'मुस्ताङ', यस्तो फिल्म जसले परम्परामा रूमल्लिएर कमजोर भएका पाँच जना किशोरीको किशोरावस्थाको खोजी र हुर्किँदै गरेको मातृत्वको सुक्ष्म वर्णन गर्छ। डेनिज गाम्जे आर्गुभानको 'मुस्ताङ' ले ती महिलाहरूको कथा भन्छ, जो स्वतन्त्रता पाउन सबैथोक गर्छन्।
टर्कीको एउटा सानो सहरलाई पृष्ठभूमिमा राखेर खिचिएको फिल्मले दिदीबहिनीको एक समूहसँग परिचय गराउँछ, जो युवावस्थाका सामान्य खुसी वा सन्तुष्टबाट विमुख छन्। एउटा पुरूषप्रधान समाजमा उनीहरूले स्वीकृति नपाए पनि हाँस्न चाहन्छन्। खेल्न, घाममुनि बसेर समय बिताउन, केटाहरू भेट्न तथा आफ्नो मनमा भएका इच्छा तथा चाहना खुलेर व्यक्त गर्न चाहन्छन्। 'एरेन्ज म्यारिज' उनीहरूको स्वतन्त्रता र सम्बन्धमा ठूलो चुनौती भएर आउन खोज्छ। उनीहरूको चाहनालाई हावामा कावा खानबाट पटक-पटक रोक्न खोजिए पनि दिदीबहिनीबीचको सम्बन्ध झन्-झन् बलियो हुँदै जान्छ।
मुस्ताङले चम्किलो आकर्षण र फिल्ममेकरको विश्वसनीय र स्पष्ट दृष्टिकोणले 'कान्स फेस्टिभल'मा समालोचक र दर्शकको मन जित्यो। यसको उचाइ झन् बढ्यो, जब फ्रान्सले २०१५ मा यसलाई अरू ठूला निर्देशकका फिल्म छोडेर आफ्नो 'अफिसियल इन्ट्री' भनेर ओस्कारमा पठायो।
फ्रान्समा निर्मित टर्किस भाषाको फिल्म उत्कृष्ट विदेशी भाषाको फिल्मअन्तर्गत बलियो दावेदारको रूपमा आउनु आफैंमा ऐतिहासिक थियो। यसले स्वीकारोक्ति र समावेशीताको मुद्दा पेचिलो हुँदै गएको इतिहासको एक महत्त्वपूर्ण समयमा फ्रान्समा परिवर्तन हुँदै गरेको सांस्कृतिक पहिचान र विविधताको दायरा फराकिलो बनाइदिएको छ।
यो वाहवाहीभन्दा पर जाने हो भने आर्गुभानको यो डेब्यु फिचर फिल्म सुन्दरता र दृढताको विजयको कथा हो। यस्ता पाँच लडाकु केटीको कथा हो, जसले आफ्नो लडाईं घरभित्रै लडे। त्यस्ता स-साना जितहरूको खोजी गरिरहे, जसले पुरातन सोचको दायराभन्दा बाहिरी संसारको छोटो झलक देखाउँछ। तिनै प्रतिभावान निर्देशकसँग गरेको गहन कुराकानीलाई सुरज सुवेदीको अनुवादमा यहाँ प्रस्तुत गरिएको छ।
फिल्ममा उल्लेख भएका निश्चित अनुभव तथा सांस्कृतिक जानकारी कहाँबाट आए? तपाईं फ्रान्समा बसेको हुनाले टर्कीसँगको सम्बन्ध कस्तो थियो? के ती जानकारी टर्कीमा हुर्किंदाका आफ्नै अनुभव थिए?फ्रान्समा बसेको भए पनि मेरो पारिवारिक जीवन टर्किस नै थियो। मेरो परिवार त्यहीं भएकाले म टर्की जाने आउने गरिरहन्थेँ। मेरो आमा पनि उतै बस्नुहुन्थ्यो। धेरै कथा मेरो परिवारबाटै आएको हो। उदाहरणका लागि फिल्ममा जब केटाको काखमा केटीहरू बसेपछि 'स्क्याण्डल' हुन्छ, त्यो हाम्रो परिवारमा भएकै कुरा हो। हामी नै त्यसो गर्थ्यौं।
