अन्तर्वार्ता
सञ्जीव उप्रेती आख्यान र गैरआख्यान दुवै लेख्छन्। अमेरिकाको ब्राउन विश्वविद्यालयबाट विद्यावारिधि गरेका उनले २५ वर्ष त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी पढाए।
'सिद्धान्तका कुरा' (गैरआख्यान), 'मकैको अर्को खेती' (नाटक) र 'घनचक्कर' (उपन्यास) उनका कृति हुन्। आधुनिकता, राजनीति र सामाजिक न्यायबारे लेख्दै आएका उनले केही नाटकमा अभिनय पनि गरेका छन्।
'घनचक्कर'को १२ वर्षपछि उनको दोस्रो उपन्यास 'हंस' सार्वजनिक भएको छ। हंसबारे उप्रेतीसँग सेतोपाटीका प्रभाकर गौतमले गरेको कुराकानीको सम्पादित अंश–
हंसको कथा कहिले र कसरी जन्मियो?
मलाई एकै ठाउँ बसेर काम गर्न दिक्क लाग्छ। घनचक्कर पुनर्लेखन क्रममा टौदह गइरहन्थेँ। त्यहाँ दुई प्रकारका हाँस देखेँ। एउटा उड्न नसक्ने, रैथाने। अर्को उड्ने खालका, विदेशी हाँस। दुई फरक हाँस देखेपछि मेरो दिमागमा हंसको प्लट आएको हो।
हंस हाँस र प्रकृति केन्द्रित छ। यो विषय तपाईंको बाल्यकालको रूचिले आकर्षित गरेको हो?
हो, सानोदेखि नै म एकान्त र प्रकृतिप्रेमी थिएँ। पहाड, जंगल घुम्न र चरा हेर्न मनपर्थ्यो। पछि प्रकृतिलाई मैले अमूर्त रूपमा मात्रै बुझेको रहेछु भन्ने महशुस भयो। हरियालीमा रमाइलो लाग्ने, तर रूखहरूको नामै थाहा थिएन। रुपी, परेवा र भँगेराबाहेक चरा चिन्नै नसक्ने। घरमै आउने धोबिनी चरा पनि चिन्दिनथेँ। अनि म कसरी प्रकृतिप्रेमी भन्ने लाग्यो।
हाम्रो दृष्टिकोण, समाजको दृष्टि, विश्वदृष्टि एकदमै मानवकेन्द्रित छ। मानवकेन्द्रित दृष्टिकोणले नै संसारमा धेरै घनचक्कर चलेका हुन्। यसलाई प्रकृति र संसारतिर डोर्याउने प्रयास हो हंस।
मानवले आफूलाई जति विशिष्ट ठाने पनि विभिन्न प्रजातिका जीव, चरा र रूखमध्ये हामी पनि एउटा जीवमात्रै हौं। त्यही भएर मान्छेभन्दा परको जगत पनि हेर्नुपर्छ जस्तो लाग्यो।
उपन्यासमा हाँस र मान्छेको कथा सँगसँगै अघि बढ्छ। दुई फरक कथाबीचको अन्तर्सम्बन्ध के हो?
