दीपेन्द्र लामाको परिचय कडा सिनेमा समीक्षक हो। सिनेमाको इमान्दार समीक्षा गरेकै कारण उनलाई धम्की आयो। कतिले जागिर खाने धम्की दिए त कतिले अफिसमै आएर ठीक पार्छुसम्म भने। धम्कीले उनलाई विचलित पारेन, उनले नेपाली सिनेमाको तिखो समीक्षा गरिरहे।
फर्केर हेर्दा लामालाई कतिपय सिनेमाका लागि आफू चाहिने भन्दा कडा आलोचक भएको र कति सिनेमा प्रशंसा केही बढी गरेजस्तो लाग्छ। उनी भन्छन्- ०५७-५८ सालभन्दा अहिले म परिपक्व भएको छु। अहिलेको परिपक्वताले त्यो बेला समीक्षा गरेको भए त्यो बेलामा केही सिनेमालाई बढी प्रशंसा र केही सिनेमालाई अति आलोचना गर्दैनथें होला।
पछिल्लो केही वर्षयता सिनेमा निर्देशकका रूपमा नयाँ परिचय थपिएको छ। अन्तर समुदायको प्रेमकथा 'घामपानी'बाट निर्देशनमा डेब्यू गरेका लामाले दोश्रो सिनेमा 'गोपी'मा नेपाली दुग्ध किसानको पीडा उठाए। उनको यो यात्रा तेश्रो सिनेमा 'छ माया छपक्कै'सम्म आइपुगेको छ।
यसपटक उनले दीपकराज गिरी तथा दीपाश्री निरौलाको समूहसँग जुगलबन्दी गरेका छन्। शुक्रबारबाट सिनेमा सार्वजनिक प्रदर्शनमा आइसकेको छ। सिनेमा रिलिजको पूर्वसन्ध्यामा लामाले नेपाली ‘छ माया छपक्कै’ले समाजमा हुने सिनेमालाई उठाएकाले दर्शकले मन पराउने आशा व्यक्त गरे। यसै सन्दर्भमा सेतोपाटीका लागि अशेष अधिकारीसँग लामा यस्तो सुनिएका थिए।
समीक्षक हुन ठीक रहेछ कि सिनेमा बनाउन?
-अहिले त सिनेमा बनाउनै ठीक लागिरहेको छ किनभने सिनेमा बनाएपछि अझ फराकिलो ठाउँसम्म पुग्न पाइने रहेछ।
समीक्षक बनेर अरूका सिनेमालाई आलोचना गरेको समय र अहिले आफैं सिनेमा बनाउने हुँदा त्यो बेला अलि निर्मम भए छु जस्तो लाग्छ कि लाग्दैन?
-कतिपय अवस्थामा म त्यो बेलामा चुकेको पनि थिएँ होला। मान्छेमा फरक-फरक समयमा फरक-फरक महशुस हुनु राम्रो हो। कहिलेकाहीँ हुन्छ। जस्तो ०५७-५८ साल भन्दा अहिले म अझ परिपक्व भएको छु। अहिलेको परिपक्वताले त्यो बेला समीक्षा गरेको भए त्यो बेलामा केही सिनेमालाई बढी प्रशंसा र केहीलाई अति आलोचना गर्दैनथें होला। आफूलाई सुधार्नुपर्छ।
तीन वटा सिनेमा भइसके। तेश्रो सिनेमामा आइपुग्दा तपाईंलाई आफ्नो निर्देशनको स्तर के हो जस्तो लाग्छ?
-अलि घमण्ड गर्याजस्तो हुन्छ तर नेपालमा राम्रो सिनेमा जो निर्देशकहरूले अहिले बनाइरहेका छन् त्यसमा यदि मैले राम्रो सुविधा र वातावरण पाएँ भने सट लिस्टेड डाइरेक्टरभित्र पर्न सक्ने निर्देशक ठान्छु। यसको मतलब १ नम्बर, २ नम्बर वा ३ नम्बर नै भन्नेचाहिँ होइन। यो मैले म एकदमै प्रतिभाशाली भएर भनेको होइन। यहाँ रहेका कम जान्ने र कमजोर निर्देशकहरूमा पनि कम कमजोर निर्देशकका रूपमा भनेको हो। नेपालका सबै निर्देशक कमजोर नै छन्। यसमा पर्ने कम कमजोर निर्देशकमा म पर्छु होला।
सिनेमा बनाइरहँदा नेपाली निर्देशकहरू के दबाबमा हुन्छन्?
