केही दिनअघि बिहान रत्नपार्कमा टेम्पोबाट ओर्लिएर कार्यालयतर्फ जाँदै थिएँ।
रत्नपार्कको गेटनिरको भुइँमा सबैजसो दैनिक पत्रपत्रिकाहरू राखिएका थिए लहरै।
पत्रिका पढ्नेमध्ये पाँचसात जना अलि पाकै उमेरका पुरूषहरू थिए। उनिहरूले निकै चाखलाग्दा कुरा गरेरै होला गाडी कुर्नेहरू पनि गाडी कटिसक्दासम्म पनि कुरा सुनेरै उभिएका थिए।
मेरो ध्यान पनि उक्त भीडले तान्यो। हुन त रत्नपार्कमा हरेक दिनजसो केही न केही भाषण, आन्दोलन, नारा जुलुस भइरहेका हुन्छन्। तर त्यो दिनको भीड अलि फरक जस्तै लाग्यो।
सेतै कपाल फुलेका एकजना वृद्ध बाले पत्रिकाको मुख्य समाचारमा सवाल जवाफ गर्दै रहेछन्। त्यसको एकदिन अघिमात्रै विद्युत प्राधिकरणले आफ्नो ३४ औं वार्षिक उत्सवको उपलक्ष्यमा आ.व. २०७५।०७६ को प्रतिवेदन सार्वजनिक गरेको थियो।
उनकै कुरामा सही थप्नेहरू थिए उपस्थित बाँकी। ती वृद्ध बाले पत्रिका हल्लाउँदै गफ चुटिरहे, गफ पनि यति स्वादिला गरे कि महानगरपालिका कर्मचारी आएर फुटपाथका सामान पोको पारेर लगिसक्दा पनि पानीका बोतल व्यापारीले थाहै पाएनन्।
अलिबेर गफ सुन्दा अफिसमा हाजिर गर्ने समय गुज्रिने डर नसुन्दा सुनौं सुनौं लाग्यो।
दस पन्ध्र मिनेट ढिलो भए पनि होस् सुनेरै जाने निष्कर्षमा पुगेँ। पत्रिका हातमा लिएका वृद्ध बाले कुरा सुरू गरे, ‘देख्नु भो होइन? कुलमानको कमाल? कुलमानको ठाउँमा अरू हाकिम भएको भए आजको मुख्य समाचार होइन लास्ट पेजमा पनि समाचार आउन्थेन। आए पनि कस्तो समाचार आउँथ्यो थाहा छ? बिजुली अड्डाले यति करोड घाटा खायो, सरकारले सहुलियत दियो, ऋण मिनाहा गर्दिनुपरो, चुहावट रोकिएन भनेर।
तर आज हेर्नुस् त, सबै अखबारमा मुख्य समाचार बाबै त्यो पनि नाफासहितको।
यसपालि मात्रै कुलमानको अफिसले सात अर्ब कमायो रे। कुलमान आएदेखि नाफा मात्रै कमाएको छ रे, पोहोर परारभन्दा यसपालि झनै धेरै कमाएछ। ल हेर्नुस्, यो नाफा त डेढसय प्रतिशत रे’।
‘सरकारमा पनि कुलमान जस्ता एक दुई जना पुग्ने हो भने त देश बदलिन बेर लाग्ने रहेनछ त बाबै’ अर्का वृद्ध बा बोले।
‘ठिक भन्नु भो भट्टराई जी, सबै लुट्न पल्किएका छन् देश बनाउन कसले सोच्यो र ? देश बन्छ कि भन्दै तपाई हाम्रा दाह्री कपाल फुले, हामी बच्चै हुँदा मेलम्चीको पानीका कथा सुन्थ्यौं हाम्रा नाति, पनातीका पालामा पनि त्यो कथाकै कथा रहने भो,’ अर्का एक जना बा बोले, ‘अब कुलमानलाइ नै मेलम्चीतिर पुराउन पर्च अनि बल्ल पानी आउँछ’ ... गलल्ल सबैजना हाँसे।
पत्रिका हातमा राखेका बाले फेरि कुरा सुरू गरे, ‘यत्तिका वर्षसम्म अन्धकारमा राख्ने धमिराहरूले यी अखबार पढ्दा के भन्दा हुन्’ ? उनिहरूलाई त कथा जस्तै लाग्छ होला होइन बा? अर्का एक जना अधवैंशे पुरूषले सही थपे।
