अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १७ औं संस्करण बुधबारदेखि सुरू हुँदैछ। पाँच दिने महोत्सवमा २९ देशका ७९ फिल्म र वृत्तचित्र छ। पर्वतीय एवम् सामाजिक विषयवस्तुमा आधारित फिल्म काठमाडौं सभागृह र नेपाल पर्यटन बोर्डको हलमा देखाइनेछन्।
महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक खण्डमा समावेश छन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन्।
'नेपाल पानोरामा' अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ। कथानक विधातर्फको पुरस्कार मिला प्रोडक्सनले र गैर–कथानकविधातर्फको पुरस्कार राशी चलचित्र विकास बोर्डले प्रायोजन गर्ने किम्फ अध्यक्ष वसन्त थापाले जानकारी दिए।
यस वर्षको किम्फ र फिल्मका विषयमा केन्द्रित भएर अध्यक्ष थापासँग सेतोपाटीका सबिना श्रेष्ठ र जुना श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंशः
१७ औं किम्फमा पहिलेका तुलनामा फरक के विशेषता छन्?
हरेक महोत्सवको आफ्नै विशेषता हुन्छ। पोहोरसँग अहिलेको मिल्दैन, त्योभन्दा अघिसँग पोहोरको। फिल्म नयाँ छन्। यसपटक ६९ देशबाट ४२३ फिल्म आएका थिए। त्यसबाट हामीले २९ देशका ७९ फिल्म छानेका छौं।
'द एसेन्ट अफ एभरेष्ट' उद्घाटन फिल्म हो। तेन्जिङ नोर्गे र एडमन्ड हिलारीले १९५३ मा पहिलोपटक सगरमाथा आरोहण गर्दाको ऐतिहासिक फुटेज त्यसमा छ। हिलारी आफैंले बोलेका पनि छन्। संयोगवस् यो पटक हिलारीको शताब्दी वर्ष पनि रहेछ।
हिलारीकैभूमिका रहेको अर्को फिल्म 'ओसियन टु स्काइ' पनि छ। हिलारीले बंगालको खाडीबाट गंगामा 'अपस्ट्रिम पावरबोट' यात्रा गरेका थिए, फिल्ममा छ। उहाँको शताब्दी वर्षमा यी दुइटा फिल्म पर्नु संयोग र खुसीको विषय हो।
प्रत्येक वर्ष किम्फको नारा फरक हुन्छ। यसपटक 'भ्वाइसेस फ्रम द मार्जिन' अर्थात् सीमान्तकृतहरूको आवाजमार्फत् हामी कस्ता फिल्म अपेक्षा गर्न सक्छौं?
हाम्रो जोड समावेशीकरणमा आधारित समाज हुनुपर्छ भन्ने हो जहाँ हरेकको आवाज सुनिनुपर्छ। धेरै समुदायका कुरा मूलधारमा आउँदैनन्, ओझेलमा छन्। सांस्कृतिक, धार्मिक, सामाजिक, आर्थिक एवम् लैंगिक हिसाबमा जो पछि परेका छन्, उनीहरूको आवाज अगाडि आओस् भन्ने हो।
यदि यो समावेशीपूर्ण समाज हो भने अल्पसंख्यकको सांस्कृतिक एवं धार्मिक पक्षले पनि ठाउँ पाउनुपर्छ। लैगिंक कुरा गर्दा पुरुष र महिलाको कुरा नै राम्ररी सल्टिएका छैनन्। त्योबाहेक अर्को पनि लिंगको अस्तित्वबारे समाजले वास्ता नै गरेको थिएन्। अहिले हेर्दा उनीहरूको संख्या निकै पो रहेछ भन्ने थाहा हुन्छ, जसलाई हामीले कहिले पनि महशुस गरेनौं।
योसँगै हिन्दूबाहेक बौद्ध, मुश्लिम, इसाई लगायत धर्मका पनि छन्। 'भ्वाइसेस फ्रम द मार्जिन' ट्यागलाइन भनेर सबै त्यस्तै विषय छन् भन्ने होइन तर जोड दिएका हौं। फिल्म छान्दा यसलाई ध्यानमा राखेका छौं।
दुई दशकअघि किम्फ सुरू गर्दा महोत्सव किन जरुरी ठान्नुभएको थियो? त्यो आवश्यकता पूरा भयो कि भएन?