हंसमा मान्छे र हाँसको प्रेमकथा छ र दुवै मेरा लागि महत्वपूर्ण छन्। यी दुई कथा एकअर्कासँग जोडिएका छन्। यसमा अर्थका तह भित्रभित्रै चलायमान छन्।
मानवकथामा, म पात्रकी श्रीमती उसलाई छाडेर अमेरिका उडेकी हुन्छ। उसले आफ्नो जार अनुजलाई टौदह छेउ बोलाएर घाँटी काट्छु भन्ने सन्दर्भबाट कथा सुरू भएको छ। त्यो मेरो कल्पनाको उपज थियो। जार भने मैले न्युयोर्कमा भेटेको वास्तविक पात्र हो।
अर्कोतिर, हाँसको कथा छ। यसमा पनि हंसिनी हजारौं माइलबाट उडेर आउँछिन्। रैथाने हाँस उड्न सक्दैन। आफ्नी प्रेमिकालाई भेट्न पूरै उपन्यासभर रैथाने हाँसले उड्ने प्रयास गरिरहन्छ।
मान्छे र हाँस दुवैका कथामा उड्ने र डुब्ने कुरा आइरहन्छन्। उड्ने र डुब्ने कुरा मनसँग जोडिएको छ, जुन विम्बात्मक पनि छ। भिसा, पासपोर्ट पाएनन् भने मान्छे उड्न पाउँदैनन्। उड्नु बाहिरी जगतमा उड्ने मात्र नभएर आफैंभित्रको उडान पनि हुनसक्छ।
उपन्यासमा मनसरोवर शब्द छ, मनसरोवर त मनैभित्र हुन्छ। मनैभित्र डुब्दै जाँदा त्यो मनभित्रको आकाशमा पुग्ने हो कि! एउटा तहमा आफैंभित्र डुब्दा र उड्दा त्यहाँ डुब्नु र उड्नुको अन्तर हराउँछ सायद।
एक ठाउँमा हंसिनी भन्छे, 'उड्न पखेटा भएर मात्र हुँदैन। पखेटा भएका कति उड्न नसक्ने हुन्छन्। पखेटा नभएका पनि आकाश छुन खोज्छन्। त्यसैले उड्ने कुरा मनसँग जोडिएको छ।'
यी दुवै कथा उड्न पाउने र नपाउनेका बारेमा हो।
हंस लेख्न कति अध्ययन, अनुसन्धान र अवलोकन गर्नुभयो?
हंस टौदहको पानीबाट प्रारम्भ भयो। अनुसन्धानै गर्न नगए पनि सेमिनारमा वा घुम्न संसारका विभिन्न ठाउँ पुगेका बेला पानी भएका ठाउँमा यसको कथा फुर्ने भइरह्यो। यो कथा मैले एटलान्टिक, प्रशान्त महासागर छेउमा बसेर लेखेको छु। बालीमा हिन्द र प्रशान्त महासागर जोडिने ठाउँमा पनि लेखेको छु।
यो पनि मानवकेन्द्रित दृष्टि नै हो। त्यहाँ कुनै माछा पौडेर आएको छ भने उसले कुन हिन्द र कुन प्रशान्त महासागर भनेर थाहा पाउँदैन। त्यहाँ आउने चरालाई पनि यो थाहा हुँदैन।
झापाको बिरिङ खोला छेउ र मैले एसएलसी दिएको शनिश्चरे हाइस्कुल नजिकैको फूलमती खोलामा बसेर पनि लेखेँ। जहाँजहाँ पानी देखेँ, त्यहाँ त्यहाँ कथा फुर्दै आयो।
उपन्यास लेख्न कति समय लाग्यो?
सन् २००५ मा घनचक्करको पाण्डुलिपि पुनर्लेखन गर्दा हंसको बीज दिमागमा रोपिएको थियो। निरन्तर काम गर्न भने पाइनँ। सन् २०१५ मा त्रिभुवन विश्वविद्यालयबाट अवकाश लिएँ। त्यसपछि समय भयो। त्यही बेला सबै टिपोट र कथा एकीकृत गरेँ। पुनर्लेखन गरेँ। तीन-चार वर्ष लाग्यो।
हाँस र मान्छेको प्रेमकथामा कुन लेख्न बढी रमाइलो भयो? कुन गाह्रो?
दुवैमा रमाइलो भयो। प्रेमको भाषा सरल हुनुपर्छ भनेर वाक्य छोटा र भाषा सरल बनाएँ। हरेक पाठकमा पर्ने प्रभाव फरक हुनसक्छ। कसैलाई मान्छेको त कसैलाई हाँसको कथाले बढी छोएको प्रतिक्रिया पाइरहेको छु।
मान्छेको कथा लेख्दा आफ्नो अनुभवले पनि सहज हुन्छ। हाँसको कथा लेख्न चुनौतीपूर्ण थियो। यसमा अनुभवभन्दा कल्पनाको उडानको सहारा लिनुपर्यो।
उपन्यासमा हाँस र अरू पंक्षीले बोल्ने भाषा मान्छेकोभन्दा फरक बनाउन केमा ध्यान दिनुभयो?
