वसन्त अधिकारीलाई ठ्याक्कै सिनेमामा लागेको कति वर्ष भयो थाहा छैन? तर काम सुरू गरेको दिनको घटना भने अविस्मरणीय भएर बसेको छ।
'हिरो सिनेमाबाट काम सुरू गरेँ। त्यो सिनेमा म सँगै रेखा थापा, नविन श्रेष्ठलगायतको पहिलो सिनेमा थियो। पहिलो दिनको सुटिङ मलाई याद छ। चिडियाखानामा गीतको सुटिङ थियो। म साउन्डम्यान दाइसँग बक्सको छेउमा बसेको थिए। निरूता दिदी आउनुभयो’ उनले सम्झना गरे, 'साउण्डम्यान दाइको हात ढोग्नुभयो। मेरो हात पनि छुनुभयो। मैले उहाँलाई पहिलो पटक दमौलीको एक सिनेमा हलमाको पर्दामा 'आफन्त' सिनेमा हेर्दा देखेको थिएँ। उहाँले त्यसरी हात समातेर छोएपछि म यतिक्कै कक्रक्क परेँ, आश्चर्यले। प्राविधिकसँग उहाँले गरेको आदरभावको व्यवहारले।'
धेरै नेपाली सिनेमामा मुख्य सहायक निर्देशक भएर दशक बढी काम गरिसकेका अधिकारीको डेब्यू सिनेमा 'जानी नजानी' शुक्रबारबाट प्रदर्शनमा आएको छ।
त्यसैको पूर्व सन्ध्यामा भेटिएका अधिकारीले सिनेमाले हलहरूमा कस्तो व्यवसायिक नतिजा हासिल गर्छ त्यो फरक पाटो भएको बताउँदै रिलिजको ३ दिन अगाडि आफ्नो सिनेमा हेरेर सन्तुष्ट भएको बताए।
'त्यो दिन बल्ल म राम्ररी निदाएँ', उनले उत्साहित हुँदै सेतोपाटीसँग सुनाए।
कुराकानीको सुरूमा आफ्नो सिने यात्राले कति उमेर खायो नसम्झिएका उनले करिब १८-१९ वर्ष भएको हुनुपर्ने बताए।
यो पनि उनले फरक तरिकाले सम्झिए।
उनी जतिबेला सिनेमामा छिरे त्यतिबेला सिनेमा संसारमा ल्याउने साउण्डम्यान सागर घिमिरे भर्खर बाबु बनेका थिए।
'त्यो बेला दाइको छोरा जन्मिएको थियो अहिले छोरा १८-१९ वर्ष भएकाले म लागेको पनि त्यति नै भयो होला।'
'हिरो' सिनेमा उनी बुम म्यान भएर छिरे। त्यसपछिको समय करिब पाँच वर्ष घरी मेकअपमा, घरी ड्रेसमा गरी प्रोडक्सन, लाइट सबैमा काम गरेर अनुभव बटुले।
***
सिनेमाको भूत त बसन्तमा स्कूले जीवनदेखि नै थियो। नाटक साटक गर्नपर्छ भन्ने थियो। मौका मिल्दा त्यसमा सक्रिय नै हुन्थे।
उनी पोखरामा जन्मिए पनि उनको हुर्काइ बढाइ र स्कूले जीवन बारतको आसाममा बितेको हो। सिनेमाप्रतिको झुकाव आसामकै माटोमा उनीभित्र हुर्कियो।
'म पोखरामा जन्मिए पनि मेरो हुर्काइ बढाई आसाममा भयो। त्यहाँ दुर्गा पूजा हुँदा कहिलेकाँहि चार रात नै भिडियोमा सिनेमा देखाउँथ्यो। एक पटकको दुर्गा पूजामा मैले चार दिनमा १६ वटा सिनेमा हेरेको छु। त्यति सिनेमा हेरेर म पाँचौ दिनमा डंग्रंङ ढलेर बिरामी समेत गरेको छु।'
दुर्गा पूजामा हेर्ने सिनेमाका लागि यस्तो अवस्थासम्म पुगेका वसन्तले स्खुले जीवनमा हलमा आएका नयाँ सिनेमा पनि सायदै छुटाए होलान्।
पोखराबाट जति पनि आसाम पुगे, सबैले गाईं पाल्थे। उनको परिवारको पनि गाईं पालन थियो। गाईपालनबाट हप्ताभरीमा उनले कसोकसो गरेर ५ रूपेयाँ भारू जम्मा गर्थे।