हामी प्रायः पत्रकारिता र लेखनमा आवद्ध मान्छे मिलेर सन् २००० मा किम्फ सुरू गरेका थियौं। यस्ता हिमाली फिल्म अरू देशमा हुन्छन् भन्ने हामीलाई थाहा थियो। हाम्रो त झन् हिमालको देश, किन नगर्ने? गरौं न भनेर सुरू गर्यौं।
हिमाल भनेको हाम्रो इतिहास, संस्कृति र समुदायको हिस्सा हो। यो एकदमै महत्वपूर्ण भएर पनि हामीले ध्यान दिएका छैनौं, जानकारी कम छ। हाम्रा पुराना ग्रन्थहरूमा पनि हिमालको ठूलो वर्णन छ। तर हाम्रा लागि त्यो टाढाको कुरा थियो, भगवानजस्तो।
अहिले त्यसको महत्व मान्छेले बुझ्दैछन्। त्यसमा साहसिक खेल हुने, चढ्न मिल्ने रहेछ भन्ने जान्दैछन्। कहाँ–कहाँदेखि यहाँ हिमाल चढ्न आउँछन्। वातावरणीय महत्व उत्तिकै छ। हिमाल, त्यहाँको समाज र मान्छेका कथा बाहिर ल्याउन फिल्म एकदमै सशक्त माध्यम हुन्छ भनेर सुरू गरेका हौं।
सुरूआतमा त्यस्तो ठूलो योजना थिएन। दुई वर्षमा एकपटक महोत्सव गर्थ्यौं। तीन-चारपटक गरेपछि राम्रै भयो। दर्शकले मनपराए। पहिले यहाँ बस्ने विदेशी धेरै आउँथे किनकि नेपालीहरू यस्ता फिल्म हेर्थेनन्। मूलधारका व्यवसायिक फिल्म मात्रै हेरिन्थ्यो। विस्तारै नेपाली दर्शकको रूचि बढ्दै गयो। र, सन् २००७ पछि प्रत्येक वर्ष गर्न थाल्यौं।
किम्फमा फिल्म किन हेर्न आउने?
अरू बेला सिनेमा हल वा युट्युबमा हेर्न नपाइने फिल्म यहाँ हेर्न पाउनुहुन्छ। यसको माध्यमबाट विभिन्न मुलुकका कथासँग जोडिनुहुन्छ, यो एकदमै राम्रो मौका हो।
दुई दशकअघि डकुमेन्ट्रीमा मान्छेको त्यति आकर्षण थिएन। यहाँसम्म आउँदा फिल्म र निर्माणमा के–कति परिवर्तन आएको छ?
फिल्म पढाउने ठाउँ नै त्यति थिएनन्। अहिले कलेज बढेका छन्। प्रत्येक वर्ष नेपाली विधामा जुन फिल्म पाउँछौं, त्यसको संख्या पनि बढिरहेको छ। दर्शक पनि धेरै आउने भएकाले हल हाउसफुल हुन्छन्। झन्डै बीस वर्ष अवधिमा चेतना र प्रविधि दुवै विकास भएको छ।
तर यो सृजनशील क्षेत्र भएकाले अझै पनि गर्नुपर्ने धेरै छ।
किम्फ आएपछि हिमालका कथा बन्ने क्रम बढेको छ त?
हिमालकै कथाभन्दा पनि युवा पुस्ताले यहाँबाट परिचय बनाउने ठाउँ पाएका छन्। किम्फकै लागि फिल्म बनाउने पनि बढेका छन्।
तपाईंहरूले नयाँ पुस्तालाई अवसर पनि दिनुभएको छ कि?
सुरूदेखि नै महोत्सवको अंशका रुपमा वर्कसप, तालिम, फिल्म निर्देशकका अनुभव सुन्ने–सुनाउने ठाउँ हो किम्फ। यसपटक हामीले टोनी हेगन फाउन्डेसनको सहयोगमा तीनवटा फिल्म बनाउन 'फेलोसिप' दिएका थियौं। त्यसअन्तर्गत निर्देशकले डेढ लाख रुपैयाँमा २० मिनेटसम्मको कुनै पनि सामाजिक, सांस्कृतिक विषय लिएर फिल्म बनाउनु पर्थ्यो।
फिल्म बनाउनेलाई पुरस्कार दिने गरेका छौं। त्यो पनि प्रोत्साहन नै हो। हरेक किम्फमा ३ मिनेटको 'परिवर्तित नेपाल' नामक छोटा फिल्म प्रतियोगिता हुन्छ। यसरी धेरै मान्छे प्रोत्साहित भई फिल्म निर्माणलाई करिअर पनि बनाइरहेका छन्।
किम्फ भन्नेबित्तिकै हिमालका फिल्म सम्झन्छौं। हिमाली जनजीवनका कथा धेरै भए पनि हिमालका कथा त्यति नआएका हुन् कि?
