फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेपछि आइतबार राति केलियन एम्बाप्पेले ट्रफीलाई चुम्दै गरेको तस्बिर राखेर ट्वीट गरे- माई लभ।
आइतबार राति भएको क्रोएशियाविरूद्धको खेलमा एम्बाप्पेले एक गोल हानेका थिए।
४ गोल गरेका १९ वर्षीय एम्बाप्पे २१ औं संस्करणको विश्वकपमा उत्कृष्ट युवा खेलाडी बने।
पहिलो पटक विश्वकप खेलेका एम्बाप्पेले ब्राजिलका महान फुटबलर पेलेका तीन रेकर्ड बराबर गरिदिएका छन्।
अर्जेन्टिनाविरूद्धको खेलमा २ गोल गरेपछि विश्वकपको एउटै खेलमा २ गोल गर्ने एम्बाप्पेले दोस्रो टिनएजर खेलाडी बने। यसअघि पेलेले सन् १९५८ मा विश्वकपको एकै खेलमा २ गोल गरेका थिए।
विश्वकपको फाइनलमा गोल गर्ने टिनएजरको रेकर्ड पनि पेलेका नाममा थियो। क्रोएशियाविरूद्धको खेलमा गोल गरेर एम्बाप्पेले त्यो रेकर्ड पनि बराबर गरिदिए। स्विडेनविरूद्धको फाइनल खेलमा गोल गर्दा पेले १७ वर्षका थिए।
पेलेले पहिलो विश्वकप खेल्दा ब्राजिलले उपाधि चुमेको थियो र उनी उत्कृष्ट युवा खेलाडी बनेका थिए। यसपालि एम्बाप्पेले पहिलो विश्वकप खेल्दा फ्रान्सले उपाधि जितेको छ र उनी उत्कृष्ट युवा खेलाडी बनेका छन्।
आफ्ना धेरै रेकर्ड एम्बाप्पेले बराबर गरेपछि ७७ वर्षिय पेलेले एम्बाप्पेको त्यही ट्वीटलाई कोट गर्दै हौसलादिएर लेखे-केलियनले यसैगरी मेरा सबै रेकर्ड बराबर गर्दै गए भने धुलो टक्कटकाएर मैले फेरि बुट लगाउनु पर्छ।
एम्बाप्पेको गति र खेल शैलीको तारिफ गर्दै धेरैले उनलाई नयाँ पुस्ताका नयाँ स्टारका रूपमा अर्थ्याएका छन्।
एम्बाप्पे कति प्रतिभाशाली खेलाडी हुन् भन्ने बुझ्न उनको खेल कौशलसँगै उनले जुन गतिमा खेल्छन् त्यो पनि बुझ्न आवश्यक छ।
धेरै व्यावसायिक फुटबल खेलाडी छरिता हुन्छन् किनकी उनीहरू सामान्य मान्छेभन्दा छिटो दौडिन्छन्। कोही भने प्रभाव पार्ने अर्थमा छरिता हुन्छन्। यसको मतलब उनीहरू व्यावसायिक फुटबल खेलाडीभन्दा पनि छिटो हुन्छन्। विश्वकपमा धेरै खेलाडी छिटो दौडिन्छन्। तर केही यस्ता खेलाडी छन् तिनको गति खेलाडीको मानवीय क्षमताभन्दा बढी देखिन्छ।
एम्बाप्पे त्यस्तै क्षमता भएका खेलाडी हुन्। उनी अरूले खेल्नेभन्दा छिटो फुटबल खेल्दैनन्। उनी त अरूले हेर्न सक्नेभन्दा छिटो फुटबल खेल्छन्। तपाईंले सोच्न सक्नेभन्दा अगाडि उनी दौडिसकेका हुन्छन्। अर्का तीव्र खेलाडी थिओ वालकटलाई हेर्दा अचम्म लाग्छ-हेर कति छिटो दौडेका!
एम्बाप्पेलाई हेर्दा तपाईंको दिमाग रोकिन्छ र सोच्नुहुन्छ- त्यहाँ केही भइरहेकै छैन, उनी त्यहाँ पुग्नै सक्दैनन्।
पेरिस सेन्ट जर्मनबाट व्यावसायिक फुटबल खेल्ने उनले राष्ट्रिय टिमबाट गत साल डेब्यु गरेका थिए।
एम्बाप्पे खेलमात्र होइन सामाजिक कामले पनि चर्चामा छन्।
विश्वकप खेल्दा पाइएको तलब र भत्ता साढे ५ करोड रूपैयाँ उनले शारीरिक अपांगता भएका बालबालिकालाई खेलकुद गतिविधिमा सहभागी गराउने संस्था प्रियर्स डि कोर्डिस एसोसियसनलाई दिएका छन्।
एम्बाप्पे आप्रवासी आमाबुवाका सन्तान हुन्। उनका बाबु पश्चिमी अफ्रिकी मुलुक क्यामरूनबाट आएर फ्रान्समा बसोबास गरेका हुन् भने आमा अल्जेरियाबाट आएकी हुन्। उनका बाबु पनि फुटबल खेलाडी र प्रशिक्षक हुन् भने आमा धाविका हुन्।
अर्जेन्टिनासँगको खेलपछि पेलेसँग तुलना हुँदा आफूलाई निकै खुसी लागेको एम्बाप्पेले बताएका थिए।
'औधी खुशी लागेको छ। तर पेलेजस्ता महान खेलाडीसँग मेरो तुलना हुनु चाहिनेभन्दा बढी प्रंशसा हो, उनी अलग्गै समूहका खेलाडी हुन्,' एम्बाप्पेले भनेका थिए,' तर पनि त्यस्तो उपलब्धि हासिल भएका खेलाडीसँग जोडिन पाउनु गर्वको कुरा हो।'
यसपालि पेलेको ट्वीटमा जवाफ फर्काउँदै एम्बाप्पेले उनलाई फुटबलको राजा भएको बताएका छन्। उनले लेखेका छन्-राजा सधैँ राजा नै रहनेछ।