थाहा छैन जन र जनताबीचको रौचिरा के हो? तर रामेश आफ्नो बायोमा भन्छन्– जनताको कलाकार लेख्नुस्। पारिजातसमेत संलग्न 'राल्फाली' संगीत अभियानमा लागेर उनले गाउँबस्तीका कुनाकन्दरामा पञ्चायत विरोधी चेत फैलाए।
'गाउँगाउँबाट उठ', 'एक जुगमा एक दिन', 'आऊ मिलाऊ हाम्रा हातहरू'जस्ता जनप्रिय गीतका गायक रामेशले जीवनको लामो समय संगीत शिक्षकका रूपमा बिताएका छन्। उनी 'बलिदान' फिल्म पटकथाकार र संगीतकार पनि हुन्।
७५ वर्षीय रामेश यति बेला केटौले जोससहित आफ्ना संस्मरणहरूको शृंखला निकाल्न सक्रिय छन्। बालबालिका लागि संगीत सिर्जनासमेत गर्दै आएका रामेशसँग उनकै बाल्यकालीन जिन्दगी समेटिएको 'बालापन जीवनको'को सेरोफेरोमा सेतोपाटीका प्रभाकर गौतमले गरेको कुराकानी–
काठमाडौंमा किताब लेख्ने वातावरण छैन?
हो, काठमाडौंको जीवन यो सहरजस्तै अस्तव्यस्त छ। कलाकार मान्छे कहिले यता आइज भन्छन्। कहिले उता जाम् भन्छन्। किताब लेख्न काठमाडौं छोड्नुपर्यो।
एकै पटकमा लेखाइ सकाउनुभयो कि सम्पादन र परिमार्जन पनि गर्नुभयो?
सुरूमा किताब अर्कै थियो। एकातिर 'फ्ल्यासब्याक'मा केटाकेटीको कुरा आउँथ्यो, अर्कोतिर म कसरी कम्युनिष्ट पार्टीमा लागेँ भन्ने जानकारी थियो। एउटै किताबमा खण्ड–खण्डजस्तो बनेकोले शृंखलाबद्ध रुपमा निकाल्ने सुझाव आयो। प्रकाशकसँगको सल्लाहमा किताब तीन खण्डमा निकाल्ने निर्णय भयो।
झन्डै नौ वर्षको उमेरसम्मका कुरा अटाएको पहिलो खण्ड नै 'बालापन जीवनको' हो। दुईचार पटक सम्पादन र परिमार्जन गरेपछि मात्र किताबले अन्तिम रूप पायो।
यसमा तपाईं आफूले कुरा बुझ्ने उमेरभन्दा अघिको बालापनको सन्दर्भ पनि चर्चा गर्नुभएको छ त?
सानोमा कतिपय कुरा सुनिएको हुन्छ। त्यसको सन्दर्भ थाहा हुँदैन। त्यस बेला सुनेका कति कुरा म बुझ्दिनथेँ। आफू र आफ्नो बालापनका केही त्यस्ता कुरा थिए, जसबारे जान्न म उत्सुक थिएँ। पछि तिनै कुरा दिदीहरू, ठूल्दाइ र बासँग सोधेर थाहा पाएँ। किताबमा उहाँहरूकै व्याख्या र वर्णनलाई आधार बनाएको छु। त्यो समाज र परिवेश कस्तो थियो भन्नेबारे आफ्नै अनुभवका आधारमा पनि लेखेको छु। किताबको ठाउँ-ठाउँमा हिजो र आजको समयको तुलना गरेको छु।
बच्चामा आफू संकोची थिएँ भन्ने लेख्नुभएको छ। किताब लेख्दा 'नलेखौं धत्' भनेर केही कुरामा संकोच पनि लाग्यो कि?
आफ्ना संकोच, जिज्ञासा र लाजबारे नलेखे त के बालापनको कुरा लेख्नु र!
आमबालकजस्तै म पनि संकोची, जिज्ञासू र लजालू थिएँ। झगडा गर्थेँ, रुन्थेँ। तारा गन्दै कल्पनाको संसारमा हराउँथे। आकाशमा इन्द्रेणी देख्दा आमालाई रोमाञ्चित हुँदै सोध्थेँ, 'यो के हो, कसरी भको?' आमा भन्नुहुन्थ्यो, 'इन्द्र भगवानले पृथ्वीमा बाटो बनाएको। उनले धर्तीमा पाउ राख्ने बित्तिकै यो हराएर जान्छ।'
आमा हरेक कुरा भगवानले गरेको भन्नुहुन्थ्यो। उहाँका यस्तै काल्पनिक र भावनामय जवाफले चित्त बुझ्दैनथ्यो। म शंकालू बन्थेँ।
झगडा गर्दा, रुँदा वा केही गर्दा नि नमानेको बेला ग्रामोफोनमा बज्ने संगीत र स्वरले फकिएर बस्थेँ। सानै उमेरमा तबला बजाउँथे। मैले बजाएको सुनेर अरूले प्रशंसा गर्थे, अनि म एकदमै लजाउँथे। किताबमा लजाएको, रिसाएको र बदमासी गरेका सबै कुरा खुलेर लेखेको छु।
आफ्नै बा बारे आलोचनात्मक कुरा पनि लेखेको छु। बनावटी केही छैन। यस किताबका अक्षर मेरो मनको सत्यबाट आएका हुन्।
साहित्यको चस्का कहाँनेरबाट लाग्यो?