-पहिलो दबाब त लगानी उठाउने हुन्छ। यसका लागि कलाकार को लिने, गीत-संगीत कसको लिने?, रिलिज मिति कहिले गर्ने? जस्ता कुरामा ध्यान धेरै दिनु पर्नेछ। यसले गर्दा सिनेमा राम्रो कसरी बनाउनेभन्दा पनि कसरी चलाउने र कमाउने बनाउने धेरै दबाब हुँदो रहेछ।
निर्देशकका रूपमा सिनेमा बनाउँदा आफूले बनाउने सिनेमामात्र देखिन्छ कि त्यसले ल्याउने सम्भावित बजार पनि देखिन्छ?
-सिनेमा बनाउँदा निर्देशकले दिमागमा सुरूमै बजार त राख्न नहुने हो तर हाम्रो विडम्बना के छ भने पहिला रिलिज मिति घोडणा गरेर फ्लोरमा जाने परिपाटी छ। त्यस्तै आफ्नो मितिमा अर्को कुन सिनेमा आउँछ, त्योभन्दा अगाडि कसरी जाने, कसरी उछिन्ने हुने हुँदा त्यसले व्यवसायिक पाटोमा नै निर्देशक जाँदैछ। यो राम्रो कुरा होइन।
सिनेमामा एक खालको सफलता बटुलेकाहरूसँग काम गर्न गाह्रो सजिलो के हुँदो रहेछ?
-धेरै गाह्रो हुन्छ। हुन त सहकार्य भनेकै दुईवटा फरक सिद्धान्तबीच नै हुने हो। अब त्यसमा दिपक-दीपा र दीपेन्द्र यी दुई विपरित ध्रुवका मानिसहरू कसरी काम गर्लान् र भने अडकलबाजी गर्थे तर काम गर्दै जाँदा धेरै कुरा नमिले पनि सिनेमालाई कसरी मौलिक बनाउने, अभिनयलाई कसरी एकदमै स्वभाविक बनाउने र कतै हिन्दी सिनेमा वा अरू कुनै सिनेमामा आइसकेको जस्तै सिन आयो भने त्यस्तो सिन नखिच्ने भन्ने कुरामा हाम्रो कुरा मिलेको थियो। त्यस्तै छायांकन गर्दा सामान्य रूपमा क्यामराको प्रयोग गर्ने कुरा पनि मिल्यो। तर यति हुँदाहुँदै पनि कतिपय कुरामा लचकता अपनाउनुपर्ने अवस्था आयो। जस्तै दीपाश्री निरौला निर्देशन सल्लाहकारका रूपमा जोडिन आएको, त्यस्तै दिपकराज गिरी सेटमा एक्टिङ कोचजस्तो पनि हुनुहुन्थ्यो। यस्तै माग्ने बुढा(केदार घिमिरे), मुन्द्रे(जितु नेपाल)ले सेटमा आफ्नो मात्र नभई अरूको पनि संवाद इम्प्रोभाइज गर्थे। यी हिसाबले धेरैको धेरै कुरा आउँदा त्यहाँ विवाद हुनसक्ने आवस्था आउनसक्थ्यो तर मचाहिँ विवाद गर्ने भन्दा पनि अलि नरम भएर कसको सल्लाह मान्दा राम्रो नतिजा आउँछ भन्नेमा गएकाले त्यस्तो गाह्रो भएन।
यसरी लचक हुँदा निर्देशकको माध्यमका रूपमा हेरिने सिनेमालाई असर गर्दैन?
-सिनेमा भनेको टिमवर्क नै हो। सिनेमामा क्यामराको, सम्पादन, लेखन, निर्देशन सबैको टिम हुन्छ। जस्तो मेरो निर्देशन टोलीमा ३-४ जना हुन्थे, यसमा ६ जनाको टिम थियो। त्यसमा एकजना दीपाश्री पनि हो र म त्यसको लिडर हो। अनि निर्देशन गर्ने क्रममा यो कुरा यसरी गरौं भन्दा त्यहाँ दोश्रो मात्र होइन टिमको तेश्रो मान्छे पनि बोल्न सक्छ, चौथो नम्बरले पनि दिन सक्छ। यस्तोमा सुझाव सबैको सुन्ने हो तर कुनचाहिँ उत्कृष्ट भनेर छान्ने त निर्देशकले हो।
सिनेमाको घोषणादेखि नै दीपाश्रीलाई निर्देशन सल्लाहकार राख्नुको तुक के हो भनेर धेरैको जिज्ञासा थियो। यो सिनेमामा निर्माण भइसकेको प्रक्रिया थियो या तपाईंमाथि ढुक्क हुन नसकेको अवस्था?
