आजलाई अंकित शर्माको परिचय भनेको उनी चर्चित कलाकार, निर्माता, निर्देशक तथा वितरक अशोक शर्माका छोरा हुन्। रंगमञ्चबाट खाँरिदै टेलिभिजन हुँदै सिनेमामा समेत आफूलाई अब्बल सावित गरिसकेका अशोकका छोरा हंकितलाई आफ्ना बाबुको वजन के हो?, राम्रैसँग थाहा छ।
त्यो वजनको दबाब उनी यतिबेला अनुभव गरिरहेका छन्। शुक्रबार उनी आफ्नै बाबु अशोकको निर्देशनमा 'रातो टिका निधारमा' डेब्यू गर्दैछन्। यस्तोमा उनी भित्र डर र दबाब छ बुझ्न सकिन्छ। स्कूले जीवनमा आफूलाई नाटकमा व्यस्त हुन्थे। त्यसपछि कलेज शिक्षाका लागि पनि उनले सिनेमा रोजे। मलेसियाबाट सिनेमा पढेर फर्केपछि उनी बाबुकै बाटोमा सक्रिय हुन थाले। उनलाई विश्व सिनेमाका सबैखाले सिनेमामा रूचि छ। विश्व सिनेमाका राम्रा र उत्कृष्ट सिनेमा उनी सकेसम्म छुटाउँदैनन्। त्यसैले उनको स्पष्ट बुझाइ छ- नेपाली दर्शकलाई हामीले हाम्रै कथा देखाउनुपर्छ।
भन्छन्- हाम्रा दर्शकले हाम्रा सिनेमामा हाम्रा संस्कार, संस्कृति र समाजको प्रतिबिम्ब खोज्छन्। किनकी बाहिरका कुरा त बाहिरका सिनेमामा हेरिहाल्छन्। अर्को कुरा हामीले बाहिरका कुरा हाम्रा सिनेमा देखाउन खोज्दा हाम्रो स्तर र क्षमताले त्यसलाई भेट्टाउनै सक्दैन। बने पनि त्यो राम्रो र स्वभाविक देखिन्न पनि ।
शुक्रबारबाट नेपाली सिनेमा यस्तो बुझाइका साथ कदम राख्दै गरेका अंकित पहिलो सिनेमाबाट आशावादी छन्। दर्शकले स्वीकार गरून्। बस उनको चाहना हाललाई यही हो। सिनेमा रिलिजको पूर्वसन्ध्यामा धेरै आशावादी र थोरै डर बोकीरहेका अंकित सेतोपाटीका लागि अशेष अधिकारीसँग गफिंदा उनी यस्तो सुनिएका थिएः
अभिनय आफ्नो रोजाइ को की बुबा करबल हो?
-होइन। पहिला स्कूलमा हुँदा नियमित नाटक गर्थे। त्यसपछि सिनेमा पढ्न मलेसिया गएं। त्यसबेला म मेकिङतीर ढल्किएको थिएँ। फर्केपछिको एक वर्ष 'जय भोले'मा व्यस्त भएँ। त्यसले मलाई सिनेमा मेकिङका लागि अनुभव धेरै चाहिने बुझें। अभिनय स्कूले जीवनमा गरिरहेकै भएर मेकिङलाई थाती राख्दै अभिनयमा आएको हुँ।
त्यसो भए सजिलै अभिनय गरियो त? मेकिङ भन्दा सजिलो रहेछ त अभिनय?
- गार्हो छ। मञ्चमा गरिने अभिनय र सिनेमामा गरिने अभिनय एकदमै फरक रहेछ। यसका कति भिन्नता मैले सिनेमा गरेपछिमात्र बुझें। स्टेजमा एउटा बहाब हुन्छ। लगातार जान्छ कुनै ब्रेक हुन्न तर सिनेमाको सुटिङ गर्दा नाटकको जस्तो लगातार फ्लोमा जान सकिन्न। सिनको डिमाण्ड अनुसार आफूभित्र पात्रको मनोविज्ञान र हाउभाउ ल्यारहनुपर्छ। एकै दिन रोमान्टिक र भावुक हुनुपर्ने सिनको सुटिङ गर्नुपर्नेहुन्छ। तर नाटकमा त त्यस्तो हुन्न।
सिनेमा गर्ने तय कसरी भयो?
