पेशा: प्राथमिक शिक्षक
बसाइँ: काठमाडौं
श्रीमानको पेशा: नाम चलेको गैरसरकारी संस्थामा जनसम्पर्क अधिकृत
पढाइ: कानुनमा स्नातक र एमएड पास
यो बायोडाटा देशकै राजधानीमा बसोबास गर्ने शिक्षित, चेतनशील र एउटा सरकारी विद्यालयकी शिक्षिकाको हो। खुला प्रतिस्पर्धामा लडेर प्राथमिक शिक्षकमा नाम निकालेकी यी शिक्षिका दुई सन्तानकी आमा हुन्।
श्रीमान श्रीमती दुवै जनाको जागिर, साथमा दुई सन्तान। बाहिरबाट हेर्दा यो परिवार निकै राम्रो लाग्छ। काठमाडौंमा आफ्नै घर छ। कान्छो देवरसँग सासूससुरा बस्छन्। एकजना नन्दको पनि बिहेवारी भइसकेको छ। सबै कुराले निकै राम्रो छ उनको परिवार।
बेलाबेलामा दिदी सुनाउँथिन् - सधैं प्रावि टिचर त के भइरहनु बैनी ? अब सानी छोरी पनि हुर्कन थाली म माविमा जसरी पनि नाम निकाल्छु।
दिदीको ठूलो अठोट थियो र यद्यपि त्यो अठोट कायमै छ।
महिलाले पनि अवसर पाए भने गर्न सक्छन् भन्ने उनको अठोटको सदैव सम्मान गर्न चाहन्छु।
धेरै दिनदेखि दिदीसँग कुराकानी भएको थिएन।
'तपाईंलाई समय छ भने यसो दिदी-बहिनी भेटेर केही कुरा गर्नु थियो बैनी' एकदिन अप्रत्यासित रूपमा उनको म्यासेज आयो।
कहिल्यै तुरून्त भेटौं नभन्ने दिदीले भेटौं भनेको सुनेर तुरून्तै फोन गरेँ।
दिदीको बोली राम्रोसँग सुनिएन।
फोन काटेर फेरि फोन गरेँ। बल्ल प्रष्टसँग सुनियो।
उताबाट उनै दिदीले कुरा गरिन्।
'सुन्नु न बैनी, तपाईंको अफिस बिदा भएपछि तपाईं गाडी चढ्ने ठाउँमा आउनुहोला है। म त्यहीँ कुरिरहेकी हुन्छु। बाँकी कुरा त्यही गरौँला।
'हस् दिदी' यत्ति भनेर फोन काटेँ।
अफिस बिदा भएपछि मेरो नियमित गन्तव्य रत्नपार्क पुगें।
मलाई कुरेर बसिरहेकी रहिछन् दिदी। एकछिन कुराकानी भयो। यतिकैमा ग्वार्को, इमाडोल .... ग्वार्को इमाडोल.....भन्दै टेम्पो आइपुग्यो।
'म पनि आज ग्वार्को जाने हो, सँगै जाऊ बैनी।'
दिदी र म सँगै टेम्पो चढ्यौँ। टेम्पो आफ्नो रफ्तारमा हुँइकिँदै थियो। यी हँसिली गुरूआमा जसलाई म दिदीको साइनो लाइरहेकी हुन्छु। एक-एक गरी उनले आफ्ना अँध्यारा कहालीलाग्दा कहानी सुनाउन थालिन्।
उनको कुराले यात्रा गरेको पनि थाहै पाइएन। ग्वार्को पुगेर दुवै जना ओलिर्यौं र बसेरै कुराकानी गर्यौं।
दिदी आफ्ना कुराहरू भन्दै गइन्।
'हेर्नुस् बैनी, तपाईं लेख्नुहुन्छ, म पढाउँछु। म किताबी कुरा पढाउँछु। तपाईं व्यवहारिक कुरा लेख्नुहुन्छ। म पाठ पढाउँछु, तपाईं पाठ लेख्नुहुन्छ।
मैले पढाएर विद्यार्थी परीक्षाको लागि योग्य हुन्छन् तर तपाईंले लेख्दा केही न केही सन्देश त अवश्य जाला। तपाईंले लेखेपछि ओहो यस्ता पात्र पनि समाजमा हुन्छन र? भन्ने भान परोस् न मान्छेलाई। मान्छेका कस्ता कस्ता रूपहरू हुन्छन् ? शिक्षित र सभ्य भनेर आफूलाई चिनाउने सहरमा बस्ने कथित उच्च घरानाका परिवार भित्रको वास्तविकता कस्तो छ ? त्यस्ता परिवारभित्रका महिलाको वास्तविकता बारेमा पनि केही लेख्नुस् न बैनी'
अघि भनेकै कुरा सापटी लिएर फेरि सोधें, 'परिवारमा केही नराम्रो भयो र दिदी ?'
