'हिरो हुन्छु भनेर कहिले सोचिनँ।'
युवा स्टार सलिन मान बानियाँ यसै भन्छन्।
व्यापारिक परिवारबाट भएकाले उनको चाहना सानैदेखि एक सफल व्यवसायी हुने थियो। यस्तोमा सिनेमामा अभिनय गर्ने, हिरो हुने भन्ने कुरा कहिल्यै उनको जीवनको लक्ष्यका रूपमा खडा भएन।
तर भोलि के हुन्छ?
कसलाई थाहा हुन्छ?
जीवनमा केही यस्ता नसोचेका घटना घट्छन् जसले जीवनको बाटो सोचेभन्दा फरक खनिदिन्छ।
सलिनका लागि पनि यस्तै भयो।
' मलाई व्यापारमा रूची थियो। ठूलो व्यवसायी हुन्छु भनेर सोच्थें म। अभिनय त मौका आए गर्छु भनेर पनि सोचेको थिइनँ। म व्यवसायमै करियर बनाउनेमा केन्द्रित थिएँ', सलिन भन्छन्।
यस्तो सोच्नु स्वभाविक थियो। जतिखेर भविष्यमा के बन्ने भनेर सोच बनाइन्छ, त्यो उमेरमा उनलाई हेर्दा कसैले हिरो ठान्दैनथे। उनी हेर्दा ह्याण्डसमको परिभाषामा अटाउँदैन थिए। त्यसैले उनीमा 'हिरो' बन्ने सपना कहिल्यै देखेनन्।
'म ह्यान्डसमको सूचीमा पर्दिनथें। १० कक्षासम्म त मलाई कुनै केटीले पनि हेर्दैन थिए। म खासै राम्रो थिइनँ, पावरवाला चस्मा लगाउँथे, मेरा दाँत खरायोको जस्ता थिए। म नर्डी टाइप्स थिएँ', उनले भने, 'त्यसैले होला मेरा ५-६ जना क्रस थिए, जसलाई कहिले मैले मन पराउँछु भन्न सकिनँ। कसैले मलाई हेर्दैन थिए। साथीका रूपमा पनि उनीहरूसँग म एकदमै कम बोल्थे।'
सायद त्यसैले होला त्यसपछि प्लस टुको एक कार्यक्रममा स्कुल जाँदा उनलाई कसैले चिनेनन्।
कारण यो समय कलेज जाँदा उनका खरायो जस्ता दाँत ब्रेसेसले बाँधेर टिमिक्क मिलाइ सकिएको थियो, पावरवाला चश्मा छोडेर लेन्स लगाउन थालेका थिए। कपाल र लुगाको शैली कोरियन भइसकेको थियो। उनको मोटो शरीर जिमले गठिलो भइसकेको थियो। झ्वाट हेर्दा कुनै कोरियन सिनेमाको चकलेटी हिरो जस्तो ह्याण्डसम भइसकेका थिए।
नाम भनेपछि मात्र 'ए तिमी पो हो' भनेर धेरैले अचम्म माने।
सलिन भन्छन्, 'आज म जति कन्फिडेन्स देखिन्छु, वास्तवमा म पहिला त्यस्तो थिइनँ। एउटा घटनाले मलाई पूरै परिवर्तन गरिदियो।'
१० क्लाससम्म सलिन कसैलाई केही भन्न सक्दैन थिए। कसैले गाली गर्यो वा पिट्यो भने पनि उनी त्यसको प्रतिकार गर्न सक्दैनथे। चुप बस्थे।
यस्ता सलिन एकदिनको घटनाले पूरै परिवर्तित हुन पुगे।
एउटा साथीसँग उनको ठूलै झगडा पर्यो। ती साथी चक्कुसहित उनलाई कुट्न आए।
कारण- एक जना केटी थिइन्।
ती सलिनका राम्रै साथी थिए। ती साथीले मन पराएकी ती केटी साथी सलिनसँग पनि नजिक थिइन्। ती केटी साथीको मनमा के थियो सलिनलाई थाहा छैन तर उनका साथीलाई सलिनले ती युवतीलाई आफूबाट खोस्न लागेको ठाने।
'हामी राम्रै साथी थियौं। ती केटी साथीप्रति पनि मेरो त्यस्तो केही सोच थिएन। एकदिन रक्सी पिएर साथी मलाई कुट्न आयो', सलिन सम्झन्छन्, 'म एकदमै डराएँ। त्यतिखेर म एक्लै थिएँ। न्यूरोडमा ४ जना मलाई कुट्न आए। '
त्यो दिन सलिन कहिल्यै भूल्न सक्दैनन्।