त्यो पैसा उनले नयाँ सिनेमा हर्न खर्चिन्थे। हल घर नजिक थिएन। त्यसेले जम्मा भएको पाँच रूपियाँको बजेट यस्तो हुन्थ्यो।
- सिनेमा हल जान र आउन १-१ रूपैयाँ
- टिकट ब्लयाकमा ३ रूपैयाँ (वास्तविक मूल्य १.७०)
शनिबार हाफ छुट्टी हुन्थ्यो। स्कूल ब्यागलाई घरमै राख्थे।
'१ रूपैयाँ ७० पैसामा सबैभन्दा सस्तो टिकटको पर्थ्यो। त्यो मैले ३ रूपैयाँ ब्ल्याकमा काट्थे' उनले सम्झिए, 'काउन्टरको मान्छेले म आउँछु भनेर मलाई राखिदिन्थ्यो।'
यसरी सिनेमा हेर्ने भोक मेटेर फर्किएका बसन्त बेलुका घर पुगेपछि बाबुको रामधुलाई भेट्थे। कारण गाई दुहुने काम जो छुट्थ्यो।
***
त्यसपछि उनी नेपाल आए र मामाको कन्सट्रक्सनमा काम गरें।
खासमा उनी युनिभर्सल पिस फेडेरेसन मार्फत काठमाडौं आएको थिएँ। त्यहाँ सेमिनारमा एकजना दाइलाई सिनेमामा काम गर्ने रहर छ भनेर सुनाए।
ती दाइले साउन्डम्यान दाइ सागर घिमिरेलाई दिन्नुहुँदो रहेछ। उहाँसँग चिनजान भयो।
'मेरो मन मामाको काममा खासै रमाइरहेको थिएन। काम गर्नुपर्छ भनेर मात्र गरिरहेको थिएँ। काममा चित्त लागिरहेको थिएन्। सागर दाइसँगको परिचयले बुमम्यान भनेर सिनेमा आउने मौका पाएँ। चाहेको काम थियो। त्यसैले नसोचि सुरू गरें', उनले सुनाए।
***
पाँच वर्ष सिनेमाका विभिन्न डिपार्टमेन्टमा काम गरे पनि उनमा निर्देशक हुने इच्छा बाँकी नै थियो। त्यसको सुरूवात 'संजिवनी' भन्ने सिनेमामा क्ल्याप व्वाई बनेर सुरू भयो।
यो अवसर उनलाई भाग्यवश: मिलेको थियो।
'क्ल्यापमा अनन्त तिमल्सेना हुनुहुन्थ्यो। उहाँले नभ्याउने भएपछि, 'समर्पण' सिनेमाका बेलामा चिनेका प्रोडक्सन म्यानेजर अर्जुन पोखरेलले क्ल्याप हान्दै गरेको देख्नु भएको थियो। उहाँलाई मैले दाइ डाइरेक्सनमा रूचि छ भन्ने गर्थे। अनि मैले क्ल्याप हान्ने मौका उहाँले दिलाइदिनु भयो।'
यसरी उनी निर्देशन डिपार्टमा छिरे।
निर्देशन डिपार्टमा छिर्नुअघि उनले पृथ्वी नारायण शाह सिरियलमा निर्देशक प्रदिप श्रेष्ठसँग संवादमा पनि काम गरेका थिए। पछि त्यो सहकार्य मुख्य सहायक निर्देशकका रूपमा पनि रह्यो।
उनले प्रदिप श्रेष्ठसँगै दयाराम दाहाल, आलोक नेम्वाङ, सुदर्शन थापा, उज्वल घिमिरे, रमेश बुढाथोकी आदिसँग काम गरें।
उनी चिफ एडी बनेको पहिलो सिनेमा 'पल पलमा' हो।
निर्देशक बन्ने धङधङी उनको मनमा बाँकी नै थियो।
'धड्कन' नामक सिनेमा गर्दै थिए, उनको मनमा कति एसिस्टेन्ट मात्र काम गर्ने अब निर्देशक बन्नुपर्छ सोचें।
केहि समयपछि उनी 'स्टुपिड मन' सिनेमामा चिफ एडी बनेर जोडिए।
'काम गर्दै गर्दा सामिप्य तिमल्सेनाजीसँग नजिक भइयो। उहाँलाई एउटा त गर्नुपर्ला भने। उहाँले गर्न त गर्नु तर आजको भोलि के होला र? पहिला प्रोडियूसर पाउनुपर्यो ल प्रोडियूसर पनि पाउनुहोला तर के चाँहि गर्नुहुन्छ? बरु तयारी सुरू गरौं?'
