अरू बलिराजाको आदेशमा देउसी-भैलो खेल्छन्, उनीहरू भने देश चलाउने सरकार र कर्मचारीतन्त्रका बेमुनासिब गतिविधिमाथि व्यंग्य कस्न।
हामी कुरा गर्दैछौं, सिस्नुपानीको, जसले देउसी-भैलो खेलेर सरकार र प्रशासनलाई खबरदारी गर्न लागेको २१ वर्ष भयो। हास्यव्यंग्य साहित्यलाई उचाइ दिन २०५५ वैशाख १९ गते सिस्नुपानी स्थापना भएको हो।
'हास्यव्यंग्यमा कलम चलाउने साथीहरूको स्तर उठाउँ र प्रतिभा तिखारौं भनेर हामीले यसको सुरूआत गरेका हौं,' संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागेले सेतोपाटीसँग भने।
उनका अनुसार यो संस्था सुरू गर्ने मियो हुन्, व्यंग्यकवि अर्जुन पराजुली। उनैले हौस्याएपछि देवी घिमिरे, थरेन्द्र बराल, टंक आचार्य र माणिकरत्न शाक्य यसमा मिसिए। त्यसपछि नरनाथ लुइँटेल, चट्याङ मास्टर, हरिकला उप्रेती, गोविन्दबाबु तिवारी, मनोज गजुरेल र धिरेन्द्र प्रेमर्षी पनि थपिए।
सुरूमा सबै जोशिला थिए, महिनाको दुइटासम्म कार्यक्रम गरे। त्यसैबीच तिहार आयो। तिहारमा जुनसुकै संघ-संघठन आर्थिक रूपले बलियो हुन देउसी-भैलो खेल्ने गर्थे। सिस्नुपानीले पनि यो अवसर छोप्यो, जसले संस्थालाई आर्थिक रूपमा केही बलियो बनाएको गाम्नागे बताउँछन्।
उनीहरूले पहिलो वर्ष नै परम्परागत शैलीमा देउसी नखेली संस्थाको प्रकृतिअनुसार हास्यव्यंग्य घुसाउने निर्णय गरेका थिए। सिस्नुपानीको देउसी आजसम्म यही मन्त्रमा अडेको छ।
मुख्यतया व्यंग्यको तारो राजनीति नै हुन्छ। किनभने मुलुकलाई घुमाउने मियो राजनीति हो। यसबाहेक सामाजिक, सांस्कृतिक, पारिवारिक लगायत विषय पनि समेटिने उनले बताए।
यसपालि सिस्नुपानीले प्रज्ञाप्रतिष्ठानको मूल प्रेक्षालयमा २१औं देउसी खेल्दैछ। बितेका केही वर्षयता उनीहरूले प्रज्ञा प्रतिष्ठानलाई देउसी खेल्ने थलो बनाएपछि सहभागिता बढेको थियो। प्रमुख कार्यकारीसहित विभिन्न उच्च ओहोदाका व्यक्तिहरू कार्यक्रम हेर्न आउँछन्। जसका बारेमा व्यंग्य गरिएको हो, उनीहरूलाई नै लश्करै अगाडि राखेर सुनाउन पाउँदा सन्तुष्टि हुने गाम्नागेले बताए।
'सुनाउनुपर्ने मान्छेलाई प्रत्यक्ष अगाडि राखेर व्यंग्य गर्दा त्यसको प्रभाव बढी हुन्छ भन्ने लाग्छ। आफ्नै बारेमा गरिएको व्यंग्य सुनेर जब उहाँहरू हाँस्नुहुन्छ, हामी आफ्नो मिहिनेत सफल भयो भन्ठान्छौं,' उनले भने।
यो कार्यक्रम गर्न उनीहरू सामान्यतया तिहार आउनुभन्दा तीन महिनाअघिदेखि तयारी सुरू गर्छन्। 'पछिल्लो एक महिना त खुब घुँडाधसाइ हुन्छ,' उनले भने, 'यसपालिको कार्यक्रमलाई अन्तिम रूप दिन ठ्याक्कै दुई दिन दुई रात लाग्यो। देउसी तयार पार्न त सजिलो हुन्छ, तर त्यसका लागि चोटिलो विषय खोज्न मुश्किल।'
'मुलुकको परिस्थितिले हामीलाई प्रभाव पार्छ। वर्षभरिमा केही विशेष घटना भए भने हामीलाई सजिलो पर्छ। सरकार, नेता र कर्मचारीहरूले गर्नुपर्नेभन्दा नगर्नुपर्ने काम गरे भने हामीलाई विषयवस्तु पाउन सजिलो हुन्छ,' उनले भने।
देउसी तयार गर्दा प्रस्तुतिको सन्तुलन महत्वपूर्ण हुन्छ। कसैप्रति पूर्वाग्रह नराखी तटस्थ भएर गरिएको हास्यव्यंग्यले नै सबैको मन जित्ने उनले बताए।
यही सन्तुलनका कारण पनि हुनसक्छ, सिस्नुपानीका कलाकारले नेताहरूबाट खासै नकारात्मक टिप्पणी सुनेका छैनन्। कहिलेकाहीँ भने 'अलिकति बढाइचढाइँ गर्नुभएछ नि' भन्ने प्रतिक्रिया आउँछ। व्यंग्य सुनेर हौसिएका नेताहरू पनि कार्यक्रमपछि आफ्नो सम्बोधनमा हँसीमजाक गर्न पछि पर्दैनन्।
केही वर्षयता सिस्नुपानीले अन्य संस्थाहरूसँग मिलेर पनि कार्यक्रम गर्न थालेको छ। वैदेशिक रोजगारीमा जानेहरूका लागि 'दुई थोपा हाँसो' यसैको उदाहरण हो। यस वर्ष कुसे औंशी बेला बाबुहरूप्रति समर्पित 'बा' कार्यक्रम पनि गरे।
करिब सय जना आजीवन सदस्य रहेको यो संस्थाको व्यंग्यात्मक देउसी कार्यक्रमको सिलसिला कहिलेसम्म रहला त?
यसबारेमा अध्यक्ष गाम्नागे पनि निश्चित भन्न सक्दैनन्।
'हामी भइञ्जेल त यसलाई जसरी पनि धान्ने प्रयास गर्छौं। नयाँ पुस्ता पनि यसमा आओस् भन्ने हाम्रो चाहना छ,' उनले भने, 'रूचि भएका नयाँ पुस्ताका साथीहरूलाई यो क्षेत्रमा तान्ने प्रयास गरिराखेका छौ। जहिलेसम्म सक्छौं, काम गरिरहन्छौं।'