'साथी रक्सी खाएर आएको थियो, उसले मलाई मुख छाड्दै गाली गर्यो। म रिसाएँ। ऊ मलाई पिट्ने मुडमा आएको रहेछ। ऊ मलाई धकेल्दै, मुख छाड्दै निउ खोज्न थाल्यो। म बेवास्ता गरेर हिँडें। त्यसपछि उसले मलाई लखेट्यो। न्यूरोडको पिपलबोटमा मलाई समातेर पिट्यो। म फुत्किएर भागें। उसको कुटाइले मेरो मुख सुन्नियो। म त्यही अनुहारमा घर गएँ।'
एकदमै डराएका सलिनले भिनाजुलाई फोन गरेर घटनाको बेलिविस्तार लगाए।
भोलिपल्ट ट्यूशनका लागि सलिन गए तर जानुअघि सलिनले भिनाजुलाई आफूलाई केही हुनसक्ने भएकाले आउन भनेका थिए।
आफ्नो सालो कुटिएकोमा खाइलाग्दो ज्यानका हक्की स्वभावका भिनाजु सलिन ट्यूशन पढिरहेको ठाउँमा आफ्ना केही साथीहरूसहित पुगे र सलिनलाई हातपात गर्ने केटाहरूलाई कुरेर बसे।
'मलाई केही होला तपाईं आउनुहोला भनेर भिनाजुलाई बोलाएँ। त्यो दिन त्यो कुट्ने साथीसँग भिनाजुले कुरा गर्नुभो, भोलिपल्ट पनि भिनाजु आफ्नो साथीहरूसँग आउनुभयो। त्यसपछि कुरा मिलायौं, उनीहरूले सरी भने।'
एउटा घटना त सकियो तर फेरि यस्तै हुँदा के गर्ने? सधैं अरूलाई बोलाउन त सकिँदैन। बोलाए पनि अवस्था आउन नसक्ने पनि हुनसक्छ।
सलिन त्यो समय गहिरो गरी गमिए।
'त्यो अनुभवले मेरो जीवनमा एउटा परिवर्तनीय मोड पनि आयो। आज यस्तो हुनुमा त्यसको ठूलो हात छ, मेरो जीवनको बिर्सन नसक्ने क्षण भएर बसेको छ। त्यसअघि आफूलाई म कमजोर ठान्थें। त्यो घटनाले मलाई बलियो हुनुपर्छ भन्ने बनायो।त्यसपछि मैले आफूलाई आत्मविश्वासी बनाएँ', उनी भन्छन्।
यसमा भिनाजुको सहयोगलाई बिर्सन सक्दैनन्।
'भिनाजु जिमसिम गरेको ह्ट्टाकट्टा हुनुहुन्थ्यो। जब ती साथी मलाई कुटन आएँ, त्यो बेलामा भिनाजुले मलाई जोगाउनुभयो। त्यो देखेर मैले आफूलाई बलियो बनाउनुपर्छ बनेर सोचें र भिनाजुजस्तै हुने बाटोमा हिँडन थालें।'
त्यसपछि सलिन भिनाजुसँग हिँडन थाले। उनी जस्तै हुन थाले। भिनाजुको संगतले सलिनमा हिम्मत बढ्दै आयो।
'पहिला केही समस्या भयो कि मेरो मुटु डरले धेरै ढुकढुक हुन्थ्यो। अहिले त्यस्तो हुँदैन मलाई ', यसो भनिरहँदा सलिनमा पूरा आत्मविश्वास झल्किरहेको थियो।
त्यो घटनापछि सलिन लगातार ४ वर्ष जिम गएँ, बक्सिङ सिके।
त्यसपछि विस्तारै दिदीको प्रेरणामा मोडलिङमा लागे। मोडलिङमा लागेपछि स्कुले जीवनमा नबोल्नेहरू बोल्न आउँन थाले। त्यो बेलाका केही क्रसहरूले त 'भेटुँ न' नै भने। उनी कसैलाई भेट्न गएनन्।
'सायद त्यो समय त्यही सक्किसकेको थियो', सलिनले भने।
***
सलिन उता मोडलिङ, पढाइमा रमाइरहेका थिए, सफल व्यवसायी बन्ने सपना पालेर। यता झण्डै दुई दशक नेपाली सिनेमामा अभिनेत्री बनेर बिताइसकेकी झरना थापा निर्देशनको तयारीमा थिइन्।
हिरो खोज्ने क्रममा कसोकसो सलिन उनको नजरमा परे। झरनाले सूत्र पछ्याउँदै सलिनलाई आफ्नो लोकप्रिय सिनेमा 'ए मेरो हजुर'को सिक्वलका लागि प्रस्ताव गरिन्।
उनले प्रस्ताव गर्दा साम्राज्ञी सिनेमामा फाइनल भइसकेकी थिइन्। 'ड्रिम्स'को सुखद डेब्यूले धेरैपछि कुनै हिरोइनका रूपमा उनको चर्चा नेपाली सिनेमावृत्तमा ठूलो भइसकेको थियो। धेरैले 'ड्रिम्स'को सफलताको जस उनलाई दिएका थिए।
झरनाको प्रस्तावलाई सलिनले सुरूमा हुन्छ भनि हालेनन्।