दिदी केही बोलिनन्।
'के भन्नु र बहिनी ? पहिलो सन्तान छोरी जन्मँदा सबै जना खुसी थिए। सबैलाई आश रहेछ दोस्रो पटक पक्कै छोरा पाउँछे भनेर।
मलाई दुई सन्तान ईश्वरका वरदान भन्ने थाहा थियो तर छोरामात्रै ईश्वरका वरदान हुन्छन् भन्ने थाहा थिएन।
सानी छोरी जन्मँदा यस्तो व्यवहार गरे कि त्यो दिन सम्झँदा कसैको मुख हेर्न पनि मन लाग्दैन। दोस्रो बच्चाको योजना बनाउँदा श्रीमान निकै सकारात्मक थिए। छोरीलाइ साथी चाहिन्छ, अहिले सानो हुँदा कुनै मतलब नभए पनि बच्चा बढ्दै गएपछि उसले साथी खोज्छ, आफू एक्लो भएको अनुभूति गर्छ। छोराछोरी जे होस् त्यसमा केही परवाह छैन बस् दुई सन्तान चाहिन्छ भनेर निकै ढाडस दिए श्रीमानले। उनको कुरा सुन्दा र ठूली छोरीलाई माया गरेको, पुल्पुलाएको, जहाँ जाँदा पनि उसको ख्याल गरेको देख्दा निकै बुझकी श्रीमान परेछन् भन्ने पनि लाग्यो। आफूलाई निकै भाग्यमानी पनि ठान्थेँ।
मेरै आँखाले मेरा कतिपय साथीहरूको पीडा देखेका थिए। उनीहरू जतिसुकै शिक्षित र चेतनशील भए पनि छोरीका आमा भएकै कारण, उनीहरूको कोखबाट छोरा नजन्मेकै कारण उनीहरूले आफन्तजनबाट, श्रीमानबाट भोग्नपरेका अपहेलना, मानसिक यातनाको फेहरिस्त झलझली घुमिरहेका थिए।
मैले यसको झल्को पनि श्रीमानलाई गराएँ। लोग्ने मान्छेको जात यस्तोसम्म हुँदो रहेछ। मेरा साथीलाई छोरी पाएकै कारण यस्तो व्यवहार गरे। बेलाबेलामा उदाहरण दिन्थेँ।
यो सुनेर मेरा श्रीमान अवाक हुन्थे। अहिलेको जमानामा पनि यस्तोसम्म नीच सोच राख्ने मान्छे हुन्छ र ?
यति हदसम्म त कसै पनि गर्दैन , के तिमी पनि मलाई त्यही वर्गमा राख्छौ ?
बिहे गरेको, मसँग संगत गरेको यत्तिका वर्ष भइसक्यो मेरो विश्वास अझै लाग्दैन ?
मप्रति अलिकति पनि भरोसा छैन ? यस्तैयस्तै प्रश्न तेर्साइरहन्थे।
यो देख्दा आफ्ना श्रीमान अरूभन्दा फरक भएको जस्तो लाग्थ्यो। दोस्रो पटक आमा बन्दै थिएँ। भर्खर गर्भवती भएको तीन महिना पुगेको थियो। डाक्टरले नियमित चेकको लागि बोलाएको थियो। स्कुल बिदाको दिन पारेर अस्पताल जाने सोच्दै थिएँ। श्रीमानले केही भन्न खोजेजस्तो गरे तर खुलेर कुरा गरेनन्। आफैं अन्कनाएजस्तै गरे। आफैंले सोधें, तपाईंलाई आज के भयो ? केही भन्न खोज्नु पनि भाको छ फेरि यता र उता गर्नुहुन्छ ? के भयो त्यस्तो ? अफिसमा केही समस्या पर्यो र ? श्रीमान एकैछिन मौन बसे।
'त्यस्तो केही पनि होइन, सामान्य टेन्सनमा छु। साँच्चि तिमीले नराम्रो मान्दिनौ भने एउटा कुरा भनौ?'
