सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई नेपाली भाषामा आफ्ना अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
मेरो नाम निर्भिक शर्मा घिमिरे हो। म कक्षा ७ को विद्यार्थी हुँ। म अहिले अन्तिम परिक्षा सकेर घरमै बिदा मनाइरहेको छु। यदि सामान्य समय भएको भए अहिले म र म जस्ता धेरै विद्यार्थी विभिन्न क्रियाकलाप तथा घुमघाममा व्यस्त हुन्थ्यौं होला।
हाम्रो छिमेकी देश चीनको वुहान सहरबाट डिसेम्बर महिनाको अन्तिमबाट सुरू कोरोना भाइरसले धेरै मानिस प्रभावित भएका छन्। त्यसमा मजस्ता विद्यार्थी पनि पर्छन्। हामी घरभित्रै सीमित भएकाले हाम्रो दैनिकी पनि प्रभावित भएको छ।
अहिले मेरो दैनिकी अरू बेलाको भन्दा फरक छ। बिहान उठेर बाबा र भाइसँग समान्य व्यायाम गर्छु। मेरो मामु भने घरभित्रै कोठामा योग गर्नुहुन्छ। केही समय व्यायाम गरेपछि दस मिनेट जति ध्यान गर्छु। मलाई आँखा चिम्लेर ध्यान गर्दा आनन्द आउँछ।
विगत पाँच वर्षदेखि वेस्टर्न क्लासिकल गितार सिकिरहेको छु। बिहानको केही समय गितार अभ्यास गर्छु। आजभोलि गितार शिक्षकले हप्ताको दुई दिन अनलाइनमै गितार सिकाउनुहुन्छ। यसरी घरमै बसेर अनलाइनमा गितार सिक्न पाउदा मलाई प्रविधिको राम्रो प्रयोग भएको जस्ताे लागेको छ।
म अहिले तीन-चार वटा किताब पनि पढिरहेको छु। न्यान्शी ड्रुको पहिलो सिरिज, आन फ्रान्कको 'डायरी अफ अ यङ गर्ल' र छोटा नेपाली कथा संग्रह पढ्दैछु। मलाई आन फ्रान्कको किताब र अहिले हामी सबैले घरमा बसिरहेको समय उस्तै-उस्तै लागिरहेको छ। आन फ्रान्क र उनको परिवार दोश्रो विश्व युद्धमा हिटलरदेखि डराएर एउटा घरको कोठामा लुकेर बसेका थिए। हामी पनि हाम्रो नांगो आँखाले नदेखिने कोरोना भाइरससँग डराएर घरभित्र बसिरहेका छौं।
यो किताब पढिनसकेकाले यसमा अरू के लेखेको छ मलाई थाहा छैन। म पनि आन फ्रान्क जस्तै दिनहुँ दैनिकी लेख्ने गर्छु। मेरो बाबाले भन्नुभएको, यसरी दैनिक डायरी लेख्दा धेरै वर्षपछि पढ्दा रमाइलो हुन्छ। हाम्रो स्मरण शक्ति पनि राम्रो हुन्छ। कहिलेकाहीँ लेख्न भ्याउदिनँ र कहिले लेख्नै अल्छी लाग्छ। तर यो कुरा कसैलाई थाहा छैन।
मलाई चित्रकलामा पनि रूचि छ। म र मेरो भाइ चित्र बनाउने प्रतियोगिता पनि गर्छौं। तर म मेरो चित्र राम्रो भएको भए पनि भाइलाई 'तिम्रो मेरोभन्दा राम्रो छ' भनिदिन्छु। यसो गर्दा ऊ खुसी हुन्छ र भाइ खुसी हुँदा म पनि खुसी हुन्छु। मलाई विषेशगरी नदी, हिमाल, गाउँ र प्रकृतिको चित्र बनाउन मनपर्छ।
मेरो घरमा सानो बारी-बगैंचा पनि छ। बाबा-मामुलाई बारीमा तरकारी रोप्दा वा फूल रोप्दा म पनि सहयोग गर्छु। अहिले विभिन्न तरकारी रोप्ने बेला रहेछ। मैले छिट्टो फल्ने काँक्रो रोपेको छु किनकी मलाई काँक्रो मनपर्छ। म मामुलाई घरको अरू काममा पनि सहयोग गर्छु। हाम्रो सानो परिवार भएकाले घरमा सबैजना मिलेर काम गर्नुपर्छ।
मलाई आशा छ कि कोरोना भाइरसको रोग छिटै अन्त्य हुन्छ। वैज्ञानिकहरूले छिटै यसको औषधि पत्ता लगाउनेछन्। अनि म र मजस्ता बालबालिका घर बाहिर नडराई खेल्न पाउछौं। विभिन्न ठाउँमा घुम्न पाउनेछौं।
धन्यवाद!
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com
यी पनि पढ्नुस्ः
'आजकाल हामीहरू छतबाटै हेराहेर र अलिअलि गफ गर्छौं'