पहिलो फिल्म सार्वजनिक हुने दिन प्रदेशी साहले वीरगञ्ज सहरको चार–पाँच चक्कर लगाएका थिए। आफ्नो पहिलो फिल्म 'एसपी खरेलः द रियल हिरो' हेर्न दुई घन्टाअघि नै सिनेमा हल पुगेका थिए।
'खै त मान्छेहरू?'
फिल्म सुरू हुन पर्याप्त समय बाँकी थियो, तर उनी यही प्रश्नले बेचैन थिए। हलमा टिक्नै सकेनन्। वीरगञ्ज, घन्टाघर नजिकैको गहुवा माई मन्दिर पुगे। शिर झुकाउँदै भने, 'इज्जत जोगाइदेऊ माई।'
गहुवा मन्दिरनजिकै चिया पसलमा भेटिएका प्रदेशीको अनुहारमा भर्खरै एउटा कार्यक्रममा प्रशंसापत्र पाएको खुसी झल्किरहेको थियो।
कुराकानी भने पहिलो दिनको छटपटी र उत्साहबारे भयो।
'लास्टै नर्भस थिएँ त्यो दिन। धमाधम नजिकका मान्छेलाई 'मेरो फिल्म पहिलो सो हेर्नु पर्यो नि यार' भन्दै फोन गरिरहेको थिएँ,' उनले सुनाए।
हल पुग्दा माहोल बदलिएको थियो। जताततै मान्छे। 'भित्र-बाहिर यति मान्छे थिए, मलाई लाग्यो एक सो पनि नचलाई अर्कै फिल्म लगाइदिएछ। बर्बाद भयो,' उनले भने। झोक्किँदै हलवालासँग झगडा गर्ने मुडमै पुगेछन्। हलवालाले प्रदेशीलाई देख्नेबित्तिकै जे भने त्यो उनले पत्याउनै सकेनन्।
निकैबेर उनको कानमा हलवालाको जवाफ गुन्जिरह्यो, 'बधाइ छ प्रदेशी।'
'मेरो होसहवास उड्यो। सबै मेरै फिल्म हेर्न आएका रहेछन्,' दुवै हात हल्लाउँदै भने, 'विश्वासै भएन। यस्तो कसरी हुन सक्छ?'
दर्शकको भिड बढी भएकाले उनले आफ्नो पहिलो फिल्म प्रोजेक्टर रुमबाट हेर्नुपर्यो। सानैदेखि टिभीमा देखिन सक्छु जस्तो लागे पनि सिनेमा हलको ठूलो पर्दामा देखिने दिन उनले कल्पना गरेका थिएनन्। पर्दामा आफ्नै अनुहार हेर्न लाज र डर लागिरहेको थियो। दर्शकको प्रतिक्रिया कस्तो आउला भनेर त झन् उनको सातो उडेको थियो।
फिल्म सुरू भएर जब उनी पर्दामा देखिए सातो भाग्यो। सिठ्ठी र तालीको आवाजले हल गुन्जिइरहेको थियो। 'दर्शकको प्रतिक्रियाले कहिले गर्मी, कहिले जाडोजस्तो भयो।'
मान्छेलाई एकैपटक ठूलो खुसी सहन गाह्रो हुने सुनेका उनले महशुस पनि गरे। त्यो खुसी, त्यो अनुभव, करोडौं रुपैयाँभन्दा ठूलो लाग्यो। प्रोजेक्टर रुमभित्र छिर्दा कसैले ध्यान नदिएको उनी त्यहाँबाट निस्कँदा 'सेलेब्रेटी' भइसकेका थिए।
उनले सुनाए, 'बाथरूम जान लाग्दा पनि मिडिया र फ्यानले घेरे।'
पहिलो फिल्म नै सुपरहिट भएपछि कामको प्रस्ताव आउने नै भयो। त्यसयता 'जब प्यार किया तो डरना क्या', 'देशप्रेमी', 'दिलवाली'सहित उनले एक दर्जन बढी फिल्म खेलिसके। कुनै बेला विराज भट्टका पोस्टर देखेरै रमाउने उनी विराजले खेलेको 'दिवाना'को भाग २ मा आफैं नायक बनिसके।
'पहिलो फिल्म इमानदार प्रहरीको छवि बनाउन सफल तत्कालीन एसपी रमेश खरेलको व्यक्तित्वबाट प्रभावित थियो,' उनले सुनाए, 'यो भूमिकामा जमेका कारण पछि धेरै फिल्ममा प्रहरी बन्ने प्रस्ताव आयो।'
प्रदेशी यति बेला सिके राउतको जीवनमाथि बन्ने फिल्म छायांकनको तयारीमा छन्। लामो समय अलग मधेस राज्य माग गर्दै आएका राउतको भूमिकाले नयाँ अनुभव बटुल्न पाउने खुसी साटे उनले। यो फिल्म नेपाली, हिन्दी र भोजपुरी भाषामा बन्नेछ।
