सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई नेपाली भाषामा आफ्ना अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
लकडाउनको दसौं दिन मलाई बाबाले स्पाइनी ब्याबलर अनलाइन कक्षाबाट आएको लिंकबाट माइतीघर फिल्म देखाउनुभयो। झट्ट हेर्दा ब्ल्याक एन्ड ह्वाइट फिल्म पनि के हेर्नु जस्तो लाग्यो। हेरेपछि भने म ज्यादै खुसी भएँ।
पृष्ठभूमिः यो वि.सं. २०२३ सालतिर बनेको फिल्म रहेछ। मेरो बाबा जन्मनुभन्दा दस-पन्ध्र वर्षअगाडि नै यो फिल्म बनेको रहेछ। मैले यो कुरा बाबालाई सुनाउँदा उहाँ पनि अचम्ममा पर्नुभयो।
आफ्नै पैसाले बनाएको यो पहिलो फिल्म पनि रहेछ। यो कुरा मैले गुगलबाट थाहा पाएँ। यो हाम्रो पुरानो समाजको कुप्रथाका बारेमा बनेको फिल्म हो। यसमा एउटा महिलाको पीडालाई मन छुने गरी देखाइएको छ।
प्लटः यस फिल्मको कथामा एउटा निरमाया नामकी महिला छन्। उनी मोहन नाम गरेका एक पुरुषसँग प्रेममा पर्छिन् र पछि बिहे गर्छिन्।
दुवैले एक अर्कालाई 'माया र मोह' भनेर बोलाउने गर्छन्। बिहेपछि उनीररूका एउटा छोरा हुन्छ। तर एक दिन अचानक कार दुर्घटनामा निरमायाको श्रीमानको मृत्यु हुन्छ। त्यसपछि उनलाई साह्रै पीडा हुन्छ। घर, समाज, छिमेक सबैले उनलाई बोक्सी भन्न थाल्छन् र मोहनको मृत्यु उनकै कारणले भएको भनेर भन्छन्।
घरमा सासूआमाले त छिनछिनमै कराउन थाल्छिन्। यस्तो अपमान सहनै नसकेर उनी आफ्नो तीन वर्षे छोरालाई छोडेर नयाँ जिन्दगी बाँच्छु भनेर एकदिन सुटुक्क घर छोड्छिन्। पेटमा उनको दुई महिनाको बच्चा पनि हुन्छ। बाटोमा उनलाई ठाउँ ठाउँमा नराम्रो आँखाले हेर्नेहरू भेटिन्छन्। उनी एउटा महिलाको शरणमा पुग्छिन्।
सुरूमा राम्रो व्यवहार पाए पनि केही दिनपछि ती महिलाले आफ्नो असली रुप देखाउँछिन्। उनी निरमायालाई शरीर बेचोस् भन्ने चाहन्थिन्। तर त्यही ठाउँमा काम गर्ने गोफ्ले दाइले उनको रक्षा गर्छन्। तर निरमायाले त्यसो गरेवापत नाचगान गरेर सबैलाई मनोरञ्जन गराउनु पर्ने हुन्छ।
गोफ्ले दाइले सम्झाइबुझाई गरेपछि निरमाया बाध्य भएर यो कुरा मान्छिन्। यसरी उनी नाचगान गरेर जीवन चलाउँछिन्। यही बीचमा उनले एउटी छोरी पाउँछिन्। रेखा नाम गरेकी ती छोरीलाई उनले काठमाडौंमा पढाउँछिन्।
निरमायाले छोडेर गएको छोराले पनि काठमाडौंमै वकिल पढिरहेको हुन्छ। उनले नजिकबाट सो कुरा सबै थाहा पाएकी हुन्छिन् र आफ्नो कमाइले सहयोग पनि गर्छिन्। तर यो कुरा उनको छोरालाई थाहा हुँदैन।
यता नाचगानकै क्रममा उनलाई सधैं हेर्न आउने गाउँकै एक धनी व्यापारी निरमायासँग बिहे गर्न चाहन्छन्। यो कुरा निरमाया मान्दिनन्। तर उसले जबरजस्ती गर्छ। उसले धम्की समेत दिएपछि निरमायाले मनमनै त्यो मान्छेबाट बच्ने उपाय सोच्न थाल्छिन्।
