उनीहरू ‘ता रेहाए’ नाटक लिएर काठमाडौं ओर्लिए। नेपालमा भइरहेको 'अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१९' मा सहभागी हुनु थियो। कीर्तिपुर थिएटर, शिल्पी थिएटर र जनकपुरमा पनि नाटक देखाउँदै थिए अफगानिस्तानका मान्छे।
(अफगानिस्तान पढ्नासाथ तपाईंको दिमागमा केही विशेषण बनेको हुनुपर्छ।) यो विशेषण तपाईं आफैंले बनाउनुभएको हैन। अरूले बनाएको सुन्नुभएको हो। हामी पनि त्यसैमा पर्छौं। त्यसैले पनि यो नाटक हेर्नु तथा उनीहरूसँग कुरा गर्नु हाम्रो लागि विशेष अनुभव हुँदै थियो। हामी बस्यौं। दुईजनाले अलग अलग कुरा गर्यौं।
नाटक निर्देशक सायाद एड्रिस फकिरी र टिम व्यवस्थापक करिम असर हामीसँग झिँजो नमानी गफिए।
नाटक प्रदर्शनीको भोलिपल्ट निर्देशकसँग भएको छलफलमा पनि उनीहरूको कुरा सुन्यौं। हामीलाई उनीहरूसँग धेरै कुरा सोध्नु थियो। धेरै कुरा सुन्नु थियो। समाचारमा छापिएका व्यक्तिलाई नसुनी धारणा बनाउने दिमागलाई प्रश्न गर्नु थियो। यो प्रश्न त्यसैले उनीहरूलाई सोधिएको हैन, हाम्रो अचेतन दिमागलाई सोधिएको हो। जवाफ छरपस्ट थिए। बटुलेर एकैठाउँ ल्याएका छौं। अन्तर्वार्ताको अन्तिममा निर्देशकले तपाईंलाई केही भनेका छन्। हेर्नुहोला।
नाटकमा प्रेमलाई प्रमुख विषय बनाउनुभएको छ। युद्ध भइरहेको समयमा प्रेम देखाउनुको कुनै खास कारण?
फकिरी: मेरो लागि प्रेम मानवताको उच्च विन्दु हो। अफगानिस्तानमा धेरै समस्या छन् जसलाई ठीक गर्न पनि प्रेम चाहिन्छ। स्वीकारोक्ति चाहिन्छ। समुदायहरू एकअर्काको उल्टो फर्किएका छन्। बिहेवारी चल्दैन। विभेद छ। प्रेम वर्जित छ। त्यसैले एक अर्कासँग दूरी छ। यो नाटकमा त्यही दूरी कम गर्ने प्रयास गरेको हुँ। दुई फरक समुदायका मान्छे युद्ध भइरहेको स्थानमा रहेर पनि प्रेममा छन्। तालिवानको एक बन्दुकधारी सिपाही अर्कै समुदायकी एक केटीसँग प्रेममा पर्नु सामान्य घटना हैन। मलाई लाग्छ प्रेम यस्तै बेला चाहिन्छ।
नाटकको एक दृश्यमा केटाले केही खाने कुरा लिएर केटीलाई दिँदा ऊ भन्छे, ‘मैले त यसको स्वाद पनि भुलिसकेको रहेछु।’ उसले किन त्यस्तो भन्छे?
फकिरी: हामीले मानवता र मायाको स्वाद बिर्सिँदै गएका छौं। त्यसैले त्यो संवाद सांकेतिक छ। धेरै मानिसहरू छन् जो लडाइँका कारण कतै जान सक्दैनन्। पसल जान डर छ। कति बेला बम कता पड्किने हो भन्ने थाहा छैन। हामी लडाइँ बिना कस्ता थियौं भन्ने अनुभवबाट विमुख छौं। जे कुरामा पहिला अभ्यस्त थियौं त्यो अहिले हातबाट उम्किसकेको छ। समय बित्दै जाँदा आफ्नो स्वाद बिर्सिसके झैं भएका छौं।
पुरानो अफगानिस्तानको याद आउँछ?