उनीहरूलाई फिल्ममा जे कुरा भनिएको छ, त्यो हामीलाई पनि भनिएको थियो। तर, हामी पात्रले दिएजस्तो प्रतिक्रिया दिन्थेनौं। म लज्जित हुन्थेँ र एकोहोरिन्थेँ तर मेरा पात्रहरू कुर्सी भाँच्न थाल्थे र सिधा प्रतिक्रिया दिन्थे। त्यो वीरतापूर्ण काम थियो त्यसैले त्यो सत्य थिएन। म वास्तविक जीवनमा साँच्चै डरपोक थिएँ। केटीहरूलाई उनीहरूको उमेरअनुसार विचार गरेर पिटिन्थ्यो। मेरो आमाको पुस्ता त्यसरी गुज्रिएको थियो।
केही कुराहरू थिए, जसलाई कथाको आवश्यकताअनुसार डकुमेन्ट गरिएको थियो। स-साना त्यस्ता कुराहरूले वास्तविकतालाई प्रतिबिम्बित गर्थे। यो साँचो हो कि कलाकारसँग काम गर्दा र पटकथासँग काम गर्दा मानिसको अनुभवबारे जानेका धेरै कुराहरू सँगसँगै जान सक्दैनन्। स्कृप्ट राइटर र कलाकारको बीचमा जहिल्यै पनि विश्वासको वातावरण हुनुपर्छ। तपाईं आफ्नो व्यक्तिगत गोप्य कुराहरू पनि सुनाउन सक्नुहुन्छ, किनकि ती कुराहरू कोठाभन्दा बाहिर जाँदैनन्। कहिलेकाहीँ त वास्तविक जीवनबाट प्रभावित भएको ठूलो सेगमेन्ट नै फिल्ममा छिरिदिन्छ।
कहिलेकाहीँ यो एकदमै छोटो सटसम्म पनि पुग्दैन। कसैको छालामा केही बसेको देख्दा उसलाई हेरेजस्तै। कसैलाई त्यो दिन कुन रूपमा देख्नुहुन्छ त्यहीअनुसार तपाईं आफ्नो सटको फोकस नियन्त्रण गर्नुहुन्छ। यो सानो वा ठूलो ऐनाजस्तै हो वा कुनै बिम्बको खेलजस्तै। तपाईं केही भन्नुहुन्छ तर त्यो वास्तविक जीवनमा जसरी भएको छ त्यसरी नै भनिनुपर्छ भन्ने हुँदैन।
विद्रोह तब विद्रोह बन्छ, जब त्यसलाई दबाउन कोही उभिन्छ। धेरै केटीहरूका लागि सामान्य हुने कुराहरू फिल्मको सन्दर्भमा अलिक विवादास्पद भएका हुन्?अवश्य हो। यसले अवज्ञालाई देखाउँछ। यो एक लडाईं पनि हो। हरेक दृश्यहरूको फेदमा केही न केही द्वन्द्व भइरहेकै हुन्छ। कहिले केटीहरूले थोरै जित्छन् त्यो विजयको खुसी बन्छ जस्तो कि उनीहरू फुटबल खेल्न जान्छन्। उनीहरूसँग कुनै स्वरूप नमिलेका, रङ नमिलेका लुगाहरू छन् जसलाई उनीहरू बिगार्न सक्छन्। ती साना जितहरू हुन्। र हो, विपक्षमा केही नभए विद्रोह गर्न सकिँदैन।
यो फिल्मलाई टर्कीमा पनि देखाइयो। विश्वका अन्य देशमा देखाइएभन्दा त्यहाँको प्रतिक्रिया कसरीफरक थियो? फिल्ममा देखाइएका केही थिमहरूले त्यहाँका पुरातनवादी मानिसहरूमा रिस त जन्माएन?प्रतिक्रिया अन्यतिरको भन्दा बिल्कुलै फरक। फिल्मले त्यहाँ फ्रान्समाथि विजय पाएको जस्तो आभास पो दिलायो। दर्शकहरूले फिल्मलाई सजिलै अपनाए। केटीहरूलाई मन पराए। फ्रान्समा केही विशेष थियो। मैले सोचेको रहेछु कि जसले पनि फिल्मबाट आलोचित भएको महसुस गर्छन्, उनीहरूले केटीहरूलाई मन पराउनेछन्। र त्यसले समानुभूतिको विकास गर्नेछ। तर वास्तविकता यस्तो भएन। जो मानिसहरूले यसलाई मन पराए, उनीहरू भावनात्मक रूपमा धेरै बलिया रहेछन् र जसले यसलाई घृणा गरे उनीहरू नकारात्मक रहेछन्। यो हुनु नै पनि थियो। हामी धेरै निषेधात्मक कुराहरूले जकडिएका छौं नि त।
