पाँच आमाजू र एक नन्दकी एक्ली भाउजू, बुहारी जे भने पनि मै हो। छोराको आश गर्दागर्दै पाँच वटी छोरी जन्मिसकेछन्, तै पनि आश नमारेका मेरा सासू-ससुराले छैठौं नम्बरमा मेरा श्रीमान अर्थात् उनीहरूका एकमात्रै छोरा जन्माएका रे।
एउटा आँखो त के आँखो भन्ने उतिबेलाको समाज, पाँच वटी छोरीपछि छोरा जन्मियो, अर्को पनि छोरा जन्मिहाल्छ कि भनेर जन्माएका रे फेरि पनि छोरी जन्मिएपछि बल्ल सन्तानको रहर पुग्यो भन्ने भयो रे ..... बेलाबेलामा सासू आमाले सुनाउनुहुन्छ।
अहिलेको आधुनिक जमानाका शिक्षित घरानाका सचेत नागरिकहरू त छोराप्रति यतिविधि मरिहत्ते गरिरहेका दृष्य बग्रेल्ती देखिन्छन् भने त्यो बेलाको हालत कस्तो थियो होला? अनुमान लगाउँदा पनि मन चसक्क हुन्छ।
धन्न मेरी सासूआमा भाग्यमानी हुनुहुन्थ्यो उहाँले गर्भपतन गर्नुपरेन रे।
जति जन्मे सबै भगवानका प्रसाद हुन् भन्दै हात थापेर हुर्काएको बेलाबेलामा बताउनुहुन्छ। एकदिन अस्पताल नटेकीकनै, एउटा चक्की औषधी नखाइकनै जन्माएका सात वटै सन्तान निरोगी र हट्टाकट्टा छन्। सासूआमा भगवानलाई धन्यवाद दिनुहुन्छ।
सात छोराछोरी पाएकी सासूआमा अहिले पनि हट्टाकट्टा नै हुनुहुन्छ, सत्तरी वर्ष पुग्नै लाग्दा पनि कुनै दीर्घरोग उहाँलाई छैन। ससुरालाई दमको रोग छ। बेलाबेलामा सासूआमाले क्षण हान्नु हुन्छ, ऊ बेलामा मेलापात, घर गोठको सबै धन्दा भ्याएर, दुई दुई वटी सासूको चर्को खटन सहेर बर्सेउनी सात सात वटा बच्चा पाउने म तर बेलाबेलामा बिमारी भइरहने फेरि बुढा! कस्तो उल्टो जमाना आएको हो? सासूले यसो भनिरहँदा ससुरा बा हाँस्नुहुन्छ आमालाई केही पनि भन्नु हुन्न।
मेरा पाँच वटै आमाजूहरूको बिहेवारी भइसकेको थियो म घरमा भित्रिँदा। नन्दको म भित्रेको दुई वर्षपछि बिहे भयो। म माइतीघरकी एक्ली छोरी हुँ, दुई वटा दाइकी एक्ली बहिनी। सानो परिवारमा खुसीसँग हुर्केकी म, कुनै ठूलो जमघटमा बाहेक धेरै मान्छे नदेखेकी म बिहे गरेर भित्रेपछि भने एकाएक भवसागरमै पुगेँ।
ठूलो परिवारको एक्ली बुहारी हुन पाउँदा एकातिर खुसीे अर्कातिर चुनौती पनि थपिएको अनुभूति भयो। केही समय त घुलमिल हुनै सकस भयो। बुहारी मात्रै होइन जागिरे पनि थिएँ, घर अफिस दुबैको व्यवस्थापन गर्नैपथ्र्यो।