फकिरी: हरेक दिन आउँछ। ५० वर्ष भइसक्यो त्यहाँ लडाइा भएको। अझै अवस्था उस्तै छ। शान्ति छैन। लडाइँमा बानी हुनुपर्ने कठिन समय हुँदै हामी गुज्रिसकेका छौं। एकदमै अनिश्चित। पड्किएको बमको सिकार मेरा श्रीमती वा छोराछोरी पनि हुन सक्छन्। काबुल अलि सुरक्षित होला तर अरू ठाउँमा एकदमै अशान्त छ। हरेक बिहान उठ्दा सबै थोक शान्त भइदिइयोस् जस्तो सोच्छु। त्यो बिहानी कस्तो हुँदो हो? कुनै बम नपड्किएको दिन कस्तो लाग्दो हो?
तपाईं हामी यति बेला यसरी कुराकानी गरिरहेका छौं। यही समयमा अफगानिस्तानमा के भइरहेको होला?
करिम: यो सब बताउन एकदमै गाह्रो हुन्छ। देशबाहिर हुँदा जहिल्यै पनि काबुल र अफगानिस्तान मात्र मनमा घुमिरहन्छ। अहिले काबुल पहिलाभन्दा शान्त भनौं। तर पनि किन किन कुनै खराब समाचारको प्रतीक्षामा बसिरहे झैं लाग्छ ऊ। ढुक्क हुन सक्दिनँ। सुदूर गाँउहरूमा सायद बम र बन्दुक पड्किरहेका होलान्। एकअर्कामा लडाइँ जारी होला। कुनै दिन नराम्रो समाचार नआउनु उत्सव जस्तो हुन्छ। कुनै दिन। आज केही भएनछ भनेर मानिसहरू एकअर्कालाई सोधिरहेका हुन्छन्। हामीलाई सधैं यस्तै भइरहोस् भन्ने आशा लाग्छ। झिनो आशा।
तपाईंको पात्र एक व्यक्तिको रूपमा गलत छैन तर उसको समुदायलाई गलत बुझिएको छ। यस्तो किन हुन्छ?
फकिरी: एक्लै हुँदा ऊ आफ्नो दिमागले काम गर्छ तर समूहमा कसले कसको दिमागमा काम गरिरहेको हो बुझ्न गाह्रो छ। उनीहरूले एक अर्काबीचमा नराम्रो फैलाएका छन्। त्यसको फैलावटमा आफू पनि सबै सोहोरिएका छन्।
अफगानिस्तान भन्नासाथ सबैले लडाइँ मात्र बुझ्छन् नि।
फकिरी: हाम्रो देशका बारे धेरै कुरा छन् जुन तपाईंलाई थाहा छैन। किनकि तपाईंले हामीलाई केवल समाचारमार्फत बुझ्नुभएको छ। लडाइँ मात्र सुन्नुहुन्छ। त्यो देखाइएको चिज हो। अफगान मान्छे सबै त्यस्ता छैनन्। त्यहाँ धेरै असल र दयालु मान्छे छन्। उनीहरूलाई पनि लडाइँ मन पर्दैन।
एक पास्तोन जातिको तालिवानी पुरुषले हाजरा जातिकी युवतीलाई जोगाउन संघर्ष गरेको कथा नेपालमा देखाउन किन छान्नुभएको?
फकिरी: पहिलो कुरा त मलाई नाटकमार्फत अफगानिस्तानको जातीय द्वन्द्वका कारण एक युवा कसरी युद्धमा होमिन बाध्य भयो भन्ने देखाउनु थियो। द्वन्द्वको चपेटामा परेको उसको आवाज सुनाउनु थियो। ऊ त्यहाँका हाजरा जातिको उपस्थिति पनि हो। दोस्रो, यो अफगानहरूको कथा हो। मुख्य सहरको कथा हो भन्दिनँ। तर सुदूर गाँउहरूमा अहिले पनि यस्तै भइरहेको छ। त्यहाँ द्वन्द्व, हिंसा चलिरहेकै छ। उनीहरू आपसमा लडिनै रहेका छन्। हामीले दिनदिनै भोगिरहेको कथा नदेखाएर अर्को कुन कथा देखाउने? हाम्रो दैनिकी यस्तै छ।
बम र बारुदका बीचमा नाटक रोज्ने निर्णय कस्तो भइरहेको छ? फिल्म किन नरोज्नुभएको?