केही सीप नलागेपछि एक दिन खाना खान बोलाएर विष खुवाएर मारिदिन्छिन्। उनलाई ज्यान मारेको मुद्दा लाग्छ। संयोगले निरमायाका छोरा त्यही व्यापारीको वकिल भएको हुन्छ। तर उनलाई यो मुद्दा आफ्नी जन्म दिने आमाको हो भन्ने थाहा हुँदैन। अदालतले निरमायालाई दोषी पाउँछ र १५ वर्ष जेल सजाय दिन्छ।
यही बीचमा उनले आफ्नी छोरी रेखाको बिहे उनकै कलेजमा पढ्ने एउटा सोझो केटासँग गरिदिन्छन्। यहीँनेर उनले आफ्नो वकिल छोरा र छोरीको मिलन पनि गराइदिन्छिन्। र उनी जेल जान्छिन्। १५ वर्ष बिताइसकेपछि पनि उनी जेलबाट घर जान मान्दिनन्। जेलरले एक जना विज्ञको सहयोग लिन्छन्। र उनलाई आफ्नो सबै कथा तिनै विज्ञलाई भन्दाभन्दै आफ्नो प्राण त्याग्छिन्।
फिल्मको सबै विषयबस्तु उनैले सम्झेको कथामा बनेको छ।
पात्रहरुः निरमाया भएर भूमिका खेलेकी महिला माला सिन्हा हुन्। उनले ज्यादै राम्रो भूमिका खेलेकी छिन्। मलाई फिल्ममा उनको जीवन देखेर ज्यादै दुःख र दया पनि लाग्यो। संसारले किन उनलाई यसरी पीडा दिएको होला भनेर पनि मैले सोचिरहेँ।
फिल्ममा मेरो मनपर्ने अर्को पात्र गोफ्ले दाइ हुन्। कोही नभएको निरमायाका लागि उनी माइती भएर आएका छन्। उनले निरमायालाई बहिनी सरह माया र सहयोग गरेका छन्।
निरमायाका छोराछोरी दुवैको भूमिका पनि राम्रो लाग्यो।
भाषा र भेषः यस फिल्ममा नेपाली भाषा अलिअलि हिन्दी मिसाएर बोलेजस्तो लाग्यो। कतिपय ठाउँमा हिन्दी बोल्नेले नेपाली बोलेजस्तो सुनिन्छ।
गीत संगीतः यो हो मेरो माइतीघर..., जिन्दगीलाई जीत होइन हारले...अरुलाई बुझाउने मन आफैं किन रुन्छ... जस्ता धेरै राम्रा गीतहरू छन्। यी गीत प्रख्यात भारतीय गायिका लता मंगेशकरले गाएकी छिन्।
समग्रमा धेरै पुरानो भए पनि मलाई यो फिल्म राम्रो लाग्यो। कतिपय ठाउँमा यसले रुने समेत बनायो। तर यसको नामले भने मेरो चित्त बुझेको छैन। माइतीघर कसरी भनियो भन्ने कुरा नै खुलेको छैन। हुन त मैले नबुझेकी पनि हुँला।
साथीहरू, मेरी आमा भन्नुहुन्छ महिलाका लागि माइतीघर ज्यादै महत्वपूर्ण हुन्छ। दुःख पर्दा उसले जहिले पनि माइतीघर सम्झिन्छे।
तपाईं पनि माइतीघर फिल्म हेर्नुस् है, युट्युबमै छ। अनि थप कुरा लेख्नुहोस् है!
(विभुषा पन्त, लिभरपुल स्कुलमा कक्षा पाँचमा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com
यी पनि पढ्नुस्ः
'आजकाल हामीहरू छतबाटै हेराहेर र अलिअलि गफ गर्छौं'
'आन फ्रान्क जस्तै म पनि डायरी लेखिरहेकाे छु'
'खरायो र हाम्रो दिनचर्या उस्तै छ आजकाल'
'आफ्नो कोठा सफा गर्न र ओछ्यान मिलाउन थालेँ'
'परिवारसँग मोजमस्ती गरेर बसेको छु'
'सूर्यमा १३ लाख पृथ्वी अटाउन सक्ने रहेछ, मलाई थाहै थिएन'
पहिले बाबा-मामुलाई फुर्सद हुन्न थियो, अहिले उहाँहरूसँग समय बिताउन पाएकी छु
घर बसेका हामी केटाकेटीले के गर्न सक्छौं?