'दसैं कसैलाई दसैं हुन्छ कसैलाई दशा', कलाकार हरिवंश आचार्य यसै भन्छन्।
दसैंको अर्थशास्त्र र नेपाली समाजको अर्थशास्त्रमा बेमेल भएको उनको बुझाइ छ।
उनले यो प्रसंग आफू र मदनकृष्ण श्रेष्ठले मिलेर करिब २८ वर्ष अगाडि बनाएको 'दसैं' टेलिश्रृंखलाको चर्चा गर्दा सुनाएका हुन्।
मदन र हरि दुवैलाई आज पनि नेपाली समाजको दसैं त्यसै टेलिश्रृंखलाको वरिपरि घुमेको छ जस्तो लाग्छ। यसका पात्र र परिवेशमा आंशिक परिवर्तन भए आज पनि नेपाली समाज हेर्दा उनीहरू खास तात्विक अन्तर देख्दैनन्।
दसैं आफ्नै लयमा चलिरहँदा मह जोडीले आफूहरूले बनाएको सो टेलिश्रृंखला आज पनि दर्शकको स्मृतिमा भइराखेको पाउँदा पुलकित छन्। यसको चर्चा गरिरहँदा उनीहरूको मुहारमा त्यसको खुसी स्पष्ट देख्न सकिन्थ्यो।
खुसी नहुनु पनि किन?
पहिले पहिले दसैंका बेलामा नेपाल टेलिभिजनले प्रत्येक वर्ष झैं प्रसारण गर्ने यो श्रृंखला आज पनि दर्शकमाझ उत्तिकै चर्चित र प्रिय छ। अब यो सिरियल हेर्न दसैं र नेपाल टेलिभिजनको पर्दा कुर्नुपर्दैन, मन लागेको बेलामा युट्यूबमा सहजै हेर्न सकिन्छ।
करिब ३ वर्ष पहिले उनीहरूले आफ्नो महसंचारको आधिकारिक यूट्यूब च्यानलबाट सार्वजनिक गरेयता यो सिरियलले २२ लाखभन्दा बढी भ्यूज पाइसकेको छ र अझै बढ्ने क्रम जारी छ।
भिडियो मुनितिर यसले राम्रो प्रतिक्रिया पाउने गरेको छ। धेरैले दसैंको सम्झना यसले ताजा गराउने आशयका प्रतिक्रियाहरू जनाइएका छन्।
त्यसमा जनक पाण्डे नाम गरेका टिप्पणीकर्ताले 'वर्षैपिच्छे यो दसैं हेर्छु, हरेक साल रुवाउँछ यार' लेखेका छन्। यसबाट पनि यो सिरियल नेपाली दर्शकको माझमा कति प्रिय छ भन्ने जनाउँछ।
त्यसैले यसलाई एउटा 'क्लासिक' भन्दा बढी प्रशंसा नहोला।
मह जोडीले यो सिरियल भर्खरै नेपाल टेलिभिजन आफ्ना सुरूआती वर्षहरूमा रहँदा बनाएका थिए।
कहिले बनाइयो, हरिवंशले ठ्याक्कै साल सम्झन सकेनन्।
'४७-४८ साल तिर होला। यो हाम्रो तेश्रो सिरियल हो। यसअघि हामीले 'फिप्टी फिप्टी', '१५ गते' बनाइसकेका थियौं', उनले भने।
उनीहरूले यो सिरियल नेपाल टेलिभिजनले दसैं आउन लागेपछि 'दसैंका लागि केही बनाइदिनुपर्यो' भनेपछि बनाएका थिए।
टेलिभिजनको प्रस्ताव उनीहरूले माने। भलै, त्यति बेला नेपाल टेलिभिजनका लागि सिरियल बनाउनु आर्थिक हिसाबले खासै फाइदाजनक थिएन। किनकि, त्यो बेला नेपाल टेलिभिजनले प्रति भागको २० हजार रूपैयाँ दिन्थ्यो।
त्योसँगै उसले क्यामरा लगायतका प्रविधिक उपकरण उपलब्ध गराए पनि पैसा बच्थेन। अघिल्लो पटक बनाएका सिरियलमा उनीहरूलाई यस्तै हजार-बाह्र सय घाटा भएको थियो। तै पनि उनीहरूले सिरियल बनाउँथे, त्यसपटक पनि बनाउने भए।