फकिरी: थिएटरको सम्बन्ध मानिसको भावना वा भनौं आत्मासँग गाँसिएको हुन्छ। त्यसैले हामी नाटकसँग जोडियौं। यसैलाई रोज्यौं। गलत गर्नेहरूलाई नाटक मार्फत् नै 'तिमीहरूको बाटो गलत छ' भन्न पाएका छौं। खास जिन्दगी बाँच्नुको मजा त प्रेम र शान्तिपूर्ण वातावरणमा छ। हामीले पढेका छौं, बुझेका छौं। के सही र के गलत छुट्ट्याउन सक्ने भएका छौं। उनीहरू शिक्षित छैनन्। त्यसैले आफूले बुझेको कुरा बुझाउने दायित्व हामीसँग छ। बोलेर बुझाउन खोज्यौं भने सायद नबुझ्लान्। त्यसैले नाटकमार्फत महशुस गराउने प्रयास गर्छौँं। उनीहरूजस्तै पात्रलाई स्टेजमा उतार्छौं। हाम्रो लागि थिएटर प्रेम र शान्तिको महत्त्व बुझाउने सहजता हो।
थिएटरले दर्शकसँग सजीव र प्रगाढ सम्बन्ध बनाउन सहयोग गर्छ। पर्दामा हैन उनीहरूको आँखै सामुन्ने काम गरिने भएकाले भावनात्मक तवरले पनि दर्शकसँग नजिक भइन्छ। दर्शकहरूले पनि त्यो भावना महशुस गर्न सक्छन्। यो फिल्ममा सम्भव हुँदैन। अर्को कुरा, अफगानिस्तानमा धेरै मानिसहरूलाई थिएटरबारे थाहा छैन। त्यहाँ थिएटरको संस्कृति बसाउन तथा मानिसहरूलाई यो अद्भूत कलाबारे बताउन पनि हामी नाटक छोड्न चाहँदैनौं।
नाटकको ब्रोसरमा ‘हामी तालिवानीहरू अफगानिस्तानकै हुन् भन्ने कुरा बिर्सन्छौं। उनीहरू सबै आफ्नो इच्छाले तालिवानी समूहमा जोडिएका हैनन्। कति त कुनै विकल्प नभएर गएका पनि छन्’ लेख्नुभएको छ। त्यो अर्को विकल्प भनेको के हो?
फकिरी: तालिवानीहरूले अफगानिस्तानका गाँउमा आफ्नो सानो-सानो राज्य चलाइरहँदा आफूहरूमात्र सच्चा मुस्लिम भएको भन्न थाले। अर्को समुदाय स्वीकारेनन्। उनीहरू आफ्नै इस्लामिक नियम बनाउन चाहन्थे। त्यसैले अरू समूदायविरुद्ध युद्ध छेडे। ती भेगमा अफगानिस्तान राज्यको उपस्थिति थिएन। सरकारी सुरक्षा कसैले पाएनन्। विद्यालय थिएन। सरकारी कार्यालय झन् हुने कुरै भएन। तालिवानीले त्यही मौकामा आफ्नै इस्लामिक विद्यालय र आफ्नै सरकार चलाउन थाले। विदेशीहरू शत्रु हुन् र हामी मुस्लिमहरूलाई मार्न आएका भन्ने फैलाए। त्यसरी मार्न सिकाइयो। आफू बाहेकका सबैलाई शत्रु बनाइयो। भनियो 'जसले मार्छ ऊ स्वर्ग जान्छ।' त्यसपछि बन्दुक। अनि युद्ध।
युद्ध भएको ठाउँमा युद्ध गर्नेबाहेक अरू कुनै काम हुँदैन। त्यस्तो अवस्थामा समुदायभन्दा बाहिर रहनु भनेको शत्रु हुनु हो। को आफ्नै समुदायको शत्रु बन्न चाहन्छ? युद्धमा जानेहरूको हातमा बन्दुक र पैसा दुवै थमाइन्छ। परिवारले कि त पैसा कि त सन्तान तालिवानलाई दिनुपर्ने हुन्छ। यो बाध्यता नै त हो।
अफगानिस्तानमा महिलाहरूको अवस्था कस्तो छ?
