कथा भन्न सबैले सक्छन्। तर, ओस्कारको उत्कृष्ट विदेशी भाषाको फिल्म विधामा ‘दि सेल्सम्यान’को लागि भर्खरै अवार्ड जितेका इरानी लेखक तथा निर्देशक अस्गर फर्हादी तपाईँलाई उनीसँगै कथा भन्ने बनाउँछन्।
उनको पछिल्लो ड्रामा ‘दि सेल्सम्यान’ एक जोडीको कथा हो, जो एउटा पूर्व यौनकर्मी महिलाको अपार्टमेन्टमा बस्न पुग्छन्। त्यसैक्रममा त्यहाँ ठूलो अपराध हुन्छ, जसको प्रत्यक्ष वा अप्रत्यक्ष सिकार उनीहरू दुवै हुन्छन्। जब उनीहरू फरक– फरक तरिकाबाट यौन अपराधले ल्याएको मानसिक असरको सिकार भइरहेका हुन्छन्। अस्गरका दर्शकहरू एउटा फरक खाले द्विधामा पुग्छन् र सोच्छन् कथामा आर्थर मिलरको पुलिट्जर पुरस्कार जितेको नाटक ‘दि डेथ अफ दि सेल्सम्यान’ को खास महत्त्व के छ?’ किनकि खाली समयमा दुवै पात्रहरू त्यही नाटकलाई स्टेजमा अभिनय गरिरहेको पनि देखिन्छन्।
[caption id="" align="alignnone" width="1200"]
सेल्सम्यानका निर्देशक फर्हादी[/caption]
फिल्मले कुनै सहज जवाफहरू दिँदैनन् त्यसैले अघिल्लो वर्ष एक दोभाषेको सहायतामा फर्हादीसँग बस्दा मैले त्यसको जवाफ पाउँछु भन्ने सोचेको थिइनँ। तर, उनले फिल्ममा नाटक ‘दि डेथ अफ दि सेल्सम्यान’ लाई नैतिकता, परिवार र विद्यमान कलाकारिक समानुभूतिबीचको सङ्घर्षलाई देखाउनका लागि कसरी प्रयोग गरेको छु भन्ने बोलेका छन्। यो एकप्रकारले गएको वर्ष जवरजस्त फिल्मले चिनाएको एउटा सिर्जनशील दिमागको गहन अध्ययन पनि हो जसलाई तपाईँ पनि चलचित्र हलमा देख्न सक्नुहुन्छ।
एकपछि अर्को चर्चित ड्रामासँगै यी इरानी फिल्ममेकरले दर्शकलाई समकालीन नैतिक नाटकहरू त प्रस्तुत गर्छन् नै, त्यसलाई हेरेपछि दिमागमा सजिला जवाफ आउन दिँदैनन्। उनले दर्शकलाई दोधारमा पार्छन्। फिल्ममा त्यो सबै किन भयो भनेर पटकपटक सोच्न लगाउँछन्। उनी भन्छन्, ‘कि त अप्ठ्यारो विषय बुझ्दै जाऊ, ठूला सत्यहरू पत्ता लगाऊ वा संसारको जटिलता हेरेर छक्क पर र त्यसमा धेरै मानिसहरू एकैपटक सही र गलत कसरी हुन सक्छन् भन्ने कुरा छान।’
पछिल्लोपल्ट मैले ‘दि पास्ट’ को बारेमा अन्तर्वार्ता लिँदा तपाईँले १५ वा १६ वर्षपछाडिको कुनै कथाको बारेमा सोचिरहेको भन्नुभएको थियो। के त्यो यही फिल्म थियो?
म त्यो संवाद ठ्याक्कै सम्झिरहेको छुईन तर, यो हुन सम्भव छ। किनकि, यो प्रोजेक्ट मेरो दिमागमा लामो समयदेखि थियो। जबदेखि मैले थिएटरमा काम गर्न थालेँ, यो त्यसबेलैदेखि मेरो दिमागमा बसेको थियो।
‘दि सेल्सम्यान’को के पक्षले तपाईँलाई समात्यो? के यो सङ्कटको क्षण थियो वा अभिनेता र उसको जीवनलाई असर गर्ने घटनाहरूको सम्बन्धित?
