प्रविण खतिवडा गुरूकुल मैतिदेवीबाट उठेपछि निर्देशनमा बढि सक्रिय हुन थालेका हुन्। त्यसो त विराटनगरमा हुँदा पनि उनले ५-६ वटा नाटक गरेका थिएँ, काठमाडौं आएपछि लामो समय अभिनयमै बिताए पनि यसबीच ५-६ वटा नाटक निर्देशन गरिसकेका छन्। यस्तोमा उनी १२ औं नाटक लिएर दर्शकमाझ आउँदैछन्।
यसपटक उनले नाटकका लागि आफूलाई मनपर्ने प्रिय लेखकमध्येका एक शंकर लामिछानेको कथा छानेका छन्।
दर्शकका लागि आफ्नो १२ औं नाटकका रूपमा शंकर लामिछानेको 'गौथलीको गुँड' कथासंग्रहमा समाविष्ट 'आत्माको मीमांसा'मा आधारित 'मीमांसा' लिएर आउँदैछन्।
नाटकमा उनका गुरू सुनिल पोखरेल र राजकुमार पुडासैनीको मूख्य अभिनय रहेको छ। नाटक साउन १० गते शुक्रबारदेखि साउन ३२ गतेसम्म मण्डला थिएटरमा सोमबार बाहेक मंचन हुँदैछ।
यसै सेरोफेरोमा रहेर प्रविणसँग सेतोपाटीका लागि अशेष अधिकारीले गरेको कुराकानीः
यही कथा किन?
शंकर लामिछाने मलाई मनपर्ने लेखक। यो मात्र होइन, मलाई उहाँका सबै कथा मनपर्छन्। योचाँहि गुरूकुलको प्रस्तुति भनेर गर्नुपर्ने थियो।छोटो मिठो, सजिलो हुन्छ र थोरै कास्ट भएका हिसाबले छानेको हो।
अरू कथा किन परेनन्, यो नै किन पर्यो?
सबैकथाले तानेका हुन् तर यो नाटक मनोविज्ञानसँग सम्बन्धित छ, अलि फरक छ। त्यसमाथि स्प्रिचुअल अनि पारा साइकोलोजीसँग अलिकति सम्बन्ध राख्ने भएकाले मलाई तानेको हो।
कथालाई नाट्य रूपान्तरण गर्न गार्हो सजिलो के भयो?
चरित्रलाई मूर्त रूप दिनलाई मलाई अलिकति गार्होचाँहि थियो। सुनिल सर साइकोलोजीको विद्यार्थी, उहाँलाई छान्दा झनै टफ भयो अनि कति कुरा लेखकले लेख्दा पनि त्रुटिहरू भएका रैछन्। त्यसलाई मैले लेखकको त्योबेलाको सोच हो भनेर स्वीकारेको छु। कति ठाउँमा मिलाएको छु।आफ्नो हिसाबले बनाएको छु।
दर्शकले कसरी ग्रहण गर्लान् यसलाई?
दर्शकलाई के अनुभव हुन्छ मलाई थाहा छैन। म नाटक गर्न रहर गरिरहेको थिए, गुरूकुलले त्यो मौका दियो। यहि उदेश्यका लागि यहि गर्ला भन्नेचाँहि छैन्। नाटक हेरसकेपछि दर्शकले के लिएर जानुहुन्छ, त्यो उहाँहरूलाई नै छोडिदिऊँ होला। यो मनोविज्ञानसँग सम्बन्धीत भएकाले कसले कसरी लिनुहुन्छ, मलाई भन्दा हेर्ने दर्शकलाई थाहा होला।
रिहर्सल हेर्दा सबै कलाकार पुरूष हुनुहुन्छ, किन?
सजिलोका लागि। मैले सुरूमा ५ जना कलाकारबाट मात्र सुरू गरेको हो। पछि भोलेन्टियर भाइहरू थपिनुभयो। स्टेजमा मुख्यरूपमा देखिने सुनिल सर(पोखरेल) र राजकुमार दाई(पुडासैनी)मात्र हो। प्रहरी अनुसन्धानबाट नाटक सुरू हुने भएकाले अरू भाइहरू प्रहरीको भूमिकामा देखिने हुन्। सहजता खोज्दाखोज्दै त्यस्तो भयो।
के सहजता खोज्नुभयो?
काम गर्नलाई। म आफूलाई हत्तपत्त महिला कलाकारहरूसँग काम गर्न डर लाग्छ। मेरो पहिलादेखिको बानी हो, एकदम नजिककोसँग मात्र काम गर्छु।म सानोमा त केटीहरूले परिचय गरौं भनेर हात मिलाउन आउँदा, भाग्थे। त्यो अझै छ, एकदमै घुलमिल भएको मान्छे हुँदा मात्र गर्छु। नयाँ मानिससँग चिनजान गरेर काम गर्न मलाई गार्हो लाग्छ।
त्यस्तोमा लभ कसरी पर्यो त?
(हाँस्दै) त्यो नि झलक्क देख्ने बित्तिकै परेको होइन। काम गर्ने सिलसिलामा परेको हो। धेरै लामो संगतपछि, ए हाम्रो लभ रैछ भनेर स्वीकारेकोचाँहि हो।
संगत भएकैलाई सहभागी गराउन सकिन्थ्यो होला! किन नगरेको?
सकिन्थ्यो होला तर समय मिलेन।
कतै थिएटरमा आएको पछिल्लो घटनाक्रमको असर त होइन नि?
त्यसरी त नलिउँ। त्यसको अलिअलि असर पनि होला। मेरो डरमा अलि अर्को डर थपिने कारण त्यो पनि बन्यो होला।
यसमा सुनिल पोखरेललाई नै छान्नुको कारण?
उहाँको अभिनयका कारण हो, अर्को मलाई सबैभन्दा मनपर्ने कलाकार भएर हो। अर्को कारणचाँहि गुरूकुल फेरि सुरू गरौं न भन्ने मुडमा पनि हो। उहाँ कलाकरका रूपमा एकदम परफेक्ट अनि आफूलाई काम गर्न सजिलो।
कथालाई आफैले नाटकमा ढाल्नुभएको छ, यो तपाईको आफ्नो रहर हो की अरू लेख्दा सोचेजस्तो नहोला भनेर हो?
रहर नै हो। कथा टिपे भने इम्प्रोभाइज गराउन मनलाग्छ। यसमा कलाकरको इम्प्रोभाइजले पनि काम गर्छ। उसले गर्दै जाँदा दिनदिनै नयाँ कुरा गर्न भनेर आउँछ, यस्तोमा उसलाई थोरै बाँधिदिनका लागि पनि लेख्नुपर्नेहुन्छ। यो पनि एक खाका तयार भएपछि गरेको हो, यसमा पनि परिवर्तनहरू भएका छन्।
रिहर्सलमा नाटक तपाईको कल्पना अनुसार कति आएको छ?
अहिलेसम्म आउँदा त्यो ९०-९५ को हाराहारीमा आएको छ। बाँकी ५ प्रतिशत पनि ल्याउँछौं।