँ लिएर गए जहाँ म पुग्न चाहन्नथेँ। त्यो विगतसँग साक्षात्कार गराए जसबाट म भाग्थेँ। सबैजस्तो म पनि सफा हुन चाहन्थेँ। तर उनले मलाई त्यही हिलोमा पुर्याइदिए। कश्मिरमा मेरो घर कसैले जलाएको थियो। घर जलाउनेसँगै बसेर चिया खान मलाई १७ वर्ष लाग्यो।
उनले जे भन्नु छ, त्यो हामीलाई मुखमै सिधा भनेका छन्। रिस, घृणा, द्वेष केही पनि लुकाएका छैनन्। उनी कुनै पनि रूपमा कूटनीतिक थिएनन्। त्यसैले सिधै प्रतिक्रिया दिन्थे। हामीसँग विगतसँग साक्षात्कार गर्ने साहस छैन। त्यही कुरा घृणा भएर बसिरहन्छ। त्यो चरण पार गर्न फरक-फरक कोणबाट बुझ्न सक्ने क्षमता चाहिन्छ। अहिले त संसार झनै साँघुरिँदै छ। यो विभाजित छ। हामी युद्धमा छौं। किनकि हामी मानवीय तवरले कहिल्यै गाँसिएकै छैनौं। हामी सामाजिक सञ्जाल वा फोन वा राष्ट्रभक्तिको पछाडि लुकेका छौं।
स्टेजमा मन्टो भएर बाँचिरहँदा कस्तो लाग्छ?
साथीहरू मलाई मन्टो जस्तै हुँदै गएको भन्छन्। हुन पनि आजकाल म कुरा चपाउन छोडेको छु। पुरानो विगतदेखि भाग्न छोडेको छु। आफ्नो कालो विगतसम्म पुगेर फर्किन सक्ने भएको छु। सुनाइहालेँ, मैले आफ्नै घर जलाउने मान्छेसँग बसेर चिया खाएँ। अब त्यसले मलाई सताउँदैन।
हामी हरेक दिन असल मान्छे बन्न प्रयत्नशील छौं। म पनि त्यही प्रयत्नमै छु। कलाकारसँग हुने केही अहंकार ममा पनि होलान्। तर त्यसलाई पनि स्वीकार्न सक्ने भएको छु। थिएटरले मान्छेलाई विनम्र बनाउँछ। स्टेजमा सबै बराबर हुन्छौं। मन्टोसँग काम गर्दा यस्ता मानवीय पक्षको अझै नजिक पुगेको भान हुन्छ। पहिला म जे घृणा गर्थेँ त्यसको अर्को पक्ष उनले मलाई चिनाइदिए। म अर्को मान्छेको दृष्टिकोण र बुझाइ पनि बुझ्न सक्ने हुँदैछु। उनकै कारण भिडलाई कम र आफूलाई धेरै सुन्ने भएको छु।
कश्मिर फर्किएर आफ्नो घर जलाउनेसँग भेटेँ भन्नुभयो। त्योबारे केही बताउनु न।
म ‘दि अदर हाफ अफ प्यारेडाइज्’ शिर्षकको डकुमेन्ट्री बनाउँदै थिएँ। १९९० मा भएको दंगाका कारण कश्मिर छोड्न बाध्य पारिएका कश्मिरी पण्डितहरूका बारेमा थियो त्यो। म पनि कश्मिरी पण्डित परिवारकै हुँ। त्यसैको लागि म गाउँ गएँ। बस्ने गरेको ठाउँ पुगेँ। त्यहाँ भएका मान्छेहरू भेटेँ। उनीहरूले नै मेरो घर जलाएका थिए। सँगै बसेर चिया खाएँ। हालखबर कस्तो छ सोधेँ। घृणालाई अँगालो हालिरहेर बसिरहेर कहीँ पनि पुगिँदैन। यसले अझै दुखाउँछ। अर्कोलाई हैन आफैंलाई धेरै दुखाउँछ। त्यसपछि हलुका भएको छु।