अझै भन्नुपर्दा रंगमञ्च र वास्तविक जीवनबीचको सम्बन्ध। म त्यस्तो फिल्ममा काम गर्न खोजिरहेको थिएँ, जहाँ तपाईँ जति हिँड्दै जानुहुन्छ, त्यति वास्तविक जीवन र रंगमञ्चबीचको दुरी हराउँदै जाओस्। म दर्शकहरू कुनै एक बिन्दुमा पुगेर ‘यो रंगमञ्च हो कि वास्तविक जीवन?’ सोधुन् भन्ने चाहान्थेँ।
‘दि डेथ अफ दि सेल्सम्यान’को के कुरा थियो जसलाई आफ्नो पात्रले फिल्ममा निभाउने नाटक बनाउने सोच्नुभयो?
जब मैले कथाको सारांश लेखेँ, त्यो धेरै लामो बन्यो। त्यसपछि फिल्ममा कथाको पात्रहरूले खोजिहिँड्ने कुनै नाटकको खोजीमा म हिँड्न थालेँ। आर्थर मिलरको नाटकमा पुग्नुभन्दा पहिला मैले पहिला पढेका धेरै नाटकहरू फेरि दोहोर्याएर पढेँ। दोस्रोपटक त्यसलाई पढ्दा म धेरै उत्साहित थिएँ किनकि, मैले उक्त नाटक मेरो मुख्य कथाले ऐना हेरेजस्तो लाग्यो।
मेरा लागि यो चाखलाग्दो किन पनि भयो भने कथामा एउटा पात्र थियो, जो हरेक रात स्टेजमा विली लोम्यान ९नाटक दि डेथ अफ दि सेल्सम्यानको मुख्य पात्र० को रोल गर्थ्यो। त्यो अभिनयमार्फत उसले आफ्नो पात्र र दर्शकमा एकप्रकारको परिचय खोजी स्थापित गर्थ्यो। र, त्यसरी नै उसले आफ्नो रियल लाइफमा विली लोम्यानजस्तो पात्र भेट्यो, जो हरेक रात हेर्दा पनि उस्तै उस्तै देखिन्छन्। त्यसको कारण उसले त्यसरी व्यवहार गर्नुपर्ने हुन्छ कि, ऊ नसोचेको मान्छे बन्न पुग्छ। र, त्यो बुढो मान्छे जो अन्तिममा देखिन्छ, एकप्रकारले विली लोम्यान र उसकी बुढी लिण्डाको इरानियन भर्सन हो।
मेरो विचारमा हामी के सोच्छौँ भने कलाकार– अभिनेता, लेखक, फिल्ममेकर त्यस्ता हुन् जसले संसारभर समानुभूती बाँड्न सक्छन्। र, यहाँ एक फिल्म छ जसले त्यसैलाई उच्च विन्दुमा पुर्याएर चुनौती दिइरहेको छ। के तपाईँ यो कथा लेखनको प्रक्रियाको बारेमा बताउन सक्नुहुन्छ?
मेरो विचारमा कलाले आज गर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा नै दर्शकसम्म समानुभूती पुर्याउनु हो। समानुभूती पुर्याउनु सजिलो काम हो जस्तो लाग्छ तर, एक कलाकारको रूपमा वास्तविक जीवनमा हामी कहिलेकाहीँ पुर्याउनै सक्दैनौँँ। यो फिल्ममा पनि मुख्य पात्र इमद उसको विद्यार्थीहरू, छिमेकी, सहकर्मी वा सबैले समानुभूती राख्ने पात्र हो जस्तो लाग्छ। तर, जब उसले आफूलाई आफ्नै जीवनमा भेट्टाउँछ उmप्रति कसैले समानुभूति व्यक्त गर्न सक्दैन। यो विरोधाभाष हामी सबैको जीवनमा कुनै न कुनै रूपमा बसिरहेको हुन्छ। कलाकारहरू अभिनयको क्रममा त्यस्ता विषयहरूमा काम गरिरहेका हुन्छन्, जुन उनीहरू आफ्नो वास्तविक जीवनमा कहिल्यै सफल भएका हुँदैनन्।
र, ऊसँग एउटा इच्छा छ वा भनौं, चाहना छ कि ऊ मान्छेहरूलाई पर्दाफास गर्न चाहन्छ। उसको एक विद्यार्थी छ जसको मोबाइलमा फोटोहरू छन्। इमद आफ्नो बुवालाई त्यो कुरा भन्न चाहन्छ। ऊ विली लोम्यान पात्रलाई फिल्मको अन्तिममा श्रीमतीको बीचमा पर्दाफास गराउन चाहन्छ। यो उसको सकारात्मक गुण हो वा नकारात्मक गुण हो?
