भनिन्छ, इतिहास दोहोरिन्छ।
समयले नेपाल-भारत सम्बन्धलाई फेरि एकपटक गण्डक बाँध (बराज) मा ल्याएर उभ्याएको छ।
यही बाँध हुँदै पानीजहाज ल्याउन नेपाल सरकारले तीन साताअघि 'पानीजहाज कार्यालय' खोलिसकेको छ। भारत सरकारले पनि गण्डक नदी हुँदै नेपालले पानीजहाजबाट सामान ओसारपसार गर्न सक्ने सार्वजनिक रूपमै बताएको छ।
नेपाल र भारतका अधिकारीहरू गण्डक र कोशीको स्थलगत भ्रमण सकेर बिहीबारदेखि काठमाडौंमा बैठक बस्दैछन्। नेपालमा पानीजहाज कसरी ल्याउन सकिन्छ? उनीहरूको छलफलको केन्द्रविन्दु यही हुनेछ।
पानीजहाजको लेखाजोखा गर्न केही समयअघि हामी पनि गण्डक बराज र बिहारको बगहा सहर पुगेका थियौं। गण्डक बराज, अर्थात् नेपालको नारायणी नदीमा बाँधिएको बाँध जुन नेपाल-भारत सीमामा पर्छ।
गण्डक बराजले नेपालको नवलपरासी र भारतको बिहार राज्यमा पर्ने पश्चिम चम्पारण जिल्लालाई जोड्छ। आठ सय मिटर लामो बाँधमा ३६ वटा ढोका छन्।
नारायणी नदीलाई भारतमा गण्डक भनिन्छ। त्यसैले यो बाँधलाई 'गण्डक बराज' भनिएको हो।
यो बाँधमा उभिएर उत्तरपट्टि हेर्दा नारायणी नदी विशाल शान्त तलाउझैं देखिन्छ। तलाउको अन्त्यमा चुरे श्रृंखलाको हरियाली मनमोहक छ।
गण्डक बराजमा उभिँदा आँखामा कैद हुने यो दृश्यसँगै दिमागमा एउटा अभिशप्त इतिहासको पनि सम्झना हुन्छ।
नेपाल-भारतबीच २०१६ मंसिर १९ मा सम्पन्न असमान सम्झौतामार्फत् गण्डक बाँध बाँधिएको थियो। त्यो बाँध बाँधेर भारततर्फ लगिएको पानीले बिहार र उत्तर प्रदेश राज्यमा करिब १८ लाख हेक्टर जमिन सिँचाइ हुन्छ।
हामी गण्डक बाँध पुग्दा नेपालतर्फ खनिएको नहरमा भने 'एक कुलो’ बराबर पानी थिएन।
यही बाँध हुँदै भारतबाट नेपालमा पानीजहाज ल्याउने कुरा अघि बढिरहँदा स्वाभाविक रूपले एउटा प्रश्न उठ्छ- के त्यो अभिशप्त इतिहास फेरि दोहोरिन्छ वा त्यसबाट पाठ सिकेर नेपाल र भारतले आपसी सम्मान र समानताका आधारमा सम्बन्ध अघि बढाउने छन्?
के पानीजहाजले त्यो अभिशप्त इतिहास मेटाउने छ वा थोरै भए पनि क्षतिपूर्ति गर्नेछ? कि असमानता र अन्यायको अर्को श्रृंखला सुरु हुनेछ?
हामी पानीजहाज श्रृंखलामा मूल आलेखसँगै थप चार वटा स्टोरी लेख्नेछौं। तिनमा धेरै प्रश्नको उत्तर खोज्न प्रयास गर्नेछौं।
पहिलो स्टोरीमा गण्डक बराजको असमान सम्झौता, त्यो सम्झौताको ऐतिहासिक, राजनीतिक पृष्ठभूमि र वर्तमानमा यसले पारेको असरबारे लेखेका छौं। गण्डक बाँधको कथा हामीले एकपटक फेरि पढ्नु र बुझ्नु यसकारण जरूरी छ, ताकि फेरि त्यस्तै अभिशप्त इतिहास पुनरावृत्ति नहोस्।
इतिहासतिर फर्कंदा, यो बराज हुँदै नेपाल आउने पानीजहाजको सम्भावनालाई वस्तुनिष्ठ ढंगले हेर्न जरूरी छ। त्यो सम्भावना र त्यसको लाभ-हानिको विषय विगतको ‘ह्याङओभर’ वा भविष्यको ‘प्रोपोगान्डा’ बाट अलग्याएर हेर्ने र पर्गेल्ने चुनौती नेपालसामु छ।
यो श्रृंखलाको दोस्रो स्टोरी हाम्रो पानीजहाज सपना र त्यसको आर्थिक पक्षमा केन्द्रित छ। के सडकबाट गरिने ढुवानी अहिले चर्चा चलेझैं पानीजहाजभन्दा २७ गुणा महंगो पर्छ ? हाम्रो अर्थतन्त्रका निम्ति पानीजहाज कति लाभदायक हुनेछ?