आमाले दन्त्यकथा सुनाउनुहुन्थ्यो। कथा सुन्न कुन बालकलाई मनपर्दैन होला? बच्चादेखि नै कथाका किताब पढ्न मनपर्थ्यो। रमाइला र सरल ती पढे सुनेका कथासँग हाँसियो, रोइयो।
आफूलाई साहित्यकार त मान्दिनँ, तर साहित्य पढ्ने मान्छे चाहिँ हुँ। साहित्यको रस र समाजका असल मान्छेको प्रोत्साहनले किताब लेख्ने ऊर्जा मिल्यो। सानोमा मलाई जस्तो भाषाले आकर्षित गर्यो, यो किताब लेख्दा त्यस्तै भाषा प्रयोग गर्ने प्रयास गरेको छु। पढ्ने कुराको भाषा सरल नभएको भए म सानोमा पढेर के सिक्थेँ होला र! त्यसैले आफ्नो किताब क्लिष्ट र अमूर्त बनाइनँ।
उहाँहरूको सुझाव, सल्लाह र साथले केही लेखेँ। मेरो किताब ठूलो उमेरका लागि पनि हो। तर, कमसेकम सात आठ कक्षा पढ्ने विद्यार्थीले पनि पढेर शिक्षा र आनन्द लिऊन् भन्ने चाहना छ।
साहित्यकार नमाने पनि त्यही बेलादेखि आफूलाई गायक र संगीतकार त मान्नुहुन्थ्यो होला?
हैन, तबला बजाउने, राग गाउने र हिन्दी फिल्मका गीतमा रमाउने भए पनि कुनै कलाकार वा संगीतकार हुन्छु भन्ने थिएन। यत्ति लाग्थ्यो, म संगीत सुन्ने मान्छे हुँ। संगीत संसारभित्रको ताल, लयको सजावट र प्रस्तुतिमा हराउने, सुरहरूको चमत्कारबाट आनन्द लिने संगीतप्रेमी मान्छेमात्रै हुन्छु जस्तो लाग्थ्यो। तर समय परिस्थितिले 'राल्फाली' बनाइदियो।
दरबारीया माहोलमा हुर्किएको तपाईंको संगीत जीवन पछि गएर दरबार विरोधी धारमा फक्रियो नि?
रुद्रशमशेर पाल्पाका कमान्डर इन चिफ थिए। राजधानीबाट धपाइएका, अलि पन्छाइएका राणाजी। मेरा बा रुद्रशमशेरका सुब्बा। राणा दरबारमा भारतबाट उस्तादहरू झिकाइ दरबारका सुसारे र तालिमे नानीहरूलाई नाच र गीत संगीतको तालिम दिइन्थ्यो। ठूल्ठूला जलसा र महफिल आयोजना गरिन्थे। ती तालिमे नानीका राम्रा राम्रा गीत भारतबाट रेकर्ड गराएर ल्याइन्थ्यो।
राणाहरूले जे गर्थे, बाले पनि त्यसकै नक्कल गर्नुहुन्थ्यो। हाम्रो घरको ग्रामोफोनमा ती सुसारे र तालिमे नानीहरूले गाएका गीत बज्थे। हाम्रो बा, दाइ र दिदी सबै राम्रो गाउने-बजाउने, घरमै संगीतको महफिल जम्थ्यो। सपरिवार गाउँथ्यौं, बजाउँथ्यौं।
तर घरमा राणाहरूको मात्रै प्रभाव थिएन। दाइ सहिद गंगालालको चेला, खुंखार कांग्रेसी हुनुहुन्थ्यो। आमा श्रम गर्ने वर्गलाई माया गर्ने जनवादी हुनुहुन्थ्यो। म आमा र दाइतिरै ढल्किएँ।
सहिद गंगालालको चेला तपाईंका ठूल्दाइ नै तपाईंको पहिलो राजनीतिक गुरु हो त?