कसैले यो फिल्मलाई घृणा गर्छ भन्ने कुरा सोच्न गाह्रो छ। त्यस्ता नकारात्मक प्रतिक्रियाहरूले तपाईंलाईअसर गर्छ वा चिन्तित बनाउँछ?त्यस्ता धेरै हिंस्रक प्रतिक्रियाहरू पनि आएका छन्। मुख्य मिडिया प्रकाशनहरू, महत्त्वपूर्ण पत्रकारहरू तथा फिल्म समालोचकहरू सबै फिल्मको समर्थनमा छन्। तर सामाजिक सञ्जालहरूमा भने फरक प्रतिक्रियाहरू आएका छन्। मानिसहरू आफूलाई बचाउने तर्कबिनै अरूलाई अपमान गर्न उद्धत छन्। त्यहाँ एक महिला थिइन्। उनी महिलाको नाममा लेख्ने कुनै पुरुष पनि हुन सक्छिन्। उनले मलाई हप्तौंसम्म गाली गरिरहेकी थिइन्। म टर्कीमा भएको बेला उनी म कहाँकहाँ जाँदैछु भन्ने सबै जानकारीहरू सामाजिक सञ्जालमा लेखिरहेकी थिइन्। यो अचम्मलाग्दो काम थियो।
यस्तो हुन सक्छ नि त, कि उनलाई लाग्यो होला कि फिल्म परम्पराको विरुद्धमा थियो वा त्योभन्दाबाहिर कतै गइरहेको थियो?उनी यस्तो भन्थिन्, ‘यो फिल्म ठूलो झुट हो। यो टर्कीको इज्जत बिगार्न बनाइएको हो।’ खासमा कुरा के भने मेरो फिल्मभन्दा पहिला टर्कीमा ‘मिडनाइट एक्सप्रेस’ नामक एउटा फिल्म बनेको थियो। बरु त्यो फिल्म टर्कीको अनुहार बिगार्ने खाले थियो। यो त्यस्तो ठाउँ हो, जहाँबाट धेरै कम मात्र फिल्महरू बनाउन दिइन्छ। त्यसैले जे देखाउने हो त्यसलाई देखाउनुमा जिम्मेवारी झन् थपिन्छ।
हामी त्यस्तो कुरा देखाइरहेका छौं जुन ‘ट्याबु’ बनेर बसेका छन् र ती कुराहरू यौन हिंसाजस्ता कुराभन्दा फरक हुन्। कहिलेकाहीँ ‘तिमी यो किन देखाइरहेका छौ?’ भन्ने खाले प्रतिक्रियाहरू सामान्य हुन्। तर उनीहरू मलाई कुनै वीरतापूर्ण र केही गाथा भरिएको कुरा देखाओस् भन्ने चाहन्छन्। त्यो सम्भव छैन। हामी उनीहरूसँग मानवीय रूपमा जे छन् त्यही देखाउँछौ।
मुस्ताङ फिल्म महिला सशक्तिकरणको एक प्रयासको रूपमा पनि हेरिएको छ, किनकि यसका थिमहरू त्यही भिजनतिर लम्किएका जस्ता लाग्छन्। तपाईंलाई महिला फिल्ममेकर वा यो फिल्मलाई फेमिनिस्ट फिल्म भनेर पनि भन्ने गरिन्छ। त्यसमा तपाईंको स्थान कहाँ हो? अन्य मूलधारकासँग तुलना गर्ने हो भने तपाईंको फिल्ममा देखिने फेमिनिटी पुरै अलग छ हैन?म यसलाई सकभर देख्नै चाहन्न। जब म फिल्म स्कुलमा थिएँ र मानिसहरूले फिमेल सिनेमा वा मेल सिनेमाको बारेमा सोध्थे, म त्यो विवादमा नै पर्दिन थिएँ। कम्तीमा पनि मुस्ताङ आउनुभन्दा अगाडिसम्म। किनकि यो महिला हुनु के हो भन्ने बारेमा बनेको फिल्म हो। त्यहाँ केही कुरा थिए, जसको आधारमा म विश्वास गर्थेँ कि आर्ट र सिनेमाको इतिहास हामीले पुरुषहरूको आँखाबाट मात्र बुझेका छौं।