'टिजर सार्वजनिक कार्यक्रममा सिके राउत स्वयं उपस्थित भएपछि यो फिल्मप्रति धेरैको चासो बढेको छ,' उनले भने।
फिल्ममा सिके राउतजस्तै देखिन उनले राउतसँगै केही दिन बिताइसकेका छन्। हाउभाउ र अभिनय सकेसम्म उस्तै देखियोस् भनेर आफूले मिहिनेत गरेको उनले बताए। होली अवसरमा सार्वजनिक गर्ने लक्ष्य राखिएको यो फिल्मबाहेक उनको 'जय मधेस' प्रदर्शनको संघारमा छ। मधेसको राजनीतिक अस्थिरतामाथि व्यंग्य गरिएको यो फिल्मलाई पनि दर्शकले रुचाउने उनको अपेक्षा छ।
प्रदेशीमा सानैदेखि नाटक, संगीत र नृत्यमा लगाव थियो। पहिलोपटक टोलमा कृष्णअष्टमीका बेला नाटक खेलेका थिए। नाटकमा उनको अभिनय मन पराएर उनलाई सबैले कृष्ण भन्न थाले। त्यसपछि समुदायका चाडपर्वमा हुने नाटकहरूमा मुख्य पात्र बन्न थाले।
'त्यसपछि साथीका घर जाँदा पनि टोलको हिरो आ'छ भन्न थाले,' उनले सुनाए।
अमिताभ बच्चन मनपराउने आफ्ना बुबाको हात समाएर हल पुग्ने प्रदेशीलाई हिन्दी फिल्म त मनपर्थ्यो नै, नेपाली कलाकार देख्दा पनि 'वाउ' लाग्थ्यो रे!
भुवन केसीकाजस्तै जुँगा मुसार्दै भने, 'साथीहरूले भुवन केसी भन्थे। जुँगा हेर्नुस्, पूरै नेपाली बाबु, हाहाहा...।'
नेपाली सिनेमा उद्योगबारे चासो राखे पनि यो क्षेत्रमा उनको चिनजानका कोही थिएनन्। आफ्नो संघर्षबारे भने, 'कहाँबाट सुरू गर्ने अन्योल थियो। यो क्षेत्रमा जसरी पनि जोडिने रहर नै मेरो आत्मबल बन्यो।'
'हट्टी गाइज' समूहमा आबद्ध उनले कहिले जेम्स प्रधानको संगीतमा गीत गाए त कहिले नाच सिकेर कला क्षेत्रसँग जोडिने प्रयास जारी राखे। वीरगञ्जको टाउनहलमा सीमापारि बिहारबाट महावीर गुरू नाच सिकाउन आउँथे। श्रीपुर विद्यापीठ स्कुलबाट ०५८ सालमा एसएलसी दिएका उनले बिबिएस पढ्दा महावीर गुरूसँग नाच सिके। केही समयपछि अभिनय सिक्न मुम्बई हानिए।
प्रदेशीले त्यो बेला आफ्नो अवस्था खुलाए, 'एक मनले काठमाडौं गएर फिल्म क्षेत्रमा संघर्ष गरौं भन्ने थियो। घरबाट काठमाडौंभन्दा भारतै जाने सल्लाह पाएँ।'
मुम्बईमा '१८ माँजानकी सिरिज म्युजिक कम्पनी'मा अठार महिना नृत्य र अभिनय सिकेर २०६५ सालमा उनी वीरगञ्ज फर्किए। फर्केपछि स्कुलहरूमा नाच सिकाउने काम गरे। अरू समय भोजपुरी म्युजिक भिडियो खेले।
भने, 'वीरगञ्जका आधा स्कुलमा डान्स सिकाइसकेँ। एकदिन निर्माता सुरेन्द्रलाल प्रधान अंकलले फिल्ममा काम गर्ने प्रस्ताव गरेपछि बाटो मोडियो।'
'एसपी खरेल' सुरूमा नेपालीमा बनाउने कुरा चलेको रहेछ। वितरकले रुचि देखाएनछन्। प्रदेशीलाई दर्शकले पर्दामा आफ्नो अनुहार र भाषा खोज्ने अनुभव भयो।
उनले भने, 'पहिलो फिल्म सफल हुनुमा मेरो फेस भ्याल्यू हो। मधेसमा मधेसी हुँदा सहानुभूति पाएँ।'
