'जात्रा'को सिक्वल 'जात्रै जात्रा' शुक्रबार रिलिज हुँदैछ। सिनेमाका निर्देशक हुन् प्रदिप भट्टराई। उनी निर्देशित 'जात्रा' र 'शत्रु गते'ले दर्शकको मन जितेको राम्रैगरी जितेको थियो। अब तेश्रो सिनेमाबाट सफलताको ह्याट्रिक गर्ने दाउमा प्रदीप छन्। सिनेमालाई लिएर मनको एक कुनामा सफलताको सिलसिलालाई कायम गर्ने एउटा मनोवैज्ञानिक दबाब भएको उनको स्वीकारोक्ति छ। यसका बाबजुद उनी उत्साहित ज्यादा छन् किनकी टेस्ट शोमा उनले राम्रो प्रतिक्रिया पाए रे।
आगामी रिलिज 'जात्रै जात्रा'को बारेमा गफ्फिँदा उनी 'कुल' नै देखिए। बरू उनले चौथो सिनेमा यी सिनेमाभन्दा फरक हुने खुलासा गरे। उनै प्रदीपसँग सेतोपाटीका लागि अशेष अधिकारीले गरेको कुराकानीको सम्पादित अंशः
तेश्रो सिनेमा रिलिज भईरहँदा तपाईंको दिमागमा के चलिरहेको छ?
पहिलो र दोश्रो सिनेमा रिलिजको बेलामा त केही चल्दैचल्दैन थियो किनभने यो बेलामा पोस्टप्रोडक्सनको काम सक्नै हतार हुन्थ्यो। अन्तिम समयसम्म पनि सिनेमा नसकिने भएकाले केही चल्नै पाउँदैन थियो। यसपटक चाँहि एक हप्ता अगाडि सिनेमा सकेर बसेको भएर होला, के होला कसो होला, अगाडिको सिनेमाजस्तो मान्नुहुन्छ या हुन्न भन्ने जस्ता कुरा खेल्छन्।
सिनेमाको के कुराले दर्शकका लागि यो सिक्वल रूचिकर हुनेछ भनेर सोच्नुभएको छ?
'जात्रा'मा अपूरो छोडेको कुरालाई पूरा गर्ने कथा यसमा महत्वपूर्ण छ, किनकी त्यो हराएको १ करोड ८० लाख पैसा कसरी नक्कली भयो? त्यो पैसा कसको हातमा छ भन्ने प्रश्नको जवाफ दर्शकको दिमागमा रिङमिङ्गिएकै छ। उनीहरू त्यसको जवाफ चाहन्छन्।
'जात्रा' हेरेकालाई यही भयो। नहेर्नेहरूका लागि पूर्ण मनोरञ्जक सिनेमा हो। दर्शकलाई सिनेमाले हसाँइराख्छ र हामीले जबरजस्ती हसाउँने प्रयास गरेका छैनौं, घटनाक्रम र पात्रको भोगाइले उहाँहरूका लागि हाँसो श्रृजना गर्छ। परिस्थितिजन्य अवस्थाले उहाँहरू हाँस्नुहुनेछ।
लगातार दुई सिनेमा सफल भए तेश्रो पनि सफल हुनुपर्छ भने मनोवैज्ञानिक दबाब महशुस गरिरहनुभएको छ कि छैन?
मनभित्र कतै कुनै कुना त होला। तर त्यो दबाब अहिले लिएर कामै छैन। बिहे गरेर सिन्दुर हालेर श्रीमती ल्याएपछि सोचेजस्तो हो यो। जति लिने हो अगाडि नै लिएर गर्ने हो। स्क्रिप्ट लेख्ने बेलामा आत्तियो, के होला कसो होला भनेर। अहिले त खासै त्यस्तो छैन।
आफ्नै नजरमा आफ्नो सिनेमा कस्तो लाग्यो त बनाइसकेपछि?
म त्यसरी आफूले बनाएको सिनेमालाई आफूबाट छुटाएर छुट्टै दर्शकका रूपमा हेर्न सक्दिनँ। सिनेमाको हरपक्षसँग सुरूदेखि अन्त्यसम्म भएर होला। यो भनेको निरन्तर चश्मा लगाएको मान्छेलाई आँखा अगाडि चश्मा छ भनेर थाहा नभएको जस्तो हो। एउटा मेकरलाई त्यही हुन्छ। सिनेमा सकेपछि साथीभाइको साथमा १-२ जना जो सिनेमासँग सम्बन्धित हुनुहुन्न उहाँहरूलाई हल टेस्टका क्रममा सिनेमा देखाउँदा प्रतिक्रिया राम्रो पाएको छु।
अनि तपाईंले गर्न चाहिरहेको सिनेमा यी 'जात्रा', 'शत्रु गते' तथा 'जात्रै जात्रा'जस्ता सिनेमाहरू हुन कि अरू नै छ?