‘इज्जत भएकाहरूलाई मात्र बेइज्जतको डर हुन्छ बाबु, इज्जत नभएकाहरूलाई भोलि के हुन्छ भन्ने डर हुँदैन, बेइज्जतको डर हुनेलाई मात्र इज्जतको मान राख्न आउँछ उनिहरूलाई पनि त्यस्तै हो। समाचार पढनु भा छैन, अर्बौं खर्बौं खाने ठूला भ्रष्टाचारीहरूलाई कसैले छुन सक्दैन, दुई चार हजारमा नाम मुछिएकाहरू भटाभट आत्महत्या गर्छन्। जहाँ पनि त्यस्तै हो।’
अब कुलमानले कति वर्ष चलाउँछन् होला है बिजुली अड्डा ? भीडबाटै एक जनाले प्रश्न गरे।
तिनै पत्रिकावाला बा सबै कुरा थाहा भएझै जवाफ दिइरहेका थिए, ‘मैले सुनेअनुसार त अझै एक वर्ष बाँकी छ रे, अझै आठ दस वर्ष कुलमानलाई दिनुपर्छ अनि कहिल्यै कोही फेरिए पनि अँध्यारो बनाउने आँट गर्दैन’ अर्का एक जनाले जवाफ फर्काए।
एक जना वृद्धा महिला पनि भीडमा थपिइन, ‘अब कोही कुलमानको विरोधी भएर निस्किएछ भने त सबभन्दा पहिला पाता फर्काउन मै अघि जान्छु।
अब त कहाँ कसरी खाँदा रहेछन्, कसरी अँध्यारोमा यत्रा वर्ष हामीलाई राखेका रहेछन् भन्ने कुरा सबै थाहा भयो।
अबका जनता लाटा छैनन्, लाठी बोकेर आफैं हिँड्ने हो कसैले लोडसेडिङ बनाओस् त’।
गाडीको प्रतीक्षामा उभिएकाहरू पनि चाख लिएर गफ सुनिरहेका थिए, म स्वयम् हाजिर गर्ने समय घर्किंदासम्म पनि सुनिरहेकी थिएँ।
मनमनै निकै आनन्द आयो, उनीहरूमध्ये कसैले बिजुली अड्डा भनेका थिए भने धेरैजसोले कुलमानको अफिस मात्रै भनिरहेका थिए। सायद विद्युत प्राधिकरण भन्दा पनि कुलमानको अफिसभन्दा उनीहरूलाई गर्व महशुस भएको जस्तो देखिन्थ्यो।
थाहा छ मेरो गाउँ नजिकै त कुलमान चोक नाम छ, खलासीलाई कुलमान चोक झार्दे बाबु भन्छु झार्दिन्छ, तिनै वृद्धा महिलाले सुनाइन्। ति आमाको घर झापा रहेछ, झापामा एउटा चोकको नामै कुलमान चोक राखिएको रहेछ, उनै आमाले बताइन्।
एक जना युवाले बीचैमा कुराकाटे, ‘के गर्नु बा हिजो १८ घण्टासम्म अँध्यारोमा राखे,पानीको मोटर नचलाऊ, राइस कुकुरमा खाना नबसाउ, मोबाइल चार्ज नगर, यति घण्टा बत्ती आउँछ भन्दै तालिका मात्रै थप्दै गए।
अहिले कुलमानले जतिसक्छौ बत्ती खर्च गर, विद्युतीय उपकरणको जोहो गर, मागेजति बिजुली दिन्छौं भनिरहेका छन’।
‘मेरो नातीलाई बिजुली अड्डामा जागिर खुलाएको रहेछ फारम भर नाति भनेको राम्रै गरेछु, अब त नाफाको नाफा। नाति कहाँ काम गर्छ भन्दा कुलमानको अफिसमा भन्न मजा आओस् न’ ...उनले निकै सन्तुष्टिको झल्को दिनेगरी कुरा गरे।