स्क्रिप्टको तयारी सुरू भयो।
स्क्रिप्ट त सुरू गर्ने भनियो तर सामिप्य तिम्लसेना लेखन र प्राध्यापनमा धेरै व्यस्त हुने।
बसन्त उनको घरमा बिहानै पुग्थे। १-२ वटा गरेर उनीहरूले करिब डेढ सुईसय वटा सिन लेखें, त्यसमा कति फालें भने कति अन्तै प्रयोग भए।
यस्तैमा निर्मात्री रोशनी केसीजी सामिप्यकोमा स्क्रिप्ट खोज्दै पुगिन्।
निर्देशक को हो भनेर सोधनी हुँदा कोही थिएन। सामिप्यले नयाँसँग गर्नेकी पुरानो? भनेर सोधे।
रोशनीले जवाफ दिइन्।
'राम्रो भए नयाँ पुरानो जो भए नि भयो।'
'त्यसपछि सामिप्यजीले मेरो नाम सिफारिस गर्नुभएछ। स्क्रिप्ट सुनाइयो मनपराउनुभयो। त्यसपछि दुई चरण बसियो, प्रज्ञान थापाले पछिल्लो समयमा सल्लाह दिनुभयो। त्यही अनुसार स्क्रिप्ट तयार भयो।'
उनको यो डेब्यू सिनेमा 'जानी नजानी'ले प्रेम र करियरको कुरा गर्छ। दुबैको सन्तुलन हुनुपर्छ भन्ने सेरोफेरोमा आजका युवापुस्ताका माध्यमबाट उनले कता बनेका छन्।
उनलाई थाहा छ, 'सिनेमा त राम्रो बनेको छ।'
तर सिनेमा नचल्ला भन्ने डर पनि छ।
'मै हुँ भन्नेहरूका सिनेमाहरू चलिरहेका छैनन। जसले विश्वास गरेकै थिएन, त्यस्ता सिनेमाले पनि राम्रो व्यापार गरेका छन। त्यसैले इमानदारिताकासाथ राम्रो काम गरेपछि जस पाइन्छ।'
तीन दिन अगडि पूरा सिनेमा हेरें। उनी राम्रो सिनेमा बनेकोमा सन्तुष्ट छन्।
'व्यवसायिक्ता के हो थाहा छैन तर हेर्नेले एउटा लेभलको सिनेमा बनाएछौं भन्नु हुनेछ', उनले भने।
उनको सिनेमा अहिलेको युवापुस्तासँग नजिक छ। उनले नयाँ पुराना सबैसँग काम गरे। उनको सिनेमा नयाँको वा पुरानोको छाप छ?
उनका लागि सोधिएको यो अन्तिम प्रश्न थियो।
उनले सहायक भएर काम गरेका नयाँ-पुराना सबै निर्देशकहरूको लामो फेहरिस्त सुनाउँदै यस्तो भने, 'जब म सहायक निर्देशकको रूपमा काम गर्न थाले। ओस्कार कलेज सुरू भयो। त्यहाँ पढ्ने भाइहरूले मलाई पढ्न किताब दिन्थे। म उनीहरुसँग नजिक रहेर काम गरेको छु। म कान्तिपुर फिल्म एकेडेमीमा पनि जोडिएको छु। मैले दयाराम दाहालसँग पनि काम गरेको छु र सुदर्शन थापासँग पनि। त्यस्तै मलाई आयुष्मान खुर्रानाको बधाईं हो बधाई सिनेमा पनि मनपर्छ र म संजय लिला भन्सालीको पनि फ्यान हुँ। त्यसैले ममाथि मैले काम गरेका निर्देशकको शैली भन्दा पनि मैले के सोचिरहेको छु त्यो महत्वपूर्ण हो।'