हिमाललाई हामीले 'मेटाफर' मानेका हौं। समग्र देश नै हिमाली मुलुक भनेर चिनिन्छ तर तराई पनि हाम्रै भाग हो। हिमालभन्दा मान्छेहरू हिमाल चढेको, साहसिक खेल मात्र सोच्छन्। तर त्यो मात्र होइन। त्यहाँको जनजीवन, संस्कृति, वातावरण पनि हो। त्यसलाई हामीले देखाउन खोजेका छौं।
विदेशी फिल्ममा हिमाल र साहसिक कुरा धेरै आउँछन्, नेपालमा छैनन्। हिमाल चढ्नु आफैंमा खर्चिलो हो। विदेशतिर यो सोख भएको छ। उनीहरू सम्पन्न भएकाले त्यो धानिन्छ। तर हामी पूर्णरूपमा पर्वतारोही भएर बस्न सक्दैनौं। त्यही भएर उताका फिल्म साहसिक गतिविधिबारे धेरै बनेका हुन्छन्।
हाम्रोमा भर्खर–भर्खर 'इनडोर क्लाइम्बिङ' बनेको छ। साइक्लिङ विस्तारै प्रख्यात हुँदैछ। बाहिरका जस्ता हिमालका कुरा विस्तारै फिल्ममा आउलान्, अहिले चासो सामाजिक कुरामा धेरै छ।
किम्फ चलाइरहन केले प्रेरणा दिइरहेको छ?
हामी सबै स्वयंसेवी रूपमा काम गरिरहेका छौं। केही नभएको ठाउँमा फिल्म महोत्सवले 'यस्तो फिल्म पनि हुने रहेछ नि' भन्नेसम्म भएको छ।
किम्फले देखाउने फिल्मलाई खास दर्शकले प्रोत्साहन पनि गरिरहेका छन्। हामी सँगसँगै त्यस्ता दर्शक पनि निर्माण भइरहेका छन्। हाम्रै फिल्म महोत्सवमा ब्रेक पाएर, परिचय पाएर नयाँ फिल्म निर्माता पनि देखा परेका छन्। त्यसले एउटा आत्मसन्तुष्टि लिने ठाउँ बनेको छ।
जसरी राम्रो किताब लेख्न राम्रो किताब पढ्नुपर्छ, राम्रो फिल्म बनाउन राम्रो फिल्म हेर्नुपर्छ। संसारभरका फिल्म हेर्न पाएर फिल्म बनाउनेले पनि सहयोग पाइरहेका छन्।
चुनौतीहरू?
सबभन्दा ठूलो चुनौती आर्थिक सहयोगको हो। यस्तो काम सरकारले गर्नुपर्ने हो, हामी त नजानेर फिल्म क्षेत्रमा पसेका हौं। सरकारले गर्न सक्दैन भने पनि हामीलाई पूरा सहयोग गर्नुपर्ने हो। त्यसो हुने हो भने विभिन्न संस्थालाई खोजिरहनै पर्दैनथ्यो।
हामीले पाएको सहयोग एक वर्षका लागि मात्रै हो, अर्को वर्ष फेरि खोज्नुपर्छ। त्यसको पनि कुनै ग्यारेन्टी छैन। महानगरपालिकाले हल भने उपलब्ध गराइदिएको छ। काठमाडौं सहरकै लागि नयाँ आयाम भएकाले सरकारले पूरा सहयोग गर्नुपर्ने हो।
किम्फ महोत्सव समयमा मात्रै प्रचारमा आउँछ। अरू समय कता हराउँछ?
सर्प जस्तै हो, 'हाइबरनेसन'मा जान्छ (हाँस्दै)। पाँच दिन जुन फिल्म देखाइन्छ त्यो एक वर्षको कामको नतिजा हो। यो दुई–तीन दिनमा हुने होइन।
फिल्म महोत्सव सकिनेबित्तिकै हामी 'घुम्ती किम्फ' गर्छौं। यहाँका फिल्मको प्याकेज बनाएर सकेसम्म उपत्यका बाहिरका दुई–तीन ठाउँ देखाउँछौं। यसरी हामी ५१ जिल्ला गइसकेका छौं। यहाँका फिल्म मनोरञ्जन मात्रै नभई शिक्षा पनि हो। स्कुलहरूमा जान्छौं। मौका पर्दा चउरमा पनि देखाउँछौं।
फिल्म सकिएपछि विभिन्न सहयोगी देशलाई रिपोर्ट पठाउछौं र अर्को महोत्सवको तयारी गर्छौं। अप्रिलसम्म अर्को फिल्मको आवेदन खुल्छ। एक हप्ताभित्रै फिल्म आउन थालिहाल्छन्। हाम्रो समूहले त्यही बेलैदेखि फिल्म हेर्न थाल्छन्। अगस्टमा आवेदन बन्द हुन्छ अनि छनोट थाल्छौं।
सेप्टेम्बरभरिमा फिल्म फाइनल हुन्छ, अक्टोबरमा घोषणा। नोभेम्बरभर देखाउने फिल्मको अन्तिम कपी मगाउँछौं। डिसेम्बरमा त महोत्सव भइहाल्यो।