नेपालमा राजनीति पछाडि चर्चामा आउने विषय बनेको छ गत वर्षदेखि नेपालमा भित्रिएको रियालिटी शो नेपाल आइडल।
राजनीतिमा निर्वाचन गरेजस्तै यो शोले पनि जनताको मत भनेर परिणाम घोषणा गर्दै उत्कृष्ट छान्ने रहेछ। त्यसअनुरूप सुदूर पश्चिम निवासी रवि ओड दोस्रो नेपाल आईडल बने।
उनी एउटा गरिव परिवारका सदस्य रहेछन्। कमजोर आर्थिक अवस्था भएको परिवारमा जन्मेका रवि ओड नेपाल आईडल बनेपछि धेरैलाई पचेनछ। र भन्न थालेछन्- गरिव आईडल।
राजनीतिमा पनि कहिलेकाँही यस्तै हुन्छ। चुनाव हार्दा परिणाम स्वीकार्न गाह्रो भएपछि जित्नेको चरित्र हत्या गर्ने श्रृखला शुरू हुन्छ। यस्तै सुनिन थालेको छ दोस्रो नेपाल आइडल बनेका रविको विषयमा।
रविको आर्थिक पक्षलाई लिएर उनको चरित्र हत्या गर्ने एउटा तप्का खुलेर मिडिया र सामाजिक सञ्जालमा छरिएको छ। उनी बस्ने झुपडीको फोटो टाँसेर प्रचार गरिएको छ कि रविले नेपाल आईडल बन्नको लागि सानदार बंगलामा जन्मनुपर्थ्यो। उनको आर्थिक पक्ष भ्रष्टाचार गर्ने नेताहरूको भन्दा बलियो हुनुपर्थ्यो।
अघिल्लो पटकको नेपाल आईडलमा पनि एउटा विषय निकै चर्चामा थियो। गायक रामकृष्ण ढकालप्रतिको मानमर्दनको विषय। अथिति बनेर कार्यक्रममा पुगेका गायक ढकालले आफूलाई निशान भट्टराई (जो पछि दोस्रो स्थानमा छानिए) लाई मनपर्छ भनेपछि उनको चरित्र हत्या गरियो।
हामी दर्शकभन्दा गायक ढकाललाई नै बढी थाहा हुन्छ कि संगीत के हो
उनलाई जिउँदै मारियो सामाजिक सञ्जालमा। यसमा स्वयम् स्तम्भकारलाई लेख्ने मौका जुरेको थियो। र सो लेखको सार थियो-नारायण गोपाल पछिको दोस्रो पुस्तालाई प्रतिनिधित्व गर्ने गायकको विषयमा हल्का टीकाटिप्पणी गर्नु गलत हो र उसको सडकदेखिको संघर्षलाई भुलेर संगीत सुन्ने हैसियत मात्र राख्ने हामी स्रोताले उसको योगदानलाई भुलेर चरित्र हत्यामा लाग्नु पाप हो।
स्तम्भकारलाई पनि अघिल्लो शोमा निशान भट्टराई मन पर्थ्यो अहिले पनि बिक्रम बरालको गायकी मनपर्छ। अन्य प्रतिश्पर्धीको पनि मन पर्छ गीत अनुसार। तर, यसको मतलव बुद्ध लामा र रवि ओडको ताजलाई सम्मान नगर्नुले खासै अर्थ राख्दैन।
संगीतले सानदार बंगला हेर्दैन, नकि आर्थिक पक्षले बलियो परिवार हेर्छ। अभाव र संघर्षमै फल्ने हो कला भन्ने चिज। सृजनाले गरिब र धनि भनेर जन्म लिदैन। माथि उल्लेख गरिएका रामकृष्ण ढकाल बलियो उदाहरण हुन्।
पछिल्लो उदाहरण बनेका छन् रवि ओड। बरू रविको झुपडीमा फलेको कलाले जित्यो भन्नुहोस्। उसको साधना र लगानीले उछिन्यो भन्नुहोस पाठकवृन्द।
गरिव बनेर जन्मनुभन्दा गरिब भएर मर्नु उसको दोष हो। रविको जन्म गरिब परिवारमा भएर के भो उनको मरन अब धनि बन्नेछ। गरिब त अब रविलाई कमजोर देख्ने हाम्रो सोच मात्र रहनेछ।
उनले लाखौं रूपैयाको पुरस्कार जितेका छन् यसभन्दा पनि करोडौंको मन जितेका छन्। स्तम्भकार बसेको देशमा रविका फ्यान रहेको कुरा तपाईँहरुले थाहा पाएकै हुनुपर्छ। सुनिए अनुसार उनी आफ्ना प्रतिश्पर्धीसँग विदेश यात्रामा निस्कदैछन्।