खास नाफाको काम नभए पनि सिरियल बनाउनुको कारण यस्तो थियो।
'नेपाल टेलिभिजनको सुरूवातको समय थियो। मानिसहरूले हाम्रो प्रहसन क्यासेटका कारण हाम्रो अनुहारभन्दा पनि हाम्रो आवाजलाई चिन्थे, अनुहार चिन्दैनथे', हरिवंशले सम्झना गरे, 'एकदिन कामना पत्रिकामा हाम्रो ब्लोअप फोटो आयो तर मदन दाइको ठाउँमा मेरो र मेरो ठाँउमा मदन दाइको नाम छापिएछ। त्यसपछि धेरै मान्छेले म हिँड्दा उ मदनकृष्ण गयो भन्थे अनि मदन दाइ जाँदा हरिवंश गयो भन्थे।'
उनीहरूलाई मानिसमाझ आवाजसँगै आफ्नो अनुहार पनि परिचित होस् भन्ने चाहना थियो।
नेपाल टेलिभिजनको आग्रहपछि उनीहरूलाई 'दसैं' बनाउन खासै समय लागेन।
३-४ दिनमा पञ्चायतकालीन हाकिम र पियनको सेरोफेरोमा कथा तयार भयो भने सुटिङ पनि त्यही ४-५ दिनमा सकियो।
टेलिश्रृंखलामा हाकिम बने मदनकृष्ण र 'भैरे' नामक पियन बने हरिवंश। कलाकार किरण केसीको इमाडोलस्थित घरमा सिरियलको ज्यादातर सुटिङ भयो। सिरियलमा सुशीला रायमाझी मदनकी पत्नी बनिन् भने सावित्री खड्का हरिवंशकी पत्नी।
३-४ दिनमै कथा कसरी तयार भयो त?
'त्यही हो दसैं कसैलाई दसैं हुन्छ कसैलाई दशा। निम्न वर्गलाई दसैं आउँदा एक किसिमको टेन्सन हुन्छ, धनीलाई उत्साह उमंग, नहुनुलाई नआए जस्तो पनि लाग्छ। त्यो मनोविज्ञान अहिले पनि छ देशमा। दुवै वर्गलाई समेट्यौं। हुने वर्गले कसरी मनाउँछ, कसरी पैसा कमाउँछ, नहुनेलाई कस्तो हुन्छ, बच्चाहरूको मनोविज्ञान त्यो बेला कस्तो हुन्छ,' हरिवंशले भने।
'स्क्रिप्ट लेख्दाखेरी नै हाकिम र पियनको कथा बनायौं। भर्खर पञ्चायत सकिएको समय, हाकिमहरूमा पञ्चायत कै ह्याङ', हरिवंशको कुरामा मदनले थपे।
यसमा उनीहरू कति आफैंले भोगेका त कति देखेका दसैं र तिनको मनोविज्ञान मिलाएर बनाए।
गरिबीले पिल्सिएको एउटा लाचार बाबु, पति र गरिबीकै कारण ससुरालीमा अपमानित ज्वाइँ, छोराको खुसीका लागि बोको चोर्न विवश बाबुको कथामा राम्रो सिरियल तयार भयो । यसका सबै पात्र हाम्रै समाज वरिपरिका पात्र हुन् भन्ने भान यसले पार्छ। जसले गर्दा हेर्नेबित्तिकै यो दर्शकसँग जोडिइहाल्छ।
दसैंमा भैरेको दुखान्त कथालाई विस्तारै विस्तारै उसका भोगाइ र परिस्थितिमा उनेर हसाउँदै एउटा दुखद् अन्त्यमा लगेर टुंग्याइएको छ। जसको अन्त्यले धेरैको हाँसिरहेको मन एक्कासि खिन्न बनाइदिन्छ।
सिरियल प्रसारण भयो।
सिरियल सकिने बित्तिकै डाक्टर सुन्दरमणि दीक्षितले उनीहरूलाई फोन गरे र मार झपारे।
'के दसैं बनाएको यस्तो? त्यस्तो फिल्म पनि बनाउन हुन्छ, मनै खिन्न भो,' फोनमा सुन्दरमणि जंगिए, 'नरमाइलो भो त्यो हेरेर। राम्रो त राम्रो तर इन्डिङ मनपरेन मलाई।'
