रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप २०१८ दोस्रो पटक फ्रान्सले जितेसँगै सकिएको छ।
एक महनासम्म रसियाका ११ सहरका १२ रंगशालामा भएको ६४ खेलमा केही विवाद र रमाइला पक्षको चर्चा अझै थामिएको छैन।
यसमा जोडिएका भावना र ट्विस्ट एन्ड टर्न्सको पछिसम्म पनि चर्चा भइरहनेछ।
यो विश्वकपमा जोडिएका ६ विवादलाई बिबिसीले लेखेको छ-
भिएआर युगको सुरूवात
फुटबल विश्वकपको इतिहासमा यो विश्वकपमा पहिलो पटक भिडियो एसिस्टेन्ट रेफ्री (VAR) को प्रयोग भयो।
मैदानमा भएका गल्तीलाई कतै रेफ्रीले नदेखाकाले निर्णय गर्न असहज नहोस् भनेर यो प्रविधिको प्रयोग गरिएको हो।
तर, यसको प्रयोगबारे निकै धेरै बहस भयो। धेरैले भिएआरप्रति असहमति जनाए। यसको आलोचना गर्नेहरुले भिएआरका कारण खेलमा हुने रोमाञ्चक पलहरू कम भएको आरोप लगाए।
कतिपय सन्दर्भमा यसको प्रयोग पनि गर्न सकिएन। त्यसैले पनि यसको अस्तित्वबारे प्रश्न उठेको थियो।
भिएआरका कारण खेलाडीमाथिको अंकुश बढ्यो। र, सन् २०१४ को भन्दा यो विश्वकपमा १७ प्रतिशत फाउल संख्या बढेका थिए।
म्याराडोनाको जोश
अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्यारोडनाले आजसम्म कुनै पनि काम जे गर्छन्, खुलेर गर्ने गरेका छन्।
उनले आफूलाई लागेका विषयमा पनि खुलेरै कुरा गर्ने गरेका छन् । यसलाई उनी स्वयंलाई कहिलेकाही समस्या पर्ने गरेको छ ।
यो विश्वकपमा पनि उनी बारम्बार चर्चाको विषय बने। बहुतै उत्साहित र भावुक भएर आफ्नो टिमको समर्थन गरेको म्याराडोनाले यसपटक स्टेडियममा नै सिगार पिए। त्यस्तै उनले अर्जेन्टिनाले समूह चरणको दोस्रो खेल जित्दा ‘मिडल फिंगर’ देखाएर अभद्र व्यवहार पनि देखाए। उनको यस्तो अभ्रद व्यवहारको खुलेरै आलोचना भएको थियो।
म्यारोडनाले अन्तिम १६ को खेलमा कोलम्बियाली टिमविरुद्ध इंग्ल्यान्डले पाएको पेनाल्टीको पनि खुलेरै आलोचना गरे। यसलाई उनले मैदानमा भएको ठूलो चोरीको संज्ञा दिएका थिए। तर, यी विषयहरूमा पछि उनले माफी मागेका थिए।
जापानले विश्वकपलाई फोहोर बनायो
यसै पनि जापान कम विवादमा पर्ने मुलुक हो। तर रसिया विश्वकपमा जापान अपवाद ठहरियो।
यसपटकको विश्वकपमा ऐतिहासिक सफलता हात पारेको एसियाली मुलुक जापानले अन्तिम ८ का लागि खेलिएको खेलमा बेल्जियमसँग पराजित भएको थियो।
समूह चरणका खेलमा अत्यन्त राम्रो गरेको जापानले खेलका कारण मात्र होइन, स्टेडियममा पुगेका दर्शकका कारण पनि प्रशंसा बटुल्यो।
खेल सकिएपछि स्टेडियम सफा गरेका र धन्यवाद रुस लेखेको कार्ड छाडेर जापानी दर्शकले निकै प्रशंसा बटुलेका थिए।
तर, समूह चरणको अन्तिम खेलमा पोल्यान्डसँग पराजित भएपछि जापानी खेलाडीले कुनै कारण बिना मैदानमा एकअर्कासँग पास खेल्न थाले। यसले विश्वकप फुटबल र फुटबल खेललाई नै फोहोर बनाएको भन्दै विश्वभर आलोचना भयो।
दुई मुखे बाज