हैन। 'एक्लै खाएको के मीठो, बाँडेर खाएको पो मीठो' भनेर सिकाउने मेरी आमा नै मेरो आदर्श र प्रथम गुरू हो।
रामेछापमा जागिरे भएर जाँदा गंगालालका बुबा भक्तलाल श्रेष्ठ र हाम्रो बाको मित्रता भएछ। गंगालालले दाइहरूलाई राणा शासन नढलेसम्म देश र जनताको कल्याण हुन्न भनेर संगठनमा आबद्ध गराएका थिए। ९७ सालमा गंगालाल सहिद भएपछि हाम्रो दाइले गंगालालको सपना पूरा गर्छु भनेर प्रण गर्नुभएको थियो।
'नेपाली अघि बढ हातमा क्रान्ति झन्डा लिई', 'स्वतन्त्र नेपाल समुन्नत नेपाल स्वाधीन नेपाल'जस्ता क्रान्तिकारी भावनाले ओतप्रोत गीत दाइबाटै सुनेँ। दाइ र दाइ पुस्ताको योगदानकै प्रेरणाले पछि 'गाउँगाउँबाट उठ' र 'रक्तक्रान्तिको ज्वालामुखी'जस्ता गीत रचियो।
तपाईंलाई रागरागिनीसँग खेल्न सिकाउने संगीत गुरु बुबातिर पनि त ढल्किन सक्नुहुन्थ्यो...
मेरा बा निरंकुश र ढलपल अवस्थामा पुगिसकेको राणा शासनको प्रतीक हुनुहुन्थ्यो। आमा करुणा, दया र ममताको साक्षात उदाहरण। अनि दाइ, राणा शासन ढालेर नयाँ भविष्यको सपना देखाउने 'हिरो'। म बुबातिर कसरी ढल्कन सक्थेँ?
किताबमा त्यस बेलाको संगीतलाई नेपाली कम, हिन्दुस्तानी बढी भन्नुभएको छ नि?
त्यस बखतको नेपालमा उर्दू, फारसी र हिन्दुस्तानी शास्त्रीय संगीतको ठूलो प्रभाव थियो। शब्द नेपाली तर गीतका लय हिन्दूस्तानी शास्त्रीय संगीतमा आधारित ठूमरी, भजन र गजलजस्तो हुन्थे। संगीतको ढाचाकाँचा पुरै हिन्दुस्तानी।
मित्रसेन र मास्टर रत्नदासजस्ता झ्याउरे लयमा गाउने कलाकार पनि थिए, हैन र?
केही झ्याउरे पनि गाइए। तर तिनमा मादलको साटो तबला बज्थ्यो। नेपाली सारंगी हैन, उस्तादहरूले बजाएको हार्मोनियमको संगीत हुन्थ्यो। तालहरूको बोल पनि उतैका हुन्थे। मित्रसेनका गीतलाई लोकगीत भन्न मिल्छ। मास्टर रत्नदासले केही झ्याउरे लयमा गाए पनि उनको शैली केएल सहगलसँग मिल्छ। मेलवादेवीका गीत ठूमरीजस्ता लाग्छन्।
हिन्दूस्तानी प्रभाव हुँदाहुँदै पनि विषयवस्तु, शैली, छन्द र गायकीमा कतै न कतै नेपालीपन पनि पाइने ती गीतमा अचम्मको सम्मिश्रण हुन्थ्यो। दुःखको कुरा त्यस बेलाका रेकर्ड धेरै नासिए। त्यो इतिहास जोगाइनुपर्थ्यो।
रंगीन पाल्पाबाट परिवारसहित सुदूर डोटी पुग्दा संगीतमा जस्तै डोटीमा पनि भारतीय प्रभावको असरबारे निकै चर्चा गर्नुभएको छ...
२००५ सालमा बाको सरूवा भई हाम्रो परिवार डोटीतिर लाग्यो। मेरो बाल मस्तिष्कमा पाल्पा, तानसेन बजारको चहलपहल, रौनकको छाप भव्य थियो। कहाँ संगीतमय पाल्पा, तानसेन बजार कहाँ विकट डोटी। डोटी हाम्रो परिवारका लागि निर्वासनमा पठाएजस्तै भयो।
मलाई त्यो ठाउँ भारतको कुनै सानो प्रान्तजस्तो पो लाग्यो। नोट, सामान, शिक्षक जम्मै भारतीय। कक्षामा पनि भारतको राष्ट्रियगान 'जन गण मन है भाग्य विधाता' गाइन्थ्यो। म पुगेको समयको डोटी जस्तो थियो, त्यै लेखेको हुँ।
२००७ सालको क्रान्तिको उत्कर्ष पनि डोटीमै देख्नु/भोग्नुभएछ...