यस्तो छ, अस्ति भर्खर रिलिज भएको 'मिशन मंगल' भन्ने सिनेमामा 'चिनी कम', 'पा' जस्ता सिनेमा बनाइसकेका निर्देशक आर बाल्की क्रिएटिभ निर्देशक थिए। अब यसमा निर्देशक स्वयं क्रिएटिभ हुनुपर्ने हो नि। किन राख्यो? यसमा पनि सल्लाहकार राख्नु नराम्रो होइन। दीपाश्री निरौला अब सहायक निर्देशक राखेर भएन। मलाई विश्वास नगरेको भन्ने मलाई लागेन। उहाँ हुँदा मलाई राम्रै भयो। म निर्देशनमा अनुबन्धित हुनु अगावै दीपकराज गिरीको मलाई हामी काम गर्दा टिममा सल्लाह गरेर गर्छौं र त्यो कुनै पनि विषयमा कुनै पनि व्यक्तिले आफूलाई लागेको भन्न सक्छ, त्यसलाई हस्तक्षेप मान्न पाइँदैन भन्ने सर्त थियो। यो सर्त मञ्जुर छ भने गरौं नत्र नगरौं नै भनिएको थियो। मैले त्यो सर्त मानेर गरेको हो। जस्तो काम गर्दा उहाँहरूले गरेको कुरामा पनि मैले फ्याट्ट बोल्ने गरेको छु, त्यसलाई पनि उहाँहरू हस्तक्षेप मान्नुभएन। वास्तवमा यसलाई 'टिम स्प्रिट' मान्नुपर्छ।
अब अहिले एउटा समीक्षक तथा निर्देशक दुबै हिसाबले सोच्दा हाम्रो नेपाली सिनेमा सही दिशामा छ?
-अहिले निर्देशक, लेखकहरूले गर्नुपर्ने जति मेहनत गरिरहेका छैनन्। त्यस्तै निर्माताहरूलाई सिनेमा निर्माण स्पष्ट ज्ञान छैन। बिना ज्ञान लगानी गरिरहेका छन्। उनीहरूलाई खाली नेपालमा कतिवटा हल छ? कति जना डिष्ट्रिब्यूटर छन्, कुन हल कुन डिष्ट्रिब्यूटरको पकडमा छ? कति पैसा आउँछ। यिनै कुराहरूको मात्र ज्ञान छ। तर उनीहरूलाई कुन निर्देशक कति राम्रो, त्यसले बनाउने सिनेमा किन राम्रो-नराम्रो हुन्छ भन्ने ज्ञानै छैन। कुन कलाकारको अभिनय राम्रो-नराम्रो भन्ने बारेमा केही थाहा छैन। अनि निर्देशकहरू अहिले सिर्जनात्मकता भन्दा पनि पैसाको पछाडि लागिरहेका छन्। नाम चलेका निर्देशकहरूको ध्यान पारिश्रमिक बढाएर कमाउनेमा छ। समय लिएर राम्रो सिनेमा बनाउनेभन्दा पनि ६ महिना, ९ महिनामा एउटा सिनेमा बनाइसकेर कसरी धेरै कमाउने भन्नेमा केन्द्रित छन। यो कुरा उद्योगका लागि घातक छ।
एउटा समयमा हामीले यी निर्देशकहरूले नेपाली सिनेमालाई पूरै परिवर्तन गर्छन् भने धेरै नै आशा राख्यौं तर आजको दिनमा आउँदा पहिलो सिनेमाबाट उनीहरूको स्तर बढेको देखिएन, किन?
-आशा गर्नु नराम्रो थिएन। उनीहरूले गर्दा सिनेमामा अलिकति परिवर्तन आएको हो। उनीहरू परिवर्तन हुँदै जानुपर्नेमा यथास्थितिमै बसे। पाँच वर्ष अगाडिजस्तो सिनेमा बनाउँथे आज पनि त्यस्तै सिनेमा बनाइरहेका छन्। उनीहरूले अध्ययन नगर्नाले यस्तो भएको मेरो बुझाइ छ। अर्को कुरा दुरदर्शीता नभएको होला। उनीहरूले मेहनत नगर्दै पैसा कमाइरहेका छन् भने किन मेहनत गर्छन। अब भोलिको दिनमा आफूलाई अनुभूत भएर परिवर्तन भए बेग्ले कुरा। त्यसो त आज चलेको निर्देशक भोलि अर्को परिस्थित आउदा फेजआउट हुनसक्छन्। जस्तो मैले पनि ३ वटा सिनेमा गरिसकें, मलाई पनि १० वटा सिनेमा गर्न सक्छु कि सक्दिनँ भन्ने डर छ। अब नेपाली सिनेमा एउटा अर्को परिवर्तनकारी निर्देशक आउनुपर्छ।