उपन्यासमा अर्थका विभिन्न तह हुनुपर्छ जस्तो लाग्छ। तर अर्थका जटिलता भाषाले हैन विचारले सिर्जना गर्नुपर्यो। त्यसैले भाषा सरल बनाउनेमा सचेत थिएँ। मानव कथा भन्ने शैली सजिलो हुन्छ।
तर हाँसलाई कसरी चित्रण गर्ने! अलिकति पनि हाँसको मानवीकरण नगरे कथै बनाउन सकिन्थेन। तर भरसक मानवीकरण कम गरम् र हाँसकै संसारमा, उसकै दिमागमा छिर्ने कोशिस गरम् भन्ने भयो।
चराचुरुंगीको भाषा अनुभव दिन व्यञ्जनाको सट्टा स्वर(भवेल) प्रयोग गरेको छु। हाँसको भाषा अलि फरक हुनुपर्छ भनेर उसको बोलीमा 'क्वाँकक्वाँक, कोंककोंक, कस्तो क्वाँके कुरा गरेको, मेरो दिमाग नै क्वाँकियो' लगायत शब्द प्रयोग गरेँ।
घनचक्कर र हंस दुवैमा स्वैरकल्पना र यथार्थवादी शैलीको मिश्रण पाइन्छ। एकै शैली किन रोज्नुभयो?
मलाई यथार्थवाद र स्वैरकल्पना दुइटैको मिश्रण मनपर्छ। १९औं शताब्दीमा रुस र फ्रान्समा यथार्थवादको प्रभाव थियो जुन नेपालमा पनि पर्यो। यथार्थलाई जस्ताको त्यस्तै देखाएर लेख्ने शैली नै यथार्थवाद हो। तर अहिले त्यो बेलाको जस्तो यथार्थ छैन।
हाम्रा समाचारमा जुलुश हुन्छ, नारा लाग्छन्, आन्दोलन हुन्छन्। पर्दापछाडि के-के भइरहेछ, हामी सर्वसाधारणलाई थाहै हुँदैन। यथार्थ बुझ्न सम्भवै हुँदैन।
हामी टेलिभिजनमा विज्ञापन हेर्दाहेर्दै निदाउँछौं र सपनामा पनि विज्ञापन देखिरहेका हुन्छौं। विज्ञापन र उपभोक्ता संस्कृतिले हाम्रो चेतन मात्रै हैन, अवचेतनलाई पनि उपनिवेश बनाइसक्यो। त्यो अवस्थामा यथार्थ के हो भन्ने जटिल छ। यथार्थ देखाउन यथार्थवादले मात्रै पुग्दैन। यस्तो सन्दर्भमा स्वैरकल्पना पनि प्रयोग गर्नुपर्छ भन्ने मेरो बुझाइ हो।
स्वैरकल्पनाले पाठकमा कस्तो प्रभाव पार्छ?
पाठकलाई कल्पनाको आकाशमा उड्ने मौका दिन्छ।
हंसमा जानीबुझी कतिपय ठाउँ खाली छोडिएको छ। ती खाली ठाउँ पाठकका लागि हुन्। किनकि, भरिएर उड्न गाह्रो हुन्छ।
हंसलाई प्रकृति, पर्यावरणमाथि मान्छेको अतिक्रमण र मान्छे/राज्यले बनाएको सीमामाथिको टिप्पणी भन्नुभएको छ। कसरी?
नेपाल चराको धनी देश हो। यहाँ आठ सय सत्तरी प्रकारका चरा छन्, जबकी पूरै युरोपमा जम्मा सात सय पचास किसिमका।
रैथानेबाहेक यहाँ जाडोमा चीन, मनचुरिया, साइबेरियासम्मबाट चरा आउँछन्। चितवनमा भारत, श्रीलंकाबाट आउँछन् भने पूर्वी नेपालमा थाइल्यान्ड, क्याम्बोडियाबाट। पश्चिम नेपालमा युरोपबाट चरा आउलान्।
नेपालबाट हरेक दिन कुनै न कुनै प्रजातिको चरा हराउँदै गएको छ। मानवकेन्द्रित दृष्टिका कारण हामीले प्रकृति विनाश गरिरहेका छौं। वनजंगल मासिरहेका छौं। यो ठूलो विडम्बना हो।
अर्कोतिर, हामी देशको सीमा बढाउन युद्ध गरिरहेका हुन्छौं। यति युद्ध किन गर्नुपर्ने? कुकुर पनि झगडा गर्छन्, तर मान्छेजस्तो इतिहासमा गौरवशाली नाम लेखाउन लड्दैनन्। चरालाई स्वतन्त्र भई उड्न कुनै कागजात चाहिँदैन। एक ठाउँबाट अर्काे ठाउँ जान हामीलाई भिसा र पासपोर्ट चाहिन्छ।
हाम्रो विश्वप्रणालीभन्दा परको वैकल्पिक भविष्य कसरी कल्पना गर्न सकिएला भन्ने सोचबाटै जन्मिएको हो हंस। राष्ट्रसीमा नाघ्दा भिसा, पासपोर्ट र अनेक कागजात चाहिने नियमको 'क्रिटिक' पनि हो।
तपाईं आख्यान र गैरआख्यान दुवै लेख्नुहुन्छ। फरक-फरक विधा किन आवश्यक पर्छ?