-पहिला त म पढाइ सकेर यता आएं। फर्किदा 'जय भोले'को तयारी सुरू भइसकेको थियो। अब यसमा सिनेमाको काम हेर तर अर्को सिनेमामा काम गर्नुपर्छ भन्ने सल्लाह त त्यतिबेलै भएको थियो। त्यो बेलामा सिनेमा गर्ने भन्ने भए पनि कस्तो कथामा सिनेमा गर्ने भन्ने कुनै संरचना थिएन। 'जय भोले'को कामका दौरान यस्तो कथा आएको छ, गर्दा राम्रो हुन्छ भन्ने भएपछि यो सिनेमा गर्ने तय भएको हो।
बुबाको एउटा इतिहास छ, कलाकार, निर्माता तथा निर्देशककका रूपमा। बाबुको यस्तो नाम छ भन्ने कहिले थाहा भयो आफूलाई?
-एकचोटी म र बुबा शिवपुरी हाइकिङ गर्न गएका थियौं। एक-डेढ वर्ष अगाडिको कुरा हो। हुन त त्यसअघि पनि बुबालाई मानिसहरूले चिन्छन भन्ने थाहा थियो तर नेपाली दर्शकहरूको मनमा कुन रूपमा हुनुहुन्छ भन्नचाँहि थाहा थिएन। अनि त्यो बेला ककनी जाने बाटोमा एउटा सेनाको चेकपोस्ट छ। हामी बाटो सोध्न गयौं। त्यो बेला ड्युटीमा रहेका सैनिक जवानले बुबालाई 'ए! तपाईं अशोक शर्मा होइन?' भनेर सोधे। उनले खै त आजकल फिल्म, पहिला त त्यत्रो काम गर्नुहुन्थ्यो भनेर प्रश्न गरे। त्यो बेलामा मैले बुबाको असली पहिचान बुझें।
यस्तोका बिच अभिनयमा आइरहँदा आफूले कस्तो दबाब वा डर महसुस गरिदैं छ?
- त्यो त एकदमै छ किनकी बुबाले जुन उचाइ बनाउनु भएको छ, त्यो धेरै नै अग्लो छ। जसरी आजसम्म सक्रिय हुनुहुन्छ, त्यो हिसाबले काम गर्न त एकदमै गार्हो छ। कतै दर्शकहरू निराश हुनुहुन्छ की भन्ने डर मनमा छ। डर पनि छ र गर्छु भन्ने पनि छ।
कस्तो-कस्तो डर?
-एउटा नयाँ अभिनेतालाई हुने जस्तै डर हो। त्यसमा खास डर भनेको दर्शकबाट अस्वीकृत भइन्छ कि भन्ने अर्कोतीर बुबाले जुन कमाउनुभएको छ, त्यसको सम्मान राख्न सकिन्न की भन्ने हो।
मलेसिया गएर सिनेमा पढियो। पढ्नचाँहि कलाकार बन्छु भनेर पढ्न गएको की मेकर?
-स्कूले जीवनमा म दिशाबिहिन थिए। उमेर त्यस्तै हो मनमा अनेक हुन्छन् तर खास यही भन्ने हुँदैन। कलेज गएपछिचाँहि नेपाल फर्केर सिनेमा बनाउँछु भन्ने थियो तर यहाँ आएपछि पर्दा र पढ्दाको फरक बुझें। त्यसपछि मैले हाललाई अभिनय गर्छु भनेर यता आएँ।
सिनेमा मेकिङको रूचि छोडिहाल्नुपर्ने के पर्यो त्यस्तो?