यो उक्त पात्रको कालो पक्ष हो। यो नाटकमा विली लोम्यानको छोरा बिफले नाटकभर आफ्नो आमालाई केही सुनाउन खोजेको कुरासँग मिल्छ। हामी कुराहरू बिफको दृष्टिकोणबाट हेर्छौँ, उसका तर्कहरू सुन्छौँ। तर जब ऊ आफ्नो बाबुलाई त्यो कुरा भन्न खोजिरहेको हुन्छ, हामी त्यसलाई मन पराउँदैनौं। हामीले कुरा गरिरहेको विषय गोपनीयता वा व्यक्तिगत स्थानको हो।
कसैमाथि बदला लिन मन छ भने उसको गोपनीयतालाई ध्वस्त पारिदिए हुन्छ। विद्यार्थीलाई केही गल्ती गर्नासाथ बुवालाई भनिदिन्छु भन्नु वा कुनै वृद्ध मान्छेले गरेको कुनै गलत कुरालाई लिएर उसको श्रीमती र परिवारमा उसले कमाएको इज्जतलाई ध्वस्त पार्नु भन्नु एकै कुरा हुन्। नाटकभरमा बिफले यही कुरा गर्छ त्यसैले पनि नाटकको मुख्य विषय नै अपमान पनि हो।
र पनि फिल्मको मुख्य पात्रमा कलाकारहरू छन्। यसको मतलब के तिनीहरूले एक कलाकार हुनुको पक्ष र त्यसभित्र लुकेका सत्यहरूलाई उदांगो पारिरहेका हुन्?
हो, तर बदला लिनका लागि हैन। कहिलेकाहीँ तपाईँ सत्यप्रतिको इज्जत र विश्वासको कारणले सत्य बोल्नुहुन्छ। अरू बेला भने आफ्नो फाइदा हुन्छ भनेर बोल्नुहुन्छ। दोस्रो काम नैतिक आचरण हैन।
ल ठिक छ। र पनि ऊ आफूले आफैँलाई हेर्छ। मतलब उनीहरू अपराधको सिकार भएका हुन्?
हो। तर त्यो मान्छे जसले अपराध गरेको छ उसले सजाय पाउनुपर्छ उसको परिवारले हैन। र, सजाय भोग्ने मान्छे पनि अपराधको सिकार हैन। कानुनले सजाय दिनुपर्ने भएर दिएको हो।
तपाईँका फिल्महरूले प्रायः दर्शकहरूलाई भिन्न–भिन्न दृष्टिकोणहरूमा सोच्न लगाएर वा आफैँमा मूल्याङ्कन गर्ने अवस्था दिएर अप्ठ्यारोमा पारिरहेका हुन्छन्। यो फिल्म हेरेपछि त्यस्तो कुनै अचम्म लाग्नेखाले प्रतिक्रियाहरू पाउनुभएको छ?