सिरियल प्रसारणपछि सुन्दरमणि मात्र होइन अन्यले पनि त्यस्तै प्रतिक्रिया दिए। 'दसैं'को अन्त्यले धेरैलाई रूवाएको बताएका थिए।
'दसैंमा मदन दाइको क्यारेक्टरले मलाई निकालेपछि पोकोपन्तरो बोकेर निस्कँदै गर्दा छोराले 'बा! दसैं भनेको यही हो भनेर सोध्छ। त्यो कुराले धेरै मान्छे रोए, त्यो बेलामा।'
हरिवंश यो कथालाई डार्क ह्यूमरको रूपमा व्याख्या गर्छन्।
'त्यो डार्क ह्यूमर हो। मान्छे हाँसी पनि रहेको हुन्छ र साथमा मानिसलाई रूवाइ रहेको पनि हुन्छ,' हरिवंशले भने।
त्यसपछि हरेकपल्ट दसैंमा नेपाल टेलिभिजनले यसलाई प्रसारण गर्यो। यो सिरियल प्रसारण नभएको कुनै दसैं भएन।
मह जोडीलाई आफ्नो सिरियल आज पनि चर्चित हुनुमा त्यसले टपक्कै टिपेको तात्कालिन नेपाली समाज, कथा र कलाकारको अभिनयलाई ठान्छन्।
चाहे त्यो हाकिम-पियन बनेका मदन र हरि हुन् या हाकिम र पियनका पत्नी बनेका सुशीला रायमाझी तथा सावित्री खड्का हुन्, सबैले स्वभाविक अभिनय गरेका छन्।
यस्तै भान्जा पत्रका बनेका किरण केसी तथा बाल कलाकार सुप्रित थुलुङले पनि दर्शकको मन जित्ने अभिनय गरेका छन्।
त्यस्तै सिनेमाका पात्र अनुसारका संवाद पनि दमदार छन्। चोटिल पनि, मार्मिक पनि।
आजको समयमा हुँदो हो त यो कुनै सिनेमाको लागि गतिलो स्क्रिप्ट हुन्थ्यो, एकदमै अर्गानिक।
मह जोडीलाई आज यस्ता कथामा सिनेमा बन्ने स्पष्ट ज्ञान भइसके पनि त्यो बेलामा उनीहरूको मनमा कहीँकतै यसको कुनै मेसो थिएन।
'त्यो बेलामा नेपालमा सिनेमा निकै कम बन्थे। सिनेमाको परिभाषामा यस्ता कथा कहाँ अटाउँथे र? हामीलाई यस्ता कथामा सिनेमा बन्छ भन्ने पनि थाहा थिएन। अन्तराष्ट्रिय सिनेमाको ज्ञान र पहुँच हामीमा थिएन। 'दसैं', 'लाल पूर्जा', '१५ गते' जस्ता कथा कहाँ सिनेमाको कोटीमा पर्नु। त्यो त सानो पर्दाको चलचित्र भन्थे। त्यो बेलामा सिनेमा भनेकै चार वटा गीत, २ वटा फाइट भएको भन्ने सोच थियो। हामीले जस्तो बनाउनेलाई त यिनीहरू कलाकारै होइन जस्तो गरिन्थ्यो,' हरिवंशले भने।
त्यसो त यस सिरियलसँग मह जोडीका केही स्मरणीय प्रसंगहरू पनि छन्।
रङ लगाउने बोका बिरामी पर्योः मदनकृष्ण
कमल पोखरीनिरको मासु पसलबाट बोका मागेर भाडामा ल्यायौं, सय रूपैयाँ जस्तो पर्यो होला। बोका सुटिङमा ल्याउँदासम्म ठिकै थियो। पछि पानीले नुहाइदिएपछि बोकाले स्वाँस्वाँ गर्दै सिँगान चुहाउन थाल्यो। बोकालाई रूघा लाग्यो, मर्ला भन्ने पीर। पसलेले पछि हामीलाई गाली गर्यो। तपाईले रङ लाइदिएर छाला कालो भएर मासु बेच्न गार्हो भयो भनेर गाली खाइयो। त्यस्तै हरेक दसैंमा मलाई सुशीला रायमाझीको सम्झना हुन्छ। पत्नीको भूमिकामा उनले एकदमै स्वभाविक अभिनय गरेकी छन्।