महिलाहरूलाई त साँच्चै भन्दा कुनै वस्तुमा सीमित गरिएको थियो। साँच्चै भन्दा हामीसँग धेरै कम मात्र त्यस्ता महिला फिगरहरु छन्, जो हामीजस्तै देखिन्छन् वा हाम्रो इच्छा, आशा, र साँच्चै महिलाहरूले गर्ने कामहरूसँग मिल्ने काम गर्छन्। मेरो हकमा कुरा गर्ने हो भने यो नै पहिलो पटक हो जहाँ मैले पूर्ण रूपमा पात्रहरूसँग आफूलाई तुलना गर्ने अवसर पाएँ। मैले मस्कुलिनिटी बुझाउन प्रयोग गरेको बिम्ब सिनेमाको न्युयोर्क जस्तै हो।
यदि तपाईं न्युयोर्कर हैन भने तपाईं त्यहाँ पहिलोपल्ट पुग्दा त्यतै कतै हुर्किएको हो कि जस्तो लाग्छ किनकि तपाईंले न्युयोर्कलाई धेरैपल्ट सिनेमामा देखिसक्नुभएको छ। त्यहाँका हरेक दृश्यहरूलाई भएजति एंगलहरूबाट खिचिइसकेको छ। त्यहाँको सडक, बाटो, पेटी, भवन, क्याब, मानिसहरू सबै तपाईँ चिन्नुहुन्छ। तर फेमिनिटी त्यो गाउँ हो, जो त्यो डाँडापारी छ। जहाँ जानको लागि कुनै गतिलो बाटो छैन। कोही पनि त्यहाँ जाँदैन। त्यहाँ क्यामेरा पनि छैन। यो कस्तो देखिन्छ हामीलाई थाहा छैन।
उदाहरणका लागि महिला भएर म जति पनि पाइलाहरू अनुभव गर्छु, म जहिल्यै सोच्छु ‘साला! मलाई यसको बारेमा कसैले बताएको थिएन।’ पहिलो पटक आमा भएको केही समयपछि मैले सोचेँ, ‘फिल्ममा स्तनपान गराएको किन देखिँदैन?’ कहिँ पनि छैन। बर्गम्यानले मध्ययुगको सेटिङमा बनाएको एउटा फिल्ममा यो देखाइएको थियो। मानिसहरू पुरै पागल भएका थिए, किनकि त्यहाँ हैजाको महामारी फैलिएको थियो।
उनीहरू एउटा सहरबाट अर्को सहरसम्म नाच्दै र गाउँदै गएका थिए। यो सामूहिक पागलपनको विस्फोटन थियो। सहरमा एउटा पुरुष थियो, उसको आँखा उसको अनुहारबाहिर झुण्डिइरहेको थियो। त्यसबेला अर्को मानिस क्रस बोकेर गइरहेको थियो भने एउटी महिला स्तनपान गराइरहेकी थिइन्। यो मात्र एक अवसर हो जहाँ तपाईँ सिनेमामा महिलाले स्तनपान गराइरहेको देख्नुहुन्छ। यो अद्भुत कुरा हैन? ती सबै कुराहरू जुन हाम्रो जीवनमा साह्रै सामान्य रूपमा भइरहेका छन्, ती सिनेमामा भइरहेका छैनन्।
के तपाईं मान्नुहुन्छ कि फेमिनिटी र फेमिनिजम सिनेमामा ट्याबु भएर बसेका छन्?यो ट्याबु हैन। तर पुरुषहरू टर्किस समाजमा मात्र नभएर विश्वभर नै सिर्जनाको क्षेत्रमा 'बोस' भइरहेका छन्। इतिहास हेर्दा पनि महिलाहरूलाई वस्तु मात्र मानिएको छ। सत्य के भने यो महिलाहरूबाट बनाइएको हैन मतलब महिलाहरू विषय नै हैनन्। तपाईं विषय हुन नसकेका कुनै पनि पात्रसँग समानुभूति साट्न सक्नुहुन्न किनकि उनीहरू वस्तु हुन्।