फकिरी: अधिकांश अभिभावक आफ्ना छोरीचेलीलाई विद्यालय पठाउन चाहँदैनन्। घरबाट बाहिर निस्कन तथा सामाजिक काममा सहभागी हुन गाह्रो छ। एउटै कारण, देश युद्धमा छ। उनीहरूलाई इच्छाअनुसार एक्लै हिँडडुल गर्न अप्ठ्यारो छ। झन् राती हिँड्ने त कल्पना पनि गर्न सकिँदैन। निस्कनै पर्ने भए श्रीमान् वा कुनै पुरुष सदस्य साथमा लिएर मात्र पाइन्छ। युद्धको बहानामा उनीहरूको स्वतन्त्रता खोसिएको छ। यो राम्रो भइरहेको छैन।
तपाईंहरूको नाटकले ती महिलाको पक्षमा काम गरिरहेको छ कि छैन?
फकिरी: यसकै माध्यमबाट हामी समाजका नकारात्मक कुरा हटाउने कोशिश गरिरहेका छौं। हामी चाहन्छौ उनीहरू युद्ध नगरून्। महिलाहरू खुल्लारुपले जीवनयापन गर्न सकून्। शान्तिपूर्ण वातावरणमा बालबालिकाहरू शिक्षित हुन्।
करिम: हामी नाटक लिएर गाउँगाउँ जान्छौं। स्थानीय गाँउलेको कुरा सुन्छौं। त्यसले उत्साहित बनाउँछ। हामीले लैजाने नाटकमा प्रायः समानता र शिक्षाको कुरा हुन्छ। प्रायःजसो बालिकाहरू पढ्ने विद्यालयमा जान्छौं। हाम्रो नाटक हेरेर पक्कै पनि केही न केही त सिकेकै छन् उनीहरूले।
महिला र पुरुषका लागि त्यहाँ फरक विद्यालय हुन्छ भन्ने सुनिन्छ नि।
करिम: अफगानिस्तान इस्लामिक राज्य हो र त्यसका केही नियम छन्। हाम्रो संस्कृति र परम्पराअनुसार लामो समयदेखि नै महिला र पुरुषका लागि फरक विद्यालय छ। कुनै युवती १० वर्ष नपुगुन्जेल वा ३ कक्षा पढुन्जेल मात्र केटाहरूसँग बसेर पढ्न पाउँछिन्। त्यसपछि अलग पढ्नुपर्छ।
फकिरी: यो कुरा १२ कक्षासम्म मात्र लागू हुन्छ। त्यसपछि विश्वविद्यालय पढ्ने बेला भने केटा र केटी सँगै पढ्न पाउँछन्।
तालिवानको सुरुवात कसरी भयो? यो कुनै राजनैतिक सफलताको लागि हो? के उनीहरू राज्य चलाउन चाहन्छन्?
फकिरी: अमेरिका, रसिया र इङ्ल्यान्डले तालिवानी जन्माएका हुन्। यो जन्मिएसँगै अफगानिस्तानको परिस्थिति बिग्रँदै गयो। अमेरिकालाई रहनु थियो, त्यसैले उनीहरूले युद्ध सुरु गरे। ऊ अफगानिस्तानमा वर्षौंसम्म यसैगरी बसिरहनेछ। ऊ आउनुअघि यहाँ युद्ध थिएन। खतरा हुने देखेर अफगान सरकारले अमेरिकी सेनालाई फिर्ता जानू भनेको पनि हो। तर उनीहरू गएनन्। बरु बम खसाल्न थाले। स्थिति अझै खराब बनाउन विभिन्न समूह खडा गरे। युद्धको नाटक गरिरहे। उनीहरूलाई यहाँ रहन युद्धको जरुरत थियो।
अफगानिस्तानमा अमेरिकी सैनिक आएका बारेमा तपाईंलाई केही भन्नु छ?