श्रीमान निकै विनम्र भएर प्रश्न गरे।
'म किन रिसाउनु ? के भन्नु छ भन्नुस न। आफ्नो श्रीमतीसँग कुरा गर्न पनि अफिसमा तोक आदेश लगाएजस्तो भूमिका बाँध्नु पर्छ र ?'
मैले यति भनिसकेपछि श्रीमान थप केही भन्ने मूडमा देखिए,
'तिमी भोलि हस्पिटल जाने होइन त ?'
मैले 'हो' भने
'उसो भए एउटा काम गर न त'
मैले भनें 'के काम ?'
'आमाले अस्तिनै देखि करकर गर्नुभा'छ, आमाको मन राख्दिनको लागि भए पनि एकपटक भिडिओ एक्सरे गरेर छोरा छोरी के छ भन्ने कुरा क्लियर गरिदेऊ न त'
अब भने मेरो दिमाग रनक्क तात्यो, जिउ नै फतक्क गल्यो, ओठ केही बोल्न सकेनन् , कुनै वाक्य नै फुटेन।
'यो कुरा आमाले किन भन्नुभयो ? तपाईंले आमालाई केही भन्नुभएन ?'
श्रीमान फेरि बोले, 'तिमी म बुझ्छौँ , हामी सन्तान चाहन्छौं। छोराछोरी जे भए पनि तर आमा पुरानो जमानाको मान्छे हो। उहाँको मन राख्देऊ न त एकपटक।'
फेरि उही कुरा दोहोर्याए श्रीमानले।
'डाक्टरले नियमित चेकजाँच गर्छ, म आफैंले लिंग परीक्षण गर्दिनँ। दोस्रो सन्तान चाहिन्छ भनेर जन्माउने तयारी गरेका हौँ, हामीलाई छोरै चाहिन्छ भन्ने त थिएन। अहिले यो कुरा एकाएक कसरी उठ्यो? यदि मेरो गर्भमा छोरी रहेको कुरा आमालाई थाहा भयो भने त्यसपछि के गर्नुहुन्छ ? म कुनै पनि हालतमा डाक्टरलाई यो कुरा सोध्दिनँ , समय पुगेपछि आफैं सबै कुरा थाहा हुन्छ।'
एकछिन दुई जनाको भनाभन नै चल्यो। श्रीमान आमाको बोली सापटी लिएर पटक पटक मैमाथि दबाब दिन थाले।
आमा पुरानो जमानाको भए पनि छोरा त नयाँ जमानाको होला नि ? आमालाई सम्झाउन सक्ने तागत पनि छैन ? आमालाई पनि एउटा नातिको चाहना हुन्छ नि। यति कुरा भन्दिँदा के फरक पर्छ ? ..... यस्तै सवाल जवाफ धेरै भए।
मन निकै अमिलो भयो। अस्तिसम्म निकै भलाद्मी कुरा गर्ने, बुझकी श्रीमान आमाको ट्याग भिरेर फेरिएको जस्तो लाग्यो।
भोलिपल्ट अस्पताल गएँ। नियमति चेक जाँच गराएँ। पाँच महिनामा आउनू भने। कुनै समस्या थिएन, स्कुल जाने आउने, घरको काम दिनचर्या यसैगरी बित्दै गयो। श्रीमान अलि रूखो व्यवहार गर्न थाले, सासूको व्यवहार पनि विस्तारै फरक-फरक लाग्न थाल्यो।
छिमेकीले सुनाउन थाले, फेरि पनि छोरी नै पाउने होली, छोरा भए त हेरेर उहिल्यै भनिसक्थी नि! छोराले भन्दा पनि टेरिनछे।
आमाले त सात वटा छोरी पाएकी रे। यसको त भर्खर दोस्रो पालो हुँदैछ। यस्ता तर्कनाहरू वरपर फिँजिन थालेछन्।
मैले छोरी जन्माउने हो कि भनेर मेरी आमालाई समेत तथानाम भन्न भ्याइसकेछन्। यतिकैमा बच्चा जन्मने मिति आइपुग्यो।
श्रीमान तीन महिनादेखि टेढिएका सोझिने छाँटकाट थिएन, सासू पनि बच्चा नहेरेको भनेर दुखी थिइन् नै।