एक्लो छोरो भए पनि श्रीमान निकै बुझकी थिए त्यो बेलामै। सबै जना आफन्तको चित्त बुझाउनु पर्छ, बा आमाको एक्लो छोरो, ६ दिदी बहिनीको एक्लो माइती मै हुँ, सबै चेलीबेटीको आश भरोसा मैमाथि हुन्छ भनिरहन्थे। सत्र जना भान्जाभान्जी, दिदी भिनाजु ,बहिनी ज्वाइँ सबै भेला हुँदा सानोतिनो मेला महोत्सव जस्तै देखिन्थ्यो हाम्रो घर।
सानो परिवार, बढीमा सात जना भन्दा कहिल्यै भान्सामा नदेखेकी म एकैचोटी यत्रो जमात देख्दा सुरूसुरूमा त तर्सिन्थें पनि। पछिपछि बानी पर्यो, धेरै जना हुँदै रमाइलो लाग्न थाल्यो। यसो जमघट हुँदा सबै जना आफन्त जम्मा हुँदा घरको रौनकै अर्को देखिन्थ्यो।
आफ्नै दुइटा बच्चा त्यो भिडमा थपिएपछि त माहोल कहाँबाट कहाँ पुग्थ्यो! सम्झँदा पनि रमाइलो लाग्छ।
सबै जना दिदी बहिनीहर” काममा सघाउँथे, एक्लै कुनै पनि काम गर्न लाउँदैनथे। यस मामलामा भने म आफूलाई भाग्यमानी ठान्थेँ।
सबै दिदी बहिनीहरूले उनीहरूकी आमा अर्थात् मेरी सासूआमासँग आफ्नो घरको बारेमा धेरै कुरा गर्थे। सासू, ससुरा, नन्द आमाजूका भरपुर कुरा दिल खोलेरै गर्थे।
आमाले सम्झाउनुहुन्थ्यो, ‘घरका कुरा माइतीमा ल्याएर लाउनु हुन्न। जम्मा दुइटी नन्द आमाजू पनि तँलाई भारी भए ? चार जनाको चित्त बुझाउन सक्दिनस तँ ?’ ठूली दिदीलाई सासू आमाले कराउनुहुन्थ्यो।
‘त्यस्ता सासू-ससुरा पालेर को सँगै बस्छ, अब छुट्टिएर बस्ने हो।’, माइली दिदी गुनासो गर्थिन्। साइँली, काइँली र कान्छी दिदीका गुनासा पनि यस्तै प्रकृतिका हुन्थे।
उनीहरू सबै नन्द, आमाजू र देवर जेठाजु, देउरानी, जेठानीका कुरा गर्नकै लागि माइतीमा आएका हुन् कि भन्ने पार्थे बेलाबेलामा।
मानौं उनीहरूले सबै गुनासा आमामाथि पोखेपछि सबै माग सुनुवाइ हुन्छन् जसरी धाराप्रवाह बोलिरहन्थे। तर आमा अपवाद हुनुहुन्थ्यो, छोरीका कुरा सुन्ने मात्रै होइन बेलाबेलामा गाली गर्नुहुन्थ्यो, सम्झाउनुहुन्थ्यो।
‘हेर त तिमीहरू भन्दा कति सानी छ यो कान्छी (बुहारी) ? कति सुखसयलमा यसका बाउआमाले यसलाइ हुर्काए, बढाए, सकेको पढाएका थे। यत्रो भवसागरमा भित्रिँदा पनि यो केटी कुनै दिन आत्तेकी छैन, कति धैर्यता छ यसमा ? तिमीहरूका कुरा यसले माइतीमा गएर आफ्नी आमालाई सुनाइ भने के गर्छौ? बुहारीका अगाडि आमाजू भएर आफ्ना घरका कुरा सुनाउन लाज लाग्दैन? हाम्ले जस्तो बुहार्तन खेप्न परेको भए थाहा पाउँथ्यौ!’