करिम: हामीले अमेरिकी सैनिकलाई धन्यवाद भन्नुपर्छ। उनीहरूका कारणले थोरै भए पनि अहिले चैनको सास फेर्न पाएका छौं।
फकिरी: जुन समय अफगानिस्तानमा रुसी सैनिक आएका थिए, अमेरिकालाई पनि यहाँ केही छ भन्ने लाग्यो। अनि उनीहरू पनि आए। ती ठूलो रणनीतिक योजनासहित आएका छन् र अफगानिस्तानबाट वर्षौंसम्म फाइदा लिने कोशिशमा छन्। उनीहरूकै कारण हामी सुरक्षित छैनौं। हामीलाई शान्ति दिने कुरामा उनीहरू चुकेका छन्।
‘ता रेहाए’ को अर्थ स्वतन्त्रतातर्फ भन्ने बुझिन्छ। तपाईंका लागि स्वतन्त्रता के हो?
करिम: अफगानिस्तानका हरेक नागरिक शान्ति होस्, सुशासन होस् र स्वतन्त्रता होस् भन्ने चाहन्छन्। यो हाम्रो लागि चाहना हो।
फकिरी: मेरो लागि स्वतन्त्रता सबै किसिमका समस्याबाट बाहिर निस्केर अन्य देशका झैं स्वतन्त्र नागरिक बन्न पाउनु हो। आँशु र दुःखबाट उम्किन पाउनु हो। खास गरी तालिवानीहरूबाट स्वतन्त्र हुनु हो।
के भयो भने अफगानिस्तानमा युद्ध रोकिएला?
करिम: यो झिनो आशा मात्रै हो। अहिले नै युद्ध रोकिने वा अफगानिस्तान स्वतन्त्र हुन सम्भव छैन। अहिले तालिवानी, अमेरिकी र अफगानहरू शान्तिका लागि संवाद गर्ने कोशिशमा छन्। आशा गरौं, केही सकारात्मक हुनेछ।
तपाईंलाई के कुराले आशावादी बनाउँछ?
फकिरी: स्कुल गइरहेका केटाकेटी देख्दा आशावादी हुन्छु। उनीहरू पढिरहेका छन्। पक्कै भविष्य राम्रो हुनेछ। अनि म पपेट थिएटरमा पनि काम गर्छु। थिएटरको माध्यमबाट यस्तो विषयमा बोल्न सक्छु। सचेतना फैलाउन सक्छु। कुरा बाटो सही र कुन गलत बताउन सक्छु।
नेपाल आउन कत्तिको गाह्रो भयो?
फकिरी: सबै हिसाबले राम्रो। काठमाडौं एयरपोर्टमा उत्रिँदा प्रेमिल मानिसहरूले स्वागत गरे। त्यो साँच्चिकै सहृदयी थियो। म पहिलोपल्ट काठमाडौं आएको हुँ। रमाइलो लागिरहेको छ।
करिम: हामीलाई भिसामा केही समस्या पर्यो। तर यो पहिलो अनुभव हैन। गएको मार्चमा पनि म १० दिने कार्यक्रममा काठमाडौं आएको थिएँ। त्योबेला पनि उस्तै समस्या परेको थियो। यसपल्ट अलि सजिलो भयो भनौं। त्यो समस्या काबुलमा नेपाली दूतावास नभएर पनि हो। साथै हाम्रो देशलाई अन अराइभल भिसा नदिने सूचीमा नेपालले राखेको छ। दूतावास भएका अन्य देश जान हामीलाई गाह्रो पर्दैन। त्यहाँ त अन अराइभल भिसा पाइन्छ। यताको आयोजकले नेपालको गृहमन्त्रालयबाट हामी आउन मिल्ने आशयसहितको पत्र पठाएपछि मात्र आउन सक्यौं।
अन्तिममा केही भन्न चाहनुहुन्छ?
फकिरी: मैले मात्र भनेर सायद तपाईंको दिमागमा अफगानिस्तानको चित्र बनेन होला। सम्भव भएसम्म अरु पनि अफगानीसँग भेटेर अन्तर्वार्ता गर्नुहोला। हाम्रो देशमा शान्ति आओस् भनेर कामना गरिदिनुहोला।