‘अर्को वर्ष कुलमानको कार्यकाल सकिन्छ, यो चुरीफुरी यो वर्ष मात्रै हो अर्को आएपछि पहिलेकै पारा त होलानी’, एक जना महिलाले संशय व्यक्त गरिन्। तिनै वृद्ध बाले निकै आश्वस्त पारे, ‘कस्तो कुरा गर्नुहुन्छ नानी, कस्को हिम्मत छ अब हामीलाई अन्धकारमा राख्ने ? कुलमानको मोबाइलमा तपाईं फोन गर्नुस तुरुन्छ उठाउँछन रे , यस्ता सजिला हाकिम छन उनलाई सोधेपछि किन यस्तो भएको हो भन्ने कुरा कसो नभन्लान्’ ? अर्का युवा बोले, ‘अस्ति संसदमा कुलमानले फोन उठाएनन् भनेर कत्रो हंगामा भयो सधै एकनास कहाँ हुन्छ र’ ? फेरी बा बोले, ‘फेरि समाचार पढ्नु भएन बाबु? तपाईं हामी त मोबाइलमा आएका सबै फोन उठाउन भ्याउँदैनौं भने यत्रो राष्ट्रले चिनेको व्यस्त मान्छे पो हो त, सधैंभरि एकनास हुन्छ र ? त्यही पनि कुलमानले भनिसके नि पछि फोन गर्छु भन्दाभन्दै बिर्सेछु भनेर त्यही पनि ति सांसदले उठाएका सबै माग मन्त्री र कुलमानले पूरा गराइदिसके रे त ’.....
उनीहरूका गफ निकै चोटिला, तर्कपरक र सुनिरहुँ लाग्ने खालका थिए। आफूलाई हाजिर गर्न ढिलो भइसकेको थियो।
त्यो भीडले जति चर्चा, भलाकुसारी गर्यो त्यहीँ अफिसकै स्टाफ भएकोमा आफूलाई पनि आनन्द लाग्यो। एक समय थियो, कार्यालयको पोशाक लगाएर हिँड्दा पनि डरैडरमा हिँड्नुपथ्र्यो।
विद्युत प्राधिकरणको कर्मचारी भन्ने थाहा पाउनासाथ लोडसेडिङका मतियार भन्ने लान्छना लाग्थ्यो। अझ् एकाद खराब नियत भएका कर्मचारीले मिटर उल्टो घुमाएको खबर सार्वजनिक भएपछि त आफू बस्ने टोलका टोलवासीकै सामूहिक प्रश्न हुन्थ्यो, नानी पनि त्यहीँ मिटर उल्टो घुमाउने अड्डामा काम गर्ने होइन? जवाफ के दिने शब्द नै हुँदैन्थ्यो।
बोराको एउटा आलु कुहिँदा बोरै गनाउँछ भनेजस्तै लान्छना धेरै भोगियो। तर आज समय फेरियो, उच्च तहमा बस्ने व्यक्ति फेरिए सँगसँगै व्यक्तिको काम गर्ने तौरतरिका फेरियो र त वर्षमै उच्च नाफा आर्जन गर्न सफल भयो।
उल्लेख्य चुहावट न्यूनीकरण गर्न सफल भयो। हिजो नकारात्मक समाचारले भरिने अखबारका पानाहरू आज सकारात्मक समाचारले भरिएका छन्। जहीँतहीँबाट वाहवाही भएको छ।
आखिर नेतृत्व तहमा प्रभावकारी हुन सक्ने हो भने साँच्चिकै कायापलट हुने रहेछ त्यो पनि धेरै वर्ष नलागिकनै। त्यसैले त अहिले सर्वसाधारण नागरिकहरू विद्युत प्राधिकरण नभनीकनै वाह! कुलमानको अफिस भनिरहेका छन्।
देशकै अवस्था यसैगरी कायापलट भएको दिन यिनै सर्वसाधारण नागरिक भन्ने छन् वाह! देश त यस्ता व्यक्तिले चलाएको पो वेश। कुलमान सरको अग्रसरताले आफू कार्यरत कार्यालयले वाहवाह पाउँदा आफूलाई पनि भन्न मन लाग्यो ‘म पनि कुलमानकै अफिसको स्टाफ हुँ।’ आज आफ्नो कार्यालयले ३४ औं वार्षिक उत्सव मनाउँदै छ।
सबैतिर वाहवाही छ, त्यसैले त आत्मैदेखसि भन्न मन लाग्यो आखिर एउटा मान्छेको इमानले कति फरक पार्दछ कार्यालयमा ....