म लामो समय ट्रमामा परेँ। ट्रमा बोकिरहन झन् गाह्रो रहेछ। जान दिए हलुका हुने रहेछ। म थिएटरमा क्लाउनिङ सिकाउँछु। त्यसले पनि मलाई ट्रमाबाट बाहिर निस्किन सहयोग पुर्यायो। त्यसले मलाई नराम्रो अवस्थामा पनि हाँस्ने तरिका खोज्न सिकायो। दुःख भुल्न हैन दुःखसँगै हाँस्न सिकायो। हाँसो भुलिरहेको यो समयमा हाँस्नु जरुरी रहेछ भन्ने थाहा भएको छ। अप्ठ्यारो परिस्थितिमा पनि हाँस्न सकिने रहेछ। मेरी आमालाई क्यान्सर थियो। म त्यसमा हाँसो खोज्ने प्रयत्न गरिरहेको हुन्थेँ। पछि हामीले क्यान्सर भएका केटाकेटीका लागि धेरै काम पनि गर्यौं। यस्ता कुराले मलाई एक असल मान्छे हुन प्रेरित गरिरहन्छ। मन लागेको काम गर्न पनि सहयोग गरेको छ। आफ्नो प्यासन सुन्न सक्ने बनाएको छ। र त्यो प्यासनमा अहिले कुनै घृणा मिसिएको छैन।
सबैलाई माया गर्न सकिन्छ भन्दिनँ तर घृणा नगर्ने प्रयत्न गर्न सकिन्छ।
मन्टो जस्तो व्यक्तिलाई चिन्न यति समय किन लाग्छ?
किनकि उनीहरू समयभन्दा अगाडि हुन्छन्। हामी उनीहरूलाई चिन्नलायक नभएकै बेला उनीहरू आउँछन्। चिन्न वा सान्दर्भिकता बुझ्न वर्षौं पर्खिनुपर्छ। कतिपय बेला त्यो पनि काफी हुँदैन। उनीहरू यस्तो कुरा लेख्छन् वा पेन्ट गर्छन् वा भन्छन्, जुन कुरा त्यो समयका धेरै कमले बुझ्छन्। विस्तारै मान्छेहरू नयाँ नयाँ कुरामा अगाडि बढ्दै जाँदा उनीहरूसँग फेरि साक्षात्कार हुन्छ। यस्तो भइरहन्छ।
अन्तर्राष्ट्रिय नाटक महोत्सवजस्ता अवसरले त्यो साक्षात्कारलाई कसरी सहयोग पुर्याउन सक्छ?
धेरै नेपाली दर्शकले मन्टोलाई आज सुने वा चिने होलान्। अब अरू खोज्नेछन्। यस्तै कुराले उनीहरूको सोचाइको तह बढाउँदै जान्छ। यहाँ प्रस्तुत भएका अन्य नाटकमार्फत उनीहरूले नयाँ-नयाँ फर्महरू सिक्न पाए। नयाँ ठाउँको नयाँ विषय देख्न पाए। सधैँ एउटै धारमा गइरहेको नाटकलाई पृथक स्वरूपमा हेरे। यसले पक्कै पनि बुझाइलाई फरक पार्छ। कुनै कुरालाई हेर्ने दायरा बढ्नु ठूलो कुरा हो।
त्यसैले त नाटकमा मन्टो भन्छन् ‘दिमागकी बन्द खिडकिँया खुलिजाए। बन्द ताले तोडिजाए।’ यसको मतलब 'खुला होऊ' भनेको हो। सबैको पहुँचमा बस। सबैलाई हेर। साँघुरिएर नबस। घुम। हेर। बुझ।
नाटकमा एउटा डायलग छ। ‘दुनियाँको समझना जरुरी नहीँ है। खुदको समझना चाहिए’ त्यसको मतलब तपाईंको लागि के हो?