तपाईंको फिल्ममा पात्रहरू पीडित हैनन्। तर मुख्य रूपमा उनीहरू भत्किएका वा कमजोर मांसपिण्ड पनि हैनन्। अवस्था त दर्दनाक नै छ तर पनि म उनीहरूलाई साहस, वौद्धिकता, र कहिल्यै हिम्मत नहार्ने अडिग फिगरको रूपमा देखाउन चाहन्थेँ। यी सबै गुणहरू वास्तवमा समाजले महिलाहरूलाई कहिल्यै दिँदै दिएन।
यसको डेब्यु फिचर फिल्म टर्कीको सेटिङ र समाजमा बनाएर यो निश्चित कथा भन्नु तपाईंका लागि किन महत्त्वपूर्ण थियो?यो मेरो दोस्रो प्रोजेक्ट हो, तर प्रोडक्सनमा गएकोचाहिँ पहिलो। यो मेरो लागि महत्त्वपूर्ण किन पनि थियो भने विश्वको बारेमा मेरा सबै सोचाइहरू यो प्रोजेक्टको फेदमा पुगेका थिए। मुस्ताङमा तिनै सोचाइलाई महिलाको पक्षबाट भन्नु थियो। त्यो कथा भन्नु वास्तवमै जरुरी थियो।
यो फिल्मको शीर्षक कहाँबाट आयो?उत्पत्तिको रूपमा हेर्ने हो भने ‘मुस्ताङ’ को अर्थ ‘मास्टर नभएको’ भन्ने हुन्छ। एउटा शब्दमा ती केटीहरूको स्वभाव देखाउनु थियो, जुन चुनौतीपूर्ण थियो। साथै उनीहरूको कपालले गाउँलाई छेकेको एउटा भिजुअल लाइन पनि बनाइएको थियो। उनीहरूसँग जंगली जनावरको जस्तो केही थियो।
कथाको पहिलो लाइनमा यस्तो लेखेको थिएँ, ‘लालासँग जंगली जनावरको जस्तो केही थियो’ र मलाई उनीहरूको स्वभाव सँग मिल्ने त्यस्तो जनावर खोज्नु थियो जसले आमाबाबुबिना हुर्किएका पाँच केटी, जो अँध्यारो भए पनि बाहिर निस्किएर खेल्थे, लाई प्रतिनिधित्व गर्नुपर्थ्यो। मेरो एकजना भतिजीको नामको अर्थ साँच्चै ‘जंगली घोडा’ थियो। त्यसले पनि मलाई सजिलो भयो।
फिल्म रिलिज भएको बेला टर्कीमा अप्ठ्यारो राजनैतिक माहोल चलिरहेको थियो। स्वतन्त्रताको बारेमा बनाइएको फिल्म त्यस्तो बेलामा देखाउनु उपयुक्त थियो?अहिले टर्की एकदमै बेचैन भइरहेको छ। धेरै कुराहरू बाँधिएका छन्। मलाई आशा छ, मानिसहरूले यो फिल्म थिएटरमा हेर्न नपाए पनि पाइरेटेड भर्सनमा भए पनि हेर्नेछन्। यो फिल्म मानिसहरूसम्म पुग्नु नै महत्त्वपूर्ण कुरा हो।
केटीहरूकी हजुरआमा पनि एकदमै महत्त्वपूर्ण पात्र हुन्। उनले पुरानो जीवनशैली याद गरिरहन्छिन्। उनले जानेकी पनि त्यति नै हुन्। सोच्छिन् कि, उनी सही काम गरिरहेकी छन्। कुनै न कुनै रूपमा उनी जस्ता महिलाहरूले यस्तो असमानता स्वीकार गरिरहेका हुन्?कुनै न कुनै रूपमा उनी गर्छिन्। तर त्यो सही उद्देश्यका लागि र उनीसँग भएका स्रोत प्रयोग गरेर गर्छिन्। म कोही पनि पूर्ण खराब हुन्छ भन्दिन। उनी पनि हैनन्। उनी जे सक्छिन् त्यो गर्छिन्। महिलाहरू आफैं मर्दाङ्गीलाई आमन्त्रित गर्छन्। उदाहरणका लागि मलाई फ्रान्समा मानिस सोध्छन्, ‘तिमी फेमिनिस्ट हो?’ म हैन भन्ने गर्थें।