मीराको असाध्यै याद दिलाउँछः हरि
त्यो बेलाको एउटा घटना अझै सम्झिन्छु म। कुमारीको मन्दिरमा भैरेले बोका माग्न जान्छ। त्यो बेलामा कुमारी पनि मै बनेको छु। अहिले सम्झँदा भावुक हुन्छु। त्यसमा मैले बोलेको नारी संवादको आवाज मेरी पत्नी स्व. मीरा आचार्यको हो। त्यो स्वर आउँदा आज पनि मेरो आँशु चुहिन्छ।
कमलपोखरीमा चारबुर्जा भन्ने ठाउँ छ, त्यहाँ मैले बसेर अभिनय गरेँ। त्यो गर्दा मेरो ढाड देवीपट्टी फर्किएको छ। देउतालाई ढाड फर्काउनुपर्यो भनेर मलाई नरमाइलो लागि रहेको थियो। त्यो बेलामा मैले घडी पनि हेरेको थिएँ। सुटिङ सकेर घर गएँ, घर जान्छु त जेठो छोरा त्रिलोक त टाँका लगाएर बसिरहेको रहेछ। भएको के रहेछ भने, ममी झ्यालको सिसा पुछ्दै रैछिन्, ऊ पनि पुछ्न भनेर झ्याल उक्लिने हुँदा खसेछ। छिमेकमा गाई पालिएको थियो, गोठको छानो जस्ताको थियो। त्यही जस्ताको छानामा खसेकाले ठूलो चोट लाग्नबाट बचेको रहेछ। अनि मलाई सुटिङ गर्दाको समय याद आयो, छोरा पनि सोही समयमा खसेको रहेछ। अनि भोलिपल्ट गएर मैले कुमारीसँग ढोगेर क्षमा मागेँ।
दसैंमा हुने र नहुनेको दसैं भोगाइ देखाएका मदन र हरिवंश स्वयंलाई भने बाल्यकालीन दसैं जत्तिको रमाइलो कुनै दसैं छैनन्। उनीहरूले आफ्ना रमाइलो दसैंको सम्झना यसरी गरे।
'दिल खोलेर मनाएको दसैं त बच्चा बेलामै हो। नयाँ लुगा लगाएर हिँड्दा सबैले देखे नि हुन्थ्यो भनेर टीकाको दिन घरघरमा गइन्थ्यो। अहिलेचाहीँ आफ्नो परम्परा हो निरन्तरता दिनुपर्छ लाग्छ। यो काटमार गरेको पनि मनपर्दैन,' हरिले भने, 'खसीबोका कराएको सुन्न मन लाग्दैन, त्यो बेला खुब सुन्न मनलाग्थ्यो। भोलि काट्ने खसीबोका आज आफैं चराउन गइन्थ्यो। दसैंको दक्षिणाले सपनाहरू बुनिन्थ्यो, यो गर्छु त्यो गर्छु भनेर तर कहिलेकाहीँ जम्मा भएको दक्षिणाले सपना पूरा हुँदैनथ्यो। खोपी, लंगुरबुर्जा खेल्न बिहानैदेखि दौडिइन्थ्यो।'
हरिलाई जस्तै मदनलाई पनि आफू सानो छँदाकै दसैं रमाइलो। 'बाआमा, हजुरबा-हजुरआमा हुँदाको दसैंको स्वादै बेग्लै,' मदन भन्छन्।
'हजुरबुबाले एक-डेढ घण्टा लगाएर पूजा गर्नुहुन्थ्यो, त्यसक्रममा ८ पटक डमरू बजाउनुहुन्थ्यो। पूजा नसकी टीका लगाउन नहुने, खान नहुने। त्यसपछि हामी भोकै कहिले डमरू बजाएको ८ पटक पुग्ला र टीका लगाएर खाउँला भनेर कुरेर बस्थ्यौं,' उनले भने, 'लुगा छेकेर तयार गरिन्थ्यो। सिलाउनेले सक्यो कि भनेर बुझ्न गयो, भर्खर काटेको हुन्थ्यो, फेरि सक्यो कि भनेर गयो टाँक हाल्न बाँकी हुन्थ्यो। त्यो सबै सकेपछि फेरि गयो, आइरन लगाउन बाँकी हुन्थ्यो। त्यसरी लगाएको लुगाको स्वाद नै बेग्लै।'