कारण उनलाई अभिनयको ज्ञान एकातिर थिएन भने अर्कोतिर कहिल्यै गर्छु भनेर नसोचेको कामको प्रस्ताव।
झरनाले सलिनलाई, 'एकपटक प्रयास गरेर हेरौं' भनिन्।
'उहाँ पहिले नै चर्चित भइसक्नु भएको मान्छे। त्यसबाहेक पहिले नै राम्रो ब्यानर भनेर नाम बनाइसकेको। सिनेमा पनि चलेको। त्यसैले उहाँले हामी मिहिनेत गर्छौं, प्रयास गर्छौं, गरौं भनेर भन्नुभयो। अनि केही कुरा सिक्न पाइन्छ, गरौं न त भनेर गरें', सलिनले सम्झिएँ।
उनलाई सिनेमाको कथा पनि मन पर्यो।
'साम्राज्ञीका नयाँ हिरो', भन्ने पदावलीले उनको चर्चा रातारात चुल्यायो।
सिनेमाको सुटिङ गर्दा थुप्रै पटक सिनेमा छाड्ने बारेमा पनि सोचे। सिनेमाको एक पत्रकार सम्मेलनमा उनी आफैंले खुलासा गरे।
कारण सुन्दा सबै हाँसे।
सलिनलाई केही न केही खाइरहनुपर्ने। सुटिङमा खाली चाउचाउ आइपुग्ने। चाउचाउ उनलाई उस्तो मन नपर्ने। अनि भोकाएपछि सलिनलाई रिस त उठ्ने नै भयो। त्यस्तै सुटिङ गर्दाको गार्हो उस्तै।
हुन पनि सुटिङका लागि सर्वाधिक उचाइको तिलिचो तालसम्म हिँडेरै पुगे।
रिलिजपछि 'ए मेरो हजुर २' सुपरडुपर हिट भयो। धेरै सिनेकर्मी र दर्शकको नजरमा छाँए। एउटा नसोचेको बाटोमा एउटा नसोचेको सफलता सलिनलाई मिल्यो।
अबकोसिनेमाकरियर
थुप्रै कलाकारको बढेको पारिश्रमिकको रेसमा सलिन केही पछि नै छन्। सिनेमाको लागि उनको सर्त छ: राम्रो स्क्रिप्ट, राम्रो ब्यानर र राम्रो निर्देशक।
'पारिश्रमिक मेरो प्राथमिक्तामा छैन। त्यति ठूलो होइन, मेरा लागि। हामी कलाकार भएपछि पारिश्रमिक त चाहियो नै तर पैसाकै लागि म रोकिन्नँ। अरूको यसमा फरक कुरा होला। तर मेरो पहिलो प्राथमिकता सिनेमा राम्रो बन्नुपर्छ बन्ने हो। बरू मलाई दिने पैसा सिनेमामै लागोस्। पहिले राम्रो स्क्रिप्ट, टिम अनि मात्र पैसा', सलिन भन्छन्।
दुई सिनेमामा मात्र काम गरेका सलिन् भन्छन्, 'मेरो ध्यान दर्शकलाई राम्रो सिनेमा दिऊँ भन्ने छ। दर्शकलाई मनोरञ्जन दिन चाहन्छु। सिनेमा अलि फरक, दर्शकको ध्यान तान्ने होस्।'
त्यसैले सलिन वर्षमा एउटा सिनेमामा मात्र गर्ने सोचमा छन्।
'वर्षमा एउटा मात्र खेल्न चाहन्छु। यो भयो भने मैले पूरा समय एउटै सिनेमामा केन्द्रित हुन पाउँछु। दर्शकलाई राम्रो फिल हुने सिनेमा गर्न चाहन्छु। सिनेमा गर्दा एकदमै टाइम लाग्छ। यहाँ काम गर्दैगर्दा कतिखेर के हुन्छ थाहा हुन्न। त्यसले वर्षमा एउटा हुँदा पूरा ध्यान दिन पाइन्छ।'
सलिनलाई आफू खतरा अभिनेता हो भन्ने पनि लाग्दैन। अझै धेरै सिक्न बाँकी छ। कमजोर अभिनेता हुँ भन्ने कुरालाई उनी सहजै स्वीकार्छन्।
'म सिकेर नआएकोले अभिनय धेरै सुधार्नुपर्नेछ। विस्तारै सिकिरहेको छु। क्यामरामा राम्रो देखिनेमा ध्यान दिनुछ। नयाँ रोलमा मिहिनेत गर्नुपर्छ।'
उनलाई सुदर्शन थापा जस्ता निर्देशकसँग काम गर्न मन छ।
पछिल्लो समय उनी अभिनित 'यात्रा' सिनेमामा उनले एक्सनका लागि राम्रै तारिफ बटुले। सो सिनेमाबाट एक्सनका लागि तारिफ पाए पनि उनले स्वीकारेको अभिनयमा आफू कमजोर रहेको भन्ने भनाइलाई अलि गम्भीर ढंगले लिनुपर्ने बेला आइसकेको छ।