श्रृंखलाको तेस्रो स्टोरीले पानीजहाजले ल्याउने प्राविधिक र पर्यावरणीय विषयका विभिन्न पाटा खोतलेको छ।
गण्डक बराज नाघेर पानीजहाज कसरी नेपाल प्रवेश गर्छ? प्रधानमन्त्री केपी ओलीले भनेजस्तो आवश्यक परे पुल नै उचालेर पानीजहाज ल्याउने हो?
पानीजहाज चलाउन नेपाल-भारत सीमापारि गण्डक नहरमा पानी पुग्छ? यो प्रश्न पेचिलो छ।
कोलकाताको हल्दिया बन्दरगाहबाट गंगा नदी हुँदै पटनासम्म ठीकै आकारको पानीजहाज सजिलै आउँछ। पटनाभन्दा केही माथि हाजीपुरमा गण्डक नदी गंगामा मिसिन्छ। नेपाल आउने पानीजहाज हाजीपुरबाट गण्डक नदी हुँदै तीन सय किलोमिटर पार गरेर गण्डक बाँधसम्म आउनुपर्छ।
नारायणी नदीको धेरै भाग पानी भारतले सिँचाइका लागि उत्तर प्रदेश र बिहार लगेको छ। त्यसैले बाँधको दक्षिणपट्टि गण्डकमा पानी नगन्य मात्रामा छ। सुख्खा मौसममा पानीजहाज कुद्ने गरी गण्डक खोलामा पानीको जोहो कसरी सम्भव छ?
प्रश्न सुख्खा यामको मात्र हैन, बर्खा यामको पनि हो। बर्खामा नारायणी नदीमा भेल आउँछ। भेलसँगै नारायणीले चुरेबाट प्रशस्त मात्रामा ढुंगा र माटो बगाएर ल्याउँछ। खोलाको सतह पुर्छ।
निश्चित मात्रामा पानीको गहिराइ नभई पानीजहाज चल्न सक्दैन। त्यसका लागि खोला खोतलेर सधैंभरि पानीको गहिराइ कायम राख्नुपर्छ। प्राविधिक हिसाबले यो कति सम्भव छ? खर्च कति लाग्छ? त्यसको पर्यावरणीय मूल्य कति हुन्छ? यी तमाम प्रश्नको उत्तर हामीले तेस्रो स्टोरीमा खोज्ने प्रयास गरेका छौं।
चौथो स्टोरीले पानीका विषयमा नेपाल-भारत सम्बन्धको जेलिएको इतिहास र भविष्यको सम्भावना केलाएको छ।
नेपालबाट बगेर जाने पानीमा भारतको रणनीतिक स्वार्थ के हो? इतिहासले हामीलाई के सिकाउँछ? यो पानीमा भारतीय स्वार्थ बिजुली वा सिँचाइ वा जलपरिवहन हो? वा भारतमा गहिरिँदै गएको खानेपानी अभाव उसको मुख्य चासो हो? भारतको रणनीतिक स्वार्थ बुझेर पानीमा हाम्रो हित संरक्षण कसरी गर्ने?
यी सारा प्रश्नको उत्तरपछि मात्र हामी जलस्रोत उपयोगको दीर्घकालीन रणनीति तय गर्न सक्छौं।
पानीजहाज ल्याउने वा नल्याउने वा कुन सर्तमा ल्याउने भन्ने प्रश्नका उत्तर पनि केही हदसम्म भारतको रणनीतिक स्वार्थ र हाम्रो दीर्घकालीन हितको लेखाजोखासँग जोडिन्छ।
यी दीर्घकालीन विषय थाति राखेर तत्कालका लागि पानीजहाजबारे हाम्रो निर्णय के हुन सक्छ? यसबारे पनि हामीले लेखेका छौं।