मेरो औपचारिक शिक्षाका कारण सिद्धान्त पढेँ, पढाएँ र सिद्धान्तकै कुरा लेखेँ। गैरआख्यानमा वैचारिक र अखबारी लेखनमा सामाजिक न्यायका विषय रुचाउँछु।
उपन्यास भनेको बेग्लै संसार रच्नु हो। छुट्टै संसार बनाएर शब्द रच्दा अर्कै मजा आउँछ। आफूले रच्ने संसारको आन्तरिक लय र तर्क मिलेको हुनुपर्छ। शब्दको माध्यमबाट संसार रच्न गाह्रो भए पनि मलाई पहिल्यैदेखि मनपर्ने कुरा हो। शब्दसँग खेल्दा, शब्द जोडेर संसार बनाउँदा रमाइलो हुन्छ।
हंस घनचक्करजत्तिकै नरुचाइने हो कि भन्ने चिन्ता थियो कि थिएन?
हरेक लेखकलाई दोस्रो उपन्यास चुनौतीपूर्ण हुन्छ भनिन्छ, खासगरी पहिलो उपन्यासले अलि चर्चा पाएको भए। पाठकको अपेक्षा त्यस्तै खालको हुन्छ। मलाई पनि दोस्रो उपन्यासबाट पाठकको मन जित्ने चुनौती छ।
घनचक्करभन्दा हंसमा विषयवस्तु र आख्यान संरचना एकदमै अलग गर्न चाहन्थेँ। घनचक्करमा म पात्रको 'लिनियर न्यारेटिभ' भएकाले सोझो रेखामा कथा बढ्छ। यो पागलपनको कथा थियो।
हंस प्रेमको कथा हो। पागलपनभन्दा प्रेमको कथा सरल हुने नै भयो। तर संरचनाको हिसाबले हंस बढी जटिल छ। यसमा कथा कहिले अगाडि जान्छ, कहिले विगतमा। आख्यानकर्ता पनि तीन जना छन्। अनुजले आफ्नै कथा भन्छ। लेखकले आफ्नै कथा भन्छ। र, बुढी आमैले हाँसको कथा भन्छिन्।
नयाँ गर्दा चुनौती र डर हुन्छ नै। तर पाठकको राम्रो प्रतिक्रियाले डर हराएको छ।
सामाजिक सञ्जालमा पनि क्वाँक्वाँक/कोंककोंक गर्दै पाठक प्रतिक्रियामा रमाइरहनुभएको देखिन्छ। घनचक्करको समय र अहिले पाठक–लेखकबीचको अन्तक्रियामा के बदलिएछ?
अहिलेको प्रविधियुक्त परिस्थिति फरक छ। १२ वर्षअघि पाठकले के सोचिराछन् भन्ने फोन र एसएमएसबाट जानकारी पाइन्थ्यो। अहिले फेसबुक, ट्विटर, इमेलमा सोझै प्रतिक्रिया पाइन्छ।
पहिला प्रतिक्रिया पाउन समालोचकको लेख कुर्नुपर्थ्यो। अहिले सामाजिक सञ्जालले हरेक पाठकलाई समीक्षक बन्ने अवसर दिएको छ।
मैले रचेको आख्यानको संसारमा पाठक कसरी छिरे, उनीहरूलाई मनपर्यो-परेन, बुझ्न पाएको छु। छिटा-छोटा हरेक प्रतिक्रियामा रमाइरहेको छु।