भेटेपछि उनका गीत मात्र होइन उनको संघर्षको भोगाई सुन्नुहोला तपाईँका लागि प्रेरणा बन्न सक्छ। स्तम्भकार बसेको देशमा पनि सामान्य परिवारमा जन्मेका व्यक्तिले विश्व हल्लाएका छन्।
उदाहरणहरू खोज्ने जिम्मा तपाईँहरुलाई, किन कि पढ्ने बानी धेरैमा छैन कम्तिमा यसको लागि पनि पढ्नुहोला।
कहिलेकाँही हामी टीकाटिप्पणी गर्न हतारिन्छौ। अथवा नपढी, नखोजी धर्य नबनि गरिदिन्छौ। रविको कर्म त भर्खर न सुरू भएको छ। उनका बाँकी दिनहरूले उनलाई मुल्यांकन गर्दा उनको विषयमा न्याय हुन्छ।
उनलाई छान्ने जज इन्दिरा जोशी कुनै बेलाका प्रतिश्पर्धी थिए यस्तै रियालिटि शोमा जो टप पाँचौबाट बाहिरिएका थिए। उनमा क्षमता नभएर होइन भन्ने कुरा त अहिले थाहा पाउनुभयो होला। तर, उनका पालामा नेपाली तारा छानिएका दिपक लिम्वु अव्वल छैनन\ भन्नु अर्को मुर्खता हो।
उनले नेपाली चलचित्रका धेरै गीतहरुमा आफ्नो कर्णप्रिय आवाज दिईसकेका छन्। त्यसैले रविका प्रतिश्पर्धीहरु बराल, पाठक र अधिकारीमा क्षमता नभएका सर्जकहरू हुन् भनेर सोच्नु नै गलत हो। र रविले नजितेर बराल पाठक या अधिकारीले जित्नु भन्ने अर्को तर्क गर्नु पनि मुर्खता हो।
अघिल्लो पटक निशान भट्टराईको स्वरमा धेरैको मन गढेको कुरा सतहमा टिप्पणी सुनिएको थियो। तर, भए बुद्ध लामाले बाजी मारे।
परिणाम आउनुपूर्व निशान या प्रताप या अन्य अरू प्रतिश्पर्धीलाई नेपाल आईडल भईदियोस् भन्नु स्वाभाविक कुरा हो। तर, नेपाल आइडलको ताज लिइसकेपछि बुद्ध लामालाई अव्वल नमान्नु व्यक्तिगत सोच मात्र हो।
त्यो त तेस्रो स्थानमा रहेका प्रताप दासले ठूलो पर्दाका चलचित्रमा स्वर दिईरहँदा पहिलो र दोस्रो स्थानका विजेताहरू म्युजिक भिडियोमा मात्र सिमित छन्। नेपाल आईडल मात्र सवथोक पनि होइन यसअघि जम्मिएका सर्जक स्वयम् उक्त रियालिटी शोका जजहरू न्हूँ बज्राचार्य र कालिप्रसाद बाँस्कोटा छन्।
सृजना त जन्मजात जन्मेको हुन् । त्यसलाई साधना गर्दै प्रष्फुटित गर्दै जाने हो। कतै एउटा प्रक्रियामा साधनाको परीक्षा हुन्छ र परिणाम निष्कन्छ।
यस्तै प्रक्रियाबाट नेपाल आइडल बनेका हुन् रवि ओड। यसमा उनको जन्म, थर र भेगले खासै अर्थ राख्दैन। उनी त्यो मन्चमा अव्वल मानिए र छानिए। त्यसलाई त्यसमै सिमित राख्दा राम्रो हुन्छ। तर, पूर्वाग्रही हिसावले कसैको चरित्र हत्या गर्ने कुचेष्टा गर्नु समाजको साझा वाटो होइन। छानिने प्रक्रियापूर्व विश्लेशन र आँकलन गर्न सकिन्छ तर प्रक्रियाको परिणाम सार्वजनिक भइसकेपछि त्यसलाई अस्वीकार गर्नु गलत अभ्यास हो।
परिणामप्रतिको पूर्वाग्रहले नकारात्मक अभ्यास मात्र सिकाउँछ। प्राविधिक त्रूटिसम्म नदेखिएको परिणामलाई नस्वीकार्नु हाम्रो दिमागी समस्याबाहेक केही होइन।