सानोमा उनले 'वीरगञ्जमा नदिया के पार' र 'धरती मैया'जस्ता फिल्म हेर्न बयलगाडामा टाढाबाट मान्छे आएको कथा सुनेका थिए। उनको फिल्ममा पनि भोजपुरी दर्शकको क्रेज देखे। एक महिनाबढी चलेको उनको फिल्ममा ओइरिएको भिड नियन्त्रण गर्न अश्रुग्याससमेत चलाउनु परेको उनले बताए। वीरगञ्जका प्रदेशी भोजपुरी फिल्मका 'सुपरस्टार' भइसके।
भोजपुरी क्रेजबारे उत्तेजित हुँदै सुनाए, 'बाफ रे बाफ! फिल्मको नशा हुँदो रहेछ। भोजपुरी दर्शकको नशा त झन् कडा।'
सेल्फी खिच्न चाहने प्रशंसकले मात्रै हैन, मिडियाले समेत पहिलो फिल्मकै कारण उनलाई अझै 'एसपी खरेल' भन्न छोडेको छैन। उनलाई निम्तो गरिएका कार्डमा पनि प्रदेशी नभई एसपी खरेल लेखिएका धेरै उदाहरण छन्।
उनले यो सफलता र मायाप्रति कृतज्ञ हुँदै भने, 'त्यही क्रेज र मायाले आज राम्रो ब्यानर र राम्रा भोजपुरी कलाकारसँग काम गर्न पाएको छु।'
हाल प्रदेशीको कर्मक्षेत्र मुम्बई हो। त्यहाँ बसेरै पनि उनी नेपाली उद्योगसँग निरन्तर जोडिने प्रयासमा छन्। 'लक्ष्मीरानी', 'मेला' लगायत नेपाली फिल्म खेलिसकेका उनले भने, 'पैसाका लागि भोजपुरी र सम्मानका लागि नेपाली फिल्ममा काम गर्छु। जहाँ गए पनि म नेपाली कलाकार भनेर परिचय दिन्छु।'
नेपाली फिल्म क्षेत्रलाई सानैदेखि आफ्नो नजरले हेर्थे रे उनी। तर प्रदेशीजस्ता गैरमातृभाषी नेपालीका लागि यो क्षेत्र अझै पनि परदेशजस्तै छ। नेपाली सिनेमाको पचास वर्ष पूरा भइसक्दा पनि आधाजसो जनसंख्या बस्ने मधेसको अनुहार, परिवेश, विषय सिनेमामा आउन सकेको छैन।
उनले प्रश्न गरे, 'आधा दर्शक मधेस/तराईमा बस्छन् भन्ने किन बिर्सन्छन् निर्माताहरू?'
पछिल्ला केही वर्ष नेपाली फिल्ममा कामेश चौरशिया, प्रमोद अग्रहरि, नाजिर हुसेन, रवीन्द्र झाजस्ता कलाकार देखिन थालेका छन्। छायांकन र महोत्सवमा पनि मधेसी भूमि रोजाइमा पर्न थालेको छ।
'राज्जारानी' र 'संरक्षण' मधेसमै छायांकन गरिएका र यहीँका कलाकारले अभिनय गरेका फिल्मका उदाहरण मान्न सकिन्छ। यी कुरालाई सकारात्मक पहल मान्ने प्रदेशीले भने, 'वीरगञ्जका मजस्ता भोजपुरी कलाकारका लागि मुम्बईभन्दा काठमाडौं टाढा छ।'
'एसपी खरेल' सार्वजनिक हुने समयमा भोजपुरी फिल्मतर्फ यहाँका दर्शकको आकर्षण बढिरहेको थियो। मधेस आन्दोलन र नाकाबन्दीले फिल्म क्षेत्र पनि प्रभावित भयो। त्यो बेला प्रदेशीले मधेसी र पहाडी समुदायबीच दुरी बढेको महशुस गरे।
उनलाई लाग्यो, 'महानायक हो भने पर्दामा मात्रै हैन, समाजमा पनि केही गरेर देखाउनुपर्छ।'
यस्तो सोचले उनलाई श्रेष्ठ थरकी प्रेमिकासँगको प्रेमलाई बिहेमा बदल्ने थप ऊर्जा दियो। फिल्ममार्फत् मधेस र पहाडको खाडल पुर्न प्रयास गर्नुपर्ने सोच राख्छन्। भोजपुरी र नेपाली भाषाका फिल्ममा आफ्नो सक्रियतालाई यस्तै प्रयास मान्छन् उनी।
उनले थपे, 'भोजपुरी फिल्म छायांकन पनि वीरगञ्ज, काठमाडौं, पोखराजस्ता सहरमा गराउने पहल गरिरहेको हुन्छु।'
भोजपुरी समुदायले मात्रै हैन, भोजपुरले पनि मनपराउने हिरो हुने उनको धोको छ। वीरगञ्ज वा मधेसको मात्रै हैन देशकै प्रिय हिरो बन्ने उनको सपना छ।