हो, डोटीमा हाम्रा बालाई हाकिम पद जोगाउन परेको सकस देखेँ। राणाहरूले 'कांग्रेसलाई समातेर ल्या' भन्थे। बालाई आफ्नो छोरा कसरी गिरफ्तार गर्ने भन्ने पिरलो थियो। उहाँको ढलमल मानसिकता र डोटीमा कांग्रेसहरूले गरेको क्रान्ति दुवै देखियो, भोगियो। मेरो उमेरले सात सालको क्रान्तिमा के देख्यो, भोग्यो किताबमा छ।
डोटीमै आमा बित्नुभयो। गाउँलेले आमा भूतप्रेत बनेर तर्साउन आउने कुरा भनेपछिको आफ्नो मनोदशा सम्झनुहुन्छ?
आमा खस्नुभो। आमाको मृत्यु भएर किरिया बसिसकेपछि कसैले मलाई 'सुब्बिनी सापलाई ऊ त्यो दारिमको बोटनेर देखेँ' भन्दियो। मलाई आमा यतैकतै हुनुन्छ भनेर कत्रो हौसला आयो। दौडेर त्यो रात आमालाई भेट्न दारिमको बोटनेर पुगेको थिएँ। भूतप्रेत अहिले मान्दिनँ। तर त्यो बेला निर्दोष थिएँ। आमा कतै फूलबारीमा डुलिरहनुभएको छ कि? बारीमा काम गर्दै हुनुन्छ कि? भन्ने आशले मध्यराति छतबाट हेर्थेँ, खोज्थेँ।
'पृथ्वीका असल मान्छेले मनुष्य चोला त्यागेपछि आकाशमा तारा भएर उदाउँछन्,' आमा भन्नुहुन्थ्यो। आमा असल हुनुहुन्थ्यो। उहाँ तारा बनेर आकाशबाट हेरिरहनुभएको छ कि भनेर म खोज्थेँ। तर आमाले कहिल्यै बाबु 'म यहाँ छु' भन्नुभएन।
१३ दिनको काजकिरियापछि भन्नुभयो– हिजोसम्म तिम्रो आमा यतै वरिपरि थिइन्, आजदेखि टाढा–टाढा हुँदै जानेछिन् है। त्यो कुराले कस्तो पीडाको अनुभूति दियो होला भन्नुस् त। अलप हुन लागेकी आमालाई समातेर आफूसँगै राख्न चाहने त्यो बेलाको भावना सम्झँदा मन रुन्छ नि।
डोटी छोडेपछि फेरि त्यहाँ पुग्नुभयो?
त्यसपछि डोटी जाने अवसर जुरेन। तर सपनामा अझै पनि डोटी देख्छु। धेरै पटक त्यहाँ पुगिरहेको हुन्छु। त्यो सात/आठ सालतिरको डोटी आज पनि मेरो आँखाभरि, मनभरि छ।
पहिलो खण्डमा डोटी छोड्नुभयो। दोस्रो खण्डमा कहाँ पुग्नुहोला त?
डोटीबाट सरुवा भएर बा सिन्धुपाल्चोक चौतारामा पुगेको। पहिला त्यही चौतारामा बा मुखिया पदमा सरुवा हुनुभएको थियो, पछि सुब्बा भएर जानुभयो। दोस्रो खण्डमा त्यो समयको चौतारा, तामाङ बाहुल्य समाजमा गीत संगीत र राजनीतिको चर्चा गर्नेछु।
अड्डाका सिपाही तामाङ नै बढी थिए। उनीहरुबाट लोकगीतको ज्ञान कसरी पायौं? काठमाडौं २०१० र ११ मा पद्मोदय हाइस्कुलमा दुई वर्ष पढ्न बस्दाको समयको काठमाडौं कस्तो थियो त? सामाजिक चलन, भनाइ र सोचाइका कुरा लेख्नेछु। समग्रमा किताबमा राजनीति र संगीतको दृष्टिबाट इतिहासलाई हेर्ने प्रयास गर्नेछु।
दोस्रो र तेस्रो भाग कहिले पढ्न पाइएला?
दोस्रो भाग पनि काठमाडौंमा बसेर लेख्न सकिन्नँ।
तपाईंका लागि गीत सामाजिक चेतना जगाउने माध्यम हो। तपाईंको किताबको चाहिँ उपादेयता के होला?
मेरो किताबमा हिजो र आजबीचको तुलना छ। राम्रो र नराम्रोबीचको संघर्ष छ। यो किताब हाम्रो जीवन, हाम्रो विगत कस्तो थियो र कस्तो पार्नुपर्छ भन्नेबारे बुझ्न र सोच्न सिकाउने खुराक हो।