फिफाले खेलाडी तथा सहभागी देशहरूलाई विश्वकप सुरू हुनुभन्दा पहिले नै एउटा सर्तमा राखेको हुन्छ–उनीहरुले राजनीतिक टिप्पणी गर्न पाउने छैनन्।
तर, स्विट्जरल्यान्डका जाका र शकिरीले सर्बियाविरुद्ध गोल गरेपछि खुसीयाली मनाउने समयमा आफ्नो हातले इशारा गर्दै दुई मुखे बाज बनाए। यसको राजनीतिक अर्थ निकालियो र त्यसबारे निकै बहस पनि भयो।
उनीहरुको इशाराले अल्बानियाको राष्ट्रिय झन्डालाई इंगित गर्थ्यो। यसका कारण सर्बियाका राष्ट्रवादी र अल्बानियाका मानिसबीच तनाव उत्पन्न हुने अनुमान गरियो।
उनीहरुले यस्तो संकेत गर्नुको पछाडि पनि राजनीतिक कारण लुकेको छ। शाकिरी कोसोवोको जिलान सहरमा अल्बानियाली मूलको मुस्लिम परिवारमा जन्मिएका थिए। उनी सात वर्षका हुँदा उनको परिवार स्विट्जरल्यान्ड आएको थियो।
अर्कोतिर शाका पनि अल्बानियाका मुस्लिम परिवारका हुन् ।
युगोस्लोभाकियाबाट छुट्टिएर बनेका ६ देशमध्ये एक सर्बिया पनि हो। तर, सर्बियाको कोसोवो क्षेत्रले आफूलाई छुट्टै देशको माग गरिरहेको छ। त्यसैले उनीहरुको यो संकेतले राजनीतिक अर्थ बोकेको देखिन्छ।
त्यस्तै, यो विश्वकपमा अर्को समय पनि राजनीतिको गन्ध आयो जब क्रोएशियाका विदाले रूसमाथिको जितलाई युक्रेनका मानिसका लागि समर्पित गरे। रूस र युक्रेनबीचको तनावका कारण यो विषयले पनि धेरैको ध्यान तान्यो।
महिला पत्रकारमाथि दुव्र्यवहार
यसपटकको विश्वकपले महिला पत्रकारमाथि भएको दुर्व्यवाहारले पनि ठूलो आलोचना व्यहोर्यो।
रुसको मस्कोमा टेलिभिजनका लागि रिपोर्टिङ गर्न पुगेकी एक महिला पत्रकारमाथि गरिएको हिंसा पनि यो विश्वकपमा चर्चामा रह्यो।
कोलम्बियाकी संवाददाता जुलियथ गोन्जालेजमाथि रुसी सडकमा टिभीमा प्रत्यक्ष प्रसारण गरिरहँदा एक व्यक्तिले अचानक उनको स्तनमा हात राखे र गालामा चुम्बन गरेका थिए।
तर जुलियथले प्रत्यक्ष रिपोर्टिङ रोकिनन् । यसबारे विश्वभर निकै आलोचना भयो।
यस्तै ब्राजिलकी एक पत्रकारमाथि पनि यस्तै हिंसा भयो। यी दुवै घटनाले इन्टरनेटमा लामो समयसम्म चर्चा कमाइरहे।
मैदानमा दर्शक छिरेपछि
रसिया विश्वकप २०१८ को फाइनल खेल भइरहेको रंगशालामा अचानक कडा सुरक्षा घेरा तोडेर ४ जना व्यक्ति मैदानमा छिरेका थिए।
मध्यान्तरपछिको केही मिनेटपछिनै कडा सुरक्षा व्यवस्था भएको स्टेडियममा चार जना दर्शक छिरेका थिए।
मैदानमा पस्ने मध्ये एक जना महिलाले फ्रान्सेली खेलाडी एमबाप्पेसित भेटसमेत गरेकी थिइन्।
यसैबीच घटनाको जिम्मा पुसी रायट्स नामको एउटा संस्थाले लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्। उक्त संस्थाले फेसबुकबाट घटनाको जिम्मा लिएको थियो।
उसले सबै राजनीतिक बन्दीहरुलाई मुक्त गरिनुपर्ने, र्यालीहरुमा गैरकानुनी गिरफ्तारी हुन नहुने, देशमा राजनीतिक प्रतिस्पर्धा गर्न दिइनुपर्ने, फर्जी आपराधिक आरोप लगाइन नहुने र बिना कारण जेलमा राख्न नहुने लगायतका माग राखेको छ।