फिल्म रिलिज हुन्जेल त मैले हैन नै भनेँ किनकि मैले हो भनेको भए मानिसहरू फिल्म हेर्न जाँदैन थिए। मानिसहरूलाई लागिहाल्छ कि 'फेमिनिस्ट' भन्नासाथ केही खराब भइहाल्छ। धेरै अभिनेत्रीहरू त्यही नकारात्मक कुराको डरले फेमिनिस्ट हुँ भन्न सक्दैनन्।
तर फेमिनिजम समान अधिकारको लडाईंको एक कम्ब्याट जस्तै हो। यो मानिसहरूले नागरिक अधिकारका लागि लडेको जस्तै हो र संसारको धेरै स्थानमा महिलाहरूलाई यसैको आधारमा भेदभाव गरिएको छ। यस्तो असमानता पनि ठाउँअनुसार फरक पर्छ । तर जुन स्केलमा भए पनि यो हुनु भनेको महिलाहरूको लागि ठूलो समस्या हो। र, दुखद कुरा, हामी त्यस्तो असमानतालाई स्वीकारेर बसिरहेका हुन्छौं।
हजुरआमाले पनि फिल्ममा ती सबै असमानतालाई कुनै प्रश्न नगरी सहेर बसेकी छन्। यस्तो सत्यता धेरै संस्कृतिमा यथावत् छन्। भन्नुहोला कि, यस्तो कुराको सिकार भएपछि मात्र तपाईं यसको बारेमा थप बुझ्नुहुन्छ। तर त्यो हैन। हामी वास्तवमा यसलाई अरू समानताको लडाईं जस्तो लडाईं मान्न नै तयार छैनौं। हामीलाई फेमिनिस्ट हुनु शारीरिक रूपमा आकर्षक हुनु हो जस्तो लाग्छ। यो त समान हुने चाहना पनि हो। हामीजस्ता मानिहरू चुप लागिदिनाले हजुरआमाजस्ता पात्रहरू हरेक पुस्ताको अस्तित्वमा छन्।
फिल्मको सिनेमाटोग्राफीमा विचारोत्तेजक पक्षको प्रधानता पाइन्छ। यस्तो योजना पटकथा लेख्दैदेखि थियोकि प्रोडक्सनमा गइसकेपछि बनेको हो?पहिलो कुरा त हामीले जीवनलाई खिच्न सक्ने अद्भुत फिल्म बनाउनु थियो। स्क्रिप्टमा हुँदैदेखि उज्यालो र अँध्यारोको बीचमा खिचिने दृश्यहरूमा गति दिने सोचाइ थियो। फिल्मको सुरुवात साँच्चै घमाइलो बनाउनु थियो, जसले निर्दोष युगको आनन्द र उत्सवलाई देखाउन सकोस्।
हामीले ती केटीहरूको जीवन र उनीहरूको शक्ति समात्नु थियो। त्यसपछि जब पात्रहरूले कथा छोड्न थाल्छन् फिल्म विस्तारै अँध्यारो र चिसो हुँदै जाने क्रम मिलाइएको थियो। पछि यो अन्तिम विवाह जस्तै पूर्ण अन्धकारमा पुग्छ। त्यो गति उज्यालोको ड्रामाटाइजेसनमा मिलाइएको थियो। पात्रहरू पूर्ण उज्यालोमा हुनु र उनीहरूमार्फत् उज्यालो प्रतिबिम्बित हुनु अर्थपूर्ण थियो। फिल्मको अन्तिममा हामी साँझ परेको देख्छौं। तर धेरैजसो समय भने प्राकृतिक गतिसँग पनि खेलिएको छ।