-एउटा निर्देशक बन्न चाहिने जीवनको अनुभव ममा छैन जस्तो लाग्यो। ममा सिनेमाको ज्ञानचाँहि छ तर त्यसलाई विश्लेषण गरेर सिनेमामा उतार्ने निकास आफूमा छैन। अहिले राम्रो-राम्रो निर्देशकसँग काम गरेर र आफूमा भएको ज्ञानलाई थप सिकौं भनेर हो।
विदेशी सिनेमाको दर्शक हुँदा र अहिले नेपाली सिनेमाको मेकर-अभिनेता हुँदा हामी अहिले कहाँनीर चुकिरहेका छौं?
-बितेका केहि वर्षमा जस्ता सिनेमा दर्शकहरूबाट रूचाइएको छ, त्यसलाई विश्लेषण गर्दा हामी कतै चुकिरहेका छौ जस्तो पनि लाग्दैन। तर समग्रमा हेर्दा हामीले कहिले पनि सिनेमालाई गम्भीरताका साथ लिएका छैनौं कि जस्तो लाग्छ। अधिकाशं सिनेमा हेर्दा त्यस्तै लाग्छ। आजसम्म पनि हामीले सिनेमालाई सामान्य ढंगमा बाहेक अरू गहन ढंगले हेरिनरहेको होकी भन्ने बुझाइ मेरो छ। सिनेमामा प्रयास र गम्भिरताको कमी छ। यसमा अझ धेरै काम गर्नुपर्छ भन्ने लाग्छ। त्योसँगै हामीले दर्शक मनोविज्ञान केकस्ता सिनेमा छन भनेर पढ्न नसकेको हो की? त्यस्तै विश्व सिनेमामा कस्ता सिनेमा बन्दैछन्? कसरी सोचिदैंछ भनेर नसोचेको हो जस्तो पनि लाग्छ।
आजको दिनमा दर्शकका लागि विविध सिनेमा रोज्ने प्रशस्त विकल्पहरू छन्। यसको दबाब नेपाली सिनेमामा छ। यस्तोमा नेपाली सिनेमाले के गर्नुपर्छ?
-हाम्रा दर्शकले हाम्रा सिनेमामा हामी नै खोज्छन् जस्तो लाग्छ। हाम्रो संस्कार, संस्कृति र समाजको प्रतिबिम्ब देखाउने हो भने त्यो रोजाइमा पर्छ जस्तो मलाई लाग्छ। किनकी बाहिरका कुरा त बाहिरका सिनेमामा हेरिहाल्छन्। अनि हामीले बाहिरका कुरा हाम्रा सिनेमा देखाउन खोज्दा हाम्रो स्तर क्षमताले त्यसलाई भेट्टाउन पनि सक्दैन। बने पनि त्यो राम्रो र स्वभाविक देखिन्न अनि त्यस्तो कुरा स्वीकार्य हुँदैनन् पनि। दर्शकहरूलाई हाम्रै कथा, घटना र पात्र मनपर्छ भन्ने मेरो बुझाइ छ। हाम्रो सिनेमाको परिचय यसैगरी बन्छ र हामी अघि बढ्छौ जस्तो लाग्छ।
आफू सिनेमामा लाग्नु अघि नेपाली सिनेमा कस्तो लाग्थ्यो?
- ह्या! के बनाएको होला जस्तो लाग्थ्यो। त्योबेला अरू देशका सिनेमासँग सिधा तुलना गर्थे तर नेपाली सिनेमाको यथार्थ त सतहमा अर्कै रहेछ। बुबालाई पनि मैले पहिला कति कुरा भन्थे तर उहाँ जवाफ फर्काउनुहुन्नथ्यो। मेरो कुरा सुनिरहनुहुन्थ्यो, चुपचाप। पछि बुझ्दैजाँदा यसलाई अर्कै दृष्टिकोणले हेर्नुपर्ने बुझें। हाम्रा यथार्थहरू अर्कै रहेछन्।
सिनेमा रिलिज पछि स्वभाविक प्रतिक्रियाहरू आउलान नै तर आफूलेचाँहि अभिनेताका रूपमा के के सुधार्नुपर्ने महसुस भएको छ?
- पहिलो सिनेमाको सबै कुरा नै सुधार्नुपर्ने देख्छु म। कति कुराहरू मैले बुझेकै थिएन, गरेपछि बुझें।