अ धेरै नै पाएको छु। मेरा अन्य फिल्महरू भन्दा पनि धेरै धेरै दर्शकहरूले श्रीमानको पक्ष लिन्छन् किनकि, ऊ बदला लिने बाटोमा लागिरहेको छ। र जब उसले श्रीमतीलाई दुःख दिने केटालाई झापड हान्छ, मानिसहरू खुसी हुन्छन्। राहत महसुस गर्छन्। तर, कोहीकोहीलाई भने उसले बदलाले असर पनि गरेको छ।
कुनै न कुनै रूपमा तपाईँलाई आफ्नो दर्शक कस्ता छन् भन्ने थाहा हुनुपर्छ। ती दर्शकहरू जो उसले बदला लिएको देखेर खुसी हुन्छन्, तिनीहरू आफू पनि बदला लिन मन पराउनेहरू हुन्छन्। र, दर्शकहरू जो श्रीमतीको पक्षमा छन्, उनीहरूलाई त्यो विषयको समाधान गर्ने उपयुक्त माध्यम बदला हो जस्तो लाग्दैन। तिनीहरू सजिलै माफी दिन सक्ने खाले हुन्छन्। फिल्मले आफ्नै बानीसँग अझै स्पष्ट बनाउन पनि सहयोग गर्छ।
इरानमा एक जोडी यो फिल्म हेर्न सँगै गएको रहेछ। जब फिल्ममा श्रीमानले केटोलाई झापड हान्छ तब, दर्शक श्रीमानले खुसी हुँदै हुटिङ गरेछन्। उनले भन्दै थिइन्, ‘यो फिल्मले मेरो श्रीमानप्रतिको बुझाइलाई नयाँ बनाइदियो।’
प्रश्न सोध्दा यसलाई ‘सामाजिक प्रयोग’ नै भनेँ। के यो तपाईँको फिल्ममा सुरूवातदेखि नै थियो वा फिल्महरू बन्दै जाँदा विकास हुँदै गयो?
यो मेरा हरेक फिल्महरूमा छ। यसलाई कुनै स्वरूपमा वर्गीकरण गर्न वा छुट्याउन नसकेपछि म मेरा दर्शकहरूलाई विभिन्न सोच र रायमा खेल्ने अवसर दिन्छु ताकि, उनीहरूको बुझाइमा फरक परोस्। ‘अ सेपरेसन’मा पनि यस्तै भएको छ। धेरैजना दर्शकहरू कथामा भएको पुरुषको पक्षमा थिए। उनीहरूलाई लाग्यो कि उसको बुवाको ख्याल राख्नको लागि उ सही मान्छे हो र उसलाई त्यही नै ठुलो कुरा हो। यस्तै धेरैलाई महिला पात्र मन परी, किनकि उनीहरूलाई लाग्यो बच्चाको चिन्ता गर्नु उसको लागि जायज कुरा हो। धेरैले लाग्यो, यदि उनीहरू महिलाको ठाउँमा भएको भए बच्चाको भविष्यको चिन्ता गर्नेथिए।
यसले फिल्म हेरिसकेपछि पनि दर्शकहरुबीच वार्तालाप गराइरहन्छ। यसको सकारात्मक प्रभाव के पर्छ भने फिल्म चाँडै हराइहाल्दैन। वार्ता तथा छलफलको विषय भएर बसिरहन्छ। म फिल्म हेरिसकेपछि सबै दर्शकले एकैखालको विवेचना नगरून् भन्ने चाहन्छु।
हामी सबैले मानेको कुरा ‘दि सेल्सम्यान’ र ‘अ सेपरेसन’ दुवैमा दुःख र पीडा छ। के दुवैले समानुभूती खोज्छन्?
सत्य के हो भने यो कथालाई जसरी लिए पनि हामी दुवै पक्षमा समानुभुतीको अनुभव गर्छौँ। अ सेपरेसनमा हामी महिलाको पक्षमा हुन सक्छौँ तर हामी पुरुषको विपक्षमा जान सक्दैनौँ। हामी उसलाई घृणा गर्दैनौँ। हामी उसको पक्षबाट पनि सोच्छौँ, किनकि त्यहाँ भएको द्वन्द राम्रो र नराम्रोको बीचमा हैन। यो राम्रो र नराम्रोको बीचमा भएको भए हामीलाई निर्णय गर्न सजिलो भैहाल्थ्यो। यो त राम्रो र राम्रोबीचको द्वन्द्व र मतभेदको कुरा हो। यसैकारण पनि फिल्म हेरिसक्दा तपाईँलाई जटिल लागेको हो। दुईवटा असल बीचमा छान्नु पर्दा सबैलाई सकस हुन्छ।
यस्तो कथा लेख्दै गर्दा तपाईँलाई कथावस्तु सिधा राख्न समस्या हुँदैन?
