दिनेशकुमार कार्कीको पहिलो उपन्यास ‘हन्बेर्नो’ शनिबार सार्वजनिक भएको छ। कार्कीसँग उनको उपन्यासबारे सेतोपाटीले सोधेको केही प्रश्नको उत्तर यहाँ प्रस्तुत गरिएको छ।
हन्बेर्नोको अर्थ के हो?
हन्बेर्नो पूर्वी नेपालतिर प्रचलित शब्द हो। यो उपन्यासमा यसको अर्थ आगोको भट्टीबाट तातो कराइ वा खड्कुलो निकाल्न प्रयोग गरिने एक थोत्रो कपडा भत्रे बुझिन्छ जसको प्रयोगपछि कुनै खास महत्व हुँदैन। त्यसको राखिने कुनै खास र राम्रो स्थान पनि हुँदैन। नेपाली वृहत शब्दकोशले यसलाई काम नलाग्ने वस्तुको रुपमा पनि उल्लेख गरेको छ।
यसको मुख्य विषयवस्तु के हो र कसरी जन्मियो?
यो उपन्यासको मुख्य विषयवस्तु भनेको नेपाली जातीहरुको आत्मसम्मान, स्वभिमान र बहादुरी हो जो बर्षौंदेखि क्षय हुँदै गइरहेको छ। उनीहरु जन्मे ÷हुर्केको देशको सार्वभौमिकता र स्वाधिनता यसको मुद्दा हो जो दिनहुँ लुलो र कमजोर हुँदै गइरहेको छ।
कुनै जमानमा नेपालीहरुको बहादुरीको किस्सा संसारभरी फैलिएको थियो। के त्यो बहादुरी अहिले पनि नेपालीमा छ? अहिले पनि उनीहरु बहादुर छन्? छन् भने किन उनीहरुको आत्मसम्मान र स्वाभिमानमा घाउ र खतहरु छन्? किन उनीहरु बस्ने देशको स्वाधीनता र सार्वभौमिकता लुतीखरे हुँदै गइरहेको छ? यिनै प्रश्नहरुको उत्तर समेट्दै उपन्यास लेखेको छु।
अलि विस्तारमा भन्दा खासगरी सुगौली सन्धिदेखि यता नेपालीहरुलाई हेर्ने हो भने उनीहरु बहादुर भएका देखिँदैनन्, बरु विरन्तरीको हन्बेर्नो मात्र भएका छन्। काम लागुन्जेल भाँडो, काम सिद्धियो ठाँडो भएका छन्।
कथाको एउटा पोयोमा नेपाली जातीहरु भुटानको रक्षार्थ सन् १६१६ मा राजकीय सम्माानका साथ; भाषा, धर्म, संस्कृति र परम्परासहित त्यहाँ गएका थिए। उनीहरु त्यतिकै गएका थिएनन्। भुटानका धर्मअवतारको मागपछि पठाइएको थियो। विन्ती बिसाएपछि पठाइएको थियो। त्यसपछि पनि धर्मअवतार नाम्ग्येल फेरि तत्कालिन गोर्खामा आए। त्यतिखेर सम्भवतः डम्बर शाहा राजा थिए। र, अरु थुपै्र नेपालीहरुलाई मागेर त्यो देशको रक्षा र विकास गर्न भनी लगे। त्यहाँ गएर नेपालीहरुले बल्छी खेलेर बसेनन् बरु भुटानको विकास र रक्षार्थ सतिसालको रुखझैं सदा खडा हुँदै आए। धर्मअवतारको आज्ञाअनुसार भनेबमोजिमको काम गर्दै गए। तर काम हुन्जेल भाँडो, आफल तेरो ठाँडो भनेझैं त्यहाँको सरकारले नेपालीहरुलाई सन् १९९० देखि खेदाउन थाल्यो। ती नेपाली जसले सदियौंदेखि भुटानको विकास र रक्षार्थ खुन र पसिना बगाए, तिनै नेपालीलाई त्यहाँबाट खेदाइयो। आफ्ना छोरीचेली बलात्कार हुँदा, निर्दोष छोराहरु मारिँदा पनि, बोल्दै आएको भाषा, मान्दै आएको परम्परा र संस्कृति अपहरित हुँदा पनि नेपालीहरुले चुँसम्म पनि गर्ने सकेनन्। उनीहरुलाई प्रजातन्त्र मागेको आरोपमा लखेटियो। त्यतिखेर नेपालीहरुको बहादुरी कहाँ गयो? भुटानको विकास र रक्षार्थ लड्न सक्ने नेपालीहरुले किन आफ्नो भाषा, संस्कृति, परम्परा, छोरीबुहारी, आत्मसम्मान, स्वाभिमान कुल्चिमिल्ची हुँदा पनि केही गर्न सकेनन्? किन घुँयेत्रीएर वर्षौंैसम्म शरणार्थी भएर बसे ? किन फेरि फर्केर आफ्नो देश जान सकेनन् र पुनर्वासमा गए? कि यही नै नेपालीहरुको बहादुरी हो? होइन। उनीहरु त केवल त्यहाँ हन्बेर्नो भए। यो उपन्यासमा कथाकी एक प्रमुख पात्र बुलबुलले हामी अफ्नो देश फर्कनु पर्छ। अर्काको देशमा फेरि हन्बेर्नो हुन जानु हुँदैन भनेर भुटान नागरिक समाज मार्फत् स्वदेश फिर्ती अभियान चलाउँछे र भुटान जान्छे।