मलाई थाहा छ, सोफिया कोपोलाको फिल्म ‘दि भर्जिन सुसाइड’ सँग तुलना गरिएर धेरै रिभ्यु लेखिएका छन् र तपाईंले पनि त्यस्ता रिभ्यु पढ्नुभएको होला। त्यस्ता कुरालाई कसरी लिनुहुन्छ?म बुझ्छु। त्यहाँ केटीहरू कोठामा भएको बेला खिचिएको एउटा दृश्यको बारेमा यो सबै भनिएको होला। मैले सुरुमै भनें, मेरा लागि पाँचवटै केटीहरू हाइड्राजस्तै हुन्, जसको एउटै जीउमा पाँचवटा टाउकाहरु छन्। उनीहरू एउटा गम्भीर झड्कामा छन् र दि भर्जिन सुसाइडमा भएको जस्तो उनीहरू हुन् जस्तो मलाई लाग्दैन।
यस्तो देखिन्छ कि, धेरै मानिसहरू फ्रान्सले टर्कीमा सेट गरिएको र टर्किस भाषामा बनाइएको फिल्मलाई आफ्नो देशको तर्फबाट ओस्कारमा पठाएको देखेर अचम्ममा परेका छन्। यसले तपाईंलाई के अर्थ राख्छ? तपाईं र तपाईंको टिमका लागि यो कति आश्यचर्यजनक कुरा थियो?यो साह्रै सुन्दर तरिकाले आयो। मलाई यसले धेरै छोयो। म पहिला टर्किस हुँ र पछि फ्रेन्च। फ्रान्सको फिल्म स्कुलमा म विगत समयदेखि गइरहेको थिएँ, जहाँबाट प्रतियोगिता आयोजना गरेरै हरेक वर्ष ६ जना निर्देशक छनौट हुन्थे। त्यसको ४ वर्षसम्म तपाईंले फिल्म बनाउनुभयो र ती सबै प्रोफेसनलहरू आँउदै जाँदै गरे। त्यही इन्ड्ष्ट्रीको आँखैअगाडि म फिल्ममेकरको रूपमा हुर्किएँ। केही वर्षअगाडि मैले फ्रान्सलाई प्रतिनिधित्व गरेर कान्समा एउटा सर्ट मुभी लिएर गएको थिएँ। त्यसबेला मलाई कसैले सोधेन, किनकि फिल्म फ्रेन्चमा थियो।
‘मुस्ताङ’ पनि फ्रान्समै बनाउने सुरु गरिएको फिल्म हो। यसको निर्माता फ्रेन्च नै हुने र मेरो टिम पनि फ्रेन्च नै हो। यो फिल्म बनिसक्नासाथ यहाँको संस्कृति मन्त्रालयले सहजै स्वीकार गरेको थियो। यहाँ बनेका अन्य फ्रेन्च फिल्म र हाम्रो फिल्ममा कुनै अन्तर छैन।
कान्समा छनौट हुँदा हामीले फिल्म बनाइसकेकै थिएनौं। संस्कृति मन्त्रालयले फ्रेन्च फिल्मको सेलिब्रेसनमा हामीलाई पनि बोलाएको थियो। उनीहरूले मेरो टर्कीसँगको सम्बन्धलाई सम्मान गर्दै ‘हेर हामी कहाँ छौं। फ्रान्स अहिले भिन्न पृष्ठभूमिका सबै अटाउने थलो भएको छ’ भनेर प्रशंसा गरेका थिए। यो मेरो लागि निक्कै ठुलो कुरा थियो। किनकि फ्रान्ससँग मेरो निकै अप्ठ्यारो सम्बन्ध रहिआएको थियो। देशले मेरो फिल्मलाई ओस्कारको लागि छान्नु मेरो लागि ठूलो जिम्मेवारी थियो किनकि उत्कृष्ट विदेशी भाषाको चलचित्रको अवार्ड निर्देशक वा निर्मातालाई हैन देशलाई दिइन्छ।
उनीहरूले सुरुमा त्यसो भन्दा हामी खुसीले पागल भएका थियौं। हामीलाई कसैले सम्हाल्नु परेको थियो। त्यो साह्रै ठूलो जिम्मेवारी थियो।
र, फ्रेन्च सिनेमामा मलाई मनपर्ने कुरा पनि त्यही विविधता हो। फ्रान्समा धेरै दर्शक छन्, जो सकेसम्म धेरै भाषाका फिल्महरू हेर्न चाहन्छन्। विश्वका अरू सहरमा भन्दा फ्रान्समा धेरै फिल्म थिएटरहरू हुनुको कारण पनि सायद यही होला।