अभिनेत्री उपासना सिंह ठकुरीका लागि अभिनय गर्नु भनेको कुनै एउटा पात्रको जिवन जिउने मौका हो। उनी त्यसमा स्वभाविक देखिनुपर्छ भन्ने मान्यता राख्छिन्। त्यस्तै उनी म पूर्ण अभिनेत्री भएँ भनेर कहिले भन्न नसकिने बताउँछिन्। किनकी सिनेमा गरेपिच्छे उनलाई लाग्छ- केहि नयाँ कुरा अझै सिक्न बाँकी छ। यो उनले ‘क्याप्टेन’ र ‘कबड्डी कबड्डी कबड्डी’ सिनेमा गरेपछि सिकेको-बुझेको कुरा हो।
हाल उनी अभिनित ‘कबड्डी कबड्डी कबड्डी’ सिनेमा प्रदर्शन भइरहेको छ। सिनेमाले समिक्षकहरूबाट मिश्रित प्रतिक्रिया बटुलिरहेको छ भने वक्सअफिसमा यो वर्ष हालसम्म प्रदर्शनमा आएका सिनेमामा सबैभन्दा अगाडि दौडिरहेको छ।
सिनेमा हेर्नेले उनको कामको तारिफ गरिरहेका छन्। एकातर्फ गरेको कामको तारिफ र अर्कोतर्फ वक्सअफिसको सफलता। सिनेमाको यो प्राप्तिले उनमा खुशी ल्याएको छ।
उनै उपासनासँग सेतोपाटीले सिनेमा रिलिजको संघारमा अशेष अधिकारीले गरेको कुराकानी यस्तो थियोः
‘कबड्डी कबड्डी कबड्डी’ को के कुराले गर्दा सिनेमा गर्न उत्साहित भइयो?
- ब्यानर, रामबाबु गुरूङसँग काम गर्ने इच्छा, कथा र कथाभित्रको आफ्नो चरित्र चित्त बुझेर। मलाई जहिले पनि सामाजिकरूपमा जोडिएको कथामा सिनेमा गर्ने इच्छा थियो। यो सिनेमामा ती सबै कुरा पाएँ।
यो सिनेमा गरेपछि जानेको बुझेको कुरा के हो?
-पहिलो सिनेमा भन्दा धेरै सिक्ने मौका पाए। कलाकारका रूपमा पहिला भन्दा परिस्कृत भएको अनुभव गरिरहेकी छु। राम्रो टिम, राम्रो कलाकारसँग काम गरेपछि धेरै कुरा सिक्ने मौका मिल्दो रहेछ। धेरै सिक्न बाँकी रहेको बुझें।
सिनेमा क्षेत्रमा आउने पहिलेदेखिको लक्ष्य हो की पछि हुर्केको चाहना हो?
-नेपाली सिनेमा हेर्दा राम्रो र रमाइलो लाग्थ्यो। सोचेको त थिइन तर 'क्याप्टेन'को अफर आएपछि जिया दिदी(जिया केसी)ले राम्रो हुन्छ भन्नुभयो।
पहिलो सिनेमाको प्रस्ताव आउँदा कस्तो लागेको थियो?
- सिनेमाको प्रस्ताव आउँछ भनेर मैले सोचेको थिइन। अलि नसोचेको तरिकाले प्रस्ताव आयो, त्यतिबेला गर्ने-नगर्ने निश्चित थिइन। किनभने एक त मलाई यसको ज्ञान थिएन अर्को मेरो पृष्ठभूमि पनि यो होइन। तर प्रस्ताव आउँदा खुशी लाग्यो।
सिनेमाको प्रस्ताव आउनुअघि के गर्ने सोच थियो?
-व्यवसायतीर झुकाव थियो, उद्धमी बन्न चाहन्थे। मेरो ड्याडी सेनामा भएकाले मलाई सैनिकसेवामा पनि रूचि थियो।
ती इच्छाहरूलाई छाडेर सिनेमा आउने निर्णय गर्न कति समय लाग्यो?
- दुबै गर्न सक्छु, सन्तुलन मिलाउन सक्छु भनेर आउने निर्णय गरेको हो।
सिनेमा आउनुअघिको नेपाली सिनेमा कस्तो लाग्थ्यो र आएपछि कस्तो लाग्यो?
-आएपछि न्यानो स्वागत नै पाएँ। आउनुअघि म मलाई स्वीकार गरिन्छ कि गरिदैन होला भन्ने कुराले केहि डराएकी थिएँ। सोचेको भन्दा राम्रो पाएँ।
म अभिनय पनि गर्न सक्छु भन्ने कहिले थाहा भयो?
-पहिलादेखि नै जाने पनि नजाने पनि अभिनय मनपर्थ्यो। सिनेमा गर्ने भएपछि अभिनयको कक्षा जान थालेपछि थाहा पाएँ। म भित्र पनि अभिनय गर्ने क्षमता छ भन्ने पाटोबाट मैले कहिले पनि सोचेकै थिएन। सिनेमा गरेपछि आएको हो। स्कूल-कलेजमा ड्रामाचाँहि गरेको थिएँ।
दुई वटा सिनेमा गरिसकियो, अब चाँहि आफूभित्र कस्ती अभिनेत्री छ भन्ने अनुभव भएको छ?
- म पूर्ण अभिनेत्री भइसकें भन्ने हुँदैन रहेछ। हरेक-पटक काम गर्दा सँधै केही बाँकी छ भन्ने अनुभव हुने रहेछ। यो जति गर्दै गयो , त्यति नै गहन हुँदै जाने रहेछ। सिक्ने कुरा बाँकी नै रहिराख्ने।
एउटा अभिनेता के हो भनेर परिभाषित गर्नुपर्यो भने कसरी गर्नुहुन्छ?