घरमै बेथा लाग्यो, लाजले पनि अस्पताल त लैजानै पर्यो। श्रीमान र नन्द सँगै गए। अस्पताल गएको सात घण्टापछि मात्रै बच्चा जन्मियो। बच्चाको रूहाइ सुनेँ, स्वर निकै तिखो थियो। बाहिरबाट आवाज सुने, स्वर त छोराको जस्तै छ है। अरू कोही कुरा गरेका होलान् भन्ने लाग्यो। लामो सास फेर्दै थिएँ, नर्सले ल बैनी तपाईंको साढे तीन केजीको छोरी जन्मियो भनेर जन्मेको मितिसहितको ट्याग हातमा टाँसिदिइन् र छोरीलाई मेरो छातीमा टाँसेर राख्न भनिन्।
बच्चाको बाबा कता हुनुहुन्छ यी छोरी हेर्न आउनुस्। छोराको जस्तै आवाज हो भन्ने अरू कोही नभएर आफ्नै नन्द रहिछन्। छोरी जन्मेको खबर सुनेर नन्द अस्पतालबाटै हिँडिछन्।
श्रीमान एक्लै थिए। यो ल्याउनु, त्यो ल्याउनुस्, सिस्टरले भनिरहेका थिए, श्रीमान हस् भन्दै खुरूखुरू मानिरहेका थिए। एक घण्टापछि क्याबिनको बेडमा सारे, त्यहाँ आएपछि म आफैंले बहिनीलाई फोन गरेँ।
बहिनी एकैछिनपछि ठूली छोरीलाई लिएर अस्पताल आई। छोरी बहिनी जन्मेकोमा खुसी थिइन्। उसलाई फुपूले कान फुकिसकेकी रहिछन।
'आऊ बहिनी हेर्न' सिस्टरले छोरीलाई बोलाइन् तर छोरी नजिकै परिनन् 'नाइँ म बहिनी नहेर्ने।'
'किन नानु ?' सिस्टरले सोधिन्।
'मलाई कान्छी फुपूले भन्नु भा'को, तपाईं त भाइ नपाउने मामु रे'
'मैले तिहारमा कसलाई टीका लाउने ? अस्ति भर्खर सीता आन्टीको भाइ आयो तर मेरो भाइ आएन।'
'तेरी मम्मीले हामले भनेका मान्दिन भनेर आमाले ममीलाई कति गाली गर्नु भाको छ'
भर्खर बोली फुट्दै गरेको बच्चाले यतिसम्म कसरी भन्न सक्छ ? यस्ता साना अवोध बच्चाको कान भर्न भ्याइसके। बच्चाको न्वारान पनि राम्रोसँग भएन। सुत्केरीमा राम्रो स्याहार पनि भएन। श्रीमान पनि अहिले पूरै फेरिएका छन्। घुमाउरो पाराले आमाकै सपोर्ट गर्छन्। म त मानसिक रोगी बन्ने भएँ बैनी। जति गर्दा पनि मन बुझ्दैन। दिमागले केही सोच्दैन। अहिले त श्रीमान पनि मैमाथि मानसिक पीडा दिन थालेका छन्।
अरूलाई शिक्षा दिने मान्छे म आफैंमाथिको पीडा कसलाई सुनाऊँ ? सन्तान सुख भन्थे छोरा सुख भन्ने कहिल्यै सुनिनँ। दुई सन्तान ईश्वरका वरदान भन्थे, छोरामात्रै ईश्वरका वरदान भन्ने सुनिनँ।
मेरी सासू पनि छोरी हुन्। आखिर उनले किन छोराको कान फुकेर भड्काइन् ? मेरी नन्द पनि छोरी हुन्, उनले भर्खर जन्मेकी भदैनीको मुख पनि नहेरेर अस्पतालबाट किन बाहिरिइन् ? सन्तान नहुनेलाई कति पीडा छ, सन्तान हुनेलाई छोरा नभएकोमा पीडा छ, आखिर छोरी सन्तान कहिले हुन्छन्?
राजधानीका आत्मनिर्भर शिक्षित महिलाको यो हालत छ भने दूरदराजका महिलाको हालत कस्तो होला ? यस्तालाई आग्रह छ, तपाईंलाई सन्तान चाहिएको कि छोरा ?