कथाको अर्को पोयोमा गरिबीको गर्तमा गाडिएका, भ्रष्टाचारको भालामा, अत्याचारको आरामा रेटिँदै गरेका नेपालीहरुको कथा छ, जसबाट उनीहरु मुक्ति खोजिरहेछन् जसलाई उपन्यासमा नागरिकमुक्ति भनिएको छ।
नेपालीहरु दुइछाक जुटाउन, पानी नचुहिने घर बनाउन विरन्तरीको चाकरी गर्न विदेश जान्छन्। कोही भारतीय गोर्खा भएर भारत–पाकिस्ताको बोर्डरमा रगत बगाउँछन्। कोही ब्रिटिसको सेना भएर अफगानिस्तानमा मृत्युको बिस्कुन लाउँछन्। ती काम त भाग्यमानिले मात्र पाउँछन्। अरु काम हुन्छन्ः कुकुरलाई पिसाब फेराउने, सेठसेठ्नीको स्याहार गर्ने, गेट्की बस्ने, कोइलाखानीमा काम गर्ने। अरबमा गएर गधा जोत्ने, उँट चराउँने, भेडा हेर्ने। मलेसियामा गएर शरीरमा पानी खन्याउँदै आगाको भट्टीमा काम गर्ने। उनीहरुको एउटै सपना हुन्छ– गरिखाने मेलो र सानो घर बनाउने। ती नेपालीहरुले यस्तो सपना देखिरहँदा यता डरलाग्दा साँपहरुले डसिरहेका छन्। ती नेपालीहरु जो विदेशमा रगत र पसिना बगाइरहेका छन्। तिनीहरुले फर्केर आउँदा देशलाई भेट्लान् कि नभेट्लान्? यदि देश नै रहेन भने तिनीहरु कहाँ जालान्? अहिलेसम्म नेपालीहरु जहँबाट खेदिए पनि शरण लिने ठाउँ नेपाल नै हो। हिजो मेघालयबाट खेदिँदा पनि यहीँ आएर बसेका थिए नेपालीहरु। बर्माबाट खेदिँदा पनि यहीं आएर बसेका थिए नेपालीहरु। भुटानबाट खेदिँदा पनि यहीं आएर बसे नेपालीहरु।
यसको लेखन प्रक्रिया कस्तो छ?
यो उपन्यास वि.सं. २०५४ सालतिर मैले लेख्न थालेको हुँ, जतिखेर म मेघालयको कोइलाखानीमा मजदुरी गर्थें। तर, त्यतिखेर एउटा संस्मरण वा कथा बनाउने इच्छाले टिपोट गरिरहेको थिएँ। मैले खानीमा काम गर्दा त्यहाँको दुःख देखेँ। सन् १९८६ मा भड्केको जातीय दङ्गाको बारेमा बुझें। खानीमा भुटानी शरणार्थीहरु काम गर्दथे। तिनीहरुको कथा पनि मैले बुझ्ने मौका पाएँ। ती सबै दुःख र पीडाका कथाहरु मेरा कथामा मिसिँदै गए। पछि नेपाल आएपछि बरिष्ठ साहित्यकार कृष्ण धरावासीलाई यो कथा सुनाएँ। उहाँले उपन्यास बनाउन सल्लाह दिनुभयो। लेख्न हौसिएँ र मोटामोटी कथाको स्वरुप तयार पारेँ। तर, उपन्यासको यो कथाको काँचोकचिलो थियो, पाकेको थिएन। भर्सेको थिएन। वि.सं.२०७० सालमा मैले मेरो शिक्षण पेशाबाट ३ वर्ष बिदा लिएँ र पैसा कमाउन भनी साउदी अरब गएँ। जाँदा मैले उपन्यासको पाण्डुलिपि पनि लिएर गएको थिएँ। मैले बिदा लिएर किन साउदी गएँ? साउदी जानुको आफ्नै कथा छ। साउदी गएपछि मेरो कथाले खारिने मौका पायो। मैले त्यो कथालाई साउदीको दमाम, अलखोबारमा बसेर पुर्ण पारें र न्वारान गरें– हन्बेर्नो। सारमा भन्नुपर्दा साउदीको अत्यन्त कष्टकर जिन्दगीमा मैले यो कथा पुरा गरेको हुँ र निकै समय लगाएर लेखेको हुँ।
हन्बेर्नोबाट एउटा कथावाचकको भूमिकामा तपाईंले भन्न खोज्नुभएको कुराचाहिँ के हो?
मैले उपन्यासमा पात्रमार्फत् व्यक्त गर्न खोजेको कुरा ‘क्रिस्टल’झैं सफा छ। हाम्रा पुर्खा बहादुर थिए। तिनै पुर्खाले कमाएको बहादुरीको ब्याज खाएर हामी आजसम्म सास फेरिरहेका छौं तर, हामी बहादुर होइनौं। मात्र कसै न कसैको हन्बेर्नो हौं। बहादुरीको पेटमा जन्मँदै कोही बहादुर हुँदैन। बहादुर त त्यो हो, जसले देश र नागरिकको मुक्तिका बारेमा सोच्छ। देशलाई तमामखाले दुष्चक्रको दाराबाट मुक्त गर्छ। म देशका सम्पूर्ण नेपाली जातीहरुलाई उपन्यासमार्फत् विदेश गएर कसैको हन्बेर्नो हुनुभन्दा आफ्नो देशलाई जोगाएर बहादुरीको नयाँ उदाहरण पेश गर्न पात्र मार्फत अनुरोध गरेको छु।