यो एकदमै गाह्रो हुन्छ। खासमा भन्नुपर्दा सबैभन्दा गाह्रो। किनकि, समानुभूतिको मात्रा कुनै पात्रमा पनि थपघट हुनुहुँदैन। भयो भने त्यसले कथालाई न्याय गर्दैन। त्यसैले म बराबरी राख्ने प्रयत्न गर्छु। सोच्नुहोस् त कुनै एक मानिसले कसैको व्याक्तिगत स्पेसलाई अतिक्रमण गर्यो। मानौँ, बाथरूममा छिर्यो। अब मलाई के निश्चित हुन्छ भने दर्शकले उसलाई त्यसपछि घृणा गर्न थाल्नेछन् र मसँग त्यसो घृणालाई समानुभूतीमा बदल्नको लागि २५ वा ३० मिनेट भन्दा ज्यादा समय हुनेछैन। यो एकदमै गाह्रो काम हो।
र तपाईँ त्यसलाई व्यवस्थापन गर्दा उक्त मान्छेलाई शारीरिक रूपमा कमजोर देखाइदिनुहुन्छ। र त्यस्तो देख्नासाथ स्वभाविक रूपमा दया लागिहाल्छ।
यो एउटा कुरा हो तर अर्को कुरा के पनि हो भने उ एउटा पिता हो। जब ऊ पिता हो र उसको परिवार छ भन्ने थाहा हुन्छ हामी नजिक भएको महसुस गर्छौँ। जब ऊ भन्छ ‘मैले प्रलोभनमा परेर यस्तो गरेँ’ तब हामी झन् नजिक पुग्छौँ। यसरी नै हामी पात्रको नजिक नजिक हुँदै जान्छौँ।
तपाईँका धेरै फिल्ममा प्रायःजसो दुईवटा राम्रो स्थान भएका परिवारहरू द्वन्द्व परिरहेका हुन्छन्। उनीहरू घटनापिच्छे एकअर्कालाई अप्ठ्यारो पारिरहेका हुन्छन्। तपाईँका लागि परिवार एउटा कथाको तत्वको रूपमा हेर्दा के हो? त्यो के महत्त्व हो, जसका कारण तपाईँ यो सामाजिक संस्थालाई बारम्बार खोतलिरहनुहुन्छ?
मानिसहरूको सम्बन्धमध्ये सबैभन्दा पुरानो सम्बन्ध परिवार हो र मानवियताको पूर्णता एक परिवारको अनुभवको आधारमा मात्र अध्ययन गर्न सकिन्छ। हरेकपल्ट जब परिवारलाई हेर्छु, नयाँ नयाँ बन्दै गइरहेको जस्तो लाग्छ। समयपिच्छे हरेक अनुभव नयाँ नयाँ हुँदै जान्छन्। हरेक पल्ट जब महिला र पुरुषले पारिवारिक सम्बन्धको सुरुवात गर्छन् त्यो घुमेर जिरोमा आइहाल्छ।
त्यसैले मलाई परिवारको सम्बन्ध सागर जस्तै लाग्छ जहाँ तपाईँ हरेकपल्ट जाँदा पनि नयाँनै पाउनुहुन्छ। मानिसहरू एकअर्कामा दुरूस्तै हुन सक्छन् तर श्रीमान् श्रीमतीको सम्बन्ध एक अर्कामा कहिल्यै मिल्दैन। तपाईँ ‘यो मान्छे र त्यो मान्छे उस्तै छन्’ भन्न सक्नुहोला तर ‘यी श्रीमान् श्रीमती र ती श्रीमान् श्रीमती उस्तै छन्’ भन्नै सक्नुहुन्न। र जब उनीहरू एक अर्काको आमने सामुन्ने हुन्छन्, त्यसपछि त्यो बिल्कुलै फरक र अनौठो भैहाल्छ।
साभार- क्रेभअनलाइनडटकम