अरूलाई सल्लाह दिन धेरै सजिलो छ। यो गर यो नगर भन्न झन् सजिलो । तर अरूलाई यसो गर भन्नुको साटो उसको संसारलाई बुझ्ने कोशिश गर्नुपर्छ। अरूले मलाई बुझेनन् भनिरहँदा आफूले अरूलाई कति बुझियो भन्ने ख्याल गर्नुपर्छ। यो कुरा सम्बन्धमा लागू हुन्छ। व्यक्तिगत जीवनमा हुन्छ। कम्पनीमा हुन्छ। मान्छेहरू अरूले नबुझेको गुनासो मात्र गरिरहेका छन्। अरूलाई बुझ्न प्रयत्न गरिरहेका छैनन्। मन्टोले दुनियाँलाई बुझ्ने हैन, आफूलाई बुझ त्यसैले भनेका होलान्।
कश्मिरको मान्छे भएर पाकिस्तान र भारतलाई कसरी बुझ्नुहुन्छ?
यी दुईबीच कश्मिर पिल्सिएको छ। त्यहाँका हिन्दू, मुस्लिम, शिख सबै पछिल्लो ३० वर्षमा एकदमै कठिन क्षणबाट गुज्रिएका छन्। यसको समाधान चाहिन्छ। तर समाधान कस्तो हुन्छ भन्ने मलाई थाहा छैन। जब सरकारको अहंकार ठूलो हुन्छ तब मानिसको पीडा र दुःखभन्दा कुनै ठानिएको जमिन महत्त्वपूर्ण बनिदिन्छ। यस्तो हुन्जेल कश्मिरमा समस्या समाधान हुँदैन।
अहिले कश्मिरमा के भइरहेको होला?
कर्फ्यू लागिरहेको हुनुपर्छ। नभए पनि हड्ताल। त्यहाँका मान्छे हरेक क्षण शान्ति खोजिरहेका छन्। यो समस्या समाधान भइदियोस् भनेर पर्खिरहेका छन्। कसलाई आफ्नो छोरा मरेको हेर्न मन छ? भारतीय सैनिक होस् वा अरू। उताको मरे पनि, यताको मरे पनि एउटा मान्छे मरेको हो। त्यसको मूल्य हुनुपर्छ। जसको घरमा कोही सदस्य मरेको छ उसैलाई थाहा छ यसको पीडा। बाहिर बसेर लडाइँ होस् भन्न वा राष्ट्रियताको गीत गाउन सजिलो छ। त्यसले निम्त्याउने अवस्था भोग्न गाह्रो छ। आतंकवाद फैलिनु नराम्रो हो। तर यसलाई आधार मानेर अरू निर्दोषको जीवन मार्न पाइँदैन।
युरोपले दुइटा ठूला युद्ध लडेर सिक्यो। अहिले त्यहाँ सीमा छैन। सार्क पनि यस्तै हुन सक्नुपर्ने हो। कति युद्ध देखेपछि हामीले सिक्ने हौं, थाहा छैन। ७० वर्षदेखि पटकपटक बनेको विश्वासको वातावरण कुनै न कुनै स्वार्थमा तोडिएको छ। कश्मिर अहिले एक कम्पनीजस्तो भएको छ। अर्बौँं नाफा हुने कम्पनी। त्यहाँ युद्धको व्यापार चल्छ। यस्तो व्यापार कश्मिरमा मात्र हैन विश्वका धेरै ठाउँमा भइरहेको छ। हतियार बेच्नेहरू धनी हुन्जेल मान्छेको दुःख यथावत् छ। रहन्छन्।
मन्टोका दुई कथा, ‘टोबा टेक सिंह’ र ‘टेटवालका कुत्ता’ ले लाइन अफ कन्ट्रोललाई केन्द्रबिन्दु बनाएर विभाजनको पीडा देखाएको छ। उनका बारेमा अध्ययन गरिरहँदा यी दुई कुराले तपाईंलाई कसरी प्रभाव पारे?
