शुरुका दिन,
न्युयोर्कमा,
मेरो आफ्नो भन्ने
दुई जना रूममेट, अनि
म, र तिमी त थियौ ।
ब्रुकलिनको बसाई
म्यानह्याटनको घोटाई
काममा जाँदा र आउँदा
ट्रेन भित्रैबाट
तिमीलाई तर्नु पर्थ्यो ।
जाँदा दिनको घाममा
तिमी मस्त जवान देखिन्थ्यौ
फर्किदा साँझको चमकमा
नव यौवना जस्ती भईदिन्थ्यौ ।
म्यानह्याटनको घोटाईले
लखन्तरान देह मेरो
तिमीलाई देख्दा
चंगा हुन्थ्यो
ट्रेन भित्रैबाट
मेरो प्रेमिल मनले तिमीलाई
शीरदेखि पाउसम्म छुन्थ्यो
मन त्यसै - त्यसै पुलकित हुन्थ्यो ।
त्यसबेलादेखि अहिलेसम्म
'विन्टर' को चिसोमा होस् वा
'समर' को प्रचण्ड तापमा
'स्प्रिङ' को मनमोहक याममा होस् वा
'नोभेम्बर' को वर्षातमा
तिमीले मलाई सधै बोलाईरह्यौ
म पनि जब एक्लै हुन्छु
फुर्सद भएर र फुर्सद निकालेर
म तिमी कहा पुगी रहन्छु
चाहेर पनि तिमीलाई मैले
अंगालोमा बाँध्न त सक्दिन
तर मनले धेरै बेरसम्म चुमिरहन्छु
मेरो एक्लोपनलाई
तिम्रो मायालु साथले बेह्रिरहन्छु ।
चलुन्जेल सम्म चलिरहोस्
तिम्रो हाम्रो प्रित
कहिले पनि भूल्ने छैन
प्यारो 'ब्रुकलिन ब्रिज' ।