मान्छेले अक्सर आफूले चाहेको, सोचेको कुरा गर्नै पाउँदैन। कति कुराले हामी चाहेजस्तो गर्न नसकेर खुम्चिरहेका हुन्छौं। मैले पनि गर्न चाहेको सिनेमा अर्कै छ तर त्यहाँ गर्नको निम्ति मैले भने अनुसार रिस्क बोक्ने कुनै निर्माताको विश्वास जित्नु जरूरी छ। यही अनुसार विश्वास निर्मातासँगै दर्शकको पनि जितिसकेको हुनुपर्नेछ।
मैले अहिलेसम्म गरेका ३ सिनेमा एकदमै 'लाइट' विषयमा गरेको सिनेमा हो तर अब सिनेमा गर्दा गम्भीर विषयमाथि गर्न चाहन्छु। अब आफ्नै खुशीको लागि त्यस्ता सिनेमा गर्ने योजनामा छु। सायद चौथो सिनेमाबाट त्यतातिर लाग्छु होला।
तपाईंको दक्षता यस्तै तपाईंले गरिसकेका सिनेमामा हो की गम्भीर प्रकृतिका सिनेमामा पनि छ?
गम्भीर सिनेमामा मेरो दक्षता थियो भन्ने भएको भए यस्ता सिनेमा मैले बनाउँदिन थिएँ होला। म सुरूमै आफूलाई नै थिच्ने बोझ बोकेर हिंड्न चाहन्नथेँ। त्यही भएर हल्का कुराबाट आफ्नो तयारी सुरू गरेँ। अब चाँहि केही भारी विषय बोक्नसक्ने भएको अनुभव गरिरहेको छु।
सिक्वलको निर्देशन गर्नु बनाउनु तपाईंको अनुभवमा कतिको सहज या कठिन रह्यो?
एकदमै गार्हो। एउटा नयाँ कथामा सिनेमा बनाउँदा तपाई जत्ति छर्रिनसक्नु हुन्छ, दिमागलाई घूमाउन सक्नुहुन्छ सिक्वलमा त्यस्तो हुँदैन। धेरै कुराले बाँध्ने मेरो अनुभव रह्यो। मेरा लागि 'जात्रै जात्रा' बनाउँदा पहिलो सिनेमाको २ करोड ८० लाखलाई के भयो कसो भयो भन्नेमा धेरै दबाब महशुस भयो। त्यसपछि त्यो जात्रामा हामीले अर्को जात्रा थपेर 'जात्रै जात्रा' बनायौं। यस सिनेमामा थपिएको १० किलो सुन काण्ड त्यही भएर आएको हो।
सिनेमाको तेश्रो सिक्वल बनाउनु हुन्न उसो भए?
हो, कान समाते मैले।
यस सिनेमामा कलाकारले सोचेभन्दा राम्रो काम गरे कि गरेनन्?
यो संसारमा सोचेभन्दा राम्रो त अति नै कम हुन्छ। मान्छेलाई सोचेभन्दा बढि आइलाग्ने भनेको त दुःख नै हो। त्यसैले सोचेको भन्दा बढि भन्दा पनि सोचेकोमा कति आयो भन्ने मूख्य कुरा हो।
तपाईंले आफ्ना ३ सिनेमालाई १-२-३ भनेर क्रमबद्ध गर्नुपर्यो भने कसरी गर्नुहुन्छ?
यो त १६ वर्षको उमेर राम्रो कि २५-२६ को जस्तो हुन्छ। उमेरको महत्व उमेर अनुसार आआफ्नो ठाउँमा बेगल बेगल नै हुन्छ नि। उमेरले मानिसलाई परिपक्व बनाउँछ। त्यो चाँहि सत्य हो। त्यसैले 'जात्रा'बाट 'शत्रु गते' गर्दा के-के सिकेँ, कति अगाडि बढेँ, त्यो महत्वपूर्ण हो।
अनि यी दुई सिनेमापछि 'जात्रै जात्रा'मा त्यसका अनुभव कसरी प्रयोग गरेँ त्यो कोणबाट हेर्छु म। यिनका आआफ्नै विशेषता छन्। 'जात्रा'मा अर्गानिक कुरा थियो। तीन जना निम्न आय भएका युवाको मनोदशा र भोगाइ थियो। 'शत्रु गते' मास अडियन्सलाई बनाएकोले त्यसको आफ्नै विशेषता छ।
'जात्रै जात्रा' मेरा अघिल्ला दुवै सिनेमाको अनुभव हो। मैल यसबाट 'जात्रा' र 'शत्रु गते' दुवै सिनेमाका दर्शकलाई एक ठाउँमा ल्याउने कोशिस गरेको छु।
यो सिनेमा चलेन भने?
अर्को सिनेमामा थपयसका कमजोरीलाई सुधार्नेमा चनाखो हुन्छु म।