मेरा लागि ‘टोबा टेक सिंह’ विश्वकै उत्कृष्ट कथामध्ये एक हो। अहिले हामी भारत-पाकिस्तान अलग गरेर एक घरलाई हेरौं। त्यो घर तपाईंको हो। तपाईंले त्यसलाई बेचेपछि त्यो अरू कसैको हुन्छ। हामी भाडामा यताउता सरिरहेका हुन्छौं। आफ्नो कुनै ठाउँका लागि सबै भौंतारिइरहेका छौं। यी दुई कथा त्यसरी नै भौंतारिनेको कथा हो। तर त्यहाँ उनीहरू देश खोजिरहेछन्। हिजो भारतमा भएको मान्छे अहिले पाकिस्तानमा कसरी भयो? एक व्यक्तिले त्यसलाई कसरी भोग्ला? यी कथा पढिरहँदा सोच्थेँ यो जमिनको लडाइँ मान्छेका बीचमा कसरी सुरू भयो होला? प्रकृतिले सबैको लागि पृथ्वीमा बराबरी ठाउँ दिएको छ। हामीले त्यसलाई बाँड्न पनि जानेनौं।
मान्छे लोभी भइरहेका छन्। एक ठाउँमा टनका टन खाना हरेक दिन नष्ट भइरहेको छ। अर्को ठाउँमा भोकमरीले मरिरहेका छन्। यस्तो नहुनुपर्ने हो।
अहिले पाकिस्तानले नयाँ प्रधानमन्त्री पाएको छ। भारतमा चुनाव सँघारमा छ। नरेन्द्र मोदीले राष्ट्रियताको चर्को कुरा उठाइरहेका छन्। यस्तो बेलामा तपाईं के भन्न चाहनुहुन्छ।
म राजनीतिज्ञ हैन तर राजनैतिक छु। कलाकार राजनैतिक हुनुपर्छ।
यो मोदी र इमरान खानको कुरा हैन। यो तल बस्ने मान्छेको कुरा हो। मान्छे शान्ति चाहन्छन्। सबैतिर मेरा साथी छन्। व्यक्तिगत तवरमा कुनै समस्या भएको देखिँदैन। तर जब हामी समस्याको मूलसम्म पुग्दैनौं, आफूतिर फर्किएर अप्ठ्यारा प्रश्न सोध्दैनौं, कालो विगत खोतलेर कहाँ गल्ती भयो हेर्दैनौं, तबसम्म केही हुनेवाला छैन। ती प्रश्नको उत्तर नआए समाधान निस्किँदैन। युद्ध समाधान हैन। हामीले मान्छे नमर्ने समाधान खोज्नुपर्छ। मान्छे मरेर समाधान हुने भए अहिलेसम्म भइसक्ने थियो। कश्मिर मेरो हो भन्नेले त्यहाँ भएका जनताका बारेमा सोच्नुपर्छ।
भर्खरै बंगालादेशको एक नाटक भारतका कारण भिसा नपाएर नेपाल आउन पाएन। यसमा तपाईंलाई केही भन्नु छ?
यो दुर्भाग्यपूर्ण कुरा हो। कलाकार र कलालाई यस्ता कुराबाट टाढा राख्नुपर्छ। सरकार र मान्छे जो सुरक्षित स्थानमा छन् उनीहरू हामीसँग साह्रै डराउँछन्। १८५७ मा ब्रिटिसहरूले भारतमा पहिलो नियम लगाउँदा नाटक बन्द गर्नू भनेका थिए। उनीहरू फर्किए। धेरै सरकार फेरिए तर पनि त्यो डर अहिलेसम्म हटेको छैन। उनीहरूले छोडेको कुरा समातेर बसेका छौं। मतलब हामी जहाँको त्यहीँ छौं।
मन्टोको सान्दर्भिकता कहिलेसम्म रहला? हामीले इतिहासबाट कहिले सिकौंला?
जुनदिन मन्टो असान्दर्भिक हुन्छन्, त्यो दिन मानिसहरूले पाठ सिके। र त्यो दिन कहिले आउने हो मलाई थाहा छैन।
सबै तस्बिरः नवीन बाबु गुरूङ