-अभिनेता भनेको कुनै पनि पात्रलाई प्रस्तुत गर्ने हो, कसैको जीवन बाँच्ने मौका हो।
यो सिनेमा एउटा सफल फ्रान्चाइज हो, यसमा आफू कहाँ हुने सोचिएको छ?
-यो सिनेमा गर्ने भएपछि म केहि डराएकी थिएँ किनभने सिक्वल सिनेमा गर्ने भएपछि यस्ता राम्रा माझिएका कलाकारहरूको हाराहारीमा हुन्छु कि हुँदिन, उहाँहरूको आशा पूरा गर्न सक्छु-सक्दिन भन्ने कुरा थियो। तर सबैजनाले एकदमै राम्रो सहयोग गर्नुभयो। अहिलेचाँहि आशावादी छु।
दोश्रो सिनेमामा आफू कति राम्रो भएजस्तो लागेको छ?
-डबिङमा हेर्दा, यो कुरा राम्रो भन्दा पनि यो कुराचाँहि पुर्याएको रहेनछु भन्ने अनुभव भएको छ। बाँकी कुरा त दर्शकको मूल्यांकनमा छोडिदिएको छु।
डबिङमा आफूले के बिगारे जस्तो लाग्यो?
-संमग्रमा नआए पनि कुनै सिनमाचाँहि अझ राम्रो हुन्थ्यो भन्नेचाँहि लागेको छ र यो सिनेमापिच्छे लागि नै रहने कुरा हो।
आफ्नो पात्रले सिनेमालाई कति रोचक बनाउला जस्तो लागेको छ?
-सिनेमामा नयाँ पात्र म मात्र छैन, विल्सन विक्रम राई, कर्मा पनि हुनुहुन्छ। त्यसैले सिनेमा रोचक हुनेछ।
अघिल्ला सिक्वल मनोरञ्जक की यो?
-सबै सिक्वल आआफ्नो प्रकारले मनोरञ्जक छन्। सबैको छुट्टै मजा छ।
आफ्नो पात्रका लागि कुनै विशेष तयारी गर्नुपर्यो कि परेन?
-अनुप बरालबाट यसका लागि हामीले प्रशिक्षण लिएका थियौं। त्योसँगै हामीले सँगै स्क्रिप्ट पढेका थियौ र त्यसलाई अभिनय पनि गरेका थियौं। यसले गर्दा सुटिङ अगाडि नै सजिलो भयो।
दयाहाङ राईसँगको काम गर्दा कस्तो अनुभव भयो?
-एकदमै रमाइलो भयो। मैले उहाँलाई अभिनेता र व्यक्ति दुबै हिसाबले सोचेको भन्दा पनि राम्रो पाएँ। सिक्ने अवसर मिल्यो धेरै। कामप्रतिको उहाँको लगनशिलता र मेहेनतलाई देख्ने, अनुभव गर्ने मौका पाएँ। मलाई पनि राम्रो सल्लाह दिनुभयो।
नेपाली सिनेमामा काम गर्नु कतिको सजिलो-गार्हो रहेछ?
-काम सजिलो त कहाँ हुन्छ र? आफूलाई मनपरेको काम गर्दा दुःख अनुभवचाँहि नहुने रहेछ। रमाइलो लाग्यो।
अब कस्ता-कस्ता सिनेमा गर्न मन छ?
-अभिनय गर्ने भएपछि, सबै खाले भूमिका गरूं भन्ने हुने रहेछ। तर मलाई नेपाली सामाजिक विषयमा आधारित सिनेमाहरू गर्ने मन छ।
यो सिनेमापछि कस्ता भूमिकाको प्रस्ताव आइरहेको छ?
-आइरहेका छन् तर ठ्याकै गरूँ न त भन्ने त आएको छैन।
उपासनाका लागि निर्देशकहरूले कस्तो सिनेमाका लागि सम्झिए हुन्छ?
-कथा राम्रो हुनुपर्यो। त्योसँगै टिम राम्रो हुनुपर्यो। यस्तो उस्तो कथा भन्ने भएन तर सामाजिक विषयसँग जोडिएको मनोरञ्जक सिनेमा हुनुपर्यो।
सेलिब्रेटी हुँदै गर्दा कस्तो अनुभव भइरहेको छ?
-पहिला भन्दा अहिले धेरै मान्छेले चिन्नुहुन्छ, माया गर्नुहुन्छ। त्यो मन परिरहेको छ।
सिनेमा गरेपछि पाएको एकदमै राम्रो प्रतिक्रिया?
-तिमीले आफ्नो भूमिकालाई न्याय गरेछौं भन्ने।
सिनेमामा आउनुअघि कस्ता नेपाली सिनेमा आफ्नो रोजाइमा पर्थे?
-म सबैखाले सिनेमा हेर्छु। मलाई मनपर्ने भनेको जुन सिनेमाले देशमा परिवर्तन ल्याउने सिनेमा। रोमान्टिक कमेडी सिनेमा मनपर्छ। छक्का पञ्जा मनपर्छ, दासढुगां पनि मनपर्छ, छड्के पनि मनपर्छ।
अबका दिनमा अभिनेत्रीका रूपमा आफूलाई कहाँ देख्नुभएको छ? करियरलाई लिएर कुनै चिन्ता छ कि छैन?
-अहिले राम्रो लागि रहेको छ। म राम्रो काम देखाउन सकूँ। आफूले गरेको सिनेमाको पात्रलाई न्याय दिनसकूँ, अहिलेलाई त यही छ।
(सबै तस्विरहरूः निशा भण्डारी)