गुनासो पोखेर मन हल्का पार्न खोजेका छोरीहरू आमाका टर्रा कुराले एकैछिन अवाक बन्थे।
म भान्सामा काम गरिरहेकी हुन्थें, कोठा सफा गरिरहेकी हुन्थें। दिदी बहिनीहरू आफ्ना घरका आफन्त श्रीमान र छोराछोरी बाहेक सबैको उछितो काडेको सुन्थेँ।
मलाइ आमाले बिहे गर्ने बेलामै सम्झाउनु भएको थियो, ‘ठूलो घरमा भित्रदैछेस् छोरी, सकेसम्म सबैको चित्त बुझाउनु, चित्त बुझाउन नसके पनि कसैको कुभलो नगर्नु, घरका नराम्रा कुरा माइतीमा ल्याएर कहिल्यै नसुनाउनु, भरसक कोही कसैलाई पनि नसुनाउनु, कुरा सुनुन्जेल सबै आफन्त हुन्छन्, कुरा सुनिसकेपछि उनै बैरी हुन्छन्। आफ्नो घर आफैंले बनाउने हो, आफैंले सम्हाल्ने हो।’ आमाको यो वचन बिहे गरेको एक्काइस वर्षसम्म पनि बिर्सेकी छैन।
आजको दिनसम्म कुनै नन्द आमाजूको बारेमा कोही कसैलाई केही दुर्वाच्य बोलेकी छैन र आफन्तको बारेमा दुर्वाच्य बोल्न पनि नपरोस् भन्ने प्राथना गर्छु सधैंभरि भगवानसँग।
बिहे गरेको बढीमा पाँच वर्षभित्र सबै आमाजूहरू घरपरिवारसँग छुट्टिएर बसे। कान्छी नन्द एक्ली बुहारी भएकोले बाध्यताले सासूससुरासँग बस्नैपर्ने भयो, नत्र उनी पनि सँगै बस्ने खालकी छैनन् भन्ने कुरा उनको व्यवहारले देखाउँथ्यो।
आफूले सासू-ससुरा सहन सकेनन् वा सासू-ससुराले उनीहरूलाई सहन सकेनन्।
उनीहरू माइतीमा आउँछन् र मलाई जाने बेलामा लामै सुझाव दिन्छन्, ‘ल बुहारी नानी हाम्रा बा-आमाको राम्रो ख्याल गर्नु, बा अलि दमको रोगी हुनुहुन्छ, बेलाबेलामा जँचाइ रहनुपर्छ, हस्पिटल लगिरहनु, आमाको पनि राम्रो ख्याल गर्नु। आमालाई बढी चिसो लाग्छ, तातो खानेकुरा खुवाउनु, आमालाई अलि गिलो खाना बनाएर खुवाउनु, साह्रो खानेकुरा खाँदा अड्किन्छ।’
सधैंभरि गरिरहने म, बुढाबूढीलाई के गर्नुपर्छ? कस्तो खुवाउनुपर्छ ? कसरी खुवाउनुपर्छ ? सिक्दासिक्दै, भोग्दाभोग्दै दुई दशक समय यही घरमा बित्यो, एकदिन आएका नन्द आमाजूको प्रवचन जति सुने पनि सकिँदैन।
उनीहरू पो सासूससुरालाई बोझ ठान्छन, छुट्टिएर बस्न पाए स्वर्गै पुगौंला भन्ने ठान्छन् तर म जन्मदाताभन्दा कर्मदाता बाआमालाई महान मान्छु, सकेको सेवा गरिरहन्छु, भनिरहनु पर्दैन।
म अरूलाइ त भन्दिनँ। मनमनमै कुरा गर्छु, मेरा आमाजूहरू कुन नैतिकताले मलाई अर्ति उपदेश दिँदा हुन्? आफूले पाँच वर्षसम्म त सासू-ससुराको सेवा गर्न सकेनन्, एक्काइस वर्षसम्म त मैले सासू-ससुराको सेवा गरेकै छु, उहाँहरूको सक्दो ख्याल गरेकै छु, बिरामी हुँदा औषधी मुलो गरेकै छु। एक दुई दिन आएर माइतीमा बस्दा सारा वृत्तान्त सुनाउन भ्याइसक्ने मेरा नन्द आमाजूहरू आफूलाई आफ्ना नन्द आमाजूले मलाइ भनेजस्तै अर्तिबुद्धि दिए कसरी ग्रहण गर्दा हुन्?
पोहोर साल ससुरा बालाई चार दिन अस्पतालमा राख्यौं, सबै छोरीहरू भेट्न आए। यो खुवाऊ, त्यो खुवाऊ, यो पुगेन, त्यो पुगेन। आदेशपछि आदेश थपिरहे। हामी पनि छोरी हौं, हाम्रो पनि केही दायित्व होला भन्ने फिटिक्कै सोचेनन्। ‘डाक्टरले के खान हुन्छ, के हुँदैन भन्ला भनेर केही नल्याइकन आएको बा’ भन्दै चेपारो घसे तर कति खर्च लाग्यो? के भयो, आफूभन्दा कान्छो भाइ हो, कसरी गर्यो होला? खर्चपर्च के कति छ ? एक बचन सोधेनन्। उल्टै यो पुगेन, त्यो भएन, यो गर, त्यो गर भनेरै समय कटाए।
आफ्ना बुवालाई त यस्तो व्यवहार गर्नेले सासू-ससुराको स्याहार के गर्थे? तागतिला खानेकुरा खुवाऊ भनेर मलाई आदेशका चाङ थमाउने ६ वटी छोरीले थोरैथोरै ल्याइदिँदा पनि त बालाई ६ महिनालाई खुराक पुग्थ्यो होला नि।
मुख चलाएजस्तो व्यवहार चलाउन कहाँ हुने रहेछ र? सासूका गाला मुसार्छन्, ‘हेर त आमाका गाला कति चाउरी परेछन्, यसो काजु बदाम ल्याएर खुवाऊ है नानी, अनारको जुस खुवाइरहनु। आमाको जिउमा रगतै छैन जस्तो छ, बेला बेलामा दिनमा एक दुई टाइम तागतिला फलफूल खुवाउनु.....।’
यत्रो माया गर्ने छोरीहरूले एक एक किलो फलफूल ल्याइदिएर भने त हुन्थ्यो नि! तर के गर्नु भन्दा भन्या जस्तो हुन्छ उल्टै जाने बेलामा आमासँग गाडी भाडा माग्न बेर नलाउने खालका छन् नन्द आमाजूहरू।
बिहे गरेको दुई वर्षमा छुट्टिएर बसेकी काइँली दिदी एक्लो देवर र बिहे भइसकेकी नन्द सहन नसकेर अलग बसेकी रे।
जेठाजु जेठानी पहिलेदेखि नै विदेशमा बस्ने, बिहे नगरेको कान्छो देवर, दुई जना सासू र ससुराको खटन चर्को भएर छुट्टिएकी रे।
‘न धेरै जहान परिवार न धेरै खटनपटन एउटा देवर र सासू-ससुरा पनि सहन सकिनस् छोरी?’ बेलाबेलामा सासूआमाले कराउनुहुन्थ्यो।
कराएर के गर्नु ? सुख काट्न र मिठो खानकै लागि त छुट्टिएका होलान् नि। तिनै काइँली दिदीको डाँको सबैको भन्दा ठूलो हुन्छ, यो गर त्यो गर भन्नको लागि।
आफ्नो अनुहार कहिले ऐनामा हेर्नु खै? कस्ले आफ्नो मुहार ऐनामा हेर भन्दिनु र खै?
म मनमनै सोच्छु, मेरो ठाउँमा मेरा नन्द आमाजूको जस्तै सोच भएकी बुहारी भित्रेको भए? मेरा नन्द आमाजू के भन्थे होला? आफू छुट्टिएर बस्ने अनि कुन नैतिकताले मेरा बा-आमाको ख्याल गर भन्दा हुन्? यस्ता धेरै पात्र गाउँ सहरमा देखिने रहेछन्।
सँगै बस्दा कहिल्यै मिठो बोली बचन नगर्नेहरू पनि अलग भएपछि अरूलाई देखाउनकै लागि चेपारो घस्नेहरू पनि बेग्रल्ती देखिने रहेछन्।
‘साह्रै मन भरिएरमात्रै बहिनी तिमीसँग मनका व्यथा बिसाएको हो, मेरो जस्तो भाग्य धेरै जनाको देखेँ, कोही कसैसँग यो भोगाइ मेल खाला भनेरै व्यथा कहेको हो बैनी’ राजधानीमै बसोबास गर्ने एक जना आँटिली, धैर्यवान दिदीको कहानी । जति सुने पनि नसकिने, जति लेखे पनि नसकिने।
‘दिदी तपाईंको धैर्यता र सहनशिलतालाई सादुभाव छ, तपाईंको ठाउँमा अरू हुन्थे भने घर घरजस्तो हुँदैन्थ्यो होला। आफ्नी आमासँग नभनेका कतिपय कुराहरू बैनीको नाताले मसँग भन्नुभयो। तपाईंको सधैं भलो होस् दिदी। नन्द- आमाजू भनिरहन्छन्, तपाईं आफ्नो कर्म गरिरहनुस् दिदी, सत्यको सधैं जित हुन्छ, बुढा बा-आमाको आशीर्वाद सधैंभरि शिरोपर भइरहन्छ।