जब उनले आफ्नी आमा झरना थापा नायिका र बाबु सुनिल कुमार थापा सिनेमा निर्माता हुन् भन्ने थाहा पाइन्। तब उनलाई यो सिनेमा लाइनमा कुनै रूचि थिएन। उनलाई यो लाइन ठीक होइन जस्तो लाग्थ्यो।
सिधा भन्नुपर्दा उनलाई फिट्टिकै मन पर्दैन थियो।
किनकि, आमाको अभिनय र बाबु सिनेमा निर्माणसँगै अन्य व्यापारमा हुने गरेको व्यस्तताले उनको बालापन आमा-बाबुसँग कम र होस्टलमा ज्यादा बितेको छ।
'बच्चा बेलामा एक थोपा पनि सोचेको थिइनँ। म सानैदेखि होस्टल बस्थेँ। घर आउँदा पनि कोही पनि घरमा नहुने। मलाई यत्रो दिनपछि घर आउँदा पनि समय नपाउने। त्यसैले मनमा एक किसिमको रिस थियो मनमा।'
हुन पनि स्कूलका कार्यक्रममा उनका बाबुआमा एकसाथ कहिल्यै देखा परेनन्। उनलाई साथ दिन कि अंकल-अण्टी हुन्थे, कि बाबुमात्रै, कि आमा मात्रै।
त्यसैले त सुहानालाई यो लाइन मनपर्दैनथियो।
सोच्थिन्, 'यो लाइनमा आउँदिनँ, मलाई मनै परेन।'
पछि बुझ्दै जाँदा उनका सोचहरू परिवर्तन हुँदै गए।
उनले आमा झरना थापाका सिनेमाहरू उस्तो हेरेकी पनि छैनन्।
तर सानोमा सिनेमामा ममीलाई रोएको देख्दा उनी पनि रूने गरेको सम्झिन्छिन्।
उनले ममीको अभिनय हेरेको पहिलो सिनेमा 'म तिमी बिना मरिहाल्छु' हो।
***
स्कूल सकियो, उच्च अध्ययनका लागि अमेरिका पुगिन्।
उता बस्न थालेपछि सँधै बिहान उठेर मामुपापालाई नेपाल फोन गर्थिन्।
तर एक दिन बिहान उनले कल गर्नुभन्दा अगावै नेपालबाट आमा झरनाको फोन आयो।
फोनमा झरनाले छोरीलाई सुनाइन्, ‘ए ल अनमोल साइन गरें हैं।’
सुहानाले सामान्य तरिकाले जवाफ फर्काइन्, 'ए हो ल, बधाई छ अब छिट्टै राम्री हिरोइन खोज्नुहोस्।'
झरनाले भनिन्, 'तिमी पनि खेल्नुपर्छ है?'
सुहानाले अचम्ममा पर्दै , 'हँ' भनिन्।
झरनाले 'ल! त्यति हो। म पछि कुरा गर्छु' भन्दै फोन राखिदिइन्।
अमेरिकामा रहेकी सुहानालाई अचम्म लाग्यो। कारण उनलाई सिनेमामा हिरोइन हुन्छु, वा बन्छु थिएन। पढ्दै थिइन्।
तर यसको तार झरनाको निर्देशकीय डेब्यू 'ए मेरो हजुर २'को रिलिजपछि तानिन सुरू भइसकेको थियो।
सुरू सुहानाले गरेकी थिइन्। तर, उनलाई यो यहाँसम्म आइपुग्ला लागेको थिएन।
'हिरोइन हुने मेरो चाहाना थिएन', सुहानाले भनिन्।
उनले कहिले पनि आमाबाबुलाई म हिरोइन हुन्छु भनेकी थिइनन्।
तर 'ए मेरो हजुर २' प्रचारका क्रममा उनी सिनेमा टोलीसँगै देशका विभिन्न शहरहरू घुमिन्।
यस्तैमा उनले एकदिन ठट्टैठट्टामा बाबु सुनिल कुमार थापालाई 'मैले पनि करियर सुरू गर्नुपर्ला, हिरोइन हुन लाग्नुपर्ला', भनिन्।
थापा हाँसे र भने, 'पहिला पढाई कुरा गर, अनि बल्ल'
करियर के बनाउने भन्ने बारेमा सुहानाले यसअघि थुप्रै योजनाहरू सुनिल र झरनालाई सुनाएको हुनुपर्छ।
सायद छोरीको स्वभाव बुझेर सुनिलले पहिले छोरीलाई पढाई सक्न भनेको हुनुपर्छ, सायद।
सुहानाको एउटा गज्जबको स्वभाव छ, अझ भन्नुपर्दा अचम्मको।
उनको किशोवय उमेर घरि के कुराबाट प्रभावित बन्ने घरि केबाट? उनको चञ्चले मनको रूचि कतिखेर केमा ढल्किन्छ थाहा नहुने। उनले जीवनमा थुप्रैथरी बन्ने बारेमा सोचिन्। ती कति पानीका फोका जस्ता भए कति वामे सरेपछि रोकिए।
'सिनेमामा आउनुअघि के के बन्ने इच्छा थियो, थियो। वकिल पनि बन्नु थियो, साइकोलोजिस्ट पनि बन्नु थियो, सिए पनि बनु भएको थियो', सुहानाले आफ्नो अस्थिर स्वभावको खुलासा गर्दै भनिन्, 'सिए बन्न छोडेर, वकिल बन्ने सोचें,पढे पनि। त्यो पनि सकिन, मार्केटिङ पढ्न थाले , त्यो पनि सकिन अनि साइकोलोजी पढें।'
अगाडि उनले थपिन्, 'म चाँडै इन्फ्लुएन्स्ड भइहाल्ने मान्छे हो। 'हाउ टु गेट अवे फ्रम मर्डर' भन्ने सिरिज हेरेपछि मलाई म वकिल बन्नुपर्छ लागेको थियो। तर जब धेरै पढ्नुपर्छ भन्ने भयो तब मैले ल! ल! भयो भनेर छोडिदिए।’
अटिजम भएको बच्चाहरूको लागि स्वयंसेवी भएर काम गरेकाले अन्तिम आएर उनको मन साइकोलोजीको पढाइमा अड्किएको छ।
यस्ती स्वभावकी सुहानाको मन सिनेमा गर्न लागेपछिचाँहि स्थिर भएको छ रे!
'सिनेमामा काम गर्न थालेपछि मलाई जीवनमै पहिलो पटक म यसकै लागि जन्मेको हुँ अनुभव भयो। यो लाइनमा लागेपछि यसको नशा लाग्छ भन्ने सुनेको थिएँ। त्यस्तै अनुभव गर्दैछु।'
सिनेमा गर्ने भएपछि उनी रिसर्चमा लागिन्।
अनमोलको नेपाली सिनेमामा आफ्नै पहिचान छ। त्यस्तो स्टारसँग काम गर्दा कम त देखिन हुँदैन थियो।
'अनि म उस्तै देखिन रिसर्चमा लागे', सिनेमा खेल्ने भएपछिको आफ्नै तयारी सुनाउँदै सुहानाले भनिन्, 'अभिनयको बारेमा सैद्धान्तिक कुराहरू पढें। टेक्निकल कुराहरू बुझ्न गाहो भयो मलाई । एउटा अभिनयसम्बनधि अन्तरवार्तामा जे भूमिका गर्ने हो, त्यही अनुभव गर्नुपर्छ थाहा पाएँ। वर्कसपमा गएपछि अशान्त शर्मा सरले त्यही कुरा सिकाउनुभयो। अनि बुझ्दै गए अभिनयका कुरा। सेटमा गएपछि लाइट, क्यामरा, साउण्डले कसरी असर गर्छु बुझें।'
वर्कसपदेखि नै क्यारेक्टरमा घुस्न थालेकाले सुहानाले सेटमा त्यति गार्हो अनुभव गरिनन्। आफ्नै ममीको निर्देशनमा अभिनय गरिरहेकाले उनले खानपर्ने गाली पनि खाइन सुटिङ्मा।
'ममीलाई आफ्नो बच्चाले कतिसम्म गर्न सक्छ थाहा हुँदो रहेछ। त्यसैले मैले नगर्दा उहाँले गाली गर्नुभयो। मैले २१ टेकसम्म खाएँ।'
सुटिङ् गर्दागर्दै बिहानको चार बजिसकेकाले फिल नभएर उनले सो गालि र टेक खाएको सम्झिन्छिन्।
दर्शकका रूपमा उनलाई आफ्नो फिल्म पूर्ण मनोरञ्जक बनेको लागेको छ।
'मैले फूल लाइन त हेरेको छैन तर हेर्नेहरूले सिनेमा मनोरञ्जक बनेको भन्नुभएको छ।'
डबिङ्मा उनलाई आफैलाई हेर्न लाज लाग्यो। त्यो लाज अझै कायम छ।
उनलाई एक्लै हुँदा आफ्नो गीत खोजेर हेर्न लाज लाग्छ रे।
सुहानाको सिनेमा अहिले लगातार सिनेमा नचलिरहेको अवस्थामा रिलिज हुँदैछ।
परिवेश यस्तो भएपनि उनी सिनेमाको डेब्यूलाई लिएर किञ्चित चिन्तित नभएको बताउँछिन्।
'डर छैन, सिनेमा चल्न मेकिङ राम्रो हुनुपर्छ। यो भाग्यमा पनि भर पर्छ। तर जसरी सिनेमालाई लिएर रेस्पोन्स पाइरहेको छु, त्यसले मलाई राम्रो हुन्छ भन्ने आशा जगाइदिएको छ', उनले भनिन्, 'त्योसँगै म केहि कुरा होला भने आशा राख्दिन। काम राम्रो गर्नुपर्छ तर परिणाम जस्तो पनि आउनसक्छ बनेर सोच्छु। कतिकुरा भाग्यको हातमा पनि हुन्छ।'
छोरीको यस्तो सिद्दान्त रहेकाले बाबुआमासँग सिनेमा चलेन भने के हुन्छ भनेर कहिले कुराकानी नभएको सुहानाले बताईंन्।
अभिनेत्रीका रूपमा सिनमा भइराख्ने मोमेन्टहरूमा आफूलाई सजिलै राख्न सक्नुलाई उनी आफ्नो खुबी ठान्छिन्।
'सायद म ड्रामाटिक भएर होला पहिलेदेखि नै। म सिनेमाको सिनको मोमेन्टमा आफूलाई घुलाउन सक्छु।'
रोमान्टिक सिन गरिरहँदा कट सुनेपछि त्यो सटको इमोसनलाई फ्याट छोड्नेचाँहिलाई उनी आफ्नो कमजोरी ठान्छिन्।
धेरैले उनको यो बानीलाई लिएर उनलाई यसरी छोड्न हुँदैन भन्ने गरेको बताउँछिन्।
'अनि डायलग डेलिभरीमा मैले धेरै, धेरै नै मेहेनत गर्नुपर्नेछ।'
त्यस्तै डबिङ गर्दा उनलाई सबैभन्दा गार्हो अनुभव भयो।
यतिसम्म गार्हो भयो कि उनले डबिङ गर्दा 'पाइलट साउण्डबाट तानेर मिलाए हुँदैन' सम्म भन्न भ्याइन्।
उनले को-स्टारका रूपमा अनमोलसँग काम गर्नपाउनुलाई आफ्नो अवसर ठानेकी छन्।
'मैले केहि बिगार्दा उसले सम्झाउँथ्यो। उसलाई मेरो काममा ध्यान आफ्नो काममा जस्तै थियो। केहि बिगार्दा यसरी गर्नुपर्छ भनेर सम्झाउने गर्थ्यो। त्यो कुराले पनि सिनेमामा मलाई ठूलो सहयोग पुगेको छ।'
अनमोलसम्म काम गर्न पाउनु उनका लागि ड्रिम डेब्यू भन्दा पनि बाबुआमाले दिएको एउटा अवसर हो।
उनलाई आशा छ यस प्राप्त अवसरमा उनी खरो उत्रनेछिन्।
'सेटमा पुगेपछि चाँहि सपना जस्तो लाग